भाष्कर मैनाली शर्मा, दार्जिलिङ
सरुभक्तद्वारा लिखित उपन्यास ‘प्रतिगन्ध’ साउन २०७६ मा पहिलो पटक प्रकाशित भएको हो। जम्मा ४८७ पृष्ठ समेटिएको यो उपन्यास नेपाली उपन्यास साहित्यमा आकारका हिसाबले केही मोटा उपन्यासमध्ये पर्दछ। यस कृतिको प्रकाशन बुक हिल पब्लिकेसन, कालिकास्थान, काठमाडौँबाट भएको हो।
उपन्यास ‘प्रतिगन्ध’ पढिसकेपछि पाठकले अनेकौँ सामाजिक, सांस्कृतिक र मानवीय यथार्थहरूको गहिरो बोध गर्दछ। यस उपन्यासले मुख्य रूपमा नेपालजस्तो देशमा पर्याप्त र सम्मानजनक रोजगारीको अभाव रहेको यथार्थ उजागर गर्दछ। रोजगारीकै खोजीमा नेपालीहरू अमेरिका जस्ता विकसित मुलुकतर्फ पलायन हुन बाध्य भएका छन्। यसरी विदेशिएपछि उनीहरू क्रमशः आफ्नो मौलिक संस्कार, संस्कृति र भाषाबाट टाढिँदै जान थालेका छन् र गएको देशकै जीवनशैली र संस्कृतिलाई आत्मसात् गर्न बाध्य भएका छन्।
उपन्यासका मुख्य पात्र–पात्राहरू आफ्नै देशमा आफ्ना सपना पूरा हुन नसकेपछि अमेरिका जस्ता विकसित राष्ट्रहरूमा सपना खोज्न पुग्छन्। यस कृतिले नेपाल प्राचीन कालदेखि नै ऐतिहासिक, धार्मिक र प्राकृतिक रूपमा समृद्ध देश भएको तथ्यलाई पनि स्मरण गराउँछ। बुद्ध जन्मिएको भूमि, सगरमाथा, अन्नपूर्ण, लोत्से, धौलागिरीजस्ता विश्वप्रसिद्ध हिमालहरू र चारैतिर फैलिएको हरियाली तथा लालीगुराँसले सजिएको देश हुँदाहुँदै पनि नेपालमा असल रोजगारीको अभाव रहनु दुःखद यथार्थ हो।
राजनीतिक रूपमा अनेकौँ आन्दोलन, क्रान्ति र परिवर्तनका कुरा भए तापनि आम नागरिकको जीवनस्तरमा ठोस सुधार हुन नसकेको अवस्था उपन्यासले स्पष्ट देखाएको छ। बरु देशको अवस्था दिनप्रतिदिन खस्किँदै गएको र नागरिकहरू आफ्नो जीवन धान्न तथा सपना पूरा गर्न विदेशिन बाध्य भएको पीडादायी यथार्थ यस कृतिमा प्रतिविम्बित छ।
मानिसलाई आफ्नो भाषा, संस्कार र संस्कृति अत्यन्त प्रिय हुन्छ। बाह्य रूपमा जति नै पश्चिमी भेषभूषा अपनाए पनि, जति नै शुद्ध अङ्ग्रेजी बोले पनि मानिसको अन्तरमनमा आफ्नै मातृभाषा र संस्कृतिप्रतिको माया गहिरो रूपमा बसेको हुन्छ। यही यथार्थ प्रतिगन्ध उपन्यासमा सशक्त ढङ्गले प्रस्तुत गरिएको छ। उपन्यासका पात्रहरू अमेरिका जस्तो भौतिक रूपमा सम्पन्न देशमा बसे पनि आफ्नो जन्मभूमि, भाषा र संस्कृतिप्रति भावनात्मक रूपमा जोडिएका देखिन्छन्। तर परदेशी जीवनका बाध्यताका कारण उनीहरूले ती मूल्यहरू पूर्ण रूपमा अभिव्यक्त गर्न सक्दैनन्।
विदेशी संस्कार अपनाउँदै जाँदा आफ्नै संस्कार क्रमशः दबिँदै जाने कटु यथार्थ उपन्यासले देखाएको छ। कतिपय अवस्थामा नेपाली संस्कृतिलाई तल्लो दर्जाको ठानी अवहेलना गरिएको प्रसङ्ग पनि यस कृतिमा पाइन्छ। उदाहरणका रूपमा, रवि जोन्सनकी अमेरिकी मूलकी पत्नीले नेपाली संस्कार र संस्कृतिलाई तल्लो स्तरको भन्दै आफ्ना छोराछोरीलाई त्यसअनुसार हुर्काउन नदिएको प्रसङ्ग उल्लेखनीय छ। यस्ता घटनाहरूले विदेशिएका नेपाली समुदायले चाहेर पनि आफ्नो संस्कार र संस्कृति जोगाउन नसकेको पीडा पाठकको मनमा गहिरो रूपमा छोइरहन्छ।
यस उपन्यासले अर्को महत्वपूर्ण यथार्थ पनि उजागर गर्दछ। हामीजस्ता सामान्य मानिसहरूको मनमा अमेरिका पुगेपछि सबै सपना पूरा हुन्छन्, जीवन सुख, समृद्धि र सम्पन्नताले भरिन्छ भन्ने धारणा व्याप्त छ। तर उपन्यासले देखाएको यथार्थ यसभन्दा बिल्कुल फरक छ। अमेरिका पुगेपछि पनि मानिसले निरन्तर संघर्ष गर्नुपर्छ, कतिपय अवस्थामा आफ्नै देशभन्दा बढी संघर्ष गर्नुपर्ने अवस्था आउँछ। सबै सपना पूरा हुँदैनन् भन्ने कटु सत्य यस कृतिले स्पष्ट पार्छ।
धनसम्पत्ति, सुविधा र भौतिक सुखले मात्र मानिसलाई पूर्ण सन्तुष्टि दिन सक्दैनन्। मानिसको अन्तरमन केवल पैसा र सुख–सुविधाबाट तृप्त हुँदैन भन्ने गहिरो मानवीय सत्य प्रतिगन्ध ले उजागर गरेको छ। विश्वकै शक्तिशाली र विकसित देशमा बसेर आर्थिक रूपमा सम्पन्न भए पनि मानिसको मनको कुनामा आफ्नै जन्मभूमिप्रतिको माया जीवित नै रहन्छ। अन्ततः आफ्नै देश फर्किने चाहना पलाइरहन्छ। यस उपन्यासले विश्वको जुनसुकै कुनामा पुगे पनि मानिसलाई आफ्नै जन्मभूमिको मोह लाग्ने सत्यलाई मार्मिक रूपमा प्रस्तुत गरेको छ।
उपन्यासको भाषा र शैली सामान्यतः सहज छ। तर मार्टिन लुथर किङ, अब्राहाम लिंकन, सन् २००१ को ९/११ आतङ्कवादी घटना तथा अमेरिकामा घटेका अन्य आतङ्ककारी घटनाहरूको सन्दर्भ भएकाले यो उपन्यास केही हदसम्म बौद्धिक पाठकहरूका लागि अझ बढी बोधगम्य देखिन्छ।
यो उपन्यासबाट हामीलाई अर्को महत्वपूर्ण कुरा पनि बोध हुन्छ। विश्व मञ्चमा नेपाल गरिब र अविकसित राष्ट्रको रूपमा चिनिएको छ। तर, अमेरिकामा कार्य गर्न गएका नेपाली भाषीहरूले त्यहाँ चमत्कार नै गरेका छन्—कोही डाक्टर बनेका छन्, कोही बैंकमा उच्च पदमा कार्यरत छन्, त कोही अमेरिकाका प्रख्यात विश्वविद्यालयहरूमा अध्ययनरत छन्।यो कुरा यस प्रतिगन्ध उपन्यासमा मात्र सीमित छैन। वास्तविकतामा पनि नेपाल मूलका नेपाली भाषीहरूले अमेरिकाजस्ता विकसित राष्ट्रहरूमा उच्च पदहरू कब्जा गरेका छन्। उनीहरूले त्यहाँका शीर्ष विश्वविद्यालयहरूमा अध्ययन गरेर इतिहास रचेका छन्। यस्ता सफलताहरू देख्दा हामीमा खुसीसँगै एक प्रकारको गहिरो दुःख पनि लाग्छ।यो दुःख किन ? किनकि नेपाली भाषीहरूले अर्काको देशमा यति ठूला-ठूला उपलब्धिहरू हासिल गरे, तर नेपाल सरकारले यहाँको मानव संसाधनलाई सदुपयोग गर्न सकेन। यदि यी प्रतिभाशाली नेपालीहरूले आफ्नै मातृभूमिमा अवसर पाएका भए, आज देशको मुहार फेरिन्थ्यो। धेरै क्षेत्रमा प्रगति हुन्थ्यो। तर, दुःखको कुरा, नेपालले आफ्ना अधिकांश प्रतिभाहरूलाई गुमाइरहेको छ।
यस कृतिमा अमेरिकी जीवनशैलीका विविध पक्षहरू—लिभिङ टुगेदर सम्बन्ध, सन्तानले अभिभावकसँग प्रेमसम्बन्धबारे खुला रूपमा कुरा गर्ने संस्कृति, स्त्री–पुरुष दुवैले घरायसी काममा समान रूपमा सहभागी हुनुपर्ने मान्यता—उल्लेख गरिएको छ। श्रीमानले श्रीमती तथा परिवारका लागि खाना पकाउने जस्ता दृश्यहरूले अमेरिकी समाजको पारिवारिक संरचनालाई चित्रण गर्छ।
त्यसैगरी, विवाहपछि सम्बन्धविच्छेदका थुप्रै प्रसङ्गहरू, साथै घरेलु हिंसाबारे हाम्रो परम्परागत सोचभन्दा फरक दृश्य पनि उपन्यासमा प्रस्तुत छन्। सामान्यतया घरेलु हिंसा भनेपछि पुरुषद्वारा महिलामाथि हुने हिंसा सम्झिने गरिन्छ; तर यस उपन्यासमा महिला द्वारा पुरुषमाथि हिंसा भएको, पत्नीले श्रीमानमाथि हात उठाएको जस्ता नौला र यथार्थपरक प्रसङ्गहरू पनि समावेश छन्।
अन्त्यमा भन्नुपर्दा, सरुभक्तद्वारा लिखित प्रतिगन्ध उपन्यास अत्यन्तै पठनीय कृति हो। यसले पाठकलाई सामाजिक, सांस्कृतिक, राजनीतिक र मानवीय जीवनका अनेक आयामहरूबारे गहिरो बोध गराउँछ। आगामी दिनहरूमा पनि सरुभक्तबाट यस्तै सशक्त, यथार्थपरक र चिन्तनशील उपन्यासहरू पढ्न पाइयोस् भन्ने अपेक्षा पाठकका रूपमा हामीले राखेका छौँ।
000
