रामकुमार एलन
‘तपाईं पनि मन्त्री ?,’ कमरेड टलकप्रसादले टोपी निकालेर कपाल नभएको टाउकोमा नब घिसार्दै भने, ‘ल बधाई छ, मन्त्री हुन पाउनु भएकामा ।’
‘हजुर मन्त्री त म भइहाल्थेँ, अलिकता गुटको साबुनले फिँज ननिकाल्ला कि भनेर न चिन्ता थियो कमरेड,’ मन्त्री कमरेड भूइँमानले भने, हुन त दुईतिहाइको सरकार बनाउने भनेर पनि नाम काटिएला की भन्ने सुलहले कतिदिनसम्म त गानो गइरह्यो नि !’
‘त्यही त, त्यसमाथि गुट, उपगुट, दुईवटा पार्टीका कोटरीसहित मधेशीलाई पनि सरकारमा ल्याउने बेला, एक चौथाइ मन्त्रालय पनि गाभेर एउटै मन्त्रालयको नाममा दुई ठाउँमा त तथा’ लेख्नु परेका जमाना छ, तै–तै पालो आयो तपाईंको, ल एक प्रदेश बराबरको बधाई छ कमरेड ।’
कमरेड टलकप्रसादले कसिलोसँग चोर औँला र कान्छी औँला जोल्ठिने गरी हात मिलाउँदै अँगालो हाले र भने, ‘बूढी कमरेड, मन्त्री कमरेडलाई दही खुवाएर सगुन देऊ त ।’
चुल्होबाटै बूढी कमरेडले आकाशवाणी गरिन्, चुनावमा त आफू भोकै बसेर भएको खान्की बाँडियो–नासियो, अहिले पनि नभएको दही खोजिखोजी सगुन खुवाउनु र ? तपाईं नै खुवाउनुस् त म महिला समूहको बैठकमा जान बितिसक्यो ।’
प्रदेश सांसदमा समानुपातिकतर्फ परेको नाम काठमाडौ गएर रन्दा’ लगाउने काम कमरेड भूइँमानले गरेको भन्ने कैरन गाउँमा चलेपछि कमरेड टलकप्रसादकी बूढी कमरेडको निधारमा परेको चाउरीको मुजा अझै हटेको छैन । त्यसैमाथि उनै कमरेड मन्त्री भएको खबरमा आफ्नै बूढा खुशी भए पनि गुटको घाउ चह-याएर बूढी कमरेड बाहिर पनि आइनन् । बधाईको शब्द निस्किएन जिभ्रोबाट ।
‘भै’गो कमरेड, पछि आउँला नि,’ कमरेड भूइँमान हात मिलाउँदै बिदा हुन खोजे । उनलाई प्रदेश कमिटी बैठकमा पनि टलक कमरेडले निकै पारेको याद आयो । यस्तो अमिलो डकार आयो कि, मन्त्री भएको खुशीको सक्खर नै बान्ता होलाजस्तो भयो ।
‘हुन्छ राजनीतिमा यस्तो,’ मनमनै कमरेड भूइँमानले सम्हालिए, मन्त्री भइहालियो, अब केही अवसर दिउँला भन्ने ठानेको थिएँ, कमरेड चोथालीको रिस मरेको रहेनछ, ठीकै छ, बिरालोलाई रिस उठेपछि खाँबो चितोर्छ ।’
‘नजिकको तीर्थ हेला भनेको यही हो, तँलाई किन चोथाले बन्नु परेको, एकछिन थुतुनो बिसाउन सक्दिनस् ?,’ कमरेड टलकप्रसाद अमिलिए, जे भए पनि गाउँकै साथी मन्त्री भए, तेरो नाम उनैले काटेको के ग्यारेन्टी छ र, भोलि सहयोग लिनु पर्ने हुनसक्छ, एकगिलास दही मुखमा हालिदिँदैमा तँ कुबेरबाट सुदामा हुन्छेस् ? नेता हुने मान्छेले रिस लुका’ न हो काली कमरेड ।’
‘त्यही त, यिनीजति गुटियालाई दही खुवाउनु अब,’ कमरेड काली भारतीय फिलमकी फुलनदेवी भन्दा डरलाग्दो भएर प्रकट भइन्, यिनले नाम नकाटे पनि काट्न हुन्न भनेका भए म पनि समानुपातिकमा सांसद हुन्थेँ, मन्त्री हुन्थेँ, तिमी पनि मन्त्रीको पोइ हुन्थ्यौ ? गुटको घाउ कति पाक्छ, कति पोल्छ, मलाई थाहा छ, तिमीजस्तो सहकारी चलाएर बसेकालाई के थाहा ?’
‘भिनाजु, मलाई त नगर विकास समितिको अध्यक्ष चाहिन्छ ।’
‘मैले त चुनावमा गरेको खर्चको हिसाब पनि राखिनँ कमरेड, त्यो बालुवाको ठेक्का मलाई दिए हुन्छ पाँचवर्षजतिलाई, अर्को चुनावमा पनि खर्च चाहिएला क्यारे ।’
चुनावमा चढेको सबै मोटरसाइकल र गाडीको इन्धनको पैसा आएन मन्त्रीज्यू, मिल्ने भए आयल निगमको बोर्ड सदस्य दिनुस्, नत्र नयाँ पेट्रोल पम्प राख्ने लाइसेन्स खुलाइदिनुस् गुपचुप ।’
‘गाउँगाउँमा खानेपानी लैजाने कुरा छ, पाइप चैँ मेरो कम्पनीले सप्लाइ गर्छ है मन्त्रीज्यू ।’
‘त्यो भालुखोलामा हाइड्रोपावर बनाउने कुरा छ, लाइसेन्स चैँ मलार्ई चाहिन्छ है,’ एकजना निर्माण व्यवसायी तथा ऊर्जाउद्यमीले ऊर्जासहित बधाई टक्र्याए ।
‘कालिजको सुकुटीसहित एकजना प्रहरी अधिकृत घरमै आइपुगे । तनक्क तन्किएर सलामी दिँदै भने, बधाई मन्त्रीज्यू, ठ्याक्कै शान्ति सेना जाने बेला प-यो, त्यता जाउँ कि यहीँ बसेर हजुरलाई सहयोग गरौँ ?’
‘पहिलो विदेश भ्रमणमा त म पनि जान्छु है बूढा, पार्टीले विदेश पठाउँदा पनि आफू मात्रै गयौ, मलार्ई लगेनौ, अरूले आफ्ना पनि लगे, अरू पनि लगे मात्रै हो र, उतै छाडेर आउँदा पनि कमाए भन्ने सुनेको छु,’ बूढीको पनि फर्माइस आयो ।
पदसँग कति धेरै आशक्ति हुँदोरहेछ । मन्त्री हुने कहिलेकहिले, अहिले यति धेरै उन्मादको ब्लांक फायर भइसक्यो । मन्त्री कमरेड भूइँमानले सम्हालिए, त्यसै मान्छे मन्त्री हुन मरिहत्ते गरेको होइन रहेछ ।’
मन्त्री पदसँग किन यस्ता झीनामसिना सिँगाने टाटा मात्र देखिन्छ ? मन्त्री त यस्तै टाटाले बदनाम हुन्छ कि क्या हो ? मन्त्री भएपछि देश बनाउँला, प्रदेश बनाउँला, जिल्ला बनाउँला, स्थानीय तह बनाउँला भनेको त यस्तै सालालाई नगर विकासको अध्यक्ष बनाउँदैमा बित्छ कि क्या हो ? ओ हो, अर्को चुनावमा यस्तो कुरा उठाएर टिकट नपाउन पनि सक्छु, मैले टिकट पाइनँ भने पार्टीले जित्छ भन्ने के ग्यारेन्टी ? चाउचाउ किनेजस्तो हो र चुनाव उठ्ने कुरा । चाउचाउमा एकतोला सुन भन्दै ‘ट्राइ एगेन’ परेजस्तै होइन राजनीति । चाउचाउको कुपन पो जस्ले पनि, कोट्याउने’ त । पदमा त हामीजस्तो इमानदार, त्यागी, लामो समय समर्पण गरेकाहरूले पो भाग पाउने । बल्लबल्ल आएको पद यस्तो झिनामसिना मुद्दामा अल्झेर हुन्न, देखिने गरी …ठोस’ गर्छु । मन्त्री हुँदा देखिने काम गरेर अर्को पटकलाई पनि ….पक्का’ गर्छु । मन्त्री कमरेडले मन दह्रो पारे । मुठ्ठी कसे अनि फुत्त मुखबाट
निस्कियो, म त्यस्तो मन्त्री होइन, आइन्दा यस्तो कुरा लिएर मकहाँ नआउने, फोन नगर्ने ।’ सांसद जितेको एक सय दिनसम्म पनि शपथ खान नपाएका बूढा सपनामा बर्बराएको देखेर बूढी पनि ब्युँझिइन् । भित्तामा टिकटिक गरिरहेको घडीले घन्टे सुर्ई’ दुईतिर पनि पु-याउन सकिरहेको थिएन ।
मन्त्री भएको सपना देखेछन् बूढाले, हे भगवान यसपटक मेरो बूढाको त्यति रहर पूरा गरिदेऊ, मनकामनामा कालो बोका चढाउँला,’ मध्यराति बूढीले भगवानसँग उधारो खाता खोलिन् न्युनतम मौज्दात नराखी ।
‘म लालबाबु पण्डितजस्तै चर्चा कमाउन चाहन्छु,’ मन्त्रीज्यू बर्बराइरहनु भयो, उहाँले आफू विमानमा गएर पत्नीलाई गाडीमा विराटनगर पठाउनु भयो रे, म त उस्तै परे आफू गाडीमा गएर पत्नीलाई हिँडाएरै संखुवासभा पठाइदिन्छु ।’
‘म मातृका यादवजस्तै कडा मन्त्री हुँ, उनले त डिएफओलाई शौचालयमा थुनेका हुन्, म त उस्तै परे विभागका डिजीलाई नै सुन्धाराको घुम्ती शौचालय सफा गर्न लगाइदिन्छु । स्वच्छ, सफा शहर, स्वस्थ नागरिक जीवन मेरो सपना हो, अरू स्मार्ट सिटी बनाउने भन्छन्, म स्मार्ट नागरिक बनाउँछु, आफू पनि साइकलमा हिँड्छु, अरूलाई पनि साइकलमा हिँड्न लगाउँछु, धूलोधूँवा हटाएर स्वच्छ हराभरा शहर मेरो सपना हो । गगन थापाले विज्ञापन गरे भन्दा फरक बनाउँछु ।’
“अरू केही प्रश्न सोध्नु छ, पत्रकारज्यू ?’ मन्त्रीका गुलिया कुराले पत्रकारका कानमै चिनीरोगी हुने डर थियो । सँगै बसेकी बूढीले टक्र्याइन् । मन्त्रीज्यू झल्याँस्स ब्युँझे । आँखा मिच्दै यताउति हेरे, पत्रकार थिएनन् । मध्यराति मन्त्री भएको सपना देखेका कमरेडको निद्रा पत्रकारले देखाएको न्युरोडमा पत्रकारले देखाएको समाचारको गुँदपाकजस्तै अमिलो भयो । टिभी हेर्न खोजे । ….मध्यराति सहमति । मिल्यो मन्त्रीमा भागवण्डा । मन्त्रीको लाग्यो टुंगो । फलाना–फलाना मन्त्रीलाई ढिस्काना मन्त्रालयको जिम्मेवारी । शपथ भोलि ।’ भर्खरै सपनामा कड्किएका कमरेडको नाम कतै अटेन । अब त झन् निद्रा आउने कुरै भएन । फोन लगाउँ, यतिखेर कसले उठाउलान् । ओहो, फेरि पनि गुटका नाममा नाम काटियो, कमरेड फेसबुकतिर रल्लिन थाले । फेसबुक झन हेरिनसक्नु थियो, सबैले फोटो राखेर बधाई दिइरहेका । त्यो बधाईको भिडमा उनको नाम थिएन । हरि–हरि, यस्तै रैमट्ट छ हाम्रो राजनीति ।
(एलनको कथा संग्रह ‘फ्रडमान्डु’ छिट्टै बजारमा आउँदैछ, यो कथा पनि संग्रहित छ)
०००
कथाकार परिचयः कथाकार रामकुमार एलन रामकुमार रिजालको साहित्यिक नाम हो । उनी विसं २०५३ मा पारदर्शी साप्ताहिकमा कविता छापिएर लेखनमा उत्रिएका हुन् । मकवानपुर जिल्लाको कालिकाटार-२, टकुवामा जन्मिएका उनी हाल हेटौंडा-काठमाडौं अस्थायी वसोवास गर्छन् । उनको २०५७ मा हवाई गजल संग्रह ‘तिमी हामीले जे गरे पनि हुन्छ यार‘ प्रकाशन भएको थियो भने २०७० मा उपन्यास ‘स्याउली सिम्फोनी‘ प्रकाशित छ ।