अर्को मण्डेला जेलमा

कविता

वियोगी बुढाथोकी

 

सानो छँदा

कालो पाटीमा अक्षर लेख्ने प्रयास गर्दा डराएथें

जसोतसो योग्यता पुगेपछि

पाउँदै गरेको जागिरमा

लोकसेवाको प्रश्नपत्र देखेर डराएथें

 

कर्तव्यपालनमा चिप्लिइन्छ कि कतै

प्रहरी प्रशासन र अख्तियारको निगरानीका साथसाथै

न्यायालयको ढोका चहार्न नपरोस् भन्ने कामनाले डराएथें

 

डर निरन्तर साथ लागेर हिँडिरहेछ

त्रास मसँगै खान्छ, सुत्छ

भयसँगै उठबस गरिरहन्छ

 

डरको कुनै भर हुँदो रहेनछ

निर्भर त टाढाको विषयवस्तु हुनेनै भयो

डरको घर अजंगको पो हुँदो रहेछ

 

डर

युवा, वय र उत्तरार्धसम्म सँगै हिँड्यो, हिँडिनै रहेछ

परिवर्तनको चिसो घामले होस्

कि जनयुद्धको नामले नै किन नहोस्

त्रासै त्रासको बास त्रासैको त्रासमा डराएथें

उहिले पहिले मितिनी आमाले सुनाएको कथा होइन

निद्रामा खै किन पो हो

कतै मसिनो त कतै चर्को आवाजले पनि डराएथें रे

 

विचारको घाम बोकेर हिँड्दा

शासक, सत्ता र प्रशासनले गुप्तचरी गर्नु अन्यथा ठानिएन

तर विचार कहिल्यै हारेन

हार्‍यो त सुपुर्दगी, पक्राउपुर्जी र कारागार हार्‍यो

 

त्यागको मूल्यभन्दा अर्को ठूलो धन राशी हुनै सक्तैन

त्यागले प्रलोभनको पखेटामा आराम खोज्नू हुन्न

विवेक कतिखेर बन्धक बन्छ होशियारी पुर्‍याउनु पर्दो रै’छ

 

जीवनको यात्रा सधैँ दूर्गम बाटो हिँड्यो

सुगमको स्वाद चाख्नै चाहेन

परिवर्तनको आगो बोकेर हिँड्यो थाकेन

यात्रामा लागेको घाउ कोट्याएर मल्हम दल्ने फुर्सद भेटेन

 

इतिहास लेख्नेहरूको इतिहास नै मेट्ने घट्ना घटेको

समाचार सुनेकै भरमा हुनुपर्छ

जीवनको अर्थ भर्खर बुझ्दै गरेको नातिको प्रश्न

किन हजुर बा ?

सुन चोर र नुन चोरमा फरक र ?

जंगलको राजा बाघ पनि सानो प्रलोभनले

भड्खाँलोमा किन पर्छ र?

उनान्सयौं पटकको जितलाई एकप्रतिशतले पराजित कसरी गर्छ र?

विद्रोह, संघर्ष र बलिदानीका अलौकिक पात्र

इतिहास लेखिनबाट जीवनमा कसरी हार्छ र?

विना मनसुन कताबाट आएको बादलले सूर्यलाई छेक्छ र?

र, किन

इतिहासको कठघरामा मौन उभिएर

एकपछि

अर्को मन्डेला जेल पर्छ र?

 

जुत्तालाई दोष लगाउँ कि

पाउलाई

नदेखेरै कतिपय किराहरू परलोक पुगे हुनन्

 

अहिले भर्खर नातिको प्रश्नले

थाहा छैन

यत्ति धेरै किन डराएँ  ।

कवि परिचयः सिताराम बुढाथोकीको साहित्यिक नाम वियोगी बुढाथोकी हो । बिसं २०३२ सालमा कविता प्रकाशनसँगै शुरु भएको उनको लेखन यात्रामा ५ कविता सङ्ग्रह, ३ गजल सङ्ग्रह, ३ मुक्तक सङ्ग्रह, तथा २ नियात्रा सङ्ग्रह प्रकाशित छन् । समयलाई सञ्चो छैन, काठमाडौं धाइरहेछु, छुटेका यादहरु, म गोपाल अर्थात् गोपालहरु(श्रृङ्खला कविता), फर्किएँ जस्ता कविता शङ्ग्रहले उनी कविका रुपमा स्थापित छन् । काठमाडौं हात्ती गौंडा उनको पुर्खौली बासस्थान हो । उनले त्यसैलाई सिर्जनभूमि बनाएका छन् ।

Leave a Reply