डा. रमेश शुभेच्छु
आज म यहाँ कार्यपत्र प्रस्तोताका रुपमा उभिएको छु ।
दाहाल यज्ञनिधि (२०१०–२०७५) एक जना लेखक र सञ्जारकर्मीको मात्र नाम होइन । एउटा आन्दोलनको नाम हो । उहाँ नेपाली साहित्य एवम् सञ्चार जगत्का विशिष्ट प्रतिभा मात्र नभएर एउटा आान्दोलन हुनुहुन्छ । उहाँले बोली र व्यवहारमा जस्तै आफ्ना रचनामा समाजका किनारामा रहेका पात्रहरुलाई नायक नायिका बनाउँदै साहित्यको रचना गर्नुभएको छ । उहाँले साहित्यलाई कलाका रुपमा भन्दा बढी विचार प्रवाहको साधन र विद्रोहको हतियारका रुपमा लिनुभएको छ । हालसम्म उहाँका जदौका निबन्ध (२०६९) जदौका चौँतिस निबन्ध (२०७६) र दाहाल यज्ञनिधिका कविता (२०७८) जस्ता कृति प्रकाशन भइसकेका छन् । उहाँको एउटा खुल्ला आकाश गीतिएल्वम पनि प्रकाशन भएको छ । हामीले उहाँको उचचारण अनुसार खुला आकाश शुद्ध हुने हो तर त्यसको शीर्षकमै खुल्ला आकाश भनेर झर्रोपन देखियोस् भनेर खुल्ला आकाश भनेका छौँ । त्यसको संयोजन लोचन भट्टराई दिदीले गर्नुभएको छ ।
एउटा खरो सञ्चारकर्मी, एउटा खरो साहित्यकार दाहालका रचनामा केन्द्रित भएर विभिन्न विषयको अध्ययन गर्न सकिन्छ । आज मैले कार्यपत्रमा दाहाल यज्ञनिधिका कविता कृतिमा पाइने अवरजन चेतनाको अध्ययन गरेको छु । अघि उद्घोषकले पनि र स्वागत मन्तव्यका क्रममा डा. राइले पनि यो शब्द अलि अफ्ठ्यारो गरी उच्चारण गर्नुभयो । यो शब्दले समाज र राज्य पक्षका किनारामा रहेका पत्र (अवरजनहरु) का पक्षमा वकालत गर्ने भएकाले अवरजन चेतनाको खोजी गरिएको हो । उहाँका कवितालाई दोहोर्याएर पढ्दा उहाँको मूल दर्शन अवरजन दर्शन हो भन्ने मलाई लाग्यो र म त्यतै लागेँ । यसलाई अंग्रेजीमा सबाल्र्टन स्टडी भनिन्छ ।
नेपाली भाषा, साहित्य र वाङ्मयका क्षेत्रमा कसका कृतिमा कुन चिन्तनको अध्ययन गर्नु बढी सान्दर्भिक हुन्छ भन्ने अध्ययन ज्यादै कम भइराखेको छ । त्यसको कारण हाम्रामा मौलिक सिध्दान्तहरुको अभाव छ । हामी कि त संस्कृत सिध्दान्तहरू उपयोग गर्छौं, कि त अङ्ग्रेजी वा हिन्दी सिध्दान्तहरूले काम चलाइरहेका हुन्छौँ । यो एककिसिम हाम्रो बौध्दिक आत्मविश्वासको कमी हो । हाम्रा मौलिक चिन्तनका आधारमा पनि स्वविषयक र अन्तर्विषयक समीक्षा गर्न नसकिने होइन । लोकतत्वका आधारमा पनि साहित्य सिर्जनाको अध्यय गर्न नसकिने होइन । यद्यपि हामी अरुका सिध्दान्तहरुका पछाडि लाग्नमा गौरव बोध गरिरहेका हुन्छौँ ।
सर्वेक्षणात्मक दृष्टिले हेर्दा दाहालका कविता, निबन्ध र लेखहरुमा भाषिक दृष्टिले झर्रो लेखन शैली बढी छ । नेपाली साहित्य एवम् वाङ्मयका बौद्धिक परम्परामा झर्रोवादी आन्दोलन मौलिकताको खोजी गर्ने उल्लेख्य प्रयास थियो । त्यस आन्दोलनको सैद्धान्तीकरण भन्दा पनि नेपाली भाषामा प्रयोगमा आउने आगन्तुक शब्दको नेपालीकरण प्रयास स्मरणीय छ । दाहालले त्यस आन्दोलनलाई आत्मसात गरेर कलम चलाएको हो कि भन्न सकिन्छ तर उहाँ झर्रोवादी भन्दा पनि बढी झर्रा लेखक लाग्नुहुन्छ । उहाँ लोकबोलीलाई टपक्कै टिपेर प्रयोग गर्नुहुन्छ । उहाँमा शास्त्रीय एवम् परिष्कारवादी कविहरुभन्दा लोककविहरुको प्रभाव ज्यादा छ र त्यो प्रयोग उहाँ आफ्ना साहित्यिक एवम् सांस्कृतिक कार्यक्रम सञ्चालनमा पनि गर्थे । सामान्य कुराकानी र भाषणहरुमा पनि गर्थे ।
म भन्दैथिएँ दाहाल खेताला, गोठाला, हली, भरिया, महिला, दलित महिला, विधवा महिला, तल्लोस्तरका कर्मचारी, मजदुर, राज्यको किनारामा छोडिएका पात्रका कवि हुनुहुन्छ । दाहालले जदौ दर्शनलाई स्थापित गर्नुभयो । दाहालले प्रयोग गर्नुपूर्व जदौ कसै (कथित दलित) जातिका मानिसले कसै (कथित उच्च) जातिलाई अभिवादन गर्दा प्रयोग गरिने शब्द थियो । उहाँले यसको प्रयोगलाई प्रतिष्ठित बनाउनुभयो । यस प्रकृयामा नै दाहालको अवरजन चेतना देखिइसकेको थियो । त्यो चेतना उहाँकाका सिर्जनामा प्रबल रुपमा दाहालका कविताको भाषिक वा रुप पक्ष छुट्टै शोधको विषय बन्ने छ । मेरो कार्यपत्रमा दाहालको चेतनाको र त्यसमा पनि समाजवादी चेतनाले भेट्ने खालको अवरजन वा सीमान्तीयचेतनाको मात्र अध्ययन गरिएको छ ।
नेपाली साहित्य परम्परामा आधुनिकताको उत्तरार्ध वा उत्तरआधुनिकताको प्रवेशसँगै अनुवाद, मौलिकीकरण र सैद्धान्तीकरणको प्रयत्न भन्दा पनि आगन्तुक शब्दलाई र सिद्धान्तलाई जस्ताको तस्तै लिने र प्रयोग गर्ने प्रचलन बढेर आयो । डायस्पोरा, ट्रमा, सवाल्र्टन, डिकन्ट्रक्सन, जेन्डर………… आदि यसका उदाहरण हुन् । यस किसिमको सैध्दान्तिक ग्रहण र प्रयोगको वीज उत्तरआधुनिकताको प्रवेशअगाडि आधुनिक चिन्तनमै पनि रोपिइसकेको थियो । हाम्रा कतिपय अग्रज समीक्षकले क्लासिकल कवि, रोमान्टिक कवि भनेर लेखे र त्यसलाई पढिँदै र प्रयोग पनि गर्दै आइयो । नेपाली समीक्षाशास्त्री वासुदेव त्रिपाठीले सकेसम्म आगन्तुक शब्दलाई नेपालीकृत नगरी प्रयोग गरेनन् । उनले समीक्षा लेखनका क्रममा र वृहत् नेपाली शब्दकोश (२०४०) को सम्पादनका क्रममा पनि यस पक्षलाई निकै गम्भीरतासाथ लिए । नेपाली शोधपरम्परामा प्राप्त मौलिक शब्दहरुका निर्क्यौल र प्रयोगमा त्रिपाठीको भूमिका उल्लेख्य छ । त्रिपाठीपछि मोहनराज शर्माले नेपाली साहित्यमा भित्रिएको आधुनिक र उत्तरआधुनिकतावादी समीक्षा परम्परामा मौलिक शब्द निर्माण र मौलिक सैध्दान्तीकरणको निकै सार्थक प्रयास गरे । यस प्रयासस्वरूप उनले ‘सवाल्र्टन स्टडी’लाई अवर्जन अध्ययन भनेका छन् । उनले ‘अवर्जन अध्ययन र साहित्य’ शीर्षकको लेखमा यस विषयमा निकै विस्तृत व्याख्या गरेका छन् । यो लेख शर्माको पछिल्लो समीक्षात्मक कृति समालोचनाका नयाँकोण (२०७८) कृतिमा समेटिएको छ । यसै आधारमा यहाँ अवरजन पदलाई नेपाली कविता परम्परामा अलि फरक धारका विषय र आवाजलाई समेट्ने प्रयत्न गर्ने अग्रज कवि दाहाल यज्ञनिधिका कविताको अध्ययनका लागि उपयोग गरिएको छ । यस पदको प्रयोग गर्ने अर्का अग्रज समीक्षक राजेन्द्र सुवेदी पनि हुनुहुन्छ ।
यसरी हेर्दा अवरजनको तल्लो मानिस भन्ने अर्थ लाग्छ । यो अधीनस्थ, अशक्त, आवाजहीन, इतिहासविहीन, उत्पीडित, उपेक्षित, गरिब, दबिएको, दमित, दलित, निमुखा, निर्धो, पिछडा, मातहतको, विपन्न, शासित, शोषित, श्रमिक, सर्वहारा, सीमान्तकृत, प्रभुतारहित, निमुखा, निर्धन आदि अर्थ दिन्छ ।
ऐतिहासिक दृष्टिले अवर्जन अध्ययन प्रसिद्ध चिन्तक एन्टोनियो ग्राम्चीका सिद्धान्तबाट प्रभावित भएर इतिहासको पुनर्लेखन गर्न १९८२ मा पिछडाहरुको अध्ययन समूह (सबाल्टर्न स्टडिज ग्रुप) स्थापित भएपछि चर्चामा आएको हो । यसको विकासमा सवाल्र्टर्न स्टडिज ग्रुपका एरिक स्ट्रोक्स, डेभिड आर्नोल्ड, दीपेश चक्रवर्ती, पाश्र्व चटर्जी, रञ्जित गुहा, सुदीप्त कविराज, ज्ञानेन्द्र पाण्डे, ज्ञान प्रकाश, एडबर्ड सइद, सुमित सरकार, अजय स्कारिया, गायत्री चक्रवर्ती स्पिभाक, सरोजिनी साहू आदिको भूमिका देखिन्छ ।
अवरजनको एसियाली संस्करणको विकास रन्जित गुहाको सवाल्टर्न स्टडिज : राइटिङ्ज अन साउथ एसियन हिस्ट्री एन्ड सोसाइटी (सन् १९८२–८९) का छ वटा ठेलीहरु २० औं शताब्दीको भारतको मूल्यवान कृति मानिन्छ । यसमा सइद एवम् स्पिभाकले गहन लेख लेखेर अगाडि बढाएका छन् । अहिले यो अध्ययन एसियाको बाटो सवाल्टर्न स्टडीका रुपमा विश्वामा पुगिरहेको छ ।
भारतीय दार्शनिक रञ्जित गुहा इतिहासकार र वस्तुगत राजनीतिक चिन्तकहरूमध्ये एक थिए । उनकै अग्रसरतामा सबाल्टर्नको कोणबाट इतिहास लेख्ने नयाँ विधाको स्थापित भएको हो भन्ने कुरामा धेरै विद्वानहरु सहमत छन् । उनले विश्व इतिहास लेखनमा उत्तरऔपनिवेशिक र यूरोपलाई केन्द्र नमान्ने पध्दतिको सुरूआत भएको मानिन्छ। यस दृष्टिले हेर्दा २० औं शताब्दीका एशिया र अफ्रिकाका अन्य उपनिवेशविरोधी विश्व नागरिक जस्तै गुहा पनि जर्मन दार्शनिक हेगेलबाट प्रभावित भएको पाइन्छ । गुहाले हेगेलसँगै काल माक्र्सबाट वर्ग सङ्घर्ष र क्रान्तिबारे चिन्तनको अभिप्रेरणा ग्रहण गरेका छन् । हेगेल र माक्र्ससहित एसिया र भारतका मौलिक सामाजिक समस्यालाई बुझेकैले उनी समाजवादी अभियन्ताका रूपमा भारत, यूरोप र पश्चिम एशियाभर घुमेर काम गरेको पाइन्छ । यस अर्थमा अवरजन चेतना एसियाको मौलिक चेतना पनि हो भनिन्छ । यसको विकासमा गायत्री स्पिभाकको योगदान उल्लेख्य रहेको छ ।
अवरजन अध्ययन चिनियाँ क्रान्ति र अल्जेरियाली मुक्ति युद्ध लगायत भारत र संसारका सबैतिरका स्वाधीनता संघर्षबाट प्रेरित छ । सूक्ष्म दृष्टिले हेर्दा हेगेलका निम्ति राज्यको कर्मचारीतन्त्र ‘वैश्विक वर्ग’ बाट निर्माण हुन्थ्यो, त्यो तत्कालका लागि आधुनिक ज्ञानको भण्डार थियो । कार्ल मार्क्सले हेगेलको त्यही वैश्विक वर्गको मान्यतालाई लिएर मजदूरहरू समाजवादी क्रान्तिका अग्रदस्ता हुन् र उनीहरुले पूँजीवादलाई नष्ट गरिदिन्छन् भन्ने मान्यता स्थापित गरे । तुलनात्मक रुपमा बहुमत जनता किसान भएको र युरोपेली साम्राज्यहरू विरुद्ध जुधिरहेका एशियाली र अफ्रिकाली समाजका लागि केही फरक लागिरहेका थिए तर माक्र्सवादको प्रभाव कत्ति पनि कम भएको देखिँदैन ।
ऐतिहासिक दृष्टिले यूरोपेली–माक्र्सेली प्रगतिवाद सोभियत संघ, सोभियत गठबन्धनका अरू राज्य र नेहरूकालीन भारतका लागि कृषि समाज नष्ट गर्ने वैधानिकताको स्रोत बनेको थियो। एक किसिम सोभियत शैलीको साम्यवादबाट समाज परिवर्तनका लागि सबै खाले पक्षका आवाज नसमेटिने हु्न् कि भन्ने चिन्तन समय समयमा नआएको होइन । तर यस चिन्तनले कम्युनिष्ट र गैरकम्युनिस्ट कसैलाइ पनि छोडेको छैन । त्यस्तै नछोडिएका पात्रमा दाहाल यज्ञनिधि पर्नुहुन्छ । नेपाली साहित्य परम्परमा प्रगतिशील र प्रगतिवादी स्रष्टाहरुले किनाराका आवाज उठाइरहे । यसमा केही छुटि पनि रहे । गैर प्रगतिवादी लेखकले उठाएका किनाराका आवाजको उति अध्ययन विश्लेषय हुन सकेन यस अर्थमा शर्माले अगाडि सारेको अवरजन सीमान्तीय चेतना वा अङ्ग्रेजीको ‘सवाल्टर्न’ले देखाउने विशेषताका कोणबाट दाहाल यज्ञनिधि जस्ता किनाराका विषय प्रस्तुत गर्ने लेखकलाई प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वासले यो अवधारणापत्र अगाडि सारिएको छ । मैले यो विषय एक दशक अगाडि नै उहाँका विषयमा कृति लेख्ने क्रममा उजागर गरिसकेको थिएँ :
“लुकी लुकी पशुपूजा गर्दै धर्मनिरपेक्षताका कुरा गर्ने र आफ्नै सन्तानलाई अनमेल विवाहका नाममा घरबाट निकाल्दै जातीय समानतका राजनीति गर्ने नेताले दाहाल यज्ञनिधिको परिवर्तनकारी जनपक्षीय दर्शन कहिल्यै बुझ्ने देखिँदैन । उनको स्वाधिन राष्ट्रवादलाई उत्तर, दख्खिन र नागार्जुनको भाषा बोल्ने राजनीतिकर्मी र नागरिक समाजका अगुवाले बुझिदेलान् भन्न पनि सकिँदैन । नेताका गोजीबाट नियुक्ति पाउने सञ्चारमाध्यमका प्रमुख र अस्वस्थ्य प्रतिष्पर्धाबाट बनेका सचिवहरुले उनको सञ्चार दर्शन पहिल्याउन सक्तैनन् । तिनै शासक र नेताका कोटाका प्राज्ञहरुले दाहालको प्रज्ञाको उज्यालो पनि भेट्टाउँदैनन् । उनलाई चिन्न उनकै निबन्धकी ’यो बच्ची यस देशको राष्ट्रपति बन्नुपर्छ र डुसी दमिनीले न्याय पाउनुपर्छ । त्यसो भएका दिन हिजो र आजका समेत सबाल्टर्न दाहाल यज्ञनिधि यस देशका राष्ट्रिय प्रतिभा घोषित हुनेछन् ।“ (२०६९, पृ. ण)
मेरो यो एक दशक अगाडिको अवधारणाले पनि दाहालका रचनामा सीमान्तीय पक्ष अध्ययन गर्न बल पुगेको हो । उहाँका कविता मात्र होइन निबन्ध र अन्तर्वार्ताहरुमा पनि यो चेतना प्रबल छ । भाषण र अरु साधारण लेखमा पनि यो चेतना प्रबल प्रस्तुत कार्यपत्रमा अध्ययन गरिने दाहालका कविता देबु लुइटेलले सम्पादन गरेको कृति दाहाल यज्ञनिधिका कविता (२०७८) कृतिमा समेटिएका रचनाका सीमाबाट र यहाँ छुटेका पनि केही कविताबाट छनोट गरिएको छ । ती कविताहरुका केही शीर्षक मात्र म यहाँ सुनाऊँ : नाच्ने चरीलाई नहान ढुङ्गाले, भँगालो सुसाउँछ , झरी, उडी जाने पुतलीको पानीमुनि छाया, आँत, विश्वास, दुबो बोल्छ, चरी चरन, आमा मार्नेको गीत, .रक्तदान, चिस्यानकी चिउला, सानुसित, है सिस्नु, बुध्दिसागर, प्रहरी विधवा बोल्छे, बोक्सेबास, मान्छे र मेरो देश, पाले पुन्ने मारे हत्ते, गुहार, मेरो देशको भर्सेलीमा, अँध्यारोसँग, .महाशक्तिको गाना, नेपालतारा नारानप्रसाद, कौसिली, हाम्रो शालिग्राम, हामी, फूलनदेवी, म काइँली कमिनी, मेरी आमा र म, , गम्काई छाड्छौँ विश्वमा हाम्रो माटोको सुवास, दमिनीको गीत, खुला निलो आकाश, हुरी चल्न आँटो, मेरो देशको भर्सेलीमा, पानीविना बाँचेन, सँगसँगै बाटो हिँड, धर्तीगीत, डढेलोको आगो, अँध्यारोसँग, देख्यौ दिदी टोड्कामुनि, पवित्र चिहानको गान आदि आदि ।
दाहालका कवितामा अवरजन आवाज छ भन्ने कुरा उहाँले छनोट गरेक विषय र विषयगत विम्ब प्रतीकले नै देखाउँछन् । अघि मैले भनेका शीर्षकले नै देखाउँछन् । उहाँ तल्ला, हेपिएका, थिचोमिचोमा परेका र दवाइएका किनाराका पात्रका कवि हुनुहुन्छ लैङ्ङ्कि, जातीय, वर्गीय अल्पसङ्ख्यक, भिन्न क्षमता (अपाङ्गता) आदि अनेक किनाराका पात्रका कवि हुनुहुन्छ ।
दाहालले आफ्ना कवितामा बालबालिका, कमिनी, सर्किनी, नमिनी, नारानप्रसाद, बुढी सर्किनी, कुमाले, बालविधवा, विधवा, बालदुलही, बलात्कृत नारी, श्रमजीवि भरिया, कर्मवीर कथित तल्लो जातका मानिस, जन्मनासाथ फ्याँकिएको शिशु, चरी, खरायो, गाई, मृग, पुतली, कुखुरा, परेवा, एकपाते विरुवा, वृध्दवृध्दा, किसान, दुवो, फूल, कोपिता, सिस्नो, थुन्सेमा कुराउनी बोकेर मैतालु जाने नारी, भीरफूल आमा, चट्टान बाबु, माई, धाई, कौसिली, सिलाम, रोटी, गुँड, चारो, चिहान, झरी, सिमसार, गौँथली, गुँड, कमार (कमारा कमारी), याक्सा, बच्चो, लत्ता फाटेको टुहुरो बालक, टुहुरी बालिका, फ्याँकिएकी बालिका, माझी बाला, दलित बाला, बगर, मझिनी बैनी, आँखा नउघ्रँदैका चिउसा बचेरा, सहिद, गरिब सन्तति, लडाकु, सहिदको रगत, कङ्काल, पसिना, आँसु आदि किनाराका पात्र र वस्तुलाई विषय, विम्ब र प्रतीकका रुपमा प्रयोग गर्नुभएको छ ।
वर्गीय अवरजन
आजको विश्व समाज वर्गीय विविधतामा विकसित छ । नेपाली समाज पनि वर्गीय समाज हो । छिमेकी मुलुक चिनको अवस्थालाई हेरी माओत्से तुङ ( सन् २००४) ले जमिनदार वर्ग र दलाल पुँजीपति वर्ग, मध्यम पुँजीपति वर्ग, निम्न पुँजीपति वर्ग, अर्ध सर्वहारा वर्ग र सर्वहारा वर्ग गरी पाँच प्रकारका वर्ग विभाजन गरेका थिए ( पृ. ११) । नेपाली समाज माओत्से तुङको वर्गीकरणअनुसार नेपाली समाज निम्नपुँजीपतिवर्ग, अर्घ सर्वहारा वर्ग र सर्वहारा वर्गको श्रमले चलेको छ । माओत्से तुङको यो वर्ग विश्लेषण नेपाली समाजमा पनि सार्थक हुन सक्छ । यस दृष्टिले हेर्दा र अवरजनले परिभाषित गरेको वर्गका कोणबाट हेर्दा दाहालका अधिकांश कवितामा वर्गीय चेतना छ ।
नेपाली समीक्षा परम्परामा प्रगतिशील र प्रगतिवादी लेखकका रचनामा मात्र वर्गीय चेतना खोजिन्छ र उनीहरु कम्युनिस्ट विचारसंबध्द हुन्छन् भनिन्छ तर माक्र्सवादी दर्शनको उपयोग गैर कम्युनिस्टहरुले पनि गरिरहेकै हुन्छन् । माक्र्सवाद कम्युनिस्टको मात्र विचार होइन यो एउटा साझा दर्शन पनि हो । यस कुरालाई दाहाल जस्ता स्रष्टाले प्रयोग गरेर देखाइदिएका छन् । यो प्रकारान्तरले नवमाक्र्सवादका रुपमा र अवरजनका रुपमा प्राय: सबै विचारधाराका स्रष्टाका सिर्जनामा घुसिरहेको छ । यसले माक्र्सवादको अर्थ संकुचन र विस्तार पनि गरेको छ । त्यस अर्थ विस्तार र संकुचनका घेरामा दाहाल पनि देखिनुहुन्छ ।
चरीचरन, दाजु बताइदेऊ न, म काइँली कमिनी, कौसिली, फुलनदेवी, मेरी आमा र म, दमिनीको गीत, देख्यौ दिदी डोड्कामुनि, बुढी सर्किनीको गीत, पवित्र चिहानको गान, चिस्यानकी चिउला, दुबो बोल्छ आदि कवितामा वर्गीय चेतना अभिव्यक्त छ । जस्तै :
हेर्न देऊ चर्न देऊ चरी चरन सबै
हामीलाई नमारुन् नि मल्साँप्राले कबै ।
(२०५८, पृ. ७८)
प्रस्तुत अंश चरी चरन’ रचनाको अंश हो । यहाँ चरामा निम्न वर्गीय र मल्साँप्रामा उच्च वर्गीय पक्षलाई उजागर गरिएको छ । यो चरी विम्ब र चरीचरन विम्ब वर्गीय विम्ब हो ।
दाहालका कवितामध्ये म काइँली कमिनी एउटा वर्गीय अवरजनको बलियो आवाज हो । यो जातीय अवरजन पनि हो । यसमा मुखिया माथिल्लो वर्ग र नायिकाको समुदाय तल्लो वर्गमा चित्रण गरिएको छ :
मलाई घुर्यानमा फ्याँकेर आमा पोइल गइछन्
मरिन् कि ज्यूँदैछन् थाहै छैन
घुर्यानको मल खाएर म हुर्किएँ
परेवा कुखुरा जस्तै हुर्किएँ तर गुँडविहीन
पखेटा पनि छैन
पोहोर परार उहिले उहिले कमिनी
छुँदैनथे रे मुखियाहरू
अचेल त मेरो मल आउने ठाउँको मासु
मिठो लाग्छ उनीहरूलाई ।
(२०७८, पृ. ९१)
हेर्नु त सुन्दै कस्तो लाग्छ यहाँ निम्नवर्गीय घरवास विहीन मजदुरी गरिखाने दलितपुत्रीको तीतो यथार्थमूलक जीवनशैली र त्यतिकै यथार्थमूलक आवाज छ । यहाँ वर्गीय अहङ्कारले टाढा बनाउनु पर्दा जातको कार्ड प्रयोग गर्ने र नजिक बन्नुपर्दा जे पनि गर्ने प्रवृत्तिको विरोध छ ।
म अहिले यति भनूँ दाहालका कवितामा तल्लो वर्गीय अवरजन आवाज निकै सशक्त छ । यी कवितामा तल्लो वर्गका पेसा, व्यवसाय, पात्र र उनका कर्मलाई मूल विषय र विम्ब बनेका छन् ।
जातीय अवरजन
मैले अध्ययन गरेको अर्को बुँदा हो जातीय अवरजन । नेपाली समाज मात्र होइन विश्वका जुनसुकै समाजमा जातीय अवरजन किनारामा परिरहेका हुन्छन् । जातीय अवरजनलाई कतै जात र कतै रङका आधारमा हेर्ने र विभेदपूर्ण व्यवहार गर्ने पारिन्छ । शारीरिक, जीववैज्ञानिक र वंशगत रुपमा भिन्न समूहको प्रतिनिधित्व नै जातीय पहिचान हो । पश्चिमेली परम्परामा छालाको रङ, नाकको आकार, रौँको प्रकार, शिरको आकार आदिलाई जातीय विभेदको आधार मानिएको पाइन्छ । यसै आधारमा उच्च र निम्न जातीको विकास भएको मानिन्छ। यस आधारमा जातीय पहिचान र विभेदको आधार पूर्व र पश्चिममा फरक फरक फेला पर्छ तर यसको अवरजनिक पक्ष भने उस्तै पीडामा हुन्छ ।
जाजीय अध्ययनमा जातीय सम्बन्ध, जातीय दमन, जातीय शोषण, जातीय विभेद जस्ता बहुल पक्षको अध्ययन गर्न सकिन्छ । दाहालले जातीय विभेद र शोषणका पाटाहरुलाई उत्खनन गर्दै मूलत: निम्न जातीय अवरजनका आवाजलाई उठाउनु भएको छ । अघि मैले पढेको कविताले नै त्यस पक्षलाई देखाइसक्यो ।
ज्यूँदा मानिस जोत्न जात सोजियो जोत्ने उँभोका भए
जोतिन्छन् जति ती सबै तल परे तल्ला अछूती भए
तिम्रो सत्यकथा यहाँनिर अडी स्वाहा भयो जीवनी
यस्को याद उतार्न क्यै पृथिवीले भेटेन सञ्जीवनी ।
(२०७८, पृ. ६०)
अछुत को हो ? अनि छूत को हो ?
सम्पूर्णको स्पर्श मनुष्य जो हो
विवेकको पाठ पढेर किन्तु
मिजासको यै नमूना म दिन्छु ।
(२०७८, पृ.५१)
दाहालका कवितामा दलित सौन्दर्यशास्त्रका बहुमुखी जीवनचेतना खोजी गर्न सकिन्छ । विश्वसन्दर्भमा विकसित रङ, शरीरको आकार, नाकको आकार, सभ्य र असभ्य जीवनशैली, ओठको आकार सबै नभए पनि दाहालले दलित र कालाहरुका पक्षमा उनीहरुका दविएका आवाज उजागर गर्नुभएको छ ।
लैङ्गिक अवरजन
मैले अध्ययन गरेको अर्कोपक्ष लैङ्गिक अवरजनसापेक्ष आवाज हो । लैङ्गिकता र लैङ्गिक अध्ययन आजको विश्वसाहित्यमा जल्दोबल्दो विषयका रुपमा विकसित छ । लैङ्गिक अध्ययनका नारीवादी चेतनाका अनेक पक्षहरु विकसित छन् । नारीवाद, पितृसत्ता, यौनिकता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक दमन, लैङ्गिक शोषण, लैङ्गिक हिंसा, लैङ्गिक अधिनस्थता, लिङ्गीय सम्बन्ध, लैङ्गिक पहिचान आदि अनेक पक्षहरु विकसित छन् । समलिङ्गी वा लैङ्गिक अल्पसङ्ख्यकहरु पनि पर्दछन् । नेपाली समाजमा पछिल्लो समय लैङ्गिक अवरजनका आवाज निकै बुलन्द बनिरहेका छन् । प्राकृतिक कारणबाहेक निर्मित संस्कृतिका कारण नारी सीमान्तीकृत हुने पक्ष नै नारी अवरजनको पक्ष हो । यस दृष्टिले दाहालका खेत, प्रहरी विधवा बोल्छे , कौसिली, मेरी आमा र म, म काइँली कमिनी, फूलनदेवी, दमिनीको गीत, देख्यौ दिदी टोड्कामुनि, आमा मार्नेको गीत, बुढी सर्किनीको गीत, पाले पुन्ने मारे हत्ते जस्ता कवितामा यो आवाज प्रबल छ । दाहालले नारी पात्रका साथै धर्तीलाई पनि नारीका विम्बमा, देशलाई पनि नारीका विम्बमा राखेर लेखिएको खेत कविताको एउटा अंश यस्तो छ :
म कल्प कल्पान्तर घोत्लिँदैछु
सधैं म नाङ्गी छु र भुत्लिदैछु ।
(२०६८, पृ. ६४)
दाहालका कवितामा नारी पात्र आउँछन् । उनका समस्या आउँछन् । बहुविवाह, अनमेल विवाह, विधवा प्रथा आदिका विरोधहरु आउँछन् । यसैले दाहाल लैगिक अवरजनका कवि हुनुहुन्छ ।
बालसमस्या वा कच्चा उमेरगत अवरजन आवाज
अवरजन अध्ययनअनुसार किनाराका पात्रमा बालपात्र पनि पर्दछन् । बालमनोविज्ञानले बालपात्रमाथि हुने अन्यायलाई कसरी कमजोर बनाउने भन्ने पक्ष उजागर गर्छ । यो वर्गीय भन्दा पनि उमेरजन्य अवरजनिक पक्ष हो । दाहालका केही बालबालिका केन्द्रित कवितामा यो अवस्था देखिन्छ ।
दाहाल स्वयम् शिक्षक हुँदा उनले धेरै बालबालिकाका बहुमुखी समस्या देखे । उनले कतिपय बालबालिकालाई सहयोग पनि गरे । यहाँ समेटिएका कवितामध्ये सानोसित, प्रहरी विधवा बोल्छे, हतेर्दा.., दाजु बताइ देऊ न,…..जस्ता कवितामा बाल अजरजन आवाज छ ।
सानुसित’ कवितामा दाहालले बालबालिकाका पक्षमा यस्तो आवाज अभिव्यक्त गरेका छन् :
तिम्रो बाबा तिमीलाई झुक्याएर बोल्लान्
ढिकुटीको साँचो दिउँसै रक्सी पिउन खोल्लन् ।
बास छैन तिमीलाई बाबा तास खेल्लान्
कापी किन्न पैसा नँदी तिम्रो ज्ञान ठेल्लान् ।
विद्यालय तिमी नगै देउथान जालिन् आमा
देउथानको फोहोर ल्याई लाऊ–खाऊ भन्लान् मामा ।
तँ भन्दा त मेरै छोरो जाती भन्लिन् काकी
हजुरआमा रोई बस्लिन् तिम्रै मुख ताकी ।
कसको मनमा मैलो पस्छ हेर्नु पर्छ तिम्ले
बाँच्न सकिँदैन सानु ? यहाँ आँखा चिम्ले ।
यहाँ बालबालिकालाई घरबाहिर मात्र होइन घरभित्रबाट सताइन सकिने र त्यसमा परिवारबाहिरका र प्रशासनका मानिस सचेत हुनुपर्ने वेलायती चेतना छ । बालबच्चाको पोषण खान भोक लाग्ने मुखबाट गाँस खोसेर रक्सी खाने, बास खोसेर तास खेल्ने बाबु र कापी कलम किन्ने पैसा खोसेर मन्दिर जाने आमाबाट बालबच्चा पीडित बन्ने पक्ष उजागर गरिएको छ । यस्ता उदारहण पनि प्रशस्त छन् ।
दाहालका सीमित बाल रचना फेला परेका छन् । उनका ती रचनामा बालस्वतन्त्रता र बालअधिकारका पक्ष समेटिएका छन् । तिनमा बाल अवरजनको आवाज पनि प्रबल छ ।
राज्यसत्ताको किनाराको आवाज
दाहाल यज्ञनिधि तत्कालीन राज्यसत्ताका र गणतन्त्र आएपछि पनि सत्तामा बस्ने असक्षमहरुका विरोधी स्रष्टा हुनुहुन्थ्यो । त्यो पक्ष उहाँका सिर्जनामा विरोध र विद्रोहका माध्यमबाट अभिव्यक्त भइरहेको पाइन्छ । अवरजन अध्ययनलाई गैरशासकीय अहैकमवादी वर्ग वा समुदायलाई जनाउने कुरा ग्राम्चीको विचार निकट छ ।
देशभक्त मात्रै मरे दुई वर्षमा यहाँ
देशद्रोही जताततै भेट्छु यहाँ–उहाँ ।
(२०७८, पृ. ७४)
यहाँ गरिब किसान र श्रमजिवी वर्गका सन्तति मात्र मरेका, मिहिनेत गरीखाने सन्तान मात्र मरेका पक्षलाई उजागर गरिएको छ । यो अंश दाहालको बुध्दिसागर कविताको हो । यस कविताको बुध्दिसागर आफैमा एउटा सहिद वा देशभक्त पात्रविम्ब हो । यस कवितामा दाहालको राजतन्त्र विरोधी जनपक्षीय एवम् देशभक्तिपूर्ण राष्ट्रियचिन्तनको अभिव्यक्ति छ । यही अवस्था ’प्रहरी विधवा बोल्छे’ कवितामा पनि देखिन्छ । राज्यका पक्षबाट एउटा प्रहरी मरेको देखिए पनि ज्यान गुमाउने प्रहरी परिवारका समस्यालाई न राज्यले सम्बोधन गर्न सक्यो न विद्रोही पक्षले सम्बोधन गर्न सक्यो भन्ने पक्षलाई तत्कालकीन परिवेशमा दाहालले यसरी अभिव्यक्त गरेका छन् :
अलल्लिँदै सन्तानले आफ्ना बाबु मागे
धर्मपिता जसलाई भन्थेँ तिनले सीमा नाघे …
यहाँ राज्यका किनारामा रहेका पात्रको आवाज छ । नागार्जुनको डाँडो र तुलिगाँडोमा राज्य पक्षको गैरजिम्मेवारी, हेपाई र व्यक्तिहत्या जस्तो जघन्य अन्याय अत्याचार अभिव्यक्त छ ।
शासक चैँ बाँस भए शासित छौँ घाँस
साँढे चरी चरी भयो हाम्रो सत्यानाश ।
(२०७८, पृ. ७६)
यहाँ शासकलाई बाँस अर्थात् माथिका र शासितलाई घाँस अथवा भुइँ मान्छेका विम्बमा प्रतिविम्बन गरिएको छ । घाँसमाथि साँढे चरेको देखाई साँढे र घाँसका विम्बमा शासक र शासितलाई देखाइएको छ । यसमा हामीले मरेर मात्र साँढे भोकै पार्न सकिने पक्षलाई देखाई शासितको विकल्प नै मर्नु रहेको दुर्दान्त पक्ष उजागर गरिएको छ ।
दाहालले देशका लागि सहिद बन्ने व्यक्तिलाई अवरजन र शासकलाई शोषक वा पीडकका रुपमा चित्रण गर्नुभएको छ म धेरै उदारण नलिऊँ । यति भनूँ : दाहालका कवितामा किनाराका शासित पात्रहरुको आवाज बलियो छ ।
औपनिवेसिक अवरजन
खास समय वा परिस्थितिमा कुनै मुलुक पनि अधिनस्त बन्न सक्छ । विदेशी हस्तक्षेप, आक्रमण, सांस्कृतिक अतिक्रमण आदि बढ्न र साना वा कमजोर मुलुक र त्यस मुलुकका नागरिक अवरजन बन्न सक्छन् । यस्तो बेला प्रभुत्वशाली उच्च वर्ग वा पुरै समाज वा सिङ्गो राष्ट्र नै अधिनताका अवस्थामा पुग्छ । यस दृष्टिले हेर्दा दाहालले राष्ट्र पराधीन नबनोस् भन्ने कामना बारम्बार गरेको पाइन्छ । यो पक्ष निकै डरलाग्दो छ । आज विश्वका लागि मजदुर उत्पादनको कारखाना बनिरहेको छ नेपाल । स्लेभ फ्याक्ट्री बनिरहेको छ । यो विषय निकै गम्भीर छ । हामी हिजो फरक र आज फरक औपनिवेसिक अवरजन बनेका छौं । ‘मान्छे र मेरो देश’ कवितामा शासकलाई साँढे र शासितलाई घाँसका विम्बमा प्रतिविम्बन गरिएको छ । त्यसै गरी यस कवितामा रगत चुस्ने भ्यात्लुङ, ठुङ्ने गोमन, खस्रा मान्छे आदिका विम्बमा पनि शासकलाई उभ्याइएको छ । ती शासकका कमजोरीले वाह्य हस्तक्षेपको शिकार चाहिँ आफ्नै देश बन्दै गएको पक्ष पनि उजागर गरिएको छ । जस्तै :
उत्तरका दख्खिनका सबै साँढे आओ
मेरो देशकै साँढेसँग हाम्रो मासु खाओ ?
(२०७८, पृ. ७७)
यहाँ सर्वसाधारणमाथि र राष्ट्रमाथि पनि भइराखेको आन्तरिक र वाह्य दुवै हस्तक्षेप र बहुल थिचोमिचोको प्रकटीकरण छ । यही अवस्था ‘चरी चरन’ कवितामा पनि अभिव्यक्त छ । त्यसै गरी ‘बोक्सो बास’ कवितामा भाइबन्धु जुधाएर एउटालाई अर्कामाथि प्रयोग गर्ने शासकीय शैलीलाई प्रस्तुत गरिएइको छ ।
निष्कर्षमा भन्दा दाहालका कवितामा पाइने बहुमुखी चेतनामध्ये अवरजन चेतना एक मुख्य चेतना हो । दाहालका कविताका विषय र विम्ब एवम् प्रतीक बनेर अवरजन विषय र पात्रहरु आएका छन् । त्यसै गरी उहाँका कवितामा वर्गीय, जातीय, लैङ्गिक, गैरसत्ता, औपनिवेसिक एवम् बाल अवरजनको पक्ष प्रबल छ । यी पक्ष मध्ये जातीय र वर्गीय अवरजनका आवाजलाई बुलन्द गर्नु दाहालका कविताको उल्लेख्य पक्ष हो । दाहाल गरिव, मजदुर र आवाजविहीनका आवाज बोल्ने कवि हुनुहुन्छ ।
मैले यो भन्दा बढी बोल्नु हुँदैन । यतिका अग्रज र माधव गुरुलाई साक्षी राखेर, दाहालका कृतिमाथिका कार्यपत्र प्रस्तोताहरु डा वद्रीविशाल भट्टराई र प्रमोद प्रधानलाई साक्षी राखेर र यहाँहरुलाई पनि साक्षी राखेर यति भनेँ । यस विषयमा थप चर्चा हुँदै जाने छ र दाहालको जीवन दर्शन साझा जीवन दर्शन बन्दै जाने छ । हार्दिक धन्यवाद । जदौ ।
(प्रस्तुत आलेख दाहाल यज्ञनिधिको जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित स्मृति सभामा प्रस्तुत मन्तव्यको अँश हो । -सम्पादक)
लेखक परिचयः प्राध्यापक डा. रमेशकुमार लुईंटेलको साहित्यिक नाम हो रमेश शुभेच्छु । सुभाङ पाँचथरमा जन्मेका उनी हाल टीकाथली लीतपुरमा बसोवास गर्छन् । विसं २०५७ देखि हालसम्म उनका गजल, शोक काव्य, गजल गाथा, हास्य ब्यङ्ग्य, वालकाव्य, शिशु कविता, कविता सङ्ग्रह, समीक्षात्मक कृतिहरु दर्जनौंको सङ्ख्यामा प्रकाशित छन् । उनका सम्पादित कृतिहरु पनि दर्जनौं छन् । उनका कृतिहरु पाठ्यक्रममा समेत प्रशस्त रहेका छन् ।