मानिहरूको समूह एउटा बस्तीको कुनामा जम्मा भएका थिए। गोंधूली साँझमा बस्तीका मानिसहरू बास बस्न हतारिंदै थिए। परपरसम्म अस्ताउन आँटेको घामका किरणहरू धमिलो हुदै जादै थियो। धर्तीले बिस्तारै जूनलाई स्वागत गर्न आतुर थियो। मानिसहरू बिचार शून्य थिए।
बस्तीको एकान्तमा कुरूप नारीको ठूलो आवाजले एकाएक मान्छेहरूको एकाग्रता भङ्ग भयो ।
“मारे मेरो लोग्नेलाई मारे । यो समाज , यो देश र यहाँका मान्छेहरूले मारे .. । मलाई पनि मार….” भन्दै मान्छेहरूको भीड हटाउँदै चिच्याउन थालिन् । मान्छेहरू मुखामुख गर्न थाले। बोली कसैको फुटेको थिएन। सबै जसो अलमलमा परेका थिए। अचानक पुलिसको गाडी साईरन बजाउँदै आयो। सबैको ध्यान पुलिसको गाडी तर्फ गयो। भिड हटाउँदै एक हूल पुलिसहरू अघि बढ्दै गर्दा ती नारीले रोक्न खोजिन् तर अहँ ! सकिन । एउटा मान्छेको आकृति भएतिर भीड पातलिंदै जाँदै थियो ।
माटाको घर । घरका पछाडी लत्ता कपडाहरू झुण्डिएका थिए। गुम्बाका ध्वजा झैं हावामा फर्फराईरहेका थिए । खमारीको रूखमा झुण्डिएको मान्छेले वातावरणलाई शून्य र स्तब्ध बनाएको थियो। पुलिसहरू त्यहि मान्छेनजिकै गएर नियाल्न थाले। साँझको चिसो हावाले बिस्तारै छुँदै जाँदै थियो । सबैका मुटु ढक्क फुलेको थियो। कसैले चिनेजानेको कुरा गरेनन। अँ साच्ची ! भिडबाट एक जना बोले, “अस्ती भर्खर मात्र मैले यो मान्छेलाई बस्तीमा देखेको। आज झुण्डिएछ। बिचरा ! दु:खै लुकायो। बौलाहा झैं लाग्थ्यो । एक्लै बोल्थ्यो…..। पुलिसको सोधपुछ शुरू भयो। कुरुप नारीको लोग्ने रहेछ। एकै छिनमा ती नारी पनि भिडबाट बिलिन भईन्। लासलाई पोस्टमार्टमको लागि लगियो।
लासको गोजीबाट कागजमा लेखिएको यो कहानी ……यहाँहरू माँझ बाड्दै छु। यस्तो छ कहानी…..
एउटा पातलो सिरक घुँडादेखि खुट्टासम्म लत्रेको थियो। तकियाको आड लागेर कोठाको भित्तामा टोलाईरहेका थिए । जीवनका रेखाहरू अनुहारमा सल्वलाईरहेका थिए। हातका नसाहरू पातलो छालाबाट प्रष्टै देखिन्थ्यो। गम्भीर प्रतिमा जस्तो निशब्द मौन शालिकझैं लाग्ने उनको आकृति भित्तामा धमिलो थियो। बत्तीको प्रकाश मधुरो थियो तर उनको अनुहारमा भने चमक पट्क्कै थिएन। म ढोकामै ठिङ्ग उभिएको थिएँ। म उभिएको देखेर भाईको छोरी ओठमा हाँसो बटुल्दै दगुरेर मेरो छेउमा आईन् । मैले खोजीबाट दुईंटा केक पप निकालेर दिंदै बोलें, “यो तिम्रो लागि हो, अर्को बहिनीलाई दिनु।”
उनको खुसीले भरिएको अनुहारमा सुन्दरताको लेप पोखियो। फनक्क फर्किन् र “ ठुलो बा !!” भनिन्।
मेरो हल्लीरहेको दृष्टि एकाएक भंग भयो। कौतूहलपूर्व हतारहतारमा नै मेरो परिचय दिए र गोडामा शिर राखे। म हडबडाउँदै भित्तामा अडेस लागेर उभिएँ । दशैको बेला थियो। रमझम खासै थिएन। देशले शान्ति र सुब्यवस्था कायम गर्न सकिरहेको थिएन। देश के भन्नु संसार नै आँत्तिएको थियो। बर्षौंपछि बल्ल भेट हुँदा भक्कानिँदो रहेछ मन। हर्षले शरीर फुलेको थियो।गमक्क परेर मैले मेरो धर्म निभाए।
उहाँले मेरो परिचय पाए पछि भित्ताबाट आफ्नो शरिर तनक्क तन्काएर अनुहारलाई आपतिजनक भाव दिंदै बोल्न थाले -“के कामलेआईस ?”
उनको असहाय बोलीले मेरो कान चिरियो। लत्रेको सिरक कुममा राख्दै थपे-“ मेरो चेतना र धर्म भत्काउन फेरि किन ..आईस ?
उनका थर्थरिंदै गरेका ओठ कलेटी परेका थिए।
म बस्न खोज्दै थिए .. तर बसेको भने थिईंन। उनको तिखो प्रहारले मेरो सास रोकियो। बस्ने आँटै गरिन। बस ..! भनेर मर्जी पनि भएको थिएन।
रवाफिलो स्वरमा फेरी थपे -“ यहाँबाट जा, ! गईहाल..!ः
म फिक्का हुँदै बिस्तारै सास भित्र बाहिर लिंदै थिए। म संग अतीत र वर्तमानको अस्तित्वमा मौनता भन्दा अरू केहि बाँकी थिएन। बाँकी थियो त, एउटा खाली सम्बन्ध, रित्तो सम्बन्ध.., फुटेकोसम्बन्ध…अनि समाप्तिको तितो सम्बन्ध।मौनताले सबै कुरा बोल्छ भन्छन्। म न्यानोपन खोज्दै थिएँ। अहं ! स्नेह पट्क्कै थिएन।सम्बन्धले म छोरा अनि उहाँ मेरो बाउ। बिगतको तितो समय संगै सकिदै जानु पर्ने हो तर समय झन् बलियो भएर उभियो। सायद बाबुछोरा बिच समझदारी भएको थिएन होला। मैले बुझ्न सकिन। म यात्रा बदल्न सक्दिन थिए। यात्रा बदल्नु भनेको दुर्घटना थियो। फेरी मैले उहाँको मन नै भाँचिने गरि त्यस्तो केही काम गरेको पनि थिईंन। म जुन कुरा सोचेर गएको थिएँ, परिस्थिति ठिक उल्टो भईदियो। मैले भेटिंन सम्बन्धका चिनाहरू, छोराले बाउ भेटेनन्। एक पछि अर्को गर्दै झटारो थाप्लोमा असिना झै बर्सिन थालो। गल्ती मेरो बिबाह र नास्तिकवादी सोचको थियो। खानदान , कुल घरान मिलेन रे अझ .. जातको कुराले गर्दा घर निकाला गरिदिनु भएको थियो।हिन्दु संस्कार र परम्पराको गहिरो मर्यादामा हुनुहुन्थ्यो। म अलिक आधुनिक र भौतिकवादी थिएँ।
हुन त म बिहे नगरे पनि यो घर छोड्न सक्थे तर मेरोलागि यो घर मात्र थिएन, मेरो हृदयको खुसी, बालापनका यादहरू र ममतामयी आमा पनि हुनुहुन्थ्यो । मैले त्यसो गर्न चाहिंन। बिबाह बहाना बनेर आयो र म गलहत्तिएँ। मेरो मुखले पानीको आशा गरिरहेको थियो। ओठ सुकेर फुस्रिएका थिए। शालिन र शान्त भावमा शब्दहरू बाहिर निस्के।
“जसरी बिहानीको घामको किरण न्यानो हुन्छ अनि क्रमश: दिउँसो हुँदै जाँदा त्यही घामले हामीलाइ पोल्छ हैन र? फेरि साँझ पर्दै जाँदा त्यहि घाम फेरि हराउँछ। अनि आशाको नौलौ सपना बोकेर भोलीको प्रतिक्षामा बस्छौ। थाहा छ बुबा…! “ भोलीहुन्छ कि हुदैन कसैलाई थाहा छैन। यस्तै हो हाम्रो जीवन, हैन र , फेरी यो घमण्ड के को लागि ? मैले त हजुरबाट थोरै मुस्कान र सामीप्यमागेको मात्रा त थिए। तेत्ती त मेरो हक बन्नु पर्ने होईन र ? बुबा ! म बर्षौंदेखि एक दम गह्रुँगो भारी बोकेर हिंडिरहेको छु। छटपटी र निराशाले सास फेर्न गाह्रो भइरहेको छ। यसबाट पन्छिने कैयौं कोसिस पनि नगरेको होईन तर विवस र लाचार भएर आफ्नै मुटुले अकल्पनीय रूपले निमोट्न सुरू गर्दैछ बिस्तारै बिस्तारै। म के गरुँ…? मेरो आँखा अगाडी परिवार र हजुरको मात्र तस्वीर फनफनी घुम्छ त म के गरुँ…? यसबाट बच्न एउटा भित्ताको कुनामा लुकेर.. आफूले आफैलाई छलेर निस्पट्ट अन्धकारमा घण्टौंसम्म बस्दा पनि स्वयंमा ….. म कोही होईन जस्तो लाग्छ। दृष्टि वरिपरि घुम्छ तर म फगत एक्लो पाउँछु। के म हजुरको सन्तान होईन र ?”
सन्तान! शब्दले उहाँलाई घोचेछ। बसेको ठाउबाट उठ्न खोज्नु भयो। एउटा हातले भित्तामा अडेस लगाएर उठ्दै गर्दा फेरी थचक्क बस्नु भयो। मैले छेउमै गएर उठाउन खोजें। मेरा हातहरू अघि बढ्न नपाउँदै ठूलो स्वरमा कराउनु भयो, “ नछो ..! नछो मलाई … ! कुजातमा लतपतिएको तेरो शरिर मेरो घरबाट बाहिर निकालिहाल्।”
बाउको ठूलो आवाज आमाको कानसम्म पुगेछ। आमा किचनबाट दगुरेर आउनु भयो। भक्कानेरआमालाई गम्ल्याङ्ग अंगालेछु। आमाले असहज महसुस गर्नु भयो। धमिलिएका मिलेका आँखाहरू कति बेला रसाएछन् पत्तै पाईंन। आमाले मायाको भाव देखाउनु भयो । मेरा ओठहरू बर्बराउन थाले-“आमा मलाई थाहा ! छ !, गल्ती भयो तर पनि सन्तान त हो नि ? के मेरो माया लाग्दैन बाबालाई? छटपटी र रन्थनेको मुटु बोकेर कतिन्जेल बाँचु? म स्वतन्त्र छैन , पटक्कै छैन । किनकि मेरा जीवनका रेखा र बाटाहरू अलग-अलग भएर छुट्टिंदैछन। मेरो आनन्द र मेरो सुख यी मान्छेहरूले खोसिरहेछन्। यो समाज र यी मान्छेहरूले मलाई लुछिरहेका छन्। यो कमजोर र अस्तित्वबिहीन परिचयले म किचिएको छु। मेरा सपनाहरू सुन्दर थिए तर थाहा छ आमा .. भविष्य र यथार्थदेखि एक दम डर लागिरा’छ। ठूलो भएर संसारलाई चिनाउँछु भन्थें। ठूलो हुनु भनेको त बोझ हुनु रहेछ। मेरो चेतना नै मेरो लागि बोझ भईरहेको छ यतिबेला। म मर्न पनि सक्दिन। त्यसो गर्नु कायरता र हिनताबोधक पनि हो। यति कलिलो उमेरमा जिम्मेवार बिर्सेर बौलाउन पनि सक्दिन।म बग्न चाहन्छु खोला झै … सबै बिर्सिएर …। मेरो अवस्था यस्तै हुँदै गयो भने म बौलाहुन सक्छु आमा… भत्किन सक्छु ! यदि तेसो भयो भने जीवनको बोझले आफूले आफैलाई समाप्त गर्छु। त्यो परम शान्तिमा लिन हुन्छु।”
समाप्तिको कुरा सकिन नपाउँदै आमाले मुख थुनिदिनु भयो। एकोहोरो मलाई हेर्दै गर्दा अनुहारमा मलिन भावहरू प्रकट भए। जुरूक्क उठेर भित्र जानु भयो। मेरो आँखाहरू झ्याल बाहिरको सुन्दरतामा टोलाईरहे। मसंगै हुर्किएको कुकुरले मलाई टुलुटुलु हेर्दै थियो। मेरो अभावको महसूस गर्यो क्यारे।
“तँ कति भाग्यमानी रहेछस्” मन मनै भनें । कम्तीमा परिवारसंग त बसेको छस्। म फगत पागल … यस्तै छ मेरो हाल। नसोध मेरो कहानी…..! ” सायद मेरो भाव बुझेछ क्यारे , पुच्छर हल्लाउँदै मेरो नजरबाट बिलिन भयो। म पनि हराईदिएँ यो घरबाट। आकाशबाट बर्षेको पानीले बिदाई गर्दै थियो। पानीसंगै मेरो आँसुको थोपा पनि मिसिएर बगे। मनमा अनेक थरी कुराहरू आईरह्यो। समाज , मान्छे र जातको कुराले बाउ र छोराको सम्बन्धनै टुक्रियो। मेरो बुझाई जात श्रृष्टि कर्ताले बनाएको होइन,समाजले बनाएको हो, यस्को ईतीश्री समाजबाटै हुनुपर्छ। हामीजस्ता बर्गले समाजमा क्रान्ति गर्नु पर्छ। मेरो बुबा आदर्श र चिन्तनवादी थिए। आदर्शका मालिकहरू ब्यवहारका दास हुँदा रहेछन्। मेरो बिश्वास डुब्यो। मेरो भरोसा टुट्यो। अब त घर सम्झिदा पनि डर लाग्छ। त्यो घर मेरो लागि घर होईन। भौतिक सुबिधाले कहा मानिससम्पन्न छ र ? सत्यता र सुन्दरता खोज्दै दुनियाँमा घुमें तर आफू भित्र सत्यता चिन्ने क्षमता र सकारात्मक दृष्टिकोण कहीं भेटिंन। म मौसम र समय संगै बग्न थालें। चाहेर पनि आफूले आफूलाई रोक्न सकिन ।
समय र म आफ्नै गतिमा दौडिन थाल्यौ। समयले जित्दै गयो , म हार्दै गए। अन्नन्त ड्ग्समा आएर जिवन रोकियो।सुरू सुरूमा सिग्रेट मात्रातान्थे। बिस्तारै बिस्तारै इन्जेक्शन पनि हान्न थाले। एक्लोपनलाई बिर्सन, जीवनका रंगहरूलाई फर्काउन नसा मेरो लागि सबै भन्दा प्रिय चिज बन्दै गयो। पीडाहरू हिंस्रक जनावरहरु झैं आएर चिथोरेर जान्थे.. म मौन संवाद गर्थें। फगत एक्लै हुन्थें। दिन रात नसाको खोजीमा भौतारिदै गर्दा अर्को पनि दिन छ भनेर बिर्सेन्थें। बिचरा मेरो जीवनका रहरहरू अनि सपना….। मैले थाह नै पाईन , श्रीमतीलाई पनि नसाको लत लागिसकेछ। एकदिन बिहानी शितको थोपाहररुसंगै हावाले मन्दमन्द छुँदै थियो। हामी भने एउटा नयाँ वस्तीमा आईपुगेका थियौं। मुखबाट निस्केको धुवाँ घामका किरणमा वादल झैं मडारिंदै थियो। हामी कैदी झैं डराएर नसा सेवनमा मस्त थियौं।अनुहारका रंग उडेर फिक्का थिए। मेरा काला आँखाहरूले वरिपरिका वस्तुहरू आगोले जलिरहेको देख्न थाल्यो। दनदन दन्केको आगोमा सुन्दर बोटबिरुवाहरू र घरहरू जल्दै थिए। म एक्कासी चिच्याएछु। “आगो…. आगो…..।”
मेरो आवाजले एउटा मान्छे टक्क अडियो।आँखा वरिपरि डुलाउँदै पल्याक पुलुक हेर्दै बोल्यो “- मान्छे त भर्खरकै देखिन्छ , बिचरा सानो उमेरमै बौलाएछ।”
फेरि म शून्य भएँ।एकान्त छ जस्तो लाग्न थाल्यो। मेरो नजर अन्जान एकान्तमा कतै अल्झिरहेको जस्तो भान हुन थाल्यो। झट्ट सम्झें मेरा बा.. लाई।बा..लाई सम्झनेबितिक्कै आँसुहरु खसी हाले। भावनाहरू बटुलेर भेट्न जान्छु भन्ने लाग्यो तर बारम्बार आईरहे तिनै शब्दहरू…..!” तँ मेरोलागि मरिस् !”
उफ ! हरेक प्रश्नहरु वीच मन दौडिरहँदा बेलुका हुँदै थियो। मेरो प्रेम, परिवार र मान्छेहरुमा अल्पविराम लाग्दै जानथाले ।प्रकाश र अन्धकार छुट्याउन एकदम गाह्रो भयो। अस्ताउन लागेको यो साँझमा मेरो बादलको आकार खोज्दै आकाश माथि माथि जाने निर्णय गरें। जानु भन्दा पहिला आमा र बा.. लाई मनभरि राखे। कहिले नमेटिने गरि राखे। साच्चै ! बा … भोगाईहरूको अभिव्यक्ति नै त रहेछ जीवन । हरेक मानिसहरुका आ-आफ्नै अनुभूतिहरु हुन्छन् र श्रृंखलाहरू बन्दै जान्छन्।यिनै श्रृंखलाहरूको रुप हो कथा ,जीवनको कथा , अनि बन्छ आफ्नै कथा……। अलविदा !!!!
०००
कथाकार परिचयः रमेश दियाली भूटानको दागनामा जन्मेका हुन् र हाल सिन्सिनाटी, ओहायोमा बस्छन् । उनको विसं २०७५ मा पहिलो प्रकाशित कृति उपन्यास “छाप्रो नं. ५५” ले दिल लीला सर्वोत्कृष्ट डायस्पोरा पुरस्कार प्राप्त गरेको थियो ।