पुष्पा खनाल, इलाम
तिमी मलाई एउटा आकाश देऊ
निलो आकाश
मैले श्वास फेर्दा निस्किने प्रत्येक वाफ
तिम्रो आकृति कोर्न सकोस् ।
हुन त तिमीले दिएको एउटा आकाश छ मसँग
तर आकाशसँगै परिधि पनि त दियौ ।
तिमीले पर क्षितिज हेर्यौ र भन्यौ
त्यहाँसम्म नजानू, लडिन्छ ।
तिमी डरायौ र मलाई सतर्क गरायौ
तिमीले मेरो दुरी नाप्नै खोजेनौ
तय गरिदयौ ।
मेरा पाइलाहरूको लम्वाइ त्यति छोटो कहाँ हो र ?
बादलमाथिको चाँदीको घेरा हेर त …
पानी पर्दैमा सगर सङ्ग्लिन्न र ?
हो, त्यो आकाश
एउटा आशा भरिएको मनजस्तै
क्षितिज विनाको आकाश
एउटा स्वच्छन्द आकाश
जहाँ म आफ्नो परिधि आफैँ कोर्न सकूँ
आफ्नो सिमा आफैँ नाप्न सकूँ
आफ्नो नियम आफैँ बनाउन सकूँ ।
देऊ न आफ्नो बाटो आफैँ तय गर्न
आफ्नो जिन्दगीमा आफैँ भरेकाे लयमात्र
सुरीलो हुन्छ
सुमधुर सुनिन्छ
खोलाको सुसेलीजस्तै
पवनको सर्सराहटजस्तै
हिमालको मुस्कुराहटजस्तै ।
कवि परिचयः पुष्पा खनाल कविता तथा गीति क्षेत्रमा टड्कारो नाम हो । उनका पोखिएँ यसरी, गह पोखिएर कविता र गीतका सङ्ग्रहहरु प्रकाशित छन् भने प्रतिष्ठा, अभिनव जस्ता संयुक्त तथा एकल एल्बम पनि प्रकाशित छन् । उनका कैयन् गीत तथा म्युजिक भिडियोहरु निकै लोकप्रिय भएका छन् ।
