सुमन थापा सङ्गम
समर्पणबाट नै सुरु गरौं, प्रदिप सापकोटाले यो कृति यात्रामा भेटिएका सम्पूर्ण पात्रहरूलाई समर्पण गरेकोमा सबैभन्दा खुसी महसुस भयो । ती पात्र म, तपाईं, हामी जो पनि हुन सक्छौं । हामी प्रति समर्पण गरिएको कृति कम रोचक छैन ।
एकएक गरि सबै शीर्षकभित्र छिर्दा आफ्नो जन्मथलोको बारेमा लेखिएका शब्दहरूले निक्कै हर्षित बनें । लेखकले बाँकेका बारेमा लेखेका रहेछन् ‘उति बेला वि सं १९१४ को अंग्रेज विरूद्ध भारतमा भएको सैन्य विद्रोहमा सघाउ पु-याए बापत श्री ३ जंङ्ग बहादुरलाई अङ्ग्रेजले दिएको उपहार मध्येको बाँके जिल्लामा छौं ।’ (पेज १७ ) यसरी ऐतिहासिक जानकारी समेटेर पाठक समक्ष पुर्याउने प्रयास प्रशंसनीय छ ।
लेखकले महेन्द्र नगरको यात्रा गर्दा देश द्वन्द्व कालको चपेटामा रहेको बेला गरिएको यात्राले निक्कै सकस ब्यहोर्नु परेको थियो भन्ने कुराको जानकारी रहेको छ । सर्वसाधारण सशस्त्र द्वन्द्वको जाँतोमा पिँधिएको बेला भोगेका भोगाई छरपस्ट पारेका छन् नियात्राकारले ।
त्यो समय अहिलेको जस्तो प्रविधिसङ्ग सहज थिएन । त्यो अवस्थामा फोटो खिच्दा पनि क्यामरामा रिल राखेर खिच्नु पर्थ्यो । त्यसरी खिचिएको तस्विर भारतीय प्रहरीले फ्याकिदिंदाको दुखेसो पोखेका छन् । हो पनि इतिहास नै मेटिए झैं पक्कै हुन्छ यस्तो अवस्थामा ।
यो कृतिमा कृतिकारले ऐतिहासिक कुरामा बढी जोड दिएर कृति ल्याएको महसुस भएको छ ।
महेन्द्र नगर राजा महेन्द्रले व्यवस्थित रूपमा टाउन प्लानिङ्ग गरेको हुनाले सो स्थानको नाउँ महेन्द्र नगर रहेको उल्लेख गरेका छन् |
जाने क्रममा बाटोमा भीमदत्त पन्तको सालिक देखेर उनी लेख्छन् ‘कि जोत हलो कि छोड थलो’ भन्ने नाराका साथ भीमदत्त पन्त आन्दोलनमा होमिएका थिए । पन्त जातपात र छुवाछुत बिरोधी पनि थिए ।’ (पेज २१) यसरी ऐतिहासिक तथ्य पाठक माझ ल्याएर अति जानकारी मूलक बनेको छ यो कृति ।
यात्रा सधैं सोंचे जस्तो सहज र सरल रेखाबाट तय भएको हुँदैन । परिस्थिति जन्य अवस्थामा जस्तोसुकै भोगाई पनि भोग्न तयार रहनु पर्छ भन्ने सुझाएका छन् लेखकले । घटना परिघटना कहिल्यै पनि बाजा बजाएर आउंदैन भन्ने कुराको यथार्थ वर्णन छ । रमेशलाल पौडेल गुरुले कृतिकारको हस्तरेखा हेर्दै निकट भविष्यमै ठुलो दुर्घटना हुन सक्ने भविष्यवाणी गरेका रहेछन् । संयोग वश कार्यक्रम चलाइरहेको बेला ‘सर हजुर बाहिर आउनुस् न ‘ ( पेज ४४) भन्दै बोलाएर खुकुरी झटारो हानेको दुःखद प्रसङ्ग उल्लेख गरेका छन् | गुरुले गरेको भविष्यवाणी मिल्न गयो त्यो संयोग रह्यो तर त्यसरी कृतिकार माथी भएको अभद्र व्यवहारले पाठकलाई पनि अत्यन्त दुखी बनाउँछ ।
प्रेम, आतिथ्य र आत्मीयताले मानिसलाई साह्रै भाव विभोर तुल्याउँछ भन्ने कुराको पनि चित्रण गरेका छन् | कृतिकार भन्छन् ‘ मेरो मनको मानचित्रमा नमेटिने गरि कोरियो आत्मिय भाव र त्यसको अर्थ ।'( पेज ३९)
छुवाछुत र जातभात प्रतिको विभेदमा कृतिकार आफैले सहभोजको योजना गरेर सो विभेदको अन्त्यको शुरुवात गरेको उल्लेखनिय कार्य प्रति नमनीय छ ।
देशका नेता प्रति आक्रोश पनि पोखिएका छन् कृतिमा । देश सभ्य र नागरिकमुलक बनोस् र जनताको हितमा रहोस् भन्ने चाहना सर्वब्यापी रहन्छ । ‘चुनाव आउँछ भोट माग्न नेता आउँछन् भोट माग्छन् जान्छन् तर चमार बस्तिको अवस्था सधैँ उस्तै । गाउँले गरिब बस्तीहरूमा न घर छ न शौचालय न त ती गरिब जनताका देशको नागरिक हुन् भनेर चिनाउने नागरिकता नै छ ‘। लेखकले ती जनतासँग नागरिकता किन नबनाउनु भएको भन्ने प्रश्नमा ‘ फुर्सद कहाँ छ र ? कामको दिन नै माया मारेर जानु पर्छ ।’ ( पेज ७३) यस्ता किसिमको अभिव्यक्तिले नेताहरूले जनता प्रतिको जिम्मेवारी वहन गर्न नसक्नु र नागरिकताको महत्व समेत बुझाउन नसक्नु खेद रहेको उल्लेख गरेका छन् |
मकर मेलाको किम्बदन्ती पनि सुन्दर गरि उल्लेख गरेका छन् | स्थानिय शिक्षक सुमन अधिकारीका अनुसार, “करिब पाँच छ सय वर्ष अघि समसुद्दिन भन्ने मुस्लिम सम्राटको फौज सुनकोसीको बाटो हुँदै नेपाल प्रवेश गरेको बखत उनीहरूले तरबारको प्रयोग गरि कुशेश्वर महादेवको लिङ्गलाई काटेको हो ।’ नभन्दै शिवलिङ्ग अलिक ढल्केको देखें मैले ।” ( पेज ८७)
कृतिकारले पुगेका स्थानहरूमा लेखिएका यात्रा बारे ऐतिहासिक विवरण सकेसम्म समेट्ने प्रयास गरेका छन् |
न्यायिक समिति सदस्य रूपा शाहीले स्वागत मन्तव्य दिँदा साहित्य प्रतिको स्नेहले दुई हरफ साहित्य रचनाबाट सुरु गरेको कुराले पाठकको मन हर्षित हुन्छ । वास्तवमा प्रत्येक मानिस एक साहित्यकार हुन् भन्ने कुराको ज्वलन्त उदाहरण थियो ।
कवि चेत भएका नियात्राकार यात्रामा देखिएका भेटिएका रुख पातहरू सुस्ताएर झरेका बसेका देख्दा आफैसँग क्रन्दन गरे जस्तो महसुस गर्ने नितान्त कवि मन बाहेक अरू के होला र उनी ती रूख बिरुवासङ्ग पोखिएका छन् |
यात्राको लय वास्तविक लय युक्त नै छ । इतिहाससङ्ग पाठक नजिक हुन पाउँछ ।
यात्रा विवरण २०५९ सालदेखिका र द्वन्द्व कालका समयदेखि गरिएका यात्राहरूको सँगालो रहेको छ । लगभग बीस एक्काइस वर्ष अघिका घटनाहरू समेटिएका छन् | यो यात्रा सङ्ग्रह त्यो समयमै अर्थात् चार छ वर्षको अन्तरालमा निस्किएको भए यस पुस्तक अझै धेरै ओज पूर्ण रहने थियो । अहिले यो नियात्रा पढिरहँदा देशको अवस्था निक्कै भिन्न भैइसकेको छ त्यसैले पाठकले अलिक भिन्न महसुस गर्न पुग्छ ।
०००
लेखक परिचयः नेपालगंज बाँकेमा जन्मिएर हाल काठमाडौंमा बसोबास गर्ने सुमन थापा सङ्गम कविता, गीत, यात्रा संस्मरण विधामा कलम चलाउँछिन् । उनको एक कविता सङ्ग्रह “माइतिघरको फूल”(२०७५) प्रकाशित छ ।
मेरो नियात्रा कृतिको बारेमा यति सुन्दर समीक्षा गरिदिनुहुने समीक्षक सुमन थापा संगम प्रति हार्दिक आभार ।