मैले पढेको नयाँ किताब ‘कलाकार अरनिको’

पुस्तक समीक्षा

कुञ्जल शुभेच्छु लुइटेल

कलाकार अरनिको रामबाबु सुवेदीको किताब हो । यो चित्रकथाको किताब हो । यस किताबमा धेरै राम्रा राम्रा चित्रहरु रहेका छन् । यी चित्रहरु कलाकार कृष्णगोपाल श्रेष्ठले बनाएका हुन् ।

कलाकार अरनिको किताब अरनिकोको जीवनसँग सम्बन्धित छ । यो किताबलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको हो । यसको प्रकाशन २०७९ सालमा भएको हो । यस किताबको मूल्य रु ३०० रहेको छ । यस किताबमा जम्मा ३२ पाना रहेका छन् ।

कलाकार अरनिको किताबमा के. के कर्माचार्यले भूमिका लेखेका छन् । त्यसको शीर्षक प्रकाशकीय छ । उनी ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति हुन् । किताबको कभर पेजमा अरनिकोको पूर्ण कदको फोटो छ । छेउमा स्तूप र मन्दिरहरु छन् ।  किताबको पछाडि कभरमा लेखक रामबाबु सुवेदी र कलाकार कृष्णगोपाल श्रेष्ठको परिचय छ । ती परिचय कसले लेखेको हो भनी लेखिएको छैन ।

कलाकार अरनिको कथामा अरनिकोको जीवनीलाई नै कथा बनाइएको छ । अरनिको नेपालका रष्ट्रिय विभूति हुन् । कथाअनुसार अरनिकोको जन्म १२४४ मा काठमाडौमा भएको हो । उनका मातापिताको नाम सुमित्रा र लक्ष्मण हो । उनी सानैदेखि चित्रकलामा रुचि राख्थे । उनका बा पनि चित्र कलाकार थिए । उनी मूर्ति र मन्दिर बनाउने काममा लागिरहन्थे । उनले बाबाटै चित्रकला र मूर्तिकला सिकेका थिए ।

अरनिको सानामा मोटाघाटा थिए । उनका आँखा तेजिला थिए ।  उनी बाले मूर्ति बनाएको देखेर माटा र ढुङ्गाका मूर्ति बनाउँथे । उनले पनि बुबाकै जस्तो सिको गर्थे ।

त्यसबेला आजको जस्तो स्कूल थिएन । घरघरै केटाकेटी भेला पारेर शिक्षा दिइन्थ्यो । अरनिकोले गाउँकै गुरुसँग शिक्षा दिएका थिए ।  उनका गुरुले उनलाई पनि मान्थे । उनी सिकाएको कुरा छिटै जान्दथे ।

१५ वर्षमा अरनिकोको विवाह भयो । उनकी दुलहीको नाम चैत्यलक्ष्मी थियो । उनीहरुको विवाह धुमधामले भएको थियो । अरनिको युवावस्थामा राम्रा राम्रा मन्दिर र मूर्ति बनाउन थाले ।

एक दिन राजा अभय मल्लले तिब्बतमा कलाकार पठाउनु छ, इच्छुक कलाकार दरबार आउनु भनेर खबर गरे । अरनिको खबर पाएर दरबार गए । परीक्षा लिँदा उनी ८० जना कलाकारको नाइकेमा छानिए । उनलाई भव्य विदाई गरेर तिब्बत पाठाइयो ।  उनी नेपाली लुगा लगाएर चिनतिर हिँडे ।

उनीहरु दुःखले बाटो हिँड्दै चिनको तिब्बत पुगे । कलाकारहरुले सानो मान्छे नाइके भएकामा विरोध पनि गरे । उनी सिप र योगदानले नाइके भएका थिए ।  उनीहरुलाई तिब्बतमा पोताला दरबारले स्वागत गर्यो । सम्राट कुब्लाइ खाँका गुरु पाहासपालाई भेटे । उनीहरुलाई गुम्बा र विहार बनाउन बोलाइएको रहेछ ।

उनीहरुले २ वर्षमा स्वर्णस्तूप बनाए । त्यहाँ अरु पनि कला बनाए । उनीहरु त्यहाँ पुरस्कृत पनि भए । अरु कलाकार नेपाल फर्किए । राजगुरुले राजा कुब्लाइ खाँसँग भेट्टाए । अरनिकोले सम्राटसँग नडराई भेटेर आफ्ना कुरा राखे । सम्राटले अरनिकोको परीक्षण गरे । उनलाई भाँचिएको मूर्ति बनाउन दिइएको थियो । उनले सफलतापूर्वक काम गरे । त्यसपछि सम्राटले उनलाई उतै राखे ।  कला फाँटमा नियुक्त गरेर राखे ।

उनले नेपालबाट चिन गएर कलाको परिचय दिए । उनले नेपाली कलाका चित्र बनाए ।

२८ वर्षका उमेरमा अरनिको बिरामी परे । उनलाई कसैले खानामा विष हालेको शङ्का भयो । सम्राटले उनका लागि अंगरक्षक राखिदिए । उनको खाना पनि सम्राटकै भान्सामा पाक्न थाल्यो । उनी राजगुरुका कारण बुध्द धर्मका अनुयायी भए ।  त्यसै बेला अरनिकोकी पत्नीलाई पनि चिनमा झिकाउने व्यवस्था चिनका राजाले गरे । उनले चित्र र मूर्ति बनाइरहे ।

अरनिकोले १२७८ मा दासितु पदवी पाए । त्यो उनका लागि ठुलो सम्मान थियो । उनको इज्जत र मान पनि बढ्यो । चिनको श्वेत चैत्य उनैले बनाएका हुन् । यो नेपाली शैलीको ठुलो चैत्य हो । यसबापत उनले थुप्रो इनाम पाए । अहिले श्वेतचैत्यका अगाडि अरनिकोको पूर्ण कदको शालिक पनि बनेको छ ।

अरनिकोले बुताइ पहाडमा बनाएको बुद्धमूर्ति र स्तूप पनि प्रसिध्द छन् । त्यसका लागि उनले थुप्रै इनाम पाए । उनको चिनियाँ नाम आनिक राखिएको थियो ।

अरनिकोले विदेशमा गएर नेपालको नाम राखे । उनका थुप्रै शालिक बनेका छन् । उनका नाममा नेपालको सडकको नाम पनि राखिएको छ ।

यो किताब कथा भन्दा पनि जीवनीको कथा हो । यस किताबलाई पढ्दा बिचमा रोकिनु पर्दैन । यो जीवनी भए पनि कथाकै रुपमा प्रस्तुत गरिएको छ । किताब निकै रमाइलो छ ।

कलाकार अरनिको किताबमा केही शब्द अफ्ठ्यारा छन् । त्यस्ता शब्दहरु निपूर्ण, उर्दी, कुम्लोकाम्लो, गृहस्थी,  सम्राट, साम्राज्ञी आदि हुन् ।

सम्राट कुब्लाई खाँ, नयाँ सम्राट चेन चोङ, कन्फ्युसियस,  राम्राज्ञी छावी, दिपङ्कर, शाक्यमुनि र मैत्रेय नाम पनि पढ्न अलि गाह्रो लाग्छ । यी चिनियाँ र बुद्ध धर्मसँग सम्बन्धित नाम रहेछन्  ।

यहाँ रहेका बुताइ पहाड, छाङदुङ, छाङ्दु  आदि ठाउँका नाम पनि सुरुमा पढ्दा अफ्ठ्यारो लाग्छ । त्यसो भए पनि कथा पढ्दै जाँदा मान्छेको नाम हो भनेर बुझिन्छ । ठाउँका नाम पनि ठाउँको नाम हो भनेर बुझिन्छ ।

कलाकार अरनिको किताबमा हरेक पानामा चित्र र कथाको अंश छ । त्यसो हुँदा कथा पढ्न रमाइलो हुन्छ । यति राम्रो कथा लेखेकामा यसका लेखक रामबाबु सुवेदी सरलाई धन्यवाद । चित्रकार कृष्णगोपाल श्रेष्ठलाई पनि धन्यवाद । यति राम्रो किताब प्रकाशन गरेकामा नेपालल ललितकला प्रज्ञाप्रतिष्ठानलाई धन्यवाद । यस किताबले सानैदेखि मिहिनेत गरेर चित्र र मूर्ति बनाएमा अरनिको जस्तै सफल बन्न सकिन्छ र नाम कमिन्छ भन्ने सन्देश दिएको छ ।

०००

लेखक परिचयः कुञ्जल शुभेच्छु लुईंटेल पाटन अस्पताल ललितपुरमा जन्मेका हुन् । उनी ८ कक्षामा पढ्दैछन् । यति सानो उमेरमै समीक्षा समालोचनाको क्षेत्रमा कलम चलाउने अरु प्रतिभा पाउन मुस्किल छ । झन् पुस्तकै प्रकाशन गर्ने वाल समीक्षक झन् कम छन् ।  उनको समीक्षात्मक लेखहरुको पुस्तक “मैले पढेका पुस्तक” (विस. २०८०) प्रकाशित छ । उनी कविता, कथा, निबन्ध, जीवनी र समीक्षा विधामा लेख्न रुचाउँछन् । उनी टीकाथली ललितपुरमा बस्छन् ।

1 thought on “मैले पढेको नयाँ किताब ‘कलाकार अरनिको’

Leave a Reply

Your email address will not be published. Required fields are marked *