५ भदौ २०८०, काटठमाडौं
लघुकथा समाज,नेपालले १६ औं लघुकथा दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गर्यो ।
सर्वनाम नाटक घरमा आयोजित कार्यक्रममा लघुकथाकार लता के.सी.लाई पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान २०८० रू २१००१/-सहित समर्पण गरियो।
कार्यक्रममा साहित्यकार तथा पत्रकार राजेश खनालले पुरस्कृत कथाकार के.सी.को जीवनी तथा लेखन यात्राका बारेमा प्रकाश पारेका थिए। साथै समालोचक लक्ष्मणप्रसाद गौतमले कथाकार के.सी.को सृजना र लेखन यात्राका बारेमा संक्षिप्त टिप्पणी गरेका थिए। सो अवसरमा साहित्यकारहरू अशेष मल्ल तथा भागिरथी श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए । लघुकथा समाजका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले पनि शुभकामना मन्तब्य प्रकट गरेका थिए ।
सो अवसरमा पुरस्कृत श्रष्टा स्रष्टा लता के.सी.ले पनि आफ्नो लेखन यात्राका बारेमा बोलेकी थिइन्।
पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान श्रीओम श्रेष्ठ रोदन दम्पतीले स्थापना गरेका हुन् ।
सो अवसरमा लघुकथा समाज कोशी प्रदेशद्वारा आयोजित लघुकथा प्रतियोगितामा सहभागी कथाकारहरू विन्दु अधिकारी ढकाल,कमला पन्थी अधिकारी,नारायण कोइराला,देवकी के.सी.,रञ्जना पराजुली,मित्र गौतम,किशन पौडेल,टिकाराम जोशी,शिवकुमार रेग्मी,इन्दिरा चापागाइ,अञ्जु शर्मा तथा ललिता दोषिलाई समेत पुरस्कृत गरिएको थियो ।
कोशी प्रदेशकी संयोजक ममता मृदुलले कोशी प्रदेशका कथाकारहरू र कथा लेखनबारे प्रकाश पारेकी थिइन् ।
कोशी प्रदेशको पाक्षिक लघुकथा प्रतियोगिता २०८० का पुरस्कृत कथाकारहरूमा कमला पन्थी अधिकारी प्रथम,मनिष कुमार शर्मा द्वितीय,निरज कोइराला तृतीय र विन्दु अधिकारी चौथो भएको घोषणा गरियो भने पुरस्कृत कथाकारहरूलाई आगामी भदौ ९ गते विराटनगरमा आयोजना हुने कार्यक्रममा सम्मानित गरिने जानकारी दिइयो।
कार्यक्रमको अन्तमा पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मानद्वारा पुरस्कृत लघुकथाकार लता के.सी.द्वारा लिखित कथामा आधारित दुइटा लघु नाटकहरू ” विधवा “र “दृश्य” मञ्चन गरिएको थियो।
समाजका उपाध्यक्ष तुलसीहरि कोइरालाको सभापतित्व एवम् साहित्यकारहरू नगेन्द्रराज शर्मा,अशेष मल्ल,श्रीओम श्रेष्ठ रोदन,भागिरथी श्रेष्ठ,लक्ष्मणप्रसाद गौतम तथा लघुकथाकार पूर्णप्रसाद ब्राह्मणका सुपुत्र सुरेश शर्मा समेतको आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो
कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए।
(सुभाषचन्द्र पौडेल काठमाडौंको सहयोगमा)