दाइ सञ्चै ?

गद्य विविध

विश्व शाक्य, पोखरा

 

बिहानैदेखि पानी परिरहेको छ । एकछिन विदो भएझैं हुन्छ फेरि झ्वार्र पर्छ । दिनभरि नै यस्तै होलाजस्तो छ । दुकानमा खासै काम पनि छैन । आजभोलि झरी नहूदा त काम हुँदैन, झन् झरीको बेला के काम हुनु ?

बिर्खमान दुकानमा त्यत्तिकै बसिरहेका थिए । हर्कबहादुर छाता बन्द गरेर दुकानमा पस्दै भने– “ओ हो  दाइ, नमस्कार !”

“धेरै पछि दाइस“ग भेट भयो !” हर्कबहादुरले बेञ्चमा बस्दै भने– “अनि दाइ सञ्चै ?”

“सञ्चै त त्यस्तै हो भाइ जिउँदै चाहिं अवश्य छु ।” बिर्खमानले जवाफ दिए ।

बिर्खमानको जवाफ सुनेर हर्कबहादुर एकछिन अलमलिए । उनले अलमलिंदै सोधे– “होइन दाइले के भन्नुभा’हो ? मैले त सोझो हिसाबले सञ्चै हुनुहुन्छ भनेर सोधेको, दाइले त ‘जिउँदै छु’ भन्नुहुन्छ !  मरे त मरिहालियो नि । जिउँदै भएर त ‘सञ्चै हुनुहुन्छ ?’ भनेर सोधेको ।”

“भाइले कुरो बुझ्नुभएन ।” बिर्खमानले सम्झाउने प्रयत्न गर्दै भने– “सञ्चै हुनका लागि जिउन जरुरी छ तर जिउनका लागि सञ्चै हुनु जरुरी छैन । विसञ्चोमा पनि मान्छे बाध्य भएर जिउनुपर्ने हुन्छ । त्यही भएर मैले भनेको ‘जिउँदै छु भाइ’ भनेर । कुरा बुझ्नु सुझ्नु छैन त्यत्तिकै रन्कियो भयो । तपाइँ नै भन्नुहोस् त भाइ !  तपाईंले चाहेजस्तै उत्तर मैले दिनुपर्छ भन्ने कुनै बाध्यता छ ? तपाईंले सोध्नुभयो मैले आफ्नो भोगाइ बताएँ यसमा नहुँदो के गरे“ ?”

बिर्खमानको कुरा सुनेर हर्कबहादुर फेरि अलमलमा पर्‍यो । उसले कुरोको चुरो फेलै पार्न नसकेर अलमल पर्दै भन्यो– “क्या … दाइ पनि के के बक्नु हुन्छ, हुन्छ ।”

“मैले के त्यस्तो कुरा बकें?”  बिर्खमानले प्रतिप्रश्न गर्दै भने– “हेर्नुस् भाइ ! हामी मान्छे वास्तवमा भन्ने भए सुखी र सञ्चै कोही पनि छैनौं । हामी सुखी हुनुको र सञ्चै हुनुको स्वाङ्मात्र पारिरहेका छौं । अब हेर्नुहोस् ती जंगलबाट  दरबार पसेकाहरू के तिनीहरू सुखी छन्, सञ्चै छन् ? तिनीहरू जेका लागि जंगल पसेका हुन् त्यसको प्राप्तिपछि पनि के तिनीहरू सुखी र सञ्चै रहन सक्या छन् ? नेपालमा ठूलो सङ्घर्ष र वलिदानका साथ प्रजातन्त्र, लोकतन्त्र के के जाति तन्त्र आयो । ती के के जाति तन्त्र प्राप्तिका लागि थुप्रैले आफ्नो जीवन बलिदान गरे, ती तन्त्रहरू प्राप्तिपछि के हामी आज पनि सुख र सञ्चैसँग बस्न पाइरहेका छौं ? बाँच्न पाइरहेका छौ ?”  आज फेरि तिनै तन्त्रका नाममा फेरि किन बिभिन्न बखाडा झिकिंदै छन् ? किन मान्छे आन्दोलनरत छन् ? हामी सञ्चै भएका भए हर ठाउँ, हर क्षेत्र यस्तो अस्तव्यस्त किन ?  छ भाइसँग यसको कुनै जवाफ ? छैन भाइ, हामी कसैसँग यसको जवाफ छैन । किनकि हामी सबै देखावटी सन्तुष्टिमा बाँचेका छौं । भित्रभित्रै हामी सबै मरिसकेका छौं । हामी जिउँदो लाश बाँचिरहेका छौं । हामी धनका मात्र होइनौं मनका पनि दरिद्र छौं । हामी आफ्नो पार्टी, आफ्नो जाति, आफ्नो धर्म र आफ्नो सँस्कृतिबारे मात्र सोच्छौं, यही सोचको दरिद्रताले हामीलाई विसञ्चो बनाएको छ । हामीले कहिल्यै देशबारे सोच्न सकेनौं, हामीले कहिल्यै राष्ट्रबारे सोच्न सकेनौं । कहिलेकाहीँ देश र राष्ट्रलाई सोच्ने प्रयास गर्‍यौं त्यो पनि आफ्नो जाति, धर्म, स्वार्थ र संस्कारलाई अघि सारेर, जसले गर्दा देश झन् दु:खित भयो । राष्ट्रलाई झन् विसञ्चो पार्‍यो । यस्तो अवस्थामा तिमी नै भन भाइ कसैले एक नेपालीलाई ‘सञ्चै छ दाइ ?’ भनेर सोध्यो भने कुन नेपालीले छातीमा हात राखेर भन्न सक्छ– ‘भाइ म सञ्चै छु’ ।”

बिर्खमानको कुरा सुनेर हर्कबहादुर एकछिन किंकर्तव्यविमूढ भयो । केही बोल्न सकेन । निकैबेरपछि उसले भन्यो– “सायद दाइले भन्नुभएको ठीक हो । आजको हाम्रो परिवेशमा हामी कहीँ कतैबाट सुरक्षित छैनौं । हामी जिउनु र मर्नुको दोसाँध्मा छौं । यस्तो अवस्थामा को कसरी सुखी वा सञ्चै हुन सक्छ ?  फेरि पनि बोलचालको एउटा औपचारिकता मात्र त हो सञ्चो विसञ्चोको सोधाइ ।”

बिर्खमान र हर्कबहादुरबीच कुराकानी हुँदै थियो, बौध्दमान बूढा आइपुगे । बूढालाई अगाडि देखेर हर्कबहादुरले जिस्काउँदै भन्यो– “होइन बुबा तपाईं पनि अनशनतिर जान लाग्नुभा’ हो कि क्या हो ?”

“यस्तो बूढेसकालमा केको अनसनतिर जानु । अनशनमा त बाबुहरूजस्ता युवाहरू जानुर्पछ अनि पो हुन्छ ।” बौध्दमानबाले भने ।

“आऽऽऽ …! बाघ बूढो र स्याल तन्नेरी ।” हर्कबहादुरले भन्यो– “बाहरू जे भए पनि सुकोमानो घीउ खाएका, हामी डाल्डाका जमानाका, एउटै कहाँ हुनु ?”

“अनि साँच्चै बाबु” बौद्धमान बाले जिज्ञासावश सोधे– “कस्ताकस्ता आन्दोलनले त केही लछारपाटो लागेन, जाबो २४ घण्टे अनशन र ती चक्काजामसामले कसलाई के हुन्छ हँ ? मैले त केही बुझिन ।”

“हत्तेरिका काका पनि” बिर्खमानले प्वाक्क भने– “हुन्छ नि किन हुँदैन ? विचरा कतिलाई चिसो भुइँमा बस्दाबस्दै आउँ परेको थियो, अहिले सिंहदरबारको तातो, न्यानो कुर्सीमा बसेर आउँ निको पार्ने अवसर जुरेको छ, त्यो आन्दोलनको सफलता होइन ?”

“अनि बाँकी ती सडकमा उफ्रने नाच्नेलाई के हुन्छ त ?” बौद्धमान बाले थप जिज्ञासा राखे ।

“लऽऽ .. तिनलाई पनि हुन्छ नि ।” हर्कबहादुरले बीचैमा बोल्दै भन्यो– “अब सत्ता भनेको सधै“ एकैखाले एकै जनाको नहुने रहेछ के रे । कहिलो सासूको पालो कहिले बुहारीको पालो । हिजो जंगल पसेकाहरू आज सरकारमा बसेर मंगल मनाइरहेका छन् । आज सडकमा उफ्रने र चीसो भुईंमा भोकभोकै बस्ने, भोलि सरकारमा पुगेपछि डकारिन्जेल खान्छन् । सरकारमा जानुअगि नै सारै मोटाघाटा भएर जान नि भएन नि । उसै त अलि मोटाघाटा देखिए भने घुस खाएर नेताहरू मोटाउनु मोटाएका भन्छन् । फेरि मोटाएपछि ब्लडप्रेसर, डायविटिज, थाइराइड के के जाति हुने, मजासँग खानपिन गर्न नि नहुने । त्यही भएर बिपक्षीमा बसिन्जेल गाई–डिंगा बस्ने गोठ कब्जा गरेर बोसो घटाउन अनसनको अभ्यास गरिरहेका । बाले कस्तो कुरा नबुझ्नुभा’ ?”

“हो र भन्या ?” बौद्धमान बाले आश्चर्य मान्दै भने– “के कुरा गर्नुभा’ बाबुले यस्तो ?”

“के कुरा गरें भन्नु बुबा ? जिन्दगी जस्तै यो पनि एउटा ठट्टा नै त हो ।” तीनैजना एकछिन धक फुकाएर हाँसे ।

बाहिर मुसलधारे पानी परिरहेको थियो ।

लेखक परिचयः व्यङ्ग्यकार विश्व शाक्य तेर्सापट्टी पोखरामा जन्मेका हुन् र उनले आजिवन पोखरालाई नै कर्मभूमि बनाए। विसं २०२२ सालमा सत्रक गोडा फाट कविता प्रकाशनबाट साहित्यमा पदारपण गरेका उनका दर्जनौं कृति प्रकाशित छन् । कृष्ण उवाच(२०३८), कस्तो गधा रहेछ (२०५१), श्री पशु महापुराण (२०५७), ठट्नै ठेट्ना (२०६१), उनका हास्यब्यङ्ग्य निबन्धका कृतिहरु हुन् भने पुड्का मान्छेका पुड्का कविताहरु(२०५०) तथा यमराजको निम्तो (२०५४) हास्यब्यङ्ग्य कविताका पुस्तकहरु हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *