सिर्जना अर्यालको “बोध अन्तर्बोध”

पुस्तक समीक्षा

ज्ञानेन्द्र गदाल

सिर्जनाको वास्तविक नाम काशिका अर्याल भएता पनि नेपाली साहित्यमा भने उनी सिर्जना अर्यालको नामबाट सुपरिचित छन्। बिगत दुई दसकदेखि नेपाली साहित्यमा गीत, कविता र गजल वा नाटक लेखनमा निरन्तर कृयाशिल रहेकी सिर्जना अर्यालको कलम मूलतः लयात्मक गीत, गजल र छन्द कवितामा नै रमाएको पाइन्छ। उनका केही कृतिहरु: सुनको पिंजडा (२०१९) र बोध अन्तर्बोध (२०२३) नामक दुइवटा कवितासंग्रह सहित मुर्दाघर (२०२४) नामक एउटा नाटक बजारमा आइसकेका छन्। दिसम्बर २१, २०२४ शनिबारका दिन कोलोराडोमा उनै कवि एवं गीतकारको नविनतम छन्दोवद्ध काव्यकृति “बोध अन्तर्बोध” को अन्तरकृया कार्यक्रम सम्पन्न भएको थियो, जसको आयोजना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाले गरेको हो।

कृतिको समिक्षात्मत टिप्पणी सहित कृतिकारका बारेमा बोलिदिने आग्रह कवि सिर्जना अर्यालबाट केही दिन अघि प्राप्त भएको थियो। हुन त गीत सिर्जना गर्ने मैले कविता त्यो पनि छन्द कविताको गहन समिक्षा गर्ने क्षमता पूर्णरुपले राख्न त कहाँ सकुँला र ! तथापि सर्जकको आग्रहलाई नकार्न पनि सकिन र यहि मेसोमा एउटा नयाँ कृति पढ्न पनि सकिने कुराको लोभले उक्त कामको जिम्मेवारी लिन स्वीकार गरे।

पुस्तक अद्योपान्त अध्ययन गरी प्रत्येक कवितालाई केस्रा-केस्रा चिरफार गर्ने झन्झट र झमेलामा नफसी यसमा रहेका कविताहरुका चरित्र, प्रकार शैली, भाव र काव्यिक गाम्भीर्यता मात्रै छोटकरीमा प्रस्तुत गरेको छु।

बोध अन्तर्बोध” कवि सिर्जना अर्यालद्वा रचित कृति हो। यो छन्दोबद्ध लयमा सिङ्गारिएका विभिन्न विषय र भावमा लिखित कविताहरुको संग्रह हो। यसभित्र संग्रहित कविताहरु शार्दूलबिक्रिडित, मन्दाक्रान्ता, उपजाति, मालिनी, पंचचामर, भुजंगप्रयात, गीतिका, शिखरिणी, इन्द्रबज्रा, अनुस्टुप, वंशस्थ, स्रग्विणी, विधाता, विद्युन्माला, वैश्वदेवी, स्रघ्धरा, वशन्ततिलका, दुता आदि विभिन्न १८ वटा छन्दमा लेखिएका छन्। राष्ट्रप्रेम, परिवार प्रेम, राष्ट्र-राष्ट्रियता, सृष्टि, सिर्जना, जीवनको अस्तित्वबोध, आकर्षण, घृणा, आवेग-संवेग, उच्छवास आदि भाव र भावार्थ बोकेका सरल शव्दहरुको समायोजन सहित माथि उल्लेखित १८ वटा फरक-फरक छन्दमा लेखिएका जम्मा ५५ वटा कविताहरु यस संग्रहमा समावेस छन्। प्रत्येक कविताको पुछारमा छन्दको नाम, शुत्र र गण समेत उल्लेख भएकाले छन्दको सामान्य ज्ञान भएका वा रुचि मात्र पनि भएका पाठकहरुलाई पनि छन्दबारे बिस्तृत अध्यन र जानकारी प्राप्त हुने अवसर छ यस संग्रहमा।

छन्दोबद्ध कविता आफैमा लयात्मक हुन्छ र गेयात्मक पनि। यो निश्चित नियमको परिधिभित्र बाँधिएर लेखिनुपर्ने हुनाले छन्दको गहन अध्ययन बिना छन्द कविताको सिर्जना सम्भव छैन तर छन्दको ज्ञान भएका कविहरु सामान्य कविताहरु भन्दा छन्द कविता लेख्न नै सहज मान्दछन्। कवि एवं गीतकार सिर्जना सिर्जना लयात्मक गीत र छन्द कविताका कुशल सर्जक हुन्। उनको कवितात्मक चेत उच्च स्तरको पाइन्छ। संग्रहमा भएका हरेक कविताहरुको भाव गहन र अर्थपूर्ण लाग्छन्।  छन्दको लय समात्न सक्ने पाठकहरुका लागि उनको यो कविता संग्रहले अध्यनको बानी बसाल्न अवश्य मद्दत मिल्नेछ भन्ने मलाई लाग्छ। “बोध अन्तर्बोध” भित्रका कविताहरुको छन्द प्रकार, बिषय र शैलीहरुका बारेमा सामान्यतय यत्ति नै हुन्, बाँकी पाठक स्वयंले पढेर बिस्तृत मुल्याङ्कम गर्न सक्नुहुनेछ। कविता सुन्न भन्दा पनि अध्यन गर्ने बानीले आफ्नो पनि लेखनलाई बल पुर्याउन सक्छ तसर्थ छन्दको सामान्य ज्ञान लिन समेत चाहना राख्ने कविहरुले प्रस्तुत कविता संग्रह खोजेर अध्यन गर्दा उपयोगी नै हुने मेरो चाहिं ठहर छ।

बोध अन्तर्बोधका बारेमा यत्ति भन्दै यसका सर्जक कवि सिर्जना अर्याललाई धेरै धेरै बधाई सहित उनको लेखन यात्रा अझ फराकिलो हुँदै जाओस्, अध्यन अध्यापन र सिर्जनात्मकतामा दिल चित्त लागिरहोस, नेपाली साहित्यले भविष्यमा उनीबाट अधिक योगदान प्राप्त गर्न सकोस् हार्दिक शुभकामना समेत दिन चाहन्छु। र, अन्तमा यहि कृतिको पहिलो कविता नेपालमै गर्नु शिर्षकबाट मलाई मन परेको चार लाइन उदृत गरें जुन शार्दूलबिक्रीडित छन्दमा छ:

 

“छानो हुन्न बुवा समान बलियो बाँकी सबै हुन् भ्रम

आमाको प्रिय काखतुल्य जगमा मिल्ला कुनै आश्रम?

माटाको ममतासमान जगमा पाइन्न आफ्नोपन

आफ्नो देश भुलेर गर्नु नपरोस् अर्को कुनै चिन्तन।“

कविको यो चिन्तनप्रति सतप्रतिशत सहमतिका साथ म पनि सदा नतमस्तक छु।

000

लेखक परिचयः ज्ञानेन्द्र गदाल मूलतः गीतकार हुन् । उनी विसं २०३९ देखि नेपालमै गीत लेखनमा सकृय थिए र विसं २०५५ देखि अमेरिकामा बसोवास गरे पनि उनको लेखनले निरन्तरता पाएको छ । उनको कलम गीत, गजल र कवितामा सकृय छ । उनको “मलाई छुने मन” (सन् २००३) गीत सङ्ग्रह तथा  झरिपछिको आकाश (सन् २०१३) कविता सङ्ग्रह प्रकाशित छन् । उनी अमेरिकाको कोलोराडोमा बस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *