बायोतडी र बैतडी (संस्मरण)

गद्य विविध

शीतल गिरी

अब हामी नेपाली लोकवार्ता तेस्रो राष्ट्रिय सङ्गोष्ठीमा सहभागीहरूले बैतडी जिल्लाको केही महत्वपूर्ण स्थानको दृश्यावलोकन गर्न मात्र बाँकी थियो । बैतडी जाने क्रममा डडेलधुराको उग्रतारा मन्दिर अवलोकन गरेको सम्झना आइरहेको छ । हामी डोटीमा कार्यक्रम समाप्त गरेर खाना खाएर बाटो लागेका थियौं । पुरातात्त्विक, धार्मिक र ऐतिहासिक महत्त्वका बस्तुहरूको बारेमा लेखिएन भने यथार्थ बदलिदैं जान्छ । कारण, अलिकति कुरो लेखकको हुन्छ, अलिकति जानकारी गराउनेको हुन्छ, अलिकति समयले ठाउँ लिएको हुन्छ— यी कुराहरू तत्कालीन यथार्थमा मिसिदैं जान्छन् ।

सत्तरी सालको कार्तिक १० गतेको साँझ त हो हाम्रो बस सुदूर पश्चिमको नागबेली परेको पहाडी बाटोमा गुडिरहेको । हामीलाई चिसो सिरेटोबाट बचाउँदै न्यानो अनुभूति गराउँदै गन्तव्य भेट्न एकनासले बत्तिई रहेको । बिस्तारै बिस्तारै रात भने कालो हुँदै गयो, नेपालको कालो इतिहास राणा शासन फाल्न प्राण आहुति गर्ने अमर शहीदको जन्म स्थल नमन गर्ने श्रद्धा भने बढ्दै थियो । सुनेको थिए, बायोतडी अर्थात् बैतडी देशमा व्याप्त अन्धकार र निरङ्कुशतालाई हुरी बतास हुँडलेर फाल्ने क्षमता राख्ने पवित्र धरती हो ।

र वर्तमानमा त्यही धरतीको कालो पत्रे सडकमा हाम्रो बस गुड्दै गरेको थियो ।

आरोप छ घुम्न गएकाहरूले रमाइलो मात्र गर्छन् । स्थानीय दृश्यावलीकन नगरेकाले, मर्म नपहिल्याएकाले इतिहासको महत्त्व कसरी बुझ्ने । के थाहा थियो र मलाई ? झुलाबाट, दशरथ चन्द र लोकेन्द्र बहादुर चन्द थाहा थियो । यतीको भरमा त यथार्थ खोज्न सकिँदैन । तथ्यको साथमा कल्पना मिलाएर आख्यान बनाउन सकिन्छ, त्यसले समग्र यथार्थ बोकेको हुँदैन । कल्पनामा यसैले यथार्थको क्रम शृङ्खला भेटाइँदैन । झुलाबाट नजिकको गोठाला पानी बजारमा हाम्रो बस रोकियो । लामो समय बसमा कुँजिएका साठीजना जति हामीलाई सामुलाई होटेलले बास दियो । पहाडी सानो ठाउँको बजार भएपनि सामुराई होटेल विशाल रहेछ । खान र बस्नमा होटेल व्यवस्थापनले देखाएको उदारता, स्वच्छता र सेवा भाव म सितिमिति बिर्सन चाहन्न ।

भोलिपल्ट बिहान चिया खाजा खाएपछि हामी बसमा चढेर ऐतिहासिक र धार्मिक दृष्टिले महत्त्व पाएको त्रिपुरासुन्दरी मन्दिर अवलोकन गर्न गयौं । त्रिपुरासुन्दरी मन्दिरको वरिपरि रहेको देउकीहरूको सानो बस्तीले इतिहासले समर्थन दिएर केही नारीलाई रौरव नर्कमा पु-याएको कथा भनिरहेको थियो । निश्चित समय र कार्यक्रम लिएर हिँडेका हामीहरूले देउकी बारे खोजी गर्ने कुरो पनि भएन, गरेर पनि सकिँदैन, समय हुँदो हो र खोजी गरिएको भए नवीन सत्यको साथमा पुष्ट इतिहास बाहिर ल्याउन सकिने नै थियो । जसरी देउकी प्रथाको इतिहासमा यसको कारण छ, यसर्थ कार्यको निश्चय त्यहीबाट हुनेछ । सोही कारण कार्यको आधारमा नै देउकी प्रथा मानव अधिकार चरम हनन भएको पुष्टि भएको हुँदा विरोधमा नीति निस्कियो । हाम्रो वर्तमान समयले रोक लगाए पनि मानव अधिकार हनन भै जीर्ण बन्न पुगेकाहरूलाई उचित सम्मान भने दिन नसकेको यथार्थ त्यहाँ थाहा पाए ।

त्रिपुरासुन्दरी मन्दिरको प्राङ्गणमा काले दमाईको टोलीले बाजागाजा गुञ्जाए । भडा गायन मार्फत् सो भेगको इतिहासलाई ताजा बनाए । सो मन्दिरको प्राङ्गणमा कार्यक्रम तय गरिएको हुँदा लोक संस्कृतिको अवलोकन गर्न पाएर सहभागी लोकवार्ता विद्हरू छताछुल्ल भै रमाए । मैले चाहेको थिए, त्रिपुरासुन्दरी मन्दिरको बारेमा धेरै कुरा थाहा पाउने, यहाँ आइसकेपछि शैव मतकी ठूली शक्ति, तान्त्रिक देवी, कामकलाकी प्रतिष्ठित शिवकी शक्तिको बारेमा थाहा पाउने । मैले चाहेर के हुन्छ, मेरो इच्छा अनुसार कार्यक्रम बनेको होइन, कार्यक्रम अनुसार आयोजक मध्येका मित्र राजेन्द्र सिंह रावलले भाषणबाट हाम्रो स्वागत गर्नुभयो । राजा नगारा बाइस तालमा घन्काएर, हुड्के नाच र फागु नाच रन्काएर अतिथिहरूको स्वागतमा लोक संस्कृति संरक्षण गर्दै आएका महान् कलाकारहरूले आ–आफ्नो कलाकौशल प्रस्तुत गरेका थिए ।

यथार्थमा हामी भन्दा भारतीय लोकवार्ता विद्हरू सुदूर पश्चिमको लोक जीवनसित सम्बद्ध संस्कृति, कला, चालचलन, रहनसहन, साजसज्जा, बाजागाजालाई महत्त्व ठानेर काम गरिरहेको प्रा.डा.गिरीजा पाण्डे, प्रा.डा.शेखर पाठक, प्रो.देवसिह पोखरिया, प्रा.डा.महेश्वर प्रसाद जोशीलाई भेट्दा महसुस गरें । अर्को कुरो के पनि पाएँ भने सो मन्दिरको प्राङ्गणबाट पश्चिमतर्फ फर्केर हेर्दा महाकाली नदी पारी सडकको राम्रो व्यवस्था, घरहरू पनि त्यस्तै । एउटै भूगोल, एउटै भाषा भाषी, नाता कुटुम्बका— सुगौली सन्धीले विभाजन गरेको दुई सय वर्ष त भयो तर अन्तर अधिक । कालक्रम अनुसार उता विशेष प्रगति भयो । कार्यक्रम स्थल मन्दिरको प्राङ्गण वयोवृद्ध देउकी अर्थात् देवकन्याहरूले आफ्नो दुःख दुखेसा र सुस्केरा भरेर गुञ्जाएको संगिनीले वातावरणलाई संवेदनशील बनाइदिएको थियो ।

यो अमानवीय सांस्कृतिक कुप्रथा हराउँदै जान थालेको छ । हिजो धार्मिक र सामाजिक मान्यता प्राप्त देवकी प्रथा मानव चेतनाले जब कुरीति र कु संस्कार ठहरायो टिक्न सकेन । अन्याय पूर्ण तरिकाले देवकी प्रथाको सुरुआत गराउनमा मात्र हैन बैतडीको भूमिका, एकतन्त्रिय श्री ३ प्रथाको महाराजलाई गद्दीबाट खसाल्नमा पनि महत्त्वपूर्ण स्थान रहेको सम्झनै पर्दछ । राणाहरूको एकतन्त्रिय आतङ्कले नेपाली जनताको हृदय आकुल व्याकुल भएको थियो । नेपाली जनतामा अन्यायको विरुद्ध लड्न सिकाउने सत्पुरुष दशरथ चन्द जन्मेको घर दर्शन गर्ने अवसर पनि जु-यो । शहीदलाई सम्मान गर्ने चेतना नैतिक मूल्यबाट प्रभावित भएको हुँदा जन्म घरको छेउमा शहीदको सालीक स्थापना गरिएको छ । यतिमात्र होइन बैतडीले विगतसँग विग्रह नगर्न शहीद दशरथ चन्दको नाममा स्थापना गरी सञ्चालन गरेको पुस्तकालयमा पनि हामीले उपस्थिति जनायौं । कैलपाल बाबाको मन्दिर नजिकै दशरथ चन्दको जन्म घर छ । बैतडीमा पाताल भुवनेश्वरको गुफा रहेको थाहा पायौं र कार्यक्रममा त्यो गुफा अवलोकन गर्ने नरहेको र सम्भवतः सडक नभएर पनि हुनसक्छ हामी त्यतातिर गएनौं ।

सडक र समय अभावले गर्दा मेलौली भगवती, जगन्नाथ बाबाको मन्दिर पनि गएनौं । स्कन्द पुराणको मानस खण्डमा वेगवान् वायु चल्ने स्थल वायोतड र सोमा रहेको देव देवीको वर्णन छ । प्राचीन संस्कृतिलाई बैतडी बासीले कहिल्यै भत्काएनन् । वीरगाथा (हुडको गाथा) लोक गायक टोलीहरूले भडा (भारत) गायनमा जीवित राखेका छन् । आधुनिकताको विकृतिले, हरेक कुरोलाई अर्थसँग नाप जोख गर्नाले यस्ता लोक सम्पत्तिको मूल्य खस्कँदै छ र लोप हुने खतरा बढेको छ ।

सुदूर पश्चिमाञ्चलको बैतडीमा काले दमाई जस्ता सांस्कृतिक योद्धाहरूले प्राचीन संस्कृति परम्परा बचाइराखेका छन् । अन्यत्र ठाउँमा लोप भई सकेका संस्कार गीतहरू त्यहाँ प्रचलनमा छ, केही कमी आउन थालेको भए पनि । बैतडी प्राचीन संस्कृति जोगाइराखेको सङ्ग्रहालय लाग्यो मलाई ।

किन ? उत्तर एउटै छ । त्यो के भने लोकको दृष्टि, नीति र आस्थाले यहाँ देवी (भगवती)का पत्याई नसक्नु (कम्तीमा पनि १५०० वर्षको इतिहास बोकेको) संस्कृति जिउँदो छ, धर्म–नैतिकताको नाममा ।

यहाँका कतिपय प्रथा वर्तमानको आँखाले हेर्दा त्रुटि पूर्ण र अमानवीय रहेको भन्न सकिन्छ । गहिरिएर हेर्दा यहाँको विशेषता विश्व संस्कृतिको लागि नेपालको मौलिक र भर्जिन रहेको सिद्ध हुन योग्य छ ।

बैतडीसँग रामायण र महाभारत छैन । नभएर के भो ? मान्नु पर्दछ देवीमाण्डौंमा रहेकी निगलासैनी मन्दिरमा सरसरती हेर्दा १८५२ मा कुनै भक्तले चढाएको घण्टमा मेरो आँखा प-यो । भक्तको आस्था वर्तमानमा इतिहासको सामग्री बन्न पुगेको छ । किनभने चढाइएका त्यस्ता घण्टहरू यस क्षेत्रका मन्दिरहरूमा हजारौंको सङ्ख्यामा रहेका छन् । भक्तको आस्थाले इतिहास बोलिरहेको लाग्यो मलाई । यो बारा जिल्लाको पाँच पाँच वर्षमा बली दिने स्थान थिएन बरु वर्षैभरि बली चढी रहने स्थान थियो । यस मन्दिरको परिचय नेपाल अधिराज्यमा सम्भवतः सबभन्दा बढी वली दिइने रूपमा दिन मन लाग्यो, यो कुरो स्वतःस्फूर्त रूपमा नभएर मन्दिर परिसरमा ठड्याइएको मौलो र पशु रगतले धरती कालै भै पाप्रा पाप्रा उप्किएको दृश्य देख्दा मनमा उब्जिएको हो । भनिन्छ नारी ममताकी खानी हुन् । विडम्बना नारी यानी मातृ शक्तिलाई कलुषित बनाइरहेको छ निरीह पशु बली प्रथाले । यस दृष्टिले नारी ममताकी होइन भोग चाहने दानवी हुन् भनेर भन्न सकिन्छ । मूर्त आदर्श भनेको देवी थानमा पुरुषले भाले जातको पशुको बली दिँदै आएको छ, वर्तमान युग यस कुराको नियोजन चाहन्छ । यहाँका पुरुषको मनोरञ्जन र मोज मस्तीको लागि नारीलाई देवकीको रूपमा चढाउनु धर्म मूलक थियो, त्यो पनि मातृ (देवी-भगवती) शक्तिलाई साक्षी राखेर, यसै कारण भन्न मन लाग्छ मात लागेका पुरुषले विभिन्न नाममा नारीलाई नियोजित गरेकै थियो र वर्तमान युगमा नारीले यथार्थ बुझे भने यस्ता कुचलन समाप्त हुने नै छ ।

घाम डुब्न लाग्दा तेस्रो राष्ट्रिय संगोष्ठीको अन्तिम बिन्दु पाटनमा पुग्यौं । पाटन मझौलो आकारको उपत्यका रहेछ । सम्भवतः जिल्लाको प्रमुख व्यापार स्थल हो । माओवादी युद्धको प्रभावमा परि संरचना ध्वस्त भएपनि लमतन्न परेर छटपटाउँदै आफ्नो पीडा पोखिरहेको हवाई मैदान भेटे । उत्पादन, आवागमन र यातायातको साधन सबैलाई आवश्यक पर्ने कुरा भएको हुँदा निर्माण परिएको हुन्छ । निर्माण गर्न नसक्नेले सम्भवतः आफ्नो स्वार्थको लागि रूपान्तरणको नाममा विध्वंस गर्दा जनतामा तनाव र सङ्कट उत्पन्न हुन्छ ।

पाटनको इतिहास स्वयम् प्रतिष्ठा प्राप्त गरेको हुँदा उदयदेव लोक आस्थाको रूपमा पुजिएको पाएँ । निर्णायक शक्ति भनेको जनता हो र जन यानी लोकको कसीमा खारिएर मात्र कुनै मानवले यो स्थान प्राप्त गर्दछ । र लोकको आस्था उदयदेवले प्राप्त गरेकै छ । निर्माण हुँदै गरेको त्यो भव्य मन्दिर लोक आस्थाको प्रमाण हो । उदय देव मन्दिर प्राङ्गणमा उद्योग वाणिज्य सङ्घ पाटनले हाम्रो स्वागत ग-यो हृदय ओछ्याएर । त्यस भेगको बारेमा जानकारी गरायो । व्यापारलाई आफ्नो धर्म कर्म बनाएकाहरूको प्रतिनिधिले लोकवार्तामा हिँडेका हामीलाई स्वागत गर्नु, छलफलमा समय दिनु भनेको— आफ्नो माटो, पन प्रतिको आस्था नै हो ।

स्वागत पाएका हामी मध्येका कवि वासुदेव पाण्डेले सो क्षेत्रको महिमा कविताको रूपमा वर्णन गर्नुभयो । स्थानीयहरूका साथमा— हातमा हात जोडेर, पाइलामा पाइला मिलाएर आधा घण्टाभन्दा बढी देउडामा रमाएको अनुभव बटुले । यो भनेको लोकसँग घुलमिल हुनु हो । भावनात्मक कुरोमात्र होइन, अस्ति भर्खर टिभीबाट समाचार सुनें म पुगेको पाटन नगरपालिका घोषित भएको— खुसीले आँखामा आँसुका थोपा टलपलाए । अब त्यो एअरपोर्ट पहिले जस्तै सुचारु होस्, यो कामना गरेथें— तत्काल ।

०००

लेखक परिचयः शितल गिरी बेलौरी कञ्चनपुर महाकालीमा जन्मेका हुन् र उनको स्थायी बसोवास गौर रौतहट हो र हाल मध्यपुर ठोमीमा वसोवास गर्छन् । कविता, निवन्ध, आख्यानमा कलम चलाउने उनका महाकाली (कवितासंग्रह) २०४५, पत्र मित्रता युगको आवश्यकता (निबन्धसंग्रह) २०५५, प्रसङ्गबश (निबन्धसंग्रह) २०६३, बज्जि र बज्जिका (लोकवार्ता) २०७०, तपोधन (उपन्यास) २०७४, जीवाश्म (निबन्धसंग्रह) २०७६, तथापि… (निबन्धसंग्रह) २०७८ लगायतका कृतिहरु प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *