रण काफ्लेको रैथाने उपन्यासमा आञ्चलिक समस्या

पुस्तक समीक्षा

 नवीन पौड्याल

१, विषयप्रवेश

नेपाली साहित्यमा रण काफ्लेको नाम पनि चर्चित बनेको छ। रणबहादुर छेत्रीको साहित्यिक नाम रण काफ्ले हो। उनी असमको कार्बी आङ्लङ जिल्लाको मुगासाङ भन्ने ठाँउमा ३० जून, १९६९ मा जन्मेका हुन् । उनको पिताको नाम जयबहादुर छेत्री र माताको नाम पवित्र माया देवी रहेको छ । उनले हिन्दी साहित्यमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । उनी शिक्षण पेशामा आबद्ध छन् । उनी साहित्य अध्ययन र लेखनमा सक्रिय रही आफ्नो सेवा दिइरहेका छन् । उनी साहित्यिक चर्या, संगत, अध्ययन र लेखनमा आवद्ध छन्।

रण काफ्लेका हालसम्म प्रकाशित पुस्ताकार कृतिहरूमा मायाको बन्धन (उपन्यास,२००८), बिस्फोट भएपछि (कथासङ्ग्रह, २०११), कपिलीको बगरमा बटुलेका शब्दहरू (कवितासङ्ग्रह, २०१२), हेमप्रेक (असमीय भाषामा उपन्यास, २०१४), भय (हिन्दी कवितासङ्ग्रह, २०१५), भय दर्शनको मझेरीमा (निबन्धसङ्ग्रह २०१५), नानी की कहानियाँ (हिन्दी लोकबालकथा सङ्ग्रह, २०१६), बिटुङगो (निबन्धसङ्ग्रह, २०१६), अस्तित्व (कवितासङ्ग्रह, २०१७), माताल हातीर ताण्डव (असमीय कवितासङ्ग्रह, २०१९), मिकराकबो (गारो कवितासङ्ग्रह, २०२१), लीला (लघुकथासङ्ग्रह, २०२२), उडान (असमीय कवितासङ्ग्रहको नेपाली अनुवाद, २०२२) र रैथाने (उपन्यास, २०२२)। यस सूचि हेर्दा उनका जम्मा चौधवटा पुस्तक प्रकाशित भएका छन् । उनी एक कवि, कथाकार, निबन्धकार र उन्यासकारका रूपमा देखिन्छन् भने नेपाली हिन्दी, असमीय र गारो साहित्यकारका रूपमा पनि देखिन्छन् ।  यसका साथै उनले सम्पादन गरेको ‘तुम्प्रेङ आलोजी’ भन्ने पुस्तक पनि प्रकाशित छ ।

२, रैथाने उपन्यासको समीक्षा-

सन् २०२२ मा प्रकाशित रण काफ्लेको उपन्यास रैथानेले राजनिती, इतिहास, समाज आदि बोकेको छ । समकालीन साहित्य प्रतिष्ठान, बेलायतको प्रकाशकत्व र अमर भण्डारीको आर्थिक सौजन्यमा प्रकाशित यस उपन्यासमा भारती गौतमको परिचयात्मक र मूल्याङ्कनात्मक भूमिकाले पाठकलाई यस उपन्यासबारे बुझ्ने सहयोग मिल्दछ । यसमा जम्मा १७० पृष्ठहरू रहेका छन् । यस उपन्यासले असमेली जनजीवनलाई धेरै मात्रामा अँगालेको छ । यस उपन्यासले विशेषगरी असमको कार्बी आङलाङ जिल्लाको सामाजिक भौगोलिक, आर्थिक, राजनैतिक, सांगठिक, सांस्कृतिक स्थितिको तथ्यपरक विवरण प्रस्तुत गरेको छ।

२.१. उपन्यासको विषयवस्तु – रैथाने उपन्यासको मूल विषयवस्तु नै रैथानेको भावना हो । यसका पात्रहरूमा रहेको राजनैतिक चेतना नै रैथाने हुनु हो । उपन्यासमा कथावस्तुले घेरिए तापनि यसको जड भने रैथाने हो । प्रज्ञा नेपाली बृहत शब्दकोश अनुसार यसको अर्थ- कुनै ठाउँको पहिलेदेखिको वा पुरानो बासिन्दा, आदिवासी (नेप्रप्र, २०७९) भन्ने बुझिन्छ । प्रयोगात्मक नेपाली शब्दकोशका अनुसार पहिलेदेखि बसेको बासिन्दा, मूल बासिन्दा, स्थानिय व्यक्ति वा जनता, (हेमाङ्गराज अधिकारी, विद्यार्थी प्रकाशन, २०६१)। यसैलाई केन्द्र गरेर उपन्यासको कथावस्तु सिर्जना भएको छ । सर्वप्रथम नेपालबाट बर्सेनी किन नेपालीहरू मुलुक बाहिरिन्छन्? कहाँ जान्छन्, गएर के गर्छन्, पछि के गर्छन् आदि कुरामा नै उपन्यास जेलिएको छ।

२.२.उपन्यासको कथावस्तु– उपन्यासको कथावस्तु मूल तीन चरणमा बाँडिएको छ । यसमा म पात्र र रोहित भन्ने पात्रको बाल्यकालका सम्झना, रोहितको बाबु आमाको बिहेअघि र पछिको पृष्ठभूमि, रोहितको वर्तमानको राजनैतिक अवस्था र उसको अडान रहेका छन् । रोहितकै वरिपरि कथावस्तु रहेको छ । यसमा नेपाल असमको ऐतिहासिक सन्दर्भ, असममा नेपालीहरूको उपस्थिति र योगदान, असममा कृषि क्षेत्रमा गोर्खाहरूको योगदान, पारिवारिक विघटन, शोषण दोहन, ब्रह्मपुत्रमा आएको बाढीको कारण धेरै नेपालीहरूको घर द्वार बिग्रेर उठिवास लाग्नुको अवस्था, उठिबास भएका गोर्खाहरू अन्य स्थलमा शरणारार्थीका रूपमा बस्नुपर्को अवस्था, स्थानीय रैथाने जनजातिसित मैत्री र सहयोगको भाव, बन जङ्गल, कृषिकार्य, गौपालन आदि कार्य गर्नु, राजनितीले गोर्खालीहरू बिलखबन्दमा पर्नु, राजनैतिक कारणले असमका गोर्खालीहरू ठाउँ ठाउँबाट उठिबास हुनु, असुरक्षित हुनु, गोर्खालीहरूको जातीय राजनैतिक  सङ्गठनहरू सक्रिय हुनु, रोहित र म पात्रहरू जस्ता धेरै युवाहरू अघाडि आउनु जस्ता प्रसङ्गहरूको शृङ्खला जोडिएको छ । यसमा रोहित र म पात्रको बाल्यकाल, रोहितको शान्त स्वभाव, उसको बाबु आमाको पूर्वकथा, जवानीमा रोहित आशासित आकर्षित भएको, आशाले रोहितसित बिहा गर्नसमेत राजी भए तापनि आशा भने अर्कैसित बिहा भएर नेपालतिर जानु, असममा विदेश हटाउ अभियानको फलस्वरूप गोर्खाली पनि पिसिएका छन् । यसमा मूलतः दुई खालका पात्र- एक खाल छ जो असममा असुरक्षा हुनाले त्यहाँ बसिरहनु हुन्न, बरू नेपालतिर नै यहाँको कमाई लगेर घर बनाएर उतै जानु पर्छ । यस्ता खाले पात्रहरूमा म पात्र र उसको बाबु, आशा, जय कान्छाका दाजुहरू आदि छन् । अर्खा खाले छन् जो जस्तै परिस्थिति आए पनि असममा नै अड़िएर बस्नु पर्छ, यहाँबाट अब पलायन हुनुहुँदैन, यहींको रैथाने भएर बस्नु पर्दछ । यस्तो खाले पात्रहरूमा रोहित, उसको बाबु,धामी आदि हुन्।

उपन्यासमा आदि मध्य र अन्त्यको निर्वाह भएको छ । रोहित र म पात्र जय कान्छा र बोगीको दाम्पत्य जीवन आदिभाग, रोहितको वाल्यकालदेखि लिएर उसको आशासितको असफल प्रेम, आशा र उसको अर्कै अर्कैसित बिहा भएको र राजनैतिक दङ्गा आदि मध्यभाग र रोहितको दाम्पत्य जीवन र उसको उपन्यासको प्रकाशन आदि अन्यभाग हुन् । यसमा कथावस्तु कम र तथ्यात्मकता र भावनात्मकता बढी भएको छ।

२.३.उपन्यासको पात्रविधान– यस उपन्यासमा पात्रविधान सफल नै रहेको भन्न सकिन्छ । यो पात्रबहुल उपन्यास हो। यसका मूल पात्र, सहायक पात्र-पात्रा, गौण पात्र-पात्रा र अतिगौण पात्र-पात्रा गरी चार वर्गीकरण गर्न सकिन्छ । यसका मूल पात्र रोहित हो भने सहायक पात्र-पात्राहरूमा म पात्र विजय कुमार श्रेष्ठ, हस्तबहादुर महाजन, महाजनी, बोगी, कान्छा आदि । गौण पात्र-पात्राहरूमा आशा, धनेदाइ, कमला, इन्द्रे, आदि हुन् । रोहित नै यसका मूल नायक भन्न सकिन्छ। उसकै जीवनी, विचार, मानसिकता आदिमा नै उपन्यास अडिएको छ । रोहितको गोर्खालीहरू असममा बसेपछि यहीँका रैथाने भएर बस्नुपर्छ भन्ने विचारलाई नै उपन्यासले मूल विषयवस्तु रचिएको छ । रोहितकै वरिपरि कथावस्तु घुमेको छ । उपन्यासको आशय नै रोहितका विचार, मानसिकता आदिमा केन्द्रित रहेको छ। यसमा कार्बीहरूका गाउँबुढा बुडेन्टी पनि प्रस्तुत गरिएको छ।

.. दृष्टिविन्दु- यस उपन्यासमा प्रथम पुरूष दृष्टिविन्दुको प्रयोग गरिएको छ। यद्यपि म पात्रको भूमिका भने परिधीय छ। उसको उल्लेखनीय भूमिका देखिन्न बरू उसले पाठकलाई रोहितको बारेमा र असमको सामाजिक राजनैतिक स्थितिको विवरणदाताको रूपमा मात्र पाइन्छ। यसमा म पात्रले अरू खेलाडीले खेलेको विवरण दिएसरह बाहिरबाट रोहित र अन्य पात्रहरूको कार्यविवरण प्रस्तुत गरिरहेको छ । म पात्रले असमलाई कमाउने, समस्या परे नेपालतिर भागिहाल्ने खालको मानसिकताको प्रतिनिधित्व गरिरहेको छ भने रोहितले भने ठिक विपरीत मानसिकता बोकेको पाइन्छ।

२..उपन्यासको परिवेश– रैथाने उपन्यास मूलतः ग्रामीण परिवेशमा रहेको छ । असमको कार्बी आङ्गलाङ जिल्लाभित्रका अत्रिघाट, गुप्तीवास, तामुलपुर आदि जस्ता गाम्रीण क्षेत्रहरूमा कथा घुमेको पाइन्छ । असमका खेत खलियान, जङ्गल, नदीनाला, ग्राणीय घरहरू आदि यसका बाह्य परिवेश हुन् । यसको भौतिक परिवेश, कालिक परिवेश, आन्तरिक परिवेश, मानसिक परिवेश आदिलाई प्रस्तुत गरिएको छ। यसमा भौतिक रूपमा ग्रामीण परिवेश पाइन्छ । ग्रामीण घरभित्रका मूलघर, पाकघर (भान्साघर), गुवाली, गाइगोठ, पँधेरा आदिको वर्णन पाइन्छ  । यसमा असममा नेपालहरूको सांस्कृतिक परिवेशको पनि अङ्कन गरिएको पाइन्छ।

२..उपन्यासमा तथ्यात्मकता– रैथाने उपन्यासको सबैभन्दा सबल पक्ष नै यसमा रहेको ऐतिहासिक प्रसङ्ग र तथ्यात्मकता रहेको छ । असमेली नेपाली जनजीवनको सामाजिक, राजनैतिक, आर्थिक ऐतिहासिक, भौगोलिक तथ्यहरू प्रस्तुत गरिएको छ । बाल्यकालीन नोस्टाल्जिक भावनासँगै उपन्यास शुरू भएको छ । असमका शङ्करदेवका चेला रतिकान्त उपाध्यायको योगदानदेखि लिएर वर्तमानसम्मको उल्लेख पाइन्छ । असमको आध्यात्मिक, स्वाधीनता सङ्ग्राम, राजनैतिक शैक्षिक, कृषि, खनिज खनन आदि क्षेत्रमा गोर्खालीहरूको योगदानको पनि चर्चा गरिएको छ । असमीय समाजका मूल निवासी, आदिवासीसित गोर्खालीहरूको सामाजिक सांस्कृतिक राजनैतिक आर्थिक सह-सम्बन्धको पनि परोक्ष प्रत्यक्ष चर्चा गरिएको पाइन्छ । कार्बी आङलाङ जिल्लाका मूल कार्बीहरूसित गोर्खालीको सम्बन्धलाई पनि सूक्ष्म रूपमा केलाइको छ । उनीहरूका गाउँबुढाले घरमा नै आएर जग्गा जमिन कमाउन दिएको प्रसङ्ग छ ।

असमलाई हराभरा, शश्य-श्यामला तुल्याउने, अन्न, दुध उत्पादन गरी असमभरि वितरण गर्ने नेपालीहरूको ठुलो योगदान छ । नेपालीहरूले स्थानीय मान्छेका जग्गाजमिनमा खेती गरेर अन्नादि उपार्जन गरी अन्न खुवाउने गर्दछन् । यद्यपि समय क्रममा राजनितीले कोल्टे फेर्दा गोर्खाली बिल्लीबाठ परेका थिए । असमको राजनिती बिग्रेर गएको थियो  । असमका मूल बासिन्दाभन्दा विशेषगरी बङ्गलादेशतिरबाट गएका मानिसहरूको बहुसंख्या हुनथालेकामा स्थीनय मानिसहरू त्रसित भएका थिए । विस्तारै असन्तुष्टि, आक्रोश, असुरक्षा आदिको भावले डोहोरिएर एउटा विदेशी बहिष्कार आन्दोलन सन् १९७९ देखि १९८३ सम्म चलेको थियो । यसको फलस्वरूप असममा बर्सौंदेखि रहिआएका गोर्खाहरू पनि यस आन्दोलनको भुँवरीमा लपेटिएको थिए । धेरैका घर जले, गाई बाख्रा डडेर मरे-मारिएर, ज्यान गयो । यस असुरक्षाको भावनालाई पन्छाउन रोहितका विचारहरू औषधीसरह थियो । असम गएर बसिसकेपछि हारेर भाग्नु होइन बरू खुट्टा दरो गरी बस्नुपर्दछ ।

उपन्यासमा असममा गोर्खाहरू मूल दुई खालका गोर्खालीहरू देखाएको छ- आफु असमकै रैथाने भावना भएका र अर्का खालमा असम छोडेर नेपाली फर्किनेहरू हुन् । यो पछिल्ला खालका नेपालीहरू असममा बसेर कमाइ गरी नेपाल फर्किने मानसिकता लिएका हुन्छन् । यद्यपि राजनितीले कोहीबेला साथ दिँदैन । राजनितीको भुँग्रोमा परेर निर्दोष जनताका ज्यान गएको, घर जलेको, गाईवस्तु मारिएका, बलात्कार, लुटपीट आदि भएर पलायन हुनुपर्ने बाध्यता पनि आइपरेको थियो । १९७९ देखि १९८३ सम्मको बिदेशी बहिष्कार आन्दोलनले यस्तो सम्म भएको थियो । पुस्ताले बस्तैआएका धेरै गोर्खालीहरूले आफ्नो थातथलो छोडेर अन्यत्र सुरक्षित ठाउँमा गएर बस्नुपरेको थियो । हामी असममा बस्छौं, यहीँको सेवा गर्छौं भन्ने भावना लिएका गोर्खालीहरू पनि भाग्नुपरेको स्थिति बनेको थियो ।

२.. उपन्यासको संरचना– उपन्यासको कथावस्तु र विषयवस्तुका तुलनामा यसको बनोट, बुनोट संरचना भने उति सफल मान्न सकिन्न । उपन्यासको बनोट भने  कमजोर भएको छ। अध्याय योजना, परिच्छेद योजना, घटना संयोजन योजना, वस्तुविन्यास योजना, शिल्प योजना, कालिक योजना, भाषिक योजना आदिमा भने उपन्यास चुकेको छ । उपन्यासमा कथावस्तु सोलोडोलो रूपमा अघि बढेको छ । घटनाहरूको सपाट वर्णन गरिएको छ । यसो गर्दा पाठकहरूले रोचक विषयवस्तु पाए तापनि यसको शिल्पपक्षका कारण उपन्यास रोचक बन्न सकेको छैन । यसमा असमको कार्बी आङ्लाङ जिल्लाको दुई चार गाउँको कुरा जोडिएको भए पनि असमेली गोर्खाली जनजीवनको कथा बुनिएको छ । यद्यपि उपन्यासले कथावस्तुको गहनतालाई थेग्न सकेको छैन । यसको बनोट-बुनोटमा शिथिलता पाइन्छ । प्रथमतः परिच्छेद योजना गरिएको छैन । घटना प्रसङ्ग, समय प्रसङ्ग, स्थल प्रसङ्ग आदि सबैको संयोजन नगरी एउटै परिच्छेदभित्र अघि बढाइएको छ।

उपन्यासको उत्तरार्द्धमा भने घटनाभन्दा विवरण र विषयविस्तार बढी गरिएको छ । यसमा गोर्खालीको सभामा छात्र नेताहरूले बोलेको लामो वक्तव्यलाई प्रस्तुत गरिएको छ । त्यसका साथै रोहितको विचारलाई पनि लामो रूपमा उतारिएको छ । वक्तव्य र विचारका बिचबिचमा औपन्यासिक कथाप्रसङ्ग जोडिएको छ । उपन्यासको अन्तमा भने विजय कुमार श्रेष्ठ झापा नेपाल भनेर लेखिएको छ । यसको अर्थ हुन्छ पहिले असमका विजय कुमार श्रेष्ठ (म पात्र) अहिले झापा नेपालबाट आफु असम बस्ताको संस्मरणको प्रस्तोता हुन् । रैथाने उपन्यासका उपन्यासकार भने रोहित हुन् र विजय कुमार श्रेष्ठले रोहितमाथि गर्वबोध गर्दै शुभकामना व्यक्त गरिएको छ । यसमा उपन्यासभित्र उपन्यासको अवधारणालाई अघि सारिएको जस्तो औपन्यासिक प्रयोग गर्न खोजिएको भए तापनि यो अन्तमा फ्यातुलो बनेको छ । यसमा कथावस्तु औपन्यासिक कलाभन्दा बाह्य पक्ष र विवरण बढी भएको छ । पढ्दै जाँदा पाठकले कथावस्तुलाई तथ्यात्मकता र विवरण पक्षले थिचेको अनुभव गर्दछ।

उपन्यासमा विषयवस्तु भने गहकिलो रहेको छ । यसमा असमका दुई पाटोको भौतिक र मानसिक अवस्थाको सर्वेक्षण गरिएको छ । उपर्युल्लिखित असमका नेपालीहरूको विवरण पाइन्छ । यसमा तथ्यात्मकता, ऐतिहासिकता, भौगोलिकता, सामाजिक र सांस्कृतिक परिस्थिति सबैको जानकारी पाइन्छ । त्यहाँ नेपालीहरू कहाँ र कसरी बसेका छन्, के गरी जीविकोपार्जन गर्छन्, सङ्कटका बेला कसरी आफुलाई जोगाएका थिए ? के खान्छन्, कस्तो घर बस्छन् आदिका इतिवृत्त पाइन्छ । यस हिसाबले उपन्यास सफल र सबल बनेको छ । पाठकका निम्ति रोचक बनेको छ।

२.. उपन्यासको भाषा- रैथाने उपन्यासको भाषा सरल सहज र स्वभाविक छ । यसमा मानक र बोलचालको गरी दुईवटा नेपाली भाषाको प्रयोग पाइन्छ । यद्यपि केही असमेली शब्दहरू पनि प्रयुक्त रहेको छ । टोप्लो, फान, हाफलु, कराइबारी, लड्डी, हाप्पा, प्रजन्म, डण्ठ्याउनु, पाकघर, नामघर आदिजस्ता असमीय मूलका शब्द प्रयोग भएको पाइन्छ ।  भाषा भने दुर्बल नै रहेको पाइन्छ । भाषा आकर्षक बन्न सकेको छैन । शैलीका दृष्टिकोणबाट हेर्दा यो उपन्यास उति रोचक बन्नसकेको छैन । यसमा लेखकीय भाषा र पात्र संवादको भाषाको सीमारेखा क्षीण रहेको छ अर्थात् पात्रहरूले पनि प्रायः मानक भाषा नै बोलेका छन्।

३. उपन्यासको मूल्याङ्कन र उपसंहार-

रैथाने उपन्यास विशुद्ध रूपमा असमको रैथानेका समस्यामा केन्द्रित उपन्यास हो । असममा मूलतः तीन खालका मान्छे बस्छन्- मूल असमीय रैथाने, अन्यत्रबाट काम गर्न गएका मानिसहरू र बङ्गला देशबाट असम सिमानाभित्र जबर्जस्ती छिरेकाहरू मान्छेहरू । बर्सेनी नेपालबाट हजारौं मान्छे असम पस्ने गरेको इतिहास लामो छ । त्यहीँको रैथाने भएर सङ्गठनिक रही बस्नुपर्दछ भन्ने रोहितको विचार नै उपन्यासकारको मूलोद्देश्य हो । असममा नेपालीहरू पनि मूलतः दुई खालका बस्छन्- असममा बसेर तहीं सङघर्ष गरेर भए पनि त्यहीँको स्थायी बसोबास गर्न चाहने, अर्को खाले छन् जो असमबाट केही सारोगारो परे नेपालतिर भागी हाल्ने मानसिकता बोकेका । यो पछिल्लो खालका असमे नेपालीहरूका कारण भावी पीढीलाई अपठ्यारो पर्ने सम्भावना हुन्छ भन्ने उपन्यासकारको ठहर छ ।

०००

लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सनधान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३) लगायतका कृतिहरु प्रकाशित छन् । हाल उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।

 

Leave a Reply