चार मुक्तक

कविता

नवराज कार्की

१,

तिम्रो दुःख धेरै हो कि, मेरो दुःख धेरै

तिमी भन्छौ मेरो धेरै, मैले भन्छु मेरै

आफ्नो-आफ्‌नो दुःख ठूलो, आफ्‌नै भएर पो.

सुख जस्तो दुःख कहाँ, बस्छ र, लुकेरै ?

२,

रोगले भो, ‘न खा भन्छ

उमेरले यो, ‘न’ला’ भन्छ

बूढो भइस्, अब घरै बस्

घरले भो, कतै ‘नजा’ भन्छ

३,

नबोलेरै पनि केही भन्छ होला, मौन !

बोल्नै मन नलागेर हुन्छ होला, मौन !

यसै ठीक छु,मलाई अब एक्‌लै हुन देऊ

बिना कारण त्यसै आँखा धुन्छ होला मौन-

४,

कमजोर भए अर्थहरू, शब्दहरू निकम्मा भए

‘नारा’ भए यिनीहरू, जहाँ जहाँजम्मा भए

यति कुरुप भएको यो, समय हो कि,मन-हो ?

विषवृक्षका हाँगाहरू कसरी, लटरम्म भए ?

०००

कवि परिचयः नवराज कार्की मूलतः कवि हुन् । हास्य ब्यङ्ग्यात्मक कविता तथा मुक्तकहरु उनका काव्यिक लेखनका विशेषता हुन् । शिखघार म्याग्दीमा जन्मेका उनी सन् २००९ देखि अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । उनका सिलसिला (कविता सङ्ग्रह २०४०), मनभित्रको आँधी (कविता तथा गीत सङ्ग्रह २०५३), एक दनक (हास्य ब्यङ्ग्य कविता २०५९), पलपल (गीत गजल सङ्ग्रह २०७०), तिमी हाँस्यौ र….(मुक्तक र छोटा कविता सङ्ग्रह २०७०), म्वाईं ( हास्य ब्यङ्ग्य कविता २०७०), एउटा यस्तो साथी (वाल कविता २०७०) सधैंसधैं (मुक्तक सङ्ग्रह सन् २०२२) प्रकाशित छन् ।

1 thought on “चार मुक्तक

Leave a Reply

Your email address will not be published. Required fields are marked *