मीना श्रेष्ठ
आउ आज ब्यापारको कुरा गरौं ,
आउ आज पसलको कुरा गरौं ,
जिन्दगीको नयाँ होलसेल पसल थालेको छु,
कोही किन्न चाहने भए ,
कोही सस्तोमा लिने भए ,
सुपथ मुल्य मै बिक्रीमा राखेकी छु,
केही थान पिडा ,
केहि थान बैराग्य,
केहि दर्जन आँसुका खोल्साहरु
केहि प्याकेट भक्कानोका हिक्काहरु
अली केही सस्तोमा पाइन्छ ,
केही थान सगरमाथामा रहेको चाहना
केही थान केचनामा रहेको इच्छाहरु
केही झोका लुकेको लक्ष्यहरु
केही पित्को पुरा नहुने रहरहरु
अली महंगो पर्नेछ ,
छरपस्ट छरीएका छन् यी जिनिसहरु
आउनुस् किन्ने भए लैजानुस किनेर
मलाई रित्तो पारेर लानुस,
मलाई मान्छेको खोल मात्र हुन मन छ,
मलाई रित्तो हृदय र शून्य मस्तिष्क भएको
रित्तो, खाली र शुन्य हुन छ ।
कवि परिचयः खोटाङमा जन्मेकी मीना श्रेष्ठ २०५३ सालमा पहिलो कविताको प्रकाशनसँगै साहित्यको क्षेत्रमा पदार्पण गरेकी हुन् । उनका “बिस्कुन यो मनको” (२०७०), “फर्गेट एस्टर्डे” (२०७९) दुई कविता सङ्ग्रह प्रकाशित छन् । विद्यार्थी बेलादेखि राजनीतिमा सकृय उनी हाल कोशी प्रदेश सभा सांसद छिन् ।