प्रिय छोरी !

कविता

तारा के.सी

 

प्रिय छोरी !

तिमी विश्व मानचित्र पल्टाएर

आफू अनुकूलको देश खोजिरहेछ्यौ

म आफ्नै घरबाट हराएको,

मेरो नाम खोजिरहेकी छु ।

 

 

तिमी महासागरको कुरा गर्छ्यौ

आइफल टावर फन्को मार्छु भन्छ्यौ

म यति बेला मेरै चोकसित बिरानो छु

हराएको मेरो परिचय खोजिरहेछु ।

 

मलाई,

बाग्मतीको सफा पानीमा

मेरो देशको प्रतिबिम्व हेर्न मन छ

लाग्छ ,

म जन्मेको आँगनभन्दा पर मेरो भुगोल छैन्

सगरमाथाभन्दा पर मेरो कुनै देश छैन

म कसैकी छोरी

कसैकी बुहारी भएर

तिम्रै नामबाट आमा बनेर चिनिएँ ।

छिमेकभन्दा अलि पर मेरो कुनै परिचय छैन् ।

 

जन्म घरमा ठूली भन्थे बा-आमाले

कर्मघरमा कान्छी भएँ

पछि यो देशको नागरिक भएँ

ठूली-कान्छी भएर ।

 

मलाई पनि तिम्रै जस्तो नाम प्यारो लाग्थ्यो

तिमी जस्तै स्वतन्त्र भएर गगनमा उडुँ उडुँ लाग्थ्यो

तर मैले त तिम्रै लागि भाँचेकी हुँ उड्ने पखेटा

तिम्रै लागि थुनेकी हुँ,

संसार चिहाउने स-साना सञ्झ्यालहरू

एउटै रूखको हाँगामा झुन्डिएर मैले

गरेकी हुँ सबथोक तिम्रा लागि।

 

प्रिय छोरी !

कोसी तर्दा तर्दै काँसजस्तै सेतै फुलेका

बा- आमा बस्ने तीर्थभन्दा पर

मेरो कुनै मन्दिर छैन ।

 

तिमी यतिबेला,

झाँगिन चाहन्छ्यौ पीपल जस्तै

र फैलिन चाहन्छ्यौ पर- परसम्म

साँघुरो भैसक्यो यो भुगोल तिम्रो लागि अब ।

 

मलाई थाहा छ,

तिम्रो पदचाप पछाउँदै हिंड्नेछन्, घाम- जून

एक अँगालो घाम च्यापेर पस्ने छ उज्यालो

तिम्रै लागि आशीर्वादका मन्त्र पढ्ने छन् बाजे-बजूले

तिम्रो स्वर्णिम भविष्यको लागि ।

 

म भने

बल्दा बल्दै सकिने मैनबत्ती भएँ र

अरूकै लागि बलेर सकिएँ

 

प्रिय छोरी !

तिम्रो र मेरो लागि कहिल्यै यो समय

समानान्तर दुरीमा हिँडेन

म हिड्ने सानो गोरेटो

तिमी दौडने फराकिलो राजमार्गले

कहिल्यै हामीलाई छोएन ।

 

कवि परिचय: तारा के.सी कविता, लघुकथा र वाल साहित्यमा कलम चलाउँछिन् । उनका प्रकाशित कृतिहरुमा तारापुञ्ज कविता सङ्ग्रह(२०६७), फूलबारी  बालकविता संङ्ग्रह (२०७०), फिन्को र टोरी बालकथा संङ्ग्रह(२०७४), प्रिय छोरी कविता संङ्ग्रह ( २०७५), .आधुनिक खोज  लघुकथा संङ्ग्रह(२०७८), गुरूको छनौट बालकथा संङ्ग्रह(२०७९) रहेका छन् । उनी कल्पलता र शंसाक साहित्यिक पत्रिकाको सम्पपादनमा पनि संलग्न छिन् । पनौती काभ्रेमा जन्मेकी उनी हाल उनको वसोवास गोङ्गबु काठमाडौं छ ।

1 thought on “प्रिय छोरी !

Leave a Reply

Your email address will not be published. Required fields are marked *