साँखु, हलिँ नेवा: गुथि र म

मेरो कविताः मेरो रोजाइ

तेजप्रकाश श्रेष्ठ, काठमाडौं

नवयोवना झैँ सिनित्त, चिटिक्क । ३३२१ वर्षकी तरुनी सक्व अर्थात् साँखु । नेवार फूलबारीमा ढकमक्क फक्रेकी साँखु । लोभ्याउँदी र रसिली भरिली । लठ्ठिरहेछु म उनको साक्षात्कारमा । कति हिसी परेकी साँखु अर्थात् प्राचीन शङ्खापुर नगरी । घामको लालित्यमा लत्पतिएको शङ्खाकार लालीमय गाला ! चुमूँ चुमूँ लागिरहेछ । मायालु साँखु ।
साली नदीले सिञ्चित परिवेश ! पवित्र साली नदीको कल्कलाउँदो जलप्रवाह । घट्घट् पिइरहेछु आँखैले । धीत मरेको छैन तृष्णा । सर्सराउँदो स्नेहिल पवन सुम्सुम्याउन आइपुगेको छ म उभिएकै स्थलमा । म सम्वेदनशील बन्न पुग्छु र साली नदीको डिलमा मुस्कुराइरहेकी स्वस्थानी मन्दिरलाई पुलुक्क हेर्छु ।
स्वस्थानी मन्दिर ठिङ्ग उभिएको छ मेरै सामु । स्वस्थानी देवी नेपालकी स्थानीय मौलिक देवी । माघ महात्म्यकी आराध्य देवी । मुसुक्क मुस्कुराउँछ परिवेश । आहा ! गज्जवको वास्तुकला ! बहुकोणात्मक आकृतिमा निर्मित कलात्मक मन्दिर संरचना ! मौलिक वास्तुकलाको जिउँदो प्रतिरुप ।
म नियाल्छु मन्दिर ! माथिदेखि तलैसम्म । मन्दिरको बहुकोणात्मक र कलात्मक छाना सुनौला धातुले छाइएको छ । माथिल्लो तलामा चारैतिर ढाकिने गरी प्वाल प्वाल परेको विशाल तिकिझ्या: झैँ ढल्काइएको कलात्मक काठे संरचना आकर्षक लाग्छ । त्यसभन्दा मुनि ससाना कलात्मक तिकिझ्या:हरूका साथै कलात्मक टुँडालहरूले अड्याइएका छन् संरचना । तल्लो तलामा कलात्मक मूल ढोका र झ्यालहरू अझैँ कलात्मक देखिन्छन् ।
चारैतिर पर्खालले परिवेष्ठित साँघुरो प्राङ्गणमा त्रिशूल र डमरुसमेत उभ्याइएको देख्दा एउटा बेग्लै अनुभूति गर्नपुग्छु म । नाग झैँ छानाबाट लर्किएका सुनका दुईओटा शिरबन्दीस्वरुप पताकाहरू हेरिरहूँ जस्ता, सोचिरहूँ जस्ता लाग्छन् । यस्तो कोणात्मक शैलीको कलात्मक मन्दिर बिरलै देखेको छु मैले ।
धन्य, नेपाली कलाकार ! धन्य नेपाली वस्तुकलाविद् । त्यसै भनिएको होइन ‘नेपाल कलाको देश हो, कलाकारको देश हो र कला पारखीको देश हो’ । नतमस्तक हुन्छु म ।
चहलपहल बढ्दो छ । हलि नेवा: गुथि (विश्व नेवार गुठी) का प्रेमिल समूहहरू रङ्गी चङ्गी पहिरनमा सल्बलाइरहेका छन् उत्साहित र उमङ्गित ।
जमघट हुँदै छन् उपत्यकाका तीनै सहरका नेवार समुदायका नर नारी । आफ्नै मौलिक परिहनमा । कालो पटासी (कालोमा रातो किनारा भएको घरबुना सारी), रातो पुतुलँ (चोली), जनी (सेतो पटुकी) र गाचा (सेतोमा रातो किनारा भएको पछ्यौरी)मा सजिएर आकर्षक गरगहनामा छपक्कै र केशमा रातो फूल सिउँरिएका महिला समूह तथा दौरा सुरुवाल, कोट इस्टकोट र टोपीमा सजिएका पुरुष समूहको लर्कोको गतिशीलता नियाली रहेको छु म ।
गर्व लाग्छ आफ्नोपनमा, आफ्नो परिहनमा । आफ्नै परम्परा र संस्कृतिमा । म पनि त यस्तै समूहमा मिसिएर आइपुगेको हुँ, यस रमणीय साँखु नगरीमा । म त्यतिबेला नेवार परिहनमा पटक्कै छैन । दौरा सुरुवाल र टोपीमा पनि सजिएको छैन । थक थक लागिरहेछ, तर अनौपचारिक पोसाकमा म जस्तै अरु सहभागीहरू पनि उत्साहित नै देख्छु र त कागको बथानमा बकुल्ला बन्न नपरेकोमा ढुक्क छु !
निम्त्याइएको हुँ हलिं नेवा: गुथि, थान्कोट शाखाबाट । हलिं नेवा: गुथिको बाह्रौँ वार्षिकोत्सव तथा साँखु नगरीको ३३२१ औँ स्थापना दिवसको संयुक्त भव्य समारोहमा उपस्थित छु म । २०७७ चैत ७ गतेको पुनीत दिनमा हलिं नेवा: गुथिकै सौजन्यको बसबाट साँखु नगरीमा आइपुगेको हुँ ।
वि.सं. २०६६ मा थानकोटमा शान्तप्रकाश श्रेष्ठको अध्यक्षतामा स्थापित हलिं नेवा: गुथि ! नेवारहरूका लागि नेवारहरूबाटै आर्थिक जोहो गरी नेपालभाषा, साहित्य र संस्कृतिलाई विश्वप्यापी रूपमा फैलाउने उद्देश्य लिएर स्थापित भएको हो ।
हलिं नेवा गुथि भन्नु नै विश्वमा छरिएर रहेका नेवार समुदायलाई एउटै छातामुनि आबद्ध गर्नु पनि हो । भनिन्छ विश्वका नेवारहरूलाई सङ्गठित गरी नेवारका आदर्श र ढुकढुकीलाई मजबूत पार्न गठित गुठी वा विश्व संस्था हो हलिं नेवा: गुथि ।
यस गुथिले स्वदेशका विभिन्न रस्तीवस्तीका साथै अस्ट्रेलिया, चीन, कोरिया, रुस, पोर्चुगल, अमेरिका बेलायत आदि विदेशसम्मै आफ्नो हाँगा फैलाइसकेको रहेछ । हालसम्म १०४ शाखा भएको हलिं नेवा: गुथिसँग मेरो प्रत्यक्ष संलग्नता नभए पनि शुभचिन्तकको नाताले रमाइरहेछु ।
यस गुथिका संस्थापक अध्यक्ष तथा सल्लाहकार मित्र शान्तप्रकाश श्रेष्ठको अनिवार्य उपस्थितिको उर्दीलाई नकार्न नसक्दा नौलो अनुभूति समेट्न पाएको छु । नेवार समुदायसँग अझ बढी घुलमिल हुने मौका भेट्टाएको छु । म नेवारकै छोरो भए पनि नेवार संस्कृतिलाई राम्रोसँग बुझ्न सकेको छैन । यस्तै लाग्छ मलाई । र त बुझ्ने प्रयासमा अग्रसर छु ।
मेरा लागि व्यवस्था गरिएको वस सतुङ्गल समूहको परेछ । थानकोट समूहको भए चिनजानका मित्रहरू भेटिन्थे सायद । यस समूहमा नौला अनुहारसँग साक्षात्कार हुँदा केहीबेर असहज भएकै हो । तर नौलो चिनजानमा पनि नौलै अनुभूति गर्न पुगेको छु । संयोग हो नौलो चिनजानको क्रम भेट्टाउनु पनि । सुखद नै लागिरहेछ ।
अनुबन्धित बसमा नैकाप तीनथानाबाट उक्लिएदेखि हलिं नेवा: गुथिका मित्रहरूसँग चिनजान साटासाट गर्दागर्दै करिब २१।२२ किलोमिटरको दूरीमा रहेको प्राचीन नगर साँखु पुगिए छ । बसबाट ओर्लिएर वातावरण नियालिरहेछु यतिखेर । प्राचीन तथा सालीनदीले सिञ्चित साँखु नगरी धेरैपटक पुगिसके पनि आजको वातावरण नौलो लागिरहेछ । बिरानो लागिरहेछ ।
काठमाडौँ महानगरबाट करिब १७ किलोमिटर उत्तर पूर्वमा अवस्थित प्राचीन नेवार नगर सक्व: अर्थात् साँखु मुसुक्क हाँस्छ घाम झैँ । म पूर्व पश्चिम, उत्तर दक्षिण हेर्छु । चारैतिर पर्वत शृङ्खलाले घेरिएको एउटा सानो, चिटिक्कको हरियालीयुक्त उपत्यकाले अँगालो मार्न पुग्छ । उत्तर–पश्चिमको डाँडोबाट आराध्यदेवी बज्रयोगिनी माईले चियाउँदै आशीर्वाद वर्साइरहेकी देख्नपुग्छु म ।
एकातिर आराध्यदेवी बज्रयोगिनी र अर्कोतिर स्वस्थानीदेवी विराजमान भई रक्षा गरिएकी साँखु जम्जमाइरहेकी छन् आफ्नो स्थापना दिवसको रमझममा । हलिँ नेवा: गुथिका सहभागीहरु स्वस्थानी मन्दिर अगाडिको धार्मिक स्थलमा भेला हुनथालेका छन् । उपत्यकाका काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुर, थानकोट, सतुङ्गल आदि विभिन्न सहर बस्तीहरूका साथै तिस्टुङ् र पनौतीसम्मका नेवार समूहहरूको ठुलै जमघट हुँदैछ । अतिथिहरूको स्वागतार्थ साँखु जम्जमाइरहेकी छिन् मख्ख पर्दै ।
सक्वा: हलिं नेवा: गुथि शाखाको नेतृत्वमा साँखुले आगन्तुकहरूलाई रातो टीका र रातै कोखा लगाएर स्वागत गर्दछ । पर्सादीको रूपमा व्यवस्था गरिएको समयबजिको कौलाले नेवार संस्कृति झलमल्ल भएको छ । मध्यान्हको घामसँगै स्वादिलो कौला वा खाजा बुत्याउन पाउँदा रमाइरहेछ मन ।
मन त त्यतिबेला झन् रमायो जति बेला थानकोटका कवि हृदयका दाजु शिवप्रसाद श्रेष्ठलाई भेटेँ । त्यतिबेलासम्म मैले पूर्वपरिचित कसैलाई पनि भेटेको थिइनँ मित्र शान्तप्रकाशबाहेक । तर उनलाई रत्तिभर फुर्सद थिएन मलाई साथ दिन, व्यवस्थापक नै त परे ।
शिवदाइसँग भेट भएपछि मैले एक्लो अनुभव गर्नु परेन । नौलो ठाउँमा पूर्व परिचितसँग घुलमिल हुँदा सहज हुँदोरहेछ । त्यसमा पनि शिवदाइ र मैले हलिं नेवा: गुथि, थानकोटको एउटै मञ्चबाट ‘नलिं साहित्य दबलिं सम्मान’ ग्रहण गरेका थियौँ । शिवदाइले सहज अनुभव गर्नुभएछ, मलाई पनि सहज हुने नै भयो । दिनभर हामी एक साथ हिँड्यौँ, घुम्यौँ र रमायौँ । आत्मीयता झन् झ्याङ्गियो ।
चन्द्रावतीलाई मोक्ष दिलाउने साली नदीलाई आत्मसात गर्‍यौँ । चन्द्रावतीलाई धुइँधुइँति खोज्यौँ । बालुवाका शिवलिङ्ग र पूजासर्जाम हेर्न खोज्यौँ । प्रत्येक वर्ष माघ महिनामा स्वस्थानी देवीको मेला लाग्ने धार्मिक स्थलमा केहीबेर रमायौँ । ‘कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मूनि !’ कानमा गुन्जिरह्यो । माघको धार्मिक भिडभाडमा ब्राह्मणहरू एकाछेउमा पलेटी कसेर स्वस्थानी ब्रत कथा वाचन गरिरहे झैँ अनुभूत गरेँ । कल्पनामा बग्नु पनि रमाइलै हुन्छ ।
“ए तेज ! छु दु हालखबर ? यक्व दत नि नाप मलानागु ।”(ए तेज ! के छ हालचाल ? धेरै भयो नि भेट नभएको ।) जनकवि दुर्गालाल श्रेष्ठ दाइले मलाई देख्नासाथ सोध्नुभयो । ‘सय थुँगा फूल’ गीतसङ्गीत झङ्क्रित हुनपुग्यो मुटुभरि । म संवेदनशील बन्नपुग्छु । मलाई कल्पनै थिएन वयोवृद्ध दुर्गालाल दाइ अनायास भेटिनुहुन्छ भन्ने । नभेटेको पनि धेरै समय भएको थियो । सायद उहाँ ठमेलबाट सानो भरेङ सर्नुभएदेखि भेट्न सकेको थिइनँ ।
मेरा जेठा दाइ कृष्णप्रकाश (हालसालै दिवंगत हुनुभयो) का साथी हुनुहुन्छ दुर्गालाल दाइ । कृष्ण दाइ मास्को जानु भएपछि उहाँसँग मेरो बराबर भेट भइरहन्थ्यो । दाइ पनि यहाँ आउनुहुँदा दुर्गालाल दाइलाई भेट्न छोड्नुहुन्नथ्यो । म लिएर जान्थेँ । मैले पनि उहाँबाट दाजुको स्नेह र वात्सल्य पाएको छु पाइरहेको छु । उहाँको चिन्तन मनन पनि सशक्त लाग्छ मलाई । नेपालभाषामा कलम चलाउन हौस्याउने मेरा प्रेरणा व्यक्तित्व दुर्गालाल दाइलाई अझै तन्दुरुस्त पाउँदा सन्तुष्ट हुनपुग्छु ।
उहाँ त यस भव्य समारोहको प्रमुख अतिथि पो हुनुहुँदो रहेछ । उहाँलाई घेरिहाल्छन् आतिथ्यय्हरूको धुइँचोले । म छुट्टिन्छु उहाँबाट । मलाई रमाइलो लाग्छ यस समारोहमा राजनीतिक नेताहरूलाई प्रमुख अतिथिमा नबोलाइएकोमा । नत्र त जुनसुकै सभा, सम्मेलन, समारोहमा राजनीतिक नेता नभइ नहुने ठानिन्थ्यो । तर अहिले त साहित्यिक नेता नै निम्त्याइएको रहेछ । बरिष्ठ साहित्यकारको प्रमुख आतिथ्यमा हुने समारोहको रौनक कल्पिँदै हामी हलिं नेवा: गुथिको सांस्कृतिक यात्राको पछि लाग्छौँ ।
एउटा भव्य जुलुस अर्थात् नगर परिक्रमा सांस्कृतिक यात्रा अगि बढ्छ बाजाकाजाका साथ । धिमे, मुहाली, झ्याली, मुरली आदि लोकबाजाको तालमा लाखेनाच जस्ता विभिन्न सांस्कृतिक झाँकीहरू पनि साली नदीको तिरको स्वस्थानी मन्दिरबाट अगि बढिरहन्छ सक्व: देय् अर्थात् साँखु नगरको परिक्रमाका लागि ।
“हामी पनि यसरी नै एकसाथ जुट्न सकेको भए के हुँदैनथ्यो र ! हेर्नोस् त नेवारहरूको एकता ! जुलुसको लर्को नै कति लामो ! आएको छ आएको छ । सकिएकै हैन ।” सडकको किनाराबाट आएको झिनो आवाजले मेरा कान चनाखा हुन्छन् । हो त, नेवारहरू एकजुट हुन जान्दछन् । एकसाथ रहनु, एकसाथ कर्म गर्नु र एकसाथ बाँच्नु नेवारहरूको स्वभाव हो । त्यसैले त नेवार वस्ती छरपस्ट छरिएका हुँदैनन्, गुजुमुज्ज बनेका हुन्छन् र व्यवस्थित हुन्छन्, प्राचीन साँखु नगरी झैँ । विभिन्न ठुला साना कामका लागि गुठी जस्ता सामूहिक व्यवस्थामा विश्वास गर्छन् । मलाई यस्तै लाग्छ र सँगै हिँडिरहेका शिवदाइलाई पुलुक्क हेर्छु । उहाँ मुसुक्क हाँस्नु हुन्छ ।
सांस्कृतिक यात्रा उल्लासका साथ विभिन्न ढोकाबाट प्रवेश गर्दै निस्कँदै विभिन्न टोल, बहाल, गल्छेडाहरू छिचोल्छ । ईल्ला त्वा: (ईल्ला टोल) मा पुग्दा प्रत्येक सहभागीहरूलाई हिँड्दाहिँड्दै खेँसगँ (ऐला र अण्डासहितको सगुन) प्रदान गरी स्वागत गरिन्छ । मिठो परम्परा । यस्तै स्वागत अरु टोलमा पनि भेट्छौँ । नेवार समुदायमा सगँ (सगुन)को आफ्नै विशेषता छ । जुनसुकै शुभकार्यमा सगँ प्रदान गरेर शुभकामना व्यक्त गर्नु नेवार संस्कार नै हो ।
उग्रतारा बज्रयोगिनीको आज्ञाअनुसार राजा शङ्खदेवले शङ्खको आकारमा निर्माण गराएको भनिने प्राचीन साँखु नगरका धुँल्ला त्वा:, अमल्खा त्वा:, भलुखु त्वा, दुगाहिति त्वा:, सन्त्वा:, ईपा त्वा:, ईल्ला त्वा: र पुखुलाछी त्वा: आदि टोलहरूको परिक्रमा गर्दा म नगरको चार दिशामा उभिएका थरीथरीका प्राचीन कलात्मक ढोकाहरू आआफ्ना प्रयोजनात्मक विशेषतामा मुस्कुराइरहेको भेट्छु ।
उत्तर दिशाको धुँल्ला त्वा:मा रहेको द्य: ध्वाखा देवदेवीको प्रयोजनका लागि रहेछ । जात्रा, मेला वा पूजाको अवसरमा यस ढोकाको प्रयोग गरिन्छ । त्यसै गरी दक्षिण दिशाको संत्वा:को म्ह्याय् मचा ध्वाखा छोरी बिदाइको प्रयोजनका लागि, पश्चिम दिशाको ईपात्वा:को भौ ध्वाखा बुहारी भित्र्याउने प्रयोजनका लागि र पूर्व दिशाको साल्खात्वा:को महाद्य: धाख्वा मुर्दा निकाल्ने प्रयोजनका लागि रहेछन् । विभिन्न शुभ अशुभ कार्यका लागि छुट्टाछुट्टै ढोकाहरूको निर्माण गरी सामाजिक रीतिरिवाजलाई जीवन्त राख्ने प्रयास स्तुत्य छ । ती ढोकाहरू हाल नगर विकासको क्रममा नगरको बिचबिचमा रहन गए पनि विशेष कार्यका लागि निर्माण गरिएका ती ढोकाहरू अचेल पनि सोहीअनुरूप प्रयोगमा आइरहेको बुझ्छु म । नेवारहरुमा आफ्नो मौलिक संस्कारको माया अझैँ जीवन्त छ ।


साँच्चै कलात्मक घरहरूले सुशोभित साखुँ नगर प्राचीन नेवार वस्तुकलाको ज्वलन्त उदाहरण रहेछ । नगरको चार दिशामा आठओटा भव्य मूल ढोकाहरु निर्माण गरिनु (हाल पाँच ओटाको अस्तित्व मात्र भेटिन्छन्), नगरको रक्षार्थ चारैतिर अष्टमातृका देवीहरू स्थापना गरिनु, नगरको बिच बिचमा धारा, पोखरी, पाटीपौवा र देवदेवी स्थापना गर्नु अनिवार्य मानिन्छ । नगरको बिचमा लायकु अर्थात् दरवार क्षेत्र, बजारलाग्ने स्थानको व्यवस्था मिलाउनु पनि नेवार नगर बास्तुकलाको प्रमुख विशेषता हुन् । साँखु नगर यस विशेषतामा खरो उत्रिनु कम गौरवको कुरा लागेन ।
दुर्भाग्य हो, २०७२ को महाभूकम्पले सिङ्गो नगरलाई क्षत विक्षत् गरेरै छोडेछ । देख्यौँ अहिले पनि प्राचीन सम्पदाहरूको भग्नावशेषहरू । संयोगले त्यति बेलामा पनि म यस प्राचीन नगरीमा आइपुगेको थिएँ । यहाँको दुर्दसा देख्दा म आफैं क्षतविक्षत भए झैँ लागेको थियो । प्राचीनतामा मानवीय अतिक्रमण त थियो नै प्राकृतिक प्रकोपले पनि नछोड्दा रन्थनिएको थिएँ म ।
तर अहिले आफ्ना पुरातात्विक सम्पदाहरूलाई जीवन्तता दिने प्रयासमा अग्रसर रहेछ साँखु नगर । मुस्कुराउन खोज्दै रहेछ साँखु । सुवर्ण श्रेष्ठ जस्ता युवा नगरप्रमुखको नेतृत्वमा साँखुले काँचुली फर्ने प्रयास गरिरहेको रहेछ । होस्तेमा हैँसे गर्ने शुक्रलक्ष्मी श्रेष्ठ (उपप्रमुख), वडा अध्यक्षहरू विष्णुप्रसाद श्रेष्ठ, राधाकृष्ण श्रेष्ठ, श्याममणि ढुङ्गाना, जीवन लामा, सन्तबहादुर वाईवा, बुद्धिबहादुर तामाङ, शेर गम्भीर थापा, हितनाथ तामाङ, घनश्याम थापासमेतका तमाम साँखुवासीहरूको जाँगरको जोश समारोहमै पनि जब्बर भेट्छु म । समावेशिता र सद्भावनामा चुर्लुम्म डुबेको अनुभूत गर्नपुग्छु ।


उल्लासमय वातावरणमा करिव दुई घण्टामा साँखु नगरको भित्री अवयवहरू चाहार्दै ईल्ला त्वा: (ईल्ला टोल) मै पुगेर भव्य समारोहमा रूपान्तरित हुँदा सिङ्गो नगर उत्साहित देखिन्छ आफ्नो स्थापना दिवसमा ।
विभिन्न कार्यक्रमका साथ सुरु भएको समारोह करिब पाँच घण्टा अविरल प्रवाहित हुँदा पनि साँखु नगर थाकेको थिएन । म साँखुकै साँस्कृतिक परिवेशमा अल्झिरहेँ । साँझ सम्पूर्ण सहभागी पाहुनाहरूलाई लप्ते भ्वय् (नेवारी भोज) नखुवाई बिदाइ गरेन साँखुले । न्यानो थियो आतिथ्य ।
साँझ दुर्गालाल दाइका साथ मित्र शान्तप्रकाश श्रेष्ठको जीपमा सवार हुँदा दिनभरका सहयात्री शिवदाइसँग छुट्टिनुपर्दा खल्लो लाग्छ । तैपनि साँखुलाई हृदयभरि सजाउँदै बिदा हुन्छु म ।

लेखक परिचयः तेज प्रकाश श्रेष्ठ कथाकार, उपन्यासकार, कवि, नियात्राकार हुन् । लोक साहित्य र संस्कृतिमा पनि कलम चलाउने श्रेष्ठको योगदान वाल साहित्यमा पनि रहेको छ । उनको अमेरिका भ्रमणको नियात्रा कृति चर्चित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *