कविता

सुनिता बस्नेत थापा

 

हिजो जस्तो आज छैन

आज जस्तो भोलि हुन्न

देखिनु र हुनु एकै होइन

म भित्र र बाहिर एकै छैन

म अचल छु

तर फरक फरक देखिन्छु

समय र म अघि बढिरहन्छौं

नयाँछ रुप फेरिरहन्छौं

एउटा विन्दुबाट शुरु हुन्छ यात्रा

कोष, अङ्ग, प्रणाली शरीरसँगै

अनुहार पहिचान बन्छ

नाम परिचय भन्छ

बामे सर्ने, तातेताते गर्ने, हिंड्ने म

शिशु, वालिका, युवा अनि वयस्क म

कहउँ उस्तै देखिन्छु र?

कहाँ उहि मान्छे हुं र??

ऐनामा म फरकफरक देखिन्छु

आफ्नै तस्विर हेरुँ, आज अर्कै देखिन्छु

घडिसँगै चलिरहने घामसॅगै बलिरहने

पानीसँगै बगिरहने हावासँगै बहिरहने

एक गति हुँ देखिने ‘म’

निरन्तर चलिरहन्छ

तर अन्तरमा  म स्थिर छ

शान्त छ

यो आफैमा अनन्त छ

न यस्को आदि, न त अन्त्य छ

न यो तोडिन्छ,  न त कतै  जोडिन्छ

न यो फेरिन्छ, न त कतै मोडिन्छ

मनको आँखाले हेर्दा

आफुलाई सधैं उस्तै देख्छ

जति गहिरियो उति देवत्व भेट्छ

माया मोह तिर्सना प्यास मेट्छ

आफैमा सर्वश्व भेट्छ ।

०००

कवि परिचयः नारेश्वर गोरखामा जन्मेकी सुनिता बस्नेत थापा कविता,गीत तथा गद्य लेखनमा कलम चलाउँछिन् । उनको पहिलो कविता “एक्ली चरी” विसं २०४३ सालमा गोरखाको स्थानिय पत्रिकामा प्रकाशित भएको थियो । उनको कवता सङ्ग्रह “बिम्ब” सन्२०२० मा प्रकाशित भएको थियो । उनका गीति एल्बमहरु पनि प्रकाशित छन् । उनी हाल अमेरिकामा बसोवास गर्छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *