सम्झनामा कृष्णचन्द्र सिंह प्रधान
नरेन्द्रराज पौडेल, काठमाडौं
देख्तै सभ्य भव्य लाग्ने नेपाली साहित्यका एक मूर्धन्य, अनुकरणीय र अविस्मरणीय स्रष्टा थिए कृष्णचन्द्र सिंह प्रधान । उज्जर हँसिलो मोहोडा र सधैंभरी हृष्टपुष्ट र बाहाडिलो देखिने अग्लो कदका उनको व्यक्तित्व खाइलाग्दो भएजस्तै बोलीचाली र मिजास पनि खरो र मिठासपूर्ण लाग्दथ्यो । आफ्नै प्रकारको मौलिक भाषाशैली र कलात्मकता झल्किने परिष्कारपूर्ण बहुआयामिक लेखनकलाले उनको साहित्यिक सोपानमा बेग्लै उचाइ थपेको पाउँथे पाठकहरू र निरन्तर एकैनासले प्रकाशित भैरहने निबन्ध समालोचना र सामयिक लेखहरूले साहित्य साधना पनि एकलव्य प्रकारको थियो भन्ने जनाउ दिदै रहन्थे । उनको व्यक्तित्वजस्तै अलग विशेषता झल्काउने दरो,खरो र कसीलो पनि थियो कलम र लेखनकला ।
नेपाली गद्य साहित्यमा आधुनिक कालको प्रवेशपछि समकालीन नेपाली निबन्ध र समालोचनाका क्षेत्रमा राम्रै हैसियत र ओजस्विता जमाएका आफ्नो समयका मजबूत खम्बा थिए उनी । तात्कालिक प्राज्ञिक संस्थाहरूमा दह्रो पाउ जमाएका र प्रसिद्धि पनि कमाएका थिए उनले । लेखनमाजस्तै भाषण र प्रवचनका क्षेत्रमा पनि तर्कशील प्रखर वक्तामा गनिन्थे । साधारणदेखि विशिष्ट व्यक्तिहरूसम्म एकैनासले प्रभाव पार्न सक्ने बोधगम्य विचार,परिस्कृत वक्तृत्व र बोली व्यवहार पनि उदात्त प्रकारको थियो ।
वि.सं.२०१० को दशकको उत्तरार्धदेखि नै निबन्ध रचनाका क्षेत्रमा उनको लेखनयात्रा अनवरत चलीरह्यो । तीमध्ये कतिपय रचना ‘सालिक’ निबन्ध संग्रहमा समेटिए र बाँकी पछिका संग्रहमा समेटिंदै आए । कति त पत्रपत्रिका स्मारिका र मुखपत्रहरूमा छरिएर रहे । सङ्ख्यात्मक हिसावले जेजति भएपनि गुणात्मक हिसावले सबै अब्बल दर्जामा रहे । निबन्धका साथै उनको समालोचकीय लेखनकार्य पनि संगसंगै चल्दै गयो र त्यो पनि भाषा शैली र विषयप्रस्तुतिको हिसावले उम्दा कोटीको पाइन्छ । कोरा राजनीतिक बिचार र दर्शनको प्रत्यक्ष आग्रह पूर्वाग्रह विहीन वस्तुपरक परिपक्व अनि परिष्कृत पनि रह्यो वाङमयिक चेतना । समकालीन थुप्रै समालोचकहरू प्रगतिवाद झर्रोवाद र फ्रायडवादमा रमाउने भएर निस्किएका थिए भने कतिपय समालोचक भनाउँदाहरू चाहिँ शासकहकहरूो स्तुतिवादी पूर्वाग्रह र सत्ताशक्तिको आरती उतार्दै र भजनगायन गर्दै पद प्रतिष्ठाजस्ता निजी अभीष्ट प्राप्तिमा उद्यत थिए । तिनको तुलनामा कुनै बाह्य दवाव र मुलाहिजाका प्रभावमा नदेखिने कृष्णचन्द्रसिंहको द्रष्टा व्यक्तित्व स्वतन्त्र र तार्किक दृढताको कसीमा खरो पाराको थियो । आफ्नै प्राज्ञिक क्षमताबाट उठेर साझा प्रकाशनको प्रमुख प्रशासकदेखि तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यसम्मको महत्वपूर्ण पदमा लामो समय क्रियाशील रहेथे उनी । आफ्नै जाँगर लगनशीलता र कार्यशैलीलाई सघाउने टीम निर्माण गरेर जहाँजता कार्यरत रहँदा पनि अनुकरणीयरुपमा कार्यसम्पादन गरेको पाइन्छ । जेजस्तै दायित्वका कार्यसम्पादनमा संलग्न रहेपनि उनको कलम लेखकीय साधनामा अनवरत लागीरह्यो । जीवनको उत्तरार्धसम्म उनको स्रष्टा,द्रष्टा दुवै कित्ताको व्यक्तित्व निडर निस्पक्ष र निःस्पृह रहीरह्यो ।
वि.सं. २०२६ भदौमा तत्कालीन श्री ५ बडामाहारानी रत्नराज्यलक्ष्मी देवी शाहको शुभजन्मोत्सवको उपलक्ष्यमा राष्ट्यि नाचघरमा आयोजित विशेष समारोहमा उनीसंग पहिलो पटक भेट गर्ने अवसर पाएको थिएँ । सो अवसरमा आयोजित राष्ट्रव्यापि निबन्ध प्रतियोगितामा मेरो निबन्ध पुरस्ष्कृत भएकोले बडामहारानीको बाहुलीबाट पुरष्कार प्राप्त गरी सकेपछि चियापानको समयमा नाचघरको बाहिर प्राङ्गणमा प्रा.घटराज भटराई ,भैरव अर्याल र कृष्णचन्द्र सिंह प्रधानले म केटौले वयको मान्छेसंग हात मिलाएर बधाइ दिँदै मेरो हौसला बढाउँने काम गरेको अहिले पनि झलझली सम्झीरहेछु । नेपालका मूर्धन्य स्रष्टा समालोकहरुबाट एकैसाथ यति धेरै वात्सल्य र सौहार्दपूर्ण आशिर्वाद पाउनु मेरालागि अहो भाग्यको अवसर सम्झिएको थिएँ । त्यत्रा वरिष्ठ विद्वान समालोचकहरुबाट आफूजस्तो सिकारु किशोरले वधाइ र शुभकामनाका आशिर्वाद पाउँदा हर्षले भाव विभोर भएको थिएँ । अहिले पनि त्यो मूल्यवान सुनौलो क्षणलाई बिर्सन सकेको छैन । त्यसै भेटपछि उनका रचना खासगरी निबन्धहरू खेजीखोजी पढ्ने गर्दथेँ । उनको ‘किरमिर रेखाको ड्यास’ शीर्षक आत्म परक निबन्धले राम्रैसंग मन खिचेको थियो । काठमाण्डू वसन्तपुरमा अवस्थित महेन्द्ररत्न पब्लिक कलेजको आयोजनामा २०२७ सालमा भएको उपत्यकाव्यापी प्रतियोगितात्मक साहित्यि सम्मेलनमा उनको प्रभावशाली व्यक्तित्वसंग फेरि साक्षात्कार गर्ने अर्को अवसर मिलेको थियो । कलेजद्वारा आयोजित अन्तरमहाविद्ययालय प्रतियोगितात्मक साहित्य सम्मेलनमा मेरो निबन्ध प्रथम भएर उनकै हातबाट स्वर्णपदक तथा प्रचार्य सिद्धिविकम जोशीका हातबाट दोसल्लासहित सम्मानित हुने अवसर पाएको थिएँ । प्रतियोगितामा ‘एक चिन्तन थुप्रै प्रश्नचिह्नहरु’ शीर्षकको मेरो निबन्ध पहिलो भएर पुरस्कृत हुँदा आफूभित्र अटाइनअटाइ खुसियालीका साथै युवासुलभ जोश जाँगर पनि टनाटन भरिएको पाएथेँ । पुरस्कार वितरणकै क्रममा छनोट भएका निबन्ध सुनाउँने गरिन्थ्यो । मैले आफ्नो निबन्ध पढेर सुनाएपछि प्रमुख अतिथिको मन्तव्यको क्रममा कृष्णचन्द्र सिंह प्रधानले मेरो पुरस्कृत निबन्धभित्रका थुप्रै प्रसंङग उल्लेख गर्दै निबन्धरचना र लेखन शैलीको खुलेर प्रसंशा गरेका थिए । उनका एक एक लवज सुन्दै म कहाँ त्यत्रो प्रसंशायोग्य पात्र भइसकेछु भन्ने गौरवबोध र खुसियालीले लथपथ भएको थिएँ । उनको बाहिर देखिने गम्भीर प्रभावशाली व्यक्त्विजस्तै जनसमुदायबीच प्रस्तुत हुने वक्तिृत्वकला र मिठासपूर्ण तथा परिनिष्ठित शब्दचयनको भाषाशैलीले समारोहमा भेला भएका अतिथि तथा स्रष्टा र श्रोतावृन्दलाई पनि गम्भीर प्रभाव पारेको अनुभव हुन्थ्यो ।
वि.सं.२०५६ को नववर्षको उपलक्षमा इलाम क्याम्पसको प्राङगणमा आयोजित वृहत नेपाली कविगोष्ठीमा प्रमुख अतिथि कविवर केदारमान व्यथित तथा विशिष्ट अतिथिकोरुपमा समालोचक कृष्णचन्द्रसिंह प्रधान आमन्त्रित थिए । त्यतिवेर स्थानीय विकास अधिकारीको पदमा त्यसै जिल्लामा कार्यरत रहेकोले विशिष्ट अतिथिहरुलाई स्वागत गर्ने अवसर पाएको थिएँ । इलामवासी साहित्यकार मित्र राधेश्याम लेकालीको संयोजकत्वमा काठमाण्डूबाट गएका विशिष्ट अतिथिलगायतका साहित्यकारहरुको खानपान र बसोबासको लागि स्थानीय युवाकवि विमल वैद्य तथा कवि धर्म गौतमको टीमले प्रबन्ध गरेको थियो । चियावारीको माझमा अवस्थित सरकारी गेष्टहाउसमा दुवै विशिष्ट अतिथिको रातको बसोवासको व्यवस्था गरिएको थियो । तर खानपीन सकेर आराम गर्दानगर्दै झण्डै घण्टाभरमै प्रचण्ड बेगसहितको हावाहुरी र चट्याङ्गको गर्जनले चियाबारीमाझ डाँडाको जस्तेघरलाई आँधिका बेगले हल्लाएर बास बसेका पाहुनाहरुलाई आधारातमै थर्कमान बनाएर चौपट । सङ्कटग्रस्त पाहुनाको खवर लिएर राती नै गेष्ट हाउसका पालेभाइ म बसेको निवासस्थलमा आएपछि प्रशासकीय अधिकृत पृष्ण पौडेल र मसमेत परिचर साथीसहयोगी लिएर पुगेका थियौं । कवि केदारमान व्यथित मथिलल्लो तलाको भीआइपी रुममा सुत्नु भएकोले हावा र आकाश गर्जनको बेग पनि त्यहिँ ज्यादा परेछ । चारैदिशा मिल्किँदै हावाहुरीका साथ लगातार चट्याङ्ग परेर इलाम बजारै थर्किएको बेला डाँडामा रहेका जस्तै छानाको पाहुनाघर अन्दाज गर्नै नसकिने गरी हावसंगै कम्पायमान भइरह्यो । बलतल गर्दै हुरीसंग लाप्पा खेल्दै गेष्टहाउसको तलामाथि उक्लिदा छतका जस्ता नै उडाउलाझैं गर्दै हुण्डरी चलीरहेको थियो । थरथर काम्दै विस्तरामा बसीरहेका कविवर व्यथितजीलाई देख्ता निकै ग्लानि र टीठ लागेर आयो । यस्तो विघ्नको विपद आइपर्ने पूर्वभास पाएको भए अरु पाहुना घरमा नै विशिष्ट अतिथिलाई बसाउन सकिने थियो । प्राज्ञ कृष्णचन्द्रसिंह प्रधान उतिसारो हडबडाएका थिएनन् । तर कविवर व्यथित भने निकै अत्तिएको पायौं । निकै वेर पर्खिएर हावाको बेग अलि मत्थर भएपछि दुवै भाइले हतार गरेर कवि व्यथितलाई अर्को सुरक्षित कोठातर्फ लगेर बाँकी रात सुत्ने व्यवस्था मिलाएका थियौं । भोलीपल्ट बिहानै कवि व्यथित स्वास्थ्यस्थिति अलि असहज भएपछि सहयोगीका साथमा झापातिर लागे । विहानी सत्रदेखि रातीसम्म चलेको कवि गोष्ठिमा समालोचक कृष्णचन्द् सिंह प्रधानको प्रमुख आतिथ्यता रह्यो । नेपालका विभिन्न भेगभागहरूका साथै सीमापार सिक्किम दार्जिलिङसम्मका कवि कवयत्रीहरुकोसमेत उल्लेख्य सहभागिता रहेको त्यो कार्यक्रम विहानैदेखि राती अवेरसम्म नै चलीरह्यो । अगिल्लो रात त्यति सारो हावहुरीको चपेटामा परेर थकित बनेका प्रमुख अतिथिले कत्तिपनि आलस्यता प्रदर्शन नगरी दिनभरको आतिथ्यता कायम राख्तै अन्त्यमा प्रभावशाली सारगर्भित मन्तव्य दिएर विश्राम लिएका थिए । कार्यक्रमका समस्त सहभागी तथा स्थानीय सर्जक र सर्वसाधारणकोलागिसमेत चिरस्मरणीयपरूमा त्यो कार्यक्रम सम्पन्न भएको थियो । स्रष्टा कृष्णचन्द्रसिंहको मिलनसार व्यक्तित्व र प्रभावशाली वक्तृत्व कलादेखि स्थानीय शिक्षक विद्यार्थी र सम्मेलनका सहभागी सर्जकवृन्द पनि अत्यन्त प्रभावित भएका थिए । मेरालागि पनि त्यो कार्यक्रम सदासर्वदाकोलागि अविस्मरणीय रहीरह्यो ।
वि.सं.२०५९ सालमा भैरव पुरस्कार गुठीद्वारा आयोजित ०५८ को भैरव पुरस्कार वितरण कार्यक्रममा समालोचक कृष्णचन्द्र सिंह प्रधानकै प्रमुख आतिथ्यता रहेको थियो । यसकोलागि उनलाई कार्यक्रमस्थल जोरपाटी गुठीको कार्याालयसम्म लैजाने अभिभारा पनि मेरै काँधमा परेकोले सोधखोज गर्दै ताहाचलमा रहेको उनको घरमा पुगेको थिएँ । मङसीर मासमा कोसीको बगरमा सेतै फुलेको काँसजस्तै ढकमक्क फुलेको कपाल लिएर बसेका कृष्णचन्द्र सिंह प्रधानलाई अभिवादन गर्दै उनको वासस्थनमा भित्रिएको थिएँ । फराक कम्पाउण्डवाला घरको विशाल पुस्तकालय रहेको बैठक कोठामा चियापानसहित निकै वेर भलाकुसारी गरेका थियौं । त्यतिवेर आफू उपत्यका बाहिरको जिल्लामा प्रमुख जिल्ला अधिकारीको पदमा कार्यरत रहेको र देशको राजनीतिक अवस्था पनि अत्यन्त तरल रहेकाले लेखनकार्य र प्रशानिक कामको तालमेल बारे निकै जिज्ञासापूर्ण बातचित भएका थिए । प्राज्ञिक वर्गमा हुने स्वाभिमान र खासगरी बेलाबखत कवि लेखकहरूले गर्ने क्रान्तिकारी नारा पर्चाबाजी आन्दोलन र विरोधका स्वरले प्रशासनिक क्षेत्रलाई काम गर्न वाधाव्यवधान आइपर्ने कुरामा विशेष चासो राखेका थिए । प्रशासकका दैनिक काममा हुने अन्तरविरोध तथा कवि साहित्यकारलाई राज्यले गर्ने व्यवहारबारे पनि उनको लामै खोजीनीति झल्कन्थ्यो । राजनीतिक तरलता र सामजिक अस्थिरताको चक्रब्यूहमा आफू केन्द्रीय सरकारको जिल्लास्थित प्रमुख प्रतिनिधिकोरूपमा कार्यरत रहँदै आएको र सरकारी नीतिनियमहरुसंग स्रष्टाहरूका स्वच्न्छद प्रवृत्तिका क्रियाप्रतिक्रियावीच कसरी समन्वय कायम गरिन्छ भन्ने उनको प्रमुख प्रश्न रह्यो भने मैले दिएका जवाफ वरपर निकैथरी थप जिज्ञासा पनि व्यक्तिए । आफूले सहजरूपमा ती कुराहरूलाई लिने गरेको बताएर उनको जिज्ञासा मेट्ने प्रयत्न गरेको थिएँ । चियापानपछि गाडीबाट संगसंगै जोरपाटी भैरवपुस्कार गुठीको कार्यालय नपुग्दासम्म पनि यसै सिलसिलामा हाम्रावीच मनग्गे भलाकुसारी भए । त्यसै कार्यक्रममा उनकै हातबाट दोसल्लासहित २०५८ सालको भैरव पुरस्कार प्राप्त गर्ने अवसर भने म स्वयंले पाएको थिएँ जुन पुरस्कार मेरालागि अविस्मरणीय रहेको छ ।
सिन्धु साहित्य समाज र व्यथित काव्यसम्मान कोषको संयुक्त आयोजनामा २०६६ पुष ११गते सिन्धु पाल्चोकको मेलम्ची किनार किउलमा भएको व्यथित काव्य सम्मान अर्पण तथा कवि सम्मेलन कार्यक्रमको प्रमुख अतिथिमा समालोचक कृष्णचन्द्रसिंह प्रधान आमन्त्रित थिए । जाडो मौसममा हेलम्बू नगीच किउलबेसीको राजमार्गछेउको चउरमा आयोजित कार्यक्रममा उमेर र मौसम दुवै प्रतिकूल हुँदा पनि उनी सहर्ष स्वीकार गरेर स्रष्टा श्रीओम श्रेष्ठ, बाबा बस्नेत तथा जयन्ता पोखरेलको साथमा काठमाण्डूदेखि कार्यक्रमस्थल समयमै पुगेका थिए । मेलम्चीजस्तो ठण्डा हिमनदीको किनारमा रहेको कार्यक्रम स्थल पनि पूर्वपश्चिम ठडिएका अल्का डाँडाहरूले गर्दा केही वेरमात्र घामको पाहार लाग्ने परेछ । उमेर र जाडो यामको पर्बाह नगरी स्रष्टाको सम्मान गर्न मरीमेटेर पुग्ने उनको जाँगरी स्वभाव तथा कवि व्यथितप्रतिको अपरिमित श्रद्धा र अगाध आस्था दुवै अनुकरणीय लाग्दथे । मध्याह्नमै खानपान सकेर संस्थाका अध्यक्ष तथा कवि भारद्वाज मित्रको सभापतित्वमा कविवर त्रिलोचन आचार्यले सञ्चालनको दायित्व पूरा गर्दै केही वेरमात्र कविता वाचन गरेर प्रसिद्ध निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगलाई प्रमुखअतिथिको हातबाट दोसल्ला र नगदसहितको व्यथित सिन्धुप्रतिभा सम्मान अर्पण गरिएको थियो । त्यस्तै सिपाली कवि जगन्नाथ आचार्यलाई व्यथित प्रतिभा सम्मान प्रदान गरिएको थियो । त्यसै दिन काठमाण्डू फर्किने कार्यक्रम हुँदा पनि कत्ति हतार नगरी धैर्यपूर्वक निकैबेर कविताहरू श्रवण गरीसकेपछि प्रमुख आतिथेय मन्तव्य दिने क्रममा प्रमुख अतिथिले कवि व्यथितका रोचकखालका इतिवृत्तहरू प्रस्तुत गरेका थिए । ठूलो संख्यामा काठमाण्डूबाट गएका स्रष्टावृन्द र मेलम्ची किउल आसपासका स्थानीय सर्जक विद्यार्थी तथा उपस्थित सर्वसाधारणलाई अत्यन्तै प्रभावकारी मन्तव्य प्रस्तुत गरेर दिन ढल्किएपछि विहान साथमा गएका सहयोगीहरूका साथ काठमाण्डू फर्किएका थिए । उनको त्यस दिनको खँदिलो र मिठासपूर्ण शैलीको भाषण स्थानीय शिक्षक, कर्मचारी जनप्रतिनिधि तथा मोफसलको सचेत नागरिक समाजमा दूरगामी प्रभाव छोड्न सफल भएको अनुभव हुन्थ्यो ।
०००
