रामकुमार पण्डित क्षेत्री
हतारिंदै हिँडिरहेको युवकलाई देखेर कसैले सोध्यो: “कता हिँडेको ?”
लम्कदालम्कदै भन्यो, “चौतारीमा ।”
उसले आफ्नो गति अझै बढायो । अलिपर दोबाटो आयो । उसले मनमनै भन्यो, “जेष्ठ नागरिक हिँड्ने लामो बाटोभन्दा जति नै कठिन भएपनि छोटै बाटो जान्छु ।” छोटो बाटो कतै साँघुरो, कतै उकालो कतै ओरालो थियो ।
हिँड्दाहिँड्दै केहीमा अल्झिएजस्तो भयो । अचानक ऊ लड्यो । के अल्झिएको रहेछ भनेर खुट्टामा हेर्यो, डरलाग्दो कालो सर्पले फनफनी बेरेर अँठ्ठ्याएको रहेछ । त्यो देख्नासाथ आत्तिएर चिच्याउँदै बोल्यो, “बचाऊ !”
निर्जन ठाउँमा कोही थिएन । उसले सहयोगी पाएन । बिस्तारै अलिअलि सम्हालिदैँ खुट्टा फट्टाएर सर्पबाट मुक्ति पाउन प्रयत्न गर्यो । अहँ, सक्दैसकेन । सर्पको शक्तिको अनुभव पहिलो पटक गर्यो । ऊ उठ्न सकिरहेको थिएन । सर्पले डषेको पनि थिएन । सर्पले फणा उठाउँदै जिब्रो भित्रबाहिर गरिरहेको थियो ।
उसले सम्हालिँदै बिन्ति गर्यो, “हे सर्पराज, भोलेनाथको गहना प्रभु ! मलाई माफ गर । मैले अन्जानमै हजुरलाई कुल्चिएको छु । मलाई ऊ त्यो चौतारीमा पुग्नु छ, छोडी दिनु न ! असल स्वभावका कति वरिष्ठहरू चौतारीमा बस्नै चाहदैनन् । म गएर चौतारो राम्रो बनाउँछु । असल मान्छेलाई बस्न आनन्द आउने बनाउँछु । यदि बनाउन सकिनँ भने बिगार्न चाहीं बिगार्दिन । चौतारोमा उक्लन नसक्ने बूढापाका लामो बाटोबाट पुगिसके होलान् ।”
उसले हात जोडेर बिन्ति भाउ गरेपछि सर्पले लुरुक्क छोडेर झाडीतिर गयो । सर्पजस्तो प्राणीमा पनि करुणा देखेर उ चकित पर्यो ।
त्यसपछि हतारहतारमा चौतारी पुग्यो । चौतारीमा बस्नै नसुहाउने मान्छेहरू चोरबाटोबाट पहिले नै त्यहाँ पुगिसकेका रहेछन् । तीमध्ये धेरै जना रूखमाथि चढेर हाँगा हल्लाइरहेका थिए । ट्वाल्ल परेर ती दृश्यहरू के हेर्दै थियो, माथिबाट हाँगा हल्लाउनेले उसको जिउमा आची खसालेर विरूप पारिदिए ।
०००
कथाकार परिचयः कथाकार रामकुमार पण्डित बौध्द सिमलटारमा जन्मिएका हुन् । उनी विसं २०५२ सालमा हिमशिखर राष्ट्रिय मासिकमा “अवसर” शिर्षकको कथा प्रकाशनसहित लेखनमा सकृय छन् । कथा, लघुकथा, कविता, एकाङ्कीमा विधामा कलम चलाउने उनका द”देशको खोजि(२०७१), देशको चित्र(२०७९) लघुकथा सङ्ग्रह, बुध्द विचार (बालकविता सङ्ग्रय)२०७३, मन्दिर र माओ(कविता सङ्ग्रह) २०७४, आधुनिक माधवी(कथा सङ्ग्रह) लगायत पुस्तक प्रकाशित छन् ।
