पुष्पा खनाल
मन हो, मनाउन गाह्रो छ ।
प्रेम यथावत् छ
समय फेरिएको छ ।
एउटा काट्न नमिल्ने संघार
अर्को टेक्न नमिल्ने आँगन
म
बीचको
न यताको, न उताको ।
सायद,
मेरो यही नियति हो
म बाँच्नुको सार हो
र हो
एउटा निर्विकल्प
बोझ
पृथ्वीको ।
पर्खालमा उम्रिएको
एउटा झ्याउ
तिमीले त उखेल्यौ
र
मिल्कायौ
तर,
त्यो झार
अहिले पनि
छटपटाइरहेको छ
आफ्नै आलो रगतमा
भर्खर बली दिन काटिएको
परेवा झैँ ।
०००
कवि परिचयः पुष्पा खनाल एकतप्पा (हाल:फाकथोकथुम), ईलाममा जन्मेकी हुन् । विसं २०४६ सालदेखि लेख्न थाले पनि विसं २०५२ सालमा उनको “चोखो श्रध्दा” गीत प्रकाशनसँगै लेखन यात्रा शुरु भएको हो । उनका पोखिएँ यसरी(गीत तथा कविता सङ्ग्रह) २०६९, गह पोखिएर (गीत सङ्ग्रह) २०७६ कृतिहरु प्रकाशित छन् । उनको लेखनका बिधा कविता र गीत हुन् । हाल उनी भर्जिनिया अमेरिकामा बसोवास गर्छिन् ।