शैलेन्द्र साकार
आज पनि कोही बलात्कारको शिकार भयो
आज पनि कहीं दुर्घटना भयो
यसरी प्रत्येक दिन जोड्दै जानु पर्ने हो
लाशहरुको सङ्ख्या ?
दूर्घटनाहरुको अभिलेख ?
प्रत्येक दिनको सूर्य उदाउने हो
यही लाशको गणना गर्न
अथवा नविराई लासहरु गन्न ?
कुन भीर पहरा खोंचमा
अड्केको छ लास भनेर देखाउन ?
अथवा कुन पोखरीमा धोइएको छ
कुमारीको रगत र बीर्यले
लतपत सुरुवाल र पेण्टी ?
विश्वास नै भ्रम हुँदै गएको
सधैं भ्रमको बिस्कुन मात्र सुकाउन तत्पर
कुन सपना खोज्दैछौ मित्र ?
कुन सपनाको मलामी जान ।
कवि परिचयः शैलेन्द्र साकार शंकरप्रसाद श्रेष्ठको साहित्यिक नाम हो । भोजपुरमा जन्मेर भोजपुरबाटै साहित्य लेखनी प्रारम्भ गरेर राजधानीमा प्रकाशित हुने उनी काठमाडौं आएपछि पूरै साहितयमा समर्पित भए । उनी मूलत कवि हुन् । उनका शैलेन्द्र साकारका कविता, सर्पहरु गीत सुन्दैनन्, नाढ्गो तार, अमेरिका, अरु सात समुद्र लगायतका कविता सङ्ग्रहहरु प्रकाशित छन् । उनका कोलाज, कालपात्र र अरु कथा, रामायण र अरु कथाहरु सङ्ग्रह पनि प्रकाशित छन् । उनको आत्मकथात्मक कृति ‘भोजपुरे हुलाकीको सन्तान” प्रकाशित छ । स्थायी रुपले काठमाडौंबासी उनी अमेरिका भ्रमण गरिरहन्छन् ।