फेसबुक फ्रेण्ड

कथा छन्द कविता

डा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानाडा

​प्रधानजी बेञ्चमा मौन बसी रहेका थिए । उनको चारैतिर आफन्त र मित्रहरु उभिएका थिए । तर भाउजु (श्रीमती प्रधान) भने निरन्तर रोई रहनु भएको थियो । उनलाई ढाडस दिने काम पनि मित्र आफन्तबाट भई रहेको थियो । तर आमाको मन कसरी शान्त रहन सक्छ र ! इञ्जिरियरिङ्ग पढी रहेको एकमात्र सन्तान जवान छोरोलाई अस्पताल ल्याएदेखि भाउजु शान्त भएर बसेकी छैनन् । छोराको अवस्था देखेर प्रधानजीको मनमा पनि दुःखको बाढी आएको होला तर त्यसलाई आँशुमा देखाउन सक्नु भएको थिएन । भाउजु होसै हराएको अवस्थामा भएर पनि होला प्रधानजी अवस्थालाई बुझेर आफु कमजोर हुनबाट बच्ने प्रयास गरेका थिए । त्यसैले वहाँ मौन भएर चुपचाप त्यहाँको वातावरणमा आफुलाई उपस्थित गराएर राखेका थिए । अस्पताल ल्याएको पनि तीन घण्टा भई सकेको रहेछ ।
सधैं सबेरै उठेर आठ बजेतिर कलेज जाने छोरा आठबजेपछि पनि नउठेको हुनाले प्रधानजीले भाउजुलाई छोराको बारेमा सोधेपछि भाउजुले, आज त ब्रेकफास्ट पनि खान आएन । खै ! कतै परीक्षा भएर कलेज नगएको हो की भनेर अडकल काट्नु भयो परीक्षा भए त पहिल्यै भन्थ्यो हैन र ! फेरि परीक्षाको फिस पनि माँगेको छैन, प्रधानजीले पनि छोराको बानी सम्झनु भयो । लोग्ने स्वास्नी छोरा अबेरसम्म सुतेको कारणको अडकलबाजि आआफै गर्न थाले । छोराले दुईपटक प्रेक्टिकलको परीक्षाको लागि पन्ध्र–पन्ध्र हजार लगेको थाहा पाएपछि प्रधानजीले छोराको परीक्षानै रहेको निर्कोल निकालेका थिए । अनि ब्रेकफास्ट खाएर आफु अफिस जाने तरखर गर्न थाले ।
भाउजुले प्रधानजीलाई एकपटक छोराको कोठाको ढोका ढकढकाउन भन्नु भयो । आमाको मन यतिबेलासम्म केही नखाएकोले भोकाएको होला भन्ने लागेको थियो । यसरी कसैले ढोका ढकढकाएपछि छोराले तुरन्तै उत्तर दिन्थ्यो तर त्यस दिन लगातार ढोका ढकढकाउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया आएन । भित्रबाट कुनै जबाब नआएपछि भाउजु पनि छोराको कोठानिर आएर ढोका ढकढकाउन थालिन् । लोग्ने–स्वास्नीले छोरालाई बोलाउँदै ढोका ढकढकाउँदा पनि कुनै जबाफ नआएपछि दुवै आत्तिए । भाउजुले ढोकाको चाबी हेर्न प्रधानजीलाई अह्राएपछि प्रधानजी आफ्नो कोठामा गएर दराजभित्र रहेको बाकसबाट एक्स्ट्रा चाबी बोकेर एकपछि अर्को गर्दै छोराको कोठा खोल्ने प्रयास गर्दै गए । भाउजुले आत्तिएर छिटो छिटो भन्दा प्रधानजी झन अत्तिनु भयो । बल्ल बल्ल एउटा चाबी मिल्यो र छोराको कोठाको ढोका खुल्यो ।
भित्र कोठामा रहेको पलंगमा छोरा अचेत भएर लडेको देखेपछि भाउजु छोरालाई समातेर रुन थालिन । प्रधानजी पनि आत्तिए अनि मोबाईलबाट मलाई फोन गरेर छोरोको अवस्थाको बारेमा भन्दै अस्पताल लग्ने बन्दोबस गर्न अनुरोध गर्न थाले । म प्रधानजीको छिमेकी । तादुङ्ग बजारमा सरेको दिनै प्रधानजीले, नयाँ छिमेकी पर्नु भयो, घर सर्दा कम्ता थकाउँदैन भन्दै डिनर खान बोलाउनु भयो । त्यसपछि त हाम्रो भेटघाट बढ्दै गयो र आवतजावत पनि बढ्दै जान थाल्यो । फेरी म सिक्किम गोभर्मेन्ट अस्पतालमा प्रशासनको डायरेक्टर भएर काम गर्ने भएकोले पनि मेरो सहयोग जरुरी ठानेर प्रधानजीले फोन गरेर छोरा बेहोसीको अवस्थामा छ र मुँखबाट फिज निस्केको छ भनेपछि म आफै दौडेर ईमाजेन्सी वार्डमा गएर एम्बुलेन्समा डाक्टर घिसिङ्ग र मालती नर्ससहित तादुङ्गतिर लागें ।
बेहोसीको अवस्थामा रहेको छोरालाई जाँच्ने बित्तिकै डाक्टरले बिष खाएको भनेपछि हामी सबै स्तब्ध भयौं । तुरन्तै अस्पताल लान भनेपछि छोरालाई आमासहीत एम्बुलेन्समा राखेर घरमा पुष्पा (मेरो श्रीमती) लाई फोन गरेर भाउजुसँगै अस्पताल पठाएँ । अनि म प्रधानजीको मोटरमा उनलाई लिएर अस्पतालतिर लाग्यौं । बाटोबाटै प्रधानजीले आफ्नो अफिसमा फोन गरेर घरमा ईमार्जेन्सी परेकोले आज नआउने मात्र भनेर फोन काट्नु भयो । प्रधानजीले आफै पनि सर्भे अफ इण्डियाको ईञ्जिनियर भएर होला छोरालाई पनि ईञ्जिनियरिङ्ग नै पढाएका थिए । बाटोमा छोराको बारेमा बुझ्न खोज्दा प्रधानजीले त्यहीँ माथि भनेका नै कुरा बताउनु भयो । मैले कतै छोरा मायाप्रितिमा परेको त छैन भन्दै हिजोआजका केटाकटीहरु मायाप्रितिमा परेर यस्तै नसोचेको काम गर्छन भन्दा पनि प्रधानजी केही बोलेनन् । वहाँको मौनताभित्र छोराको पीडा लुकेको थियो ।
एम्बुलेन्स साईरन बजाएर अघि बढी रहेको थियो र म एम्बुलेन्सको पछि पछि लागेको थिए । अस्पतालमा पुग्नासाथ डाक्टर घिसिङ्गले रिसेप्सनमा ‘ईट ईज पोईजनिङ्ग केस, कल डाक्टर चाम्लिङ्ग’ भनेर स्ट्रेचर उपचार कोठामा लान लगाएर आफु पनि पछि पछि लागे । मैले प्रधानजी र भाउजुलाई रिसेप्सनमा ल्याएर छोराको नाम दर्ता गराएर भित्र वेटिङ्ग रुपमा ल्याएर राखेपछि प्रधानजी सँगै गएर बसे । मैले अस्पतालको कर्मचारीलाई बोलाएर क्यन्टिनबाट चिया ल्याउन लगाएर हामी चिया पिउँदै गर्दा मित्र आफन्तहरु पनि जम्मा हुन थाले । प्रधानजीले फोन गरेर आफन्तलाई जानकारी गराउनु भएको रहेछ अनि मैले छिमेकका मित्रहरुलाई जानकारी गराएको थिए । मर्दा पर्दा नै त आफन्त मित्र​हरु चाहिन्छ ।
अस्पतालमा पोईजनिङ्ग वा त्यस्तै मर्ने मार्ने केस आउँदा रिसेप्सनले तुरन्तै नजिकको पुलिस थानामा फोन गर्नु पर्छ । यो केसमा पनि त्यहीँ भयो । त्यसैले एकजना ईन्सपेक्टर र एकजना हवल्दार हामी बसेको वेटिङ्ग रुममा आएर घटनाको बारेमा जानकारी लिन थाल्यो । प्रधानजीले सबै घटना बताएपछि ईन्सपेक्टरले पनि कतै मायाप्रितिमा परेको थियो कि, कुनै जाँचमा असफल भएको थियो कि, घरमा आमाबाउसँग झगडा भएको थियो कि, लागु औंषधी खान्थ्यो कि ? आदि हाईपोथेटिकल प्रश्नहरु सोध्न थालेपछि प्रधानजीले त्यस्तो केही नभएको भनेपछि भाउजु सँग प्रश्न गर्न चाह्यो । भाउजुको एक शब्द पनि बोल्ने अवस्था थिएनन् । वहाँ लगातार रोई नै रहेकी थिईन । त्यसपछि ईन्सपेक्टर डाक्टरलाई भेट्न जान खोज्दा म पनि आफ्नो परिचय दिदै उनको पछि पछि लागे ।
उपचार केन्द्रको बाहिर उभिएर मैले प्रधानजीको छोराको राम्रो व्यवहारको बारेमा जानकारी गराउँदै गर्दा उपचार कोठाबाट डा. चाम्लिङ्ग निस्कनु भयो । ईन्सपेक्टरले वहाँलाई केही सोध्न खोज्दा डा. चाम्लिङ्गले डा. घिसिङ्गले सबै ब्रिफिङ्ग गर्नु हुन्छ भनेर जानु भयो । तुरन्तै डा. घिसिङ्ग पनि कोठाबाट निस्केपछि मैले विरामीको अवस्थाको बारेमा सोध्दा उनले खतरा टल्यो अब चिन्ता गर्नु पर्दैन भनेपछि म ढुक्क भएर समाचार सुनाउन वेटिङ्ग रुमतिर लागें । अनि डा. घिसिङ्ग ईन्सपेक्टरसँग कुरा गर्न थाले ।
वेटिङ्ग रुपमा आएर सुसमाचार सुनाएपछि भाउजुले छोरोलाई हेर्ने ईच्छा गरिन् । प्रधानजी पनि अलि हलुको भएझैं गरी छोरालाई भेट्न सकिन्छ भनेपछि म फेरि उपचार कोठातिर लागें । त्यहाँ कोठाबाहिर डा. घिसिङ्ग र ईन्सपेक्टरलाई कुरा गर्दै गरेको देखेपछि दुवैलाई आफ्नो क्याबिनमा लिएर आएँ । डा. घिसिङ्गका अनुसार धेरै सिलिपिङ्ग ट्याबलेट खाएकोले उसको अवस्था बिग्रको रहेछ । तर अब आत्तिनु पर्दैन, उसलाई वार्डमा सारेपछि भेट्न सकिन्छ भनेपछि मेरो मन पनि हलुको भयो । तर ईन्सपेक्टरले अरुलाई भेट्नअघि उसको वयान लिन जरुरी छ भनेपछि हामी फेरि उपचार कोठामा आयौं । मेरो उपस्थिति ईन्सपेक्टरले नचाहेँ झै गरेपछि डा. घिसिङ्गले फेरि मेरो परिचय दिंदै सर यो अस्पतालको हेड हो भनेपछि हामी कोठाभित्र पस्यौं ।
ईन्सपेक्टरले आफ्नो प्रश्न प्रेम प्रसङ्गबाट शुरु गरेर प्रेमीका भए नभएको, जाँड रक्सी, ड्रग्स वा कुनै नराम्रो बानी भए नभएको बारे सोध्दै यसरी सिलिपिङ्ग ट्याबलेट खानु पर्ने कारण, ट्याबलेट ल्याएको मेडिकल स्टोरको नाम समेत सोधेर यसमा आमाबाउलाई समेत कसुरबार बनाउन थालेपछि मात्रै छोरोले आफुलाई खतम गर्ने विचारले आमाको नामबाट तादुङ्ग मेडिकल स्टोरबाट सिलिपिङ्ग ट्याबलेट ल्याएको भन्दै कारणको वयान गर्न थाल्यो ।
त्यसबेला प्रधानजीले मेरो मोबाईलमा तीनचारपटक फोन गरी सकेका रहेछन् । आमाबुवालाई छोरो भेट्न आतुर भई रहेका होला । तर ईन्सपेक्टरले वयान लिदै गएकोले फोनबाट सबै ठिक छ र छोरा पनि एकदमै ठिक छ, अब वार्डमा राख्न लान लागेकोले हो म आफै आएर तपाईहरुलाई वार्डमा लिएर जान्छु भनेर सम्झाएँ ।
छोराले दिएको वयान सुनेर म आफै तर्सिएँ । डा. घिसिङ्ग र ईन्सपेक्टरलाई भने यस्तो घटनाका बारेमा थाहा रहेछ । यसमा विशेष गरेर केटाहरु टार्गेट बन्दै जाँदा रहेछन् । यो केसको विशेष अनुसन्धान गर्नका लागि सिक्किम पुलिस डिपार्टमेन्टका एसिस्टेन्ट डाईरेक्टर श्री पवन शुक्लाको नेतृत्वमा एउटा विशेष अनुसन्धान सेल पनि बनेको बारे ईन्सपेक्टरले जानकारी गराए । यसमा केटीहरुले केटाहरुलाई फसाएर पैसा ठग्ने गर्दा रहेछन् । प्रधानजीको छोराले भनेको र ईन्सपेक्टरले दिएको जानकारीबाट ठगी गर्ने नयाँ अचम्मको तरिकाका बारेमा थाहा पाएँ ।
आज विश्वलाई नै आफ्नो हत्केलामा पुर्याउन सकिने प्रविधि फेसबुकमा प्रधानजीको छोरा कुशललाई एउटी केटीबाट फ्रेण्ड रिक्वेस्ट आएपछि उसले एसेप्ट गर्यो । केही दिनपछि केटीले टेक्ट मेसेजबाट हाई हेलो गर्न थालेपछि कुशलले पनि कुराको आदानप्रदान गर्न थाले। हाई हेलोबाट विस्तारै मेसेन्जरको माध्यमबाट फोन आउन थालेपछि कुराको सिलसिला शुरु भयो । अनि कुराकानी बढ्दै गएपछि एकअर्काको मनपर्ने ईच्छाका बारेमा जानकारीको लेनदेन भयो । केटी विस्तारै खुल्दै गएपछि भिडियोबाट देखादेख हुन थाल्यो । भर्चुयल भेटघाटले निरन्तरता पाउँदै गएपछि एकअर्काको शरीरको अङ्ग देखाउने प्रक्रिया शुरु भयो । विस्तारै केटीले आफ्नो अङ्ग देखाएर आकर्षण बढाउँदै केटालाई उत्तेजित पार्न थालिन । अनि भिडियोबाट केटालाई पनि निर्वस्त्र बनाएर मैथुन गर्न लगाएर आफु पनि सम्तुष्ट भएको नाटक रच्ने गरिन् । यो खेलबाट केटालाई एकप्रकारको आनन्द आउन थाल्यो ।
त्यसपछि शुरु भयो ठगीको खेल । केटालाई तिम्रो भिडियो सार्वजनिक गरी दिन्छु भनेर केटीले ब्लैक मेलिङ्ग गर्न थालिन् । पहिलो थोरै र विस्तारै पैसाको माँग बढ्दै जान थाल्यो । कुशलले पनि तीनपटक पहिला दुई हजार अनि त्यसपछि पाँच हजार र दस हजार दिई सकेको बारे जानकारी गरायो । अनि हिजो पचास हजारको माँग गरेपछि कुशललाई लाग्यो केटीको माँग बढ्दै जानेछ र माँग पुरा नगरे भिडियो सार्वजनिक हुनेछ । कुशललाई आफ्नो र आमाबाउको ईज्जत नै जाने डरले सताउन थाल्यो । कुशललाई लाग्यो उसको एउटा गल्तिले समाजमा आमाबाउको बेईज्जत भएको हेर्नुभन्दा मर्नु ठिक । अनि उसले यो कदम चालेको भन्ने जानकारी गरायो ।
ईन्सपेक्टरले कुशललाई नआत्तिनु तिमीलाई केही पनि हुँदैन । तिमीले पुलिसलाई सहयोग गर्नु पर्छ भन्दै कुशलको मोबाईल माग्यो । तर कुशलले मोबाईल घरमा छ भनेपछि मैले नै ईन्सपेक्टरलाई मोबाईल म आजै पुलिस अफिसमा पुर्याई दिन्छु भनेपछि ईन्सपेक्टरले कुशलको मोबाईलबाट केटीको फोनको लोकेसन पत्ता लगाउन सकिन्छ र अब केटीले फोन गरेपछि हाम्रो टोलीले त्यौ लोकेसनमा गएर तुरन्त कारवाही गर्ने छ भनेपछि म ढुक्क भए । ईन्सपेक्टरले यसरी धेरैनै केटाहरु ठगिदै गएकोबारे पुलिसमा रिपोर्ट भएको र केहीले लाजले आत्महत्या गर्न खोजेकोबारे पनि जानकारी गराउनु भयो ।
ईन्सपेक्टरले बयान लिएपछि मैले नर्सलाई बोलाएर कुशललाई प्राईभेट क्याबिन नम्बर सि १२ मा लिएर जानु भने । अनि म आफै प्रधानजी र भाउजुलाई लिन वेटिङ्ग रुमतिर लागे ।

कथाकार परिचयः टोरण्टो निवासी कथाकार गोविन्द सिंह रावत नेपाली नाट्य मझ्चन क्षेत्रका प्रतिष्ठित ब्यक्तित्व हुन् । उनले नाट्य क्षेत्रमै विद्यावारिधी गरे । कविता, नाटक, समालोचना लगायत कथा विधामा कलम चलाउने रावतका अन्य बिधाका कृतिहरु सहित “गङ्गा” कथा सङ्ग्रह प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *