नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कारको घोषणा

मुख्य समाचार

१६ फागुन २०८१, काठमाडौं

वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको नाममा स्थापित “नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार” स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित हुने रजस्थल त्रैमासिकलाई अर्पण गरिने भएको छ । सो पुरस्कार प्रबन्धका लागि गठित नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोश समितिका अध्यक्ष पवन आलोकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
विश्वप्रेम अधिकारीको प्रधान सम्पादकत्वमा २९ वर्षअघिदेखि प्रकाशित हुँदै आएको ‘रजस्थल’ त्रैमासिकको १०० बढी अङ्क प्रकाशित भइसकेको छ ।
बिसं २०७७ सालमा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई ५१ साहित्यिक संघ संस्थाहरूले सामुहिक जनअभिनन्दन गरेका थिए । त्यसपछि नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार कोश स्थापना गरी पुरस्कारको वितरण वि.सं.२०७८ सालदेखि प्रारम्भ गरिएको थियो र पहिलोपल्ट रचनाका सम्पादक रोचक घिमिरेलाई प्रदान गरिएको थियो । त्यसैगरी २०७९ मा ‘दायित्व’का सम्पादक रामप्रसाद पन्त, २०८० मा ‘जूही’का सम्पादक चूडामणि रेग्मी, २०८१ मा ‘नवप्रज्ञापन’का सम्पादक नवराज रिजाल पुरस्कृत भइसकेका छन् ।
यस वर्षको पुरस्कार आगामी चैत्र २२ गते आयोजना गरिने विशेष समारोहमा अर्पण गरिने छ।