क्षितिजको यात्रा

कविता

राजेश ढुंगाना

मैले
पएट मारेर बतासमा
बतासकै काम्रो लगाएको खुट्टाले
क्षितिजको
यात्रा प्रारम्भ गरेको छु
भोलि
दुर्घटना हुने जान्दा जान्दै

आकाशसँग
मायालु ओठहरुका चुम्बन
असफल
स्खलित हुने
जान्दा–जान्दै पनि
मेरो यात्रा रोकिंदैन
हो
पएट मारेर बतासमा
बतासकै काम्रो लगाएको
खुट्टाले
मैले क्षितिजको
यात्रा प्रारम्भ गरेको छु

ठोक्किंदै
चराहरुसँग
रोमाञ्चक कावा खेलेर
बादलसँग
कुनै पनि बेला
दुर्घटना हुनसक्ने
मेरो जस्तो साहसिक यात्रा
तिमी किञ्चित गर्न सक्तैनौ

मैले त
पएट लगायर बतासमा
बतासकै काम्रो लगाएर
बताससँगै
क्षितिजको
नयाँ र नौलो
यात्रा प्रारम्भ गरेको छु !

कवि परिचयः कवि राजेश ढुङ्गानाको जन्म सिन्धुली तोश्राम खोलामा भएको हो । हाल उनी भद्रपुर झापामा बस्छन् । २०३६ ताक कविता प्रकाशनबाट साहित्य यात्रा थालेका उनको दुई कविता सङ्ग्रह प्रकाशित छ, “सुकिला मान्छेको सामयिक मृत्यु” (विसं २०७०) तथा “मैले खोजेको देश” (२०८१) प्रकाशित छन् ।

Leave a Reply