लक्ष्मी उप्रेती
कुनै कुनै मानिसको प्रतिभा असाधारण हुन्छ। प्रतिभा मनबाट उब्जिएर मष्तिकको चेतना भई कसैको जीवन इतिहासको एउटा अध्याय बन्छ । चाहँदैमा मानिसहरू कुनै क्षेत्रमा पनि पारङ्गत हुन सक्दैनन् । रहर गर्दैमा प्रतिभा भरिने तत्व हैन । प्रतिभा त जन्मदै लिएर आउने विशेष देन हो जसमा केही मेहनत, केही ज्ञान र समर्पणको पनि खाँचो हुन्छ । त्यस्तो आफैमा आफ्नो क्षमता, चेतना र चिन्तनका अजस्र श्रोत साहित्यिक जगतका नक्षत्र कृष्णचन्द्र सिंह प्रधान उदाहरण योग्य व्यक्तित्व हुन् । कृष्णचन्द्र सिंह प्रधानको स्थान कसैले लिन नसक्ने कुरामा दुई मत छैन । उनको चेतना वाफ रे वाफ !
प्रतिकुल परिस्थितिमा पनि उज्यालो सम्भावना पछ्याएर शिक्षाको सुकिलो सपना बाँढ्ने एक शिक्षासेवी हुन् । साहित्य समृद्ध बनाउने साहित्यको दर्बिला युग पुरूष उनको योगदान बिर्सनसक्नु छ । अक्षरको फसल लगाउने उनले शिल्प र शैलीले साहित्यको एउटा युगको प्रतिनिधित्व गरे । समालोचना र निबन्ध विधाका त्यस्ता युगान्तकारी ब्यक्ती भए जसलाई बिर्सनु हो भने भाषा साहित्य अधूरो हुन्छ।
आमा मायादेवी र बाबु सूर्यप्रसादसिंह प्रधानका सुपुत्रका रूपमा वि.सं. १९८२ साल श्रावण ११ गते नागपञ्चमीका दिन ढोका टोल,नुंछेँगल्ली, काठमाडौंमा गोविन्दप्रसादको जन्म भयो। तिनै गोविन्दप्रसाद साहित्यिक संसारमा कृष्णचन्द्रसिंह प्रधानको नामले राष्ट्रकै धरोहर र नवचेतनाका मानक बने। उपन्यासकार हृदयचन्द्र सिंह प्रधान पछि जन्मिएका भाइ कृष्णचन्द्र सिंह प्रधान आफ्नो कर्मले पृथक परिचय भएका व्यक्तित्व हुने सार्थकता रहेको नेपाली भाषा, साहित्यमा छर्लङ्ग छ।
दुई वर्षको हुदां बुबासंग उनी मधेस आए। मधेस आउनु पर्ने कारण भावुक भएर भन्छन्, “बुबाको राणाजीसंग संगत भएकाले होला मीठो खानु पर्ने, राम्रो लगाउनु पर्ने र जुवा खेल्नु पर्ने आदत थियो । जुवामा लत लागेर आफ्नो धनसम्पती, पुर्ख्यौली जाय जेथा सबै दाउमा हार्नु भयो। सबै रित्तिएर केही नभए पछि काठमाडौं छाडेर खालि हात मधेस बिरगंज आयौं । अनि बुबाले बिरगंज श्रीपुर भन्ने गाउको दरवारमा काम गर्न थाल्नु भयो।
पछि ७, ८ वर्षको हुदां मलाई त्यहीँको स्कुलमा भर्ना गरि दिनु भयो। त्यो स्कूलका ९०/ प्रतिशत शिक्षकहरू भारतीय थिए। त्यहीँ स्कुलमा मैले ४, ५ कक्षासम्म पढें। औपचारिक शिक्षा मेरो त्यति मात्र हो । आर्थिक अभावले फिस तिर्न नसक्दा मास्टरले सबैका अगाडि उभ्याएर सँजाय दिएकाले मलाई दिक्क लाग्यो र त्यस समयमा भारत बचाउ अभियानको लहर थियो। आन्दोलनमा शिक्षकहरू पारी रक्सोलमा जाँदै सहभागी हुन्थे। फिस तिर्न नसक्नु र पढाईको माहोल नभए पछि म पढ्न छाडेर घर नै बस्न थालें। घरमा मन लागे चित्र कोर्नु, साथिहरूसंग पैनीमा बल्छी खेलेर माछा मार्नु, पौडी खेल्नु र फुटबल खेल्नु दैनिकी जस्तै भयो। यसरि नै दिन बित्न थाले ।
बुवाको तमाखु खाने बानी थियो। बुबाको तमाखु भरेर हरेक बिहानै मैले दिनु पर्थ्यो। जाडो महिनामा उठन दिक्क लाग्ने तर तमाखु भर्न सधैं उठनु नै पर्ने। १३ वर्षको उमेरमा मेरो त्यो बिजोक बाट “हाई तमाखु” शिर्षकको एउटा कविता जन्मियो। त्यो कविता लेखें मात्र छाप्न चैं छापिन ।”
अनुहारका आकृति बिगारेर वाक्यवाक्यमा बहकिदै, कहिले रून्चे स्वर र कहिले हाँस्दै विगतमा भोगेका नमिठा पलका सुनाउछन् ।
त्यस्तै दाजु हृदयचन्द्र सिंह प्रधान जागिरको सिलसिलामा काठमाडौं बस्दाका कुरा पनि सम्झदै भन्छन्। “दाजुलाई वीरगंजबाट चिठि पठाउन थाले । बिस्तारै चिठीहरूसंगै कविता पठाएँ। दाजुले मिलाई दिनु हुन्थ्यो, म खुसि हुन्थे । यसरि हरेक हप्तामा चिठी र रचना आदान, प्रदान, हुन थाल्यो। चिठीमा कविताका कुरा सम्प्रेषण हुन थाले। एक दिन एउटा पत्रिकामा दाजुको नाम छापिएको देखें। त्यसले मेरो मन छोयो र अडकल गरें,यसरि दाजुको नाम छापिदा मेरो पनि कसो नछापिएला र? त्यसले मलाई खै कस्तो कस्तो ईर्ष्या, डाहा भयो। सुषुप्त रूपमा यसले म प्रोत्साहित पनि भएँ । अनि काठमाडौं आउछु भनेर दाजुलाई जोड गर्न थालेकाले केही समयपछि दाजुले बोलाउनु भयो। २ वर्षमा काठमाडौं छाडेर बिरगंज गएको थिएँ १८ वर्षको उमेरमा बल्ल काठमाडौं आएँ ।” काठमाडौं आउन पाएको क्षणले उनीमा खुसिले भाव तरंगित हुन्छन् ।
काठमाडौंमा आएपछि दाजु मार्फत थुप्रै साहित्यकार र शिक्षकहरूसंग उनको संगत गयो । राजनीतिबाट टाढै रहेर समाज परिवर्तनका लागि साहित्यिक मार्गलाई समातेर शैक्षिक जागरणमा साथीहरूको समुहमा उनी पनि सहभागी भए । यो संगै पत्रपत्रिका प्रकाशन गर्नु उनको प्रयास बढदै गयो। नकरात्मक भाव राख्नेहरूको भीड माझ अरू केही साथीसंगै उनी पनि २००५ सालमा जेल पनि परे। त्यसबेला भरखर उनको बिहे भएको थियो र भोज ख्वाउन बाँकीं नै थियो। जेलको बसाई अनिश्चित भएकाले जेलमा नै भोजको कार्यक्रम भएको कुरो खित्का छाडेर हास्दै रमाईलोसँग सुनाउँदाको सम्झना ममा आलो छ।
महिलाहरूलाई शैक्षिक जागरण ल्याउँदै ब्याबहारिक ज्ञान र सिप सिकाएर आत्म निर्भर बनाउने उदेश्यले भारतको महाराष्ट्र वर्दामा गान्धी आश्रम संचालित थियो । नेपाली महिलाहरूलाई पनि त्यस्तो ज्ञान र सिप दिने सोचले वर्दाका प्रमुख तुलसी मेहर २००६ सालमा नेपाल आए। कृष्णचन्द्रसिंह प्रधान जेलबाट छुटेका थिए। अनि सो आश्रममा ५० जाना महिलाहरू नेपाली पढाउन कृष्णचन्द्रसिंह प्रधानलाई लिएर आउनु भनेर तुलसी मेहरले अराएर वर्दा फर्के । समय बित्दै जाँदा नेपालबाट जाने महिलाहरू ५० जानालाई लिएर उनी पनि नेपाली पढाउन गए। नेपाली छात्राहरू त्यहाँ पढुन्जेल कृष्णचन्द्रसिंह स्टाफ क्वाटरमा रहेर नेपालीलाई पढाउने, पत्रिका सम्पादन कला सिकाएर अभिभावकीय जिम्मेदारी निर्वाह गरेका थिए रे। यो कुरा नेपालबाट जाने उनकी विध्यार्थी समाजसेवी, साहित्यकार भद्रकुमारी घले मुक्तकणले गर्ने गर्छिन् । त्यहाँ नै राहुल सांकृत्यायन र थुप्रै गान्धीवादी नेतासंग भेट भयो भन्दै कृष्णचन्द्रसिंह प्रधान रमाएको याद छ ।
अधिकांश लेखकहरू कविताबाट लेखकिय जीवन सुरू गरे झैं कृष्णचन्द्र सिंह प्रधानले पनि कविताबाट लेखकिय जीवन सुरू गरेर कविता कृति प्रकाशनमा ल्याए । समयको पदचापसंगै उनले समालोचकीय जीवनमा प्रवेश गरेर नेपाली भाषासाहित्य गोडमेल गर्ने धुलन्धर माली भए । समालोचना क्षेत्रमा उनको कलम ओजनदार बन्यो र अरूलाई हम्मेहम्मे पर्ने उँचाई थपियो । तर उनको चेतनाको तह मौलाएर यतिमा मात्र सिमित रहन मानेन र फेरि निबन्धमा हात हाले। फलत उतरार्धमा बौध्दिक र शक्तिशाली निबन्ध लेखनको प्रभाहले नयाँ क्षितिजको ढोका उघ्रियो । त्यसपछि त उनको झन् पृथक परिचय बन्यो। यसले लगभग अरू विधा नै ओझेलमा पर्ने संकेत देखियो भन्ने विज्ञहरूले अनुमान लाएको पाईन्छ । उनको बौद्धिक ज्ञानका कारण समालोचना र निबन्धमा नौलो आयाम झाङ्गिएर लेखन क्षेत्रका इतिहासका रूपमा अघि बढदै गए ।
वि.सं. २००८ सालमा “भन्ज्याङनिर” कवितासङ्ग्रह छपाएर देखापर्ने उनी पछिल्ला दिनमा निबन्ध र समालोचनामा केन्द्रित भए । “भन्ज्याङनिर” कवितासङ्ग्रह उनको पहिलो प्रकाशित कृति हो । प्रधानले हास्यव्यङ्ग्य लेखनमा पनि दरो उपस्थिति जनाएर स्थापित भएका एक होनहार लेखक हुन् । उनका निबन्ध र कवितामा व्यङ्ग्यको प्रभाव निकै तेजिलो रूपमा रहेको पाईन्छ। कृष्णचन्द्रसिंह ‘कवि व्यथित र काव्यसाधना’( २०१५) नामक ग्रन्थका लागि गद्य विधामा ‘मदन पुरस्कार’ बाट सम्मानित भए । प्रधान नेपाली साहित्यका प्राज्ञिक समालोचक मानिन्छन् । ‘नेपाली उपन्यास र उपन्यासकार ’ कृति समालोचनाको उत्तम कृतिका रूपमा आउँछ । बि सं २०३७ सालमा यो पुस्तकले साझा पुरस्कार पायो । यस बाहेक समय समयमा उत्तमशान्ति पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, धरणीधर पुरस्कार, प्रतिभा पुरस्कार, रत्नश्री स्वर्णपदक र शंकर लामिछाने निबन्ध पुरस्कार लगायतले सम्मानित प्रधानको स्वभाव सरल थियो । लेखनमा वौध्दिक चिन्तन , फरक शिल्प, शैलीका अव्वल अध्येता, एक होनहार कलमकर्मी थिए । बोल्न र संगत गर्न हिच्किचाउनु नपर्ने, सहज ढंगले ब्यवहार गर्न सकिने , चाँडै घुलमिल हुन सक्ने एक निष्ठावान र गहकिला लेखक कृष्णचन्द्रसिंह प्रधान सबैका प्रिय पात्र थिए।
प्रधानका प्रकाशित कृतिहरूमा : भन्ज्याङनिर (२००८) कवितासङ्ग्रह, ‘सालिक‘ (२०२६) निबन्धसङ्ग्रह, नेपाली उपन्यास र उपन्यासकार (२०३६ ) समालोचनासङ्ग्रह, ‘अनाम सत्य’ (२०४४),निवन्ध सङ्ग्रह ‘सिर्जनाको सेरोफेरो” समीक्षात्मक कृति (२०४०) ,पाइलाः आगतमा टेकेर’ (२०४७)निबन्धसङ्ग्रह , ‘वाग्मतीको हरक’ (२०५७),निबन्ध सङग्रह,’नफर्कने ती दिनहरू’ (२०५९), तथा ‘जीन्दगीका टिपोटहरू’ (२०६३) आत्मकथा, ‘समय सुनामी’ (२०६३) निबनध सङ्ग्रह आदि छन् । ‘नफर्कने ती दिनहरु’ र ‘जिन्दगीका टिपोटहरु’ दुई भागको आत्मकथाको कृति हो । आत्मकथाको कृति अरूको भन्दा केही फरक शैली र शिल्पको लेखन छ । आफ्नो जीवन दर्शन, दृष्टिकोण, र जीवन भोगाईका यावत कुरा बुझ्न सक्ने भाव यी दुई कृतिमा छरेका छन् । उनका निबन्ध लेखनमा कति ठाउँमा आफु मिसिएको पाईन्छ । वौध्दिक चेतनाबाट सिर्जित उनको लेखनमा सौन्दर्यको रंगिन आयाम पाईन्छ । कृष्णचन्द्र सिंह प्रधानले लेखनमा कोहीबाट कहिले आलोचना खेप्नु परेन, कसैलाई चाकरी पनि गरेनन् र कसैलाई बिझाउने काम पनि गरेनन् । यो उनको जीवन दर्शन भयो।
स्कूल कलेज पढ्ने उनको वातावरण भएन तर खाने मुखलाई जुँगाले छेक्दैन भने झैं उनी स्वअध्ययनबाटै नेपाली साहित्यका विशाल वटवृक्ष भए । कन्या स्कूलका शिक्षक भएर कृष्णचन्द्रसिंह प्रधानले शिक्षाको उज्यालो बाँढे । त्यसै बेला उक्त स्कूलबाट निस्किने साहित्यिक मुखपत्रको सफल सम्पादक भए । व्यवसाय गर्ने उदेश्यले साझेदारीमा पत्रिकाको पसल बांगेमुढामा सुरू गरे । नाफामुलक भए पनि त्यो व्यवसाय केही समयमा नै खुसिखुसि छाडे ।
शिक्षण पेसा पछि उनी एकेडेमीमा प्राज्ञ भई दत्तचित्तले प्राज्ञिक कर्ममा लागि परे। निकै लामो समयसम्म एकेडेमीका प्राज्ञ उनले सफल कार्यभार सम्हाले । आफ्नो ज्ञान र सिप प्रतिष्ठानमा उपयोग गरे । जब उनी एकेडेमी बाट निबृत्त भए तब साझा प्रकाशनको महाप्रबन्धकको जिम्मेबारी पाए । ईमानदार, मेहनत र कार्य दक्षताले नयाँ मार्ग कोर्दै लग्यो। प्रशासनका कर्मचारीलाई सम्मान जनक स्थान दिने उनको मनोवृतिले साझा प्रकाशननै उनको कर्मको, चेतनाको शक्तिशाली धरोहर बन्यो । त्यो बेलाको साझा प्रकाशन कलमकर्मीहरूको अस्तित्व थियो । त्यस समयमा साझा प्रकाशनलाई स्वर्णिम बनाउने सबै कर्मचारी शुभचिन्तकको तागत बन्ने कृष्णचन्द्र सिंह प्रधान नै थिए। उनको प्रवल शक्ति र चेतनाको सौन्दर्य रूप थियो त्यो काल । तर आज त हरे साझा प्रकाशन जाजा प्रकाशन भएको छ। एकदम दयनिय र मौन मनोहर ।
वि.सं.२०४६ सालको जनआन्दोलन सफल भएपछि ईश्वर बरालको उप–कुलपतित्वमा नयाँ प्राज्ञ परिषद सदस्यमा साझा प्रकाशनबाट निवृत्त कृष्णचन्द्र सिंह प्रधान पनि नियुक्त भए । अनि कामको बिभाजन भएपछि गद्यप्रधान ‘समकालीन साहित्य ’प्रधान सम्पादक प्रकाशन यहीं कार्यकालबाट सुरू भयो । उनकै चेतनाबाट कवि अविनाश श्रेष्ठको सहयोगमा साहित्यिक पत्रिका प्रकाशनको नौलो पाईला चालेर साहित्यको सुन्दर समयको वातावरण शुभारम्भ गरि नयाँ इतिहास निर्माण गरे ।
साहित्यक जगतमा उचाई नाप्न नसकिने ब्यक्तित्व कृष्णचन्द्र सिंह प्रधानसँग उनकै घरमा पहिलो पटक भेट र परिचय मेरो बि सं २०६० सालमा भयो । मेरो प्रकाशन हुन लागेको कविता कृति ‘ समय स्पर्श ‘को भूमिका लेखिदिने अनुरोधका लागि उनलाई भेट्न बिन्दु सुवेदी दिदीसंग ताहाचल उनको घर गएका थियौं । कविता कृति ‘ समय स्पर्श ‘ को भूमिका लेखिदिने अनुरोधका साथ पाण्डुलिपि दिएँ । पाण्डुलिपिका पाना पल्टाएर कविताका केही लाइन पढदै त्यहीं एकाग्र हुदै पाण्डुलिपि जतनले राखे। दिदीसंग गएकाले होला पहिलो पटकको भेट र परिचयमा नै दाजुले स्विकारेर केही दिन लाग्छ होला कल गर्नु भन्दाको त्यो सौहद्रताले अभिभूत भएथें ।
त्यसैबेला कृष्णचन्द्र सिंह प्रधानले हामीलाई एक तला माथिको आफ्नो कोठामा लगेर बिरामी पत्नीलाई भेट गराए । तीन संतानका पिता प्रधानकी श्रीमती कय अल्जाइमर रोग बाट पहिले देखि थलिएकी रहिछन् । दुब्ली सलक्क परेकी उज्यालो अनुहार भएकी कोठामा ओहोर दोहोर गर्ने भाउजुको अवस्था भट्ट देख्दा त्यस्तो अप्रिय लागेन। सुत्ने पलङ वरिपरि घुमि रहने श्रीमतीलाई दाइले बोलाएर आफ्नो छेउमै बसाएर कय वहा बिन्दु सुवेदी र उहाँ लक्ष्मी उप्रेती बिराटनगरबाट आउनु भएको भने । हामीले नमस्कार ग-यौं तर भाउजु प्रतिक्रिया बिहिन हाँसिरहनु भयो । नमस्कार खै फर्काएको दाजुले भनेपछि आज्ञाकारी बालकले जस्तै फर्काउनु भयो। बिन्दु दिदीले कहिले देखि भाउजुलाई यस्तो भएको भनेर सोध्नु भयो। भाउजुले हामी तिर पुलुक्क हेरेर अस्ति नै भनेर हास्नु भयो। २ वर्ष जति भयो भनेर दाजुको मुखको आकृति बिग्रियो। त्यसैले यिनलाई छाड्नु हुन्न म पनि उति बाहिर जान्न भनेर अँध्यारिए । यसपछि एकछिन मेरो मनमा दुख्दो अनुभूति भई रह्यो। पत्नी बिरामी भए पछि दाजु निरवता बिच पनि सहज देखिने कोशिश गर्ने श्रीमतीको सेवामा रमाउने उनको रहर बढ्न थालेको थियो सायद ।
त्यसको केही पछि शंकर लामीछाने निबन्ध समाजको पुरस्कार दाजुलाई दिने निर्णय भयो । अनि मिटिंगमा नै फोनको माध्यमले दाजुबाट अनुमति लियौं। सहस्र स्विकार्दै कार्यक्रमको बिबरण लिदै खुसि साथ धन्यवाद जनाए । कार्यक्रमको दिन पुरस्कार ग्रहण गर्न सहभागिताका लागि अध्यक्ष मंजुल दाइ र सचिव म भएर दाजुलाई ल्याउन ताहचल घर गयौं। गाडिमा चढे पछि मैले दाजु मेरो कविता बारे के भयो भनेर सोधें। लेख्छु हप्ता दिनमा कल गर्छु भने पछि म दङ्ग परें । कार्यक्रम शंकर होटलमा सम्पन्न भयो । श्रीमतीको अवस्थाका कारण कार्यक्रम सकिएर कृष्ण दाइलाई कुनै सदस्यले घर पु-याई दिनु भयो । केही दिनमा मेरो कृतिको भूमिका सकेर फोन गरेर ‘बैनी सके लिन आए हुन्छ’ भनेपछि बिन्दु दिदी र म नै गएर लिएर आयौं । दाजुको भूमिका मेरो ‘समय स्पर्श’ कविता कृतिमा लिपिबद्ध छ । त्यसपछि समय समयमा प्रमुख अथितिका लागी अनुरोध गर्दा सहजताले स्विकारेको म सम्झन्छु।
समालोचकीय सौन्दर्य आँखामा सजाउँदै कति व्यक्तित्व कृति लिएर समालोचनाका लागि र कति कृतिको पाण्डुलिपि लिएर भूमिकाका लागि जाने भीडको पङ्तिमा म पनि कविता कृति ‘ समय स्पर्श ‘को पाण्डुलिपि लिएर भूमिकाका लागि आग्रह गर्न र पटक पटक अन्य साहित्यिक कामकै सिलसिलामा दाजुको घर गएको कुरा सम्झदा मन तरंगित हुन्छ । कति सर्जकहरू साहित्यका बिभिन्न गतिविधिमा बौध्दिक धारणाका बिचार रसपान गर्न आमन्त्रित हुन्थ्ये । उनको सरस्वती मिसिएको वाणी सुनेर उपस्थित गणहरू ध्यनमग्न भई अभिभूत हुन्थे।
अब यी सबै कुराहरू कथा जस्ता मात्र भएका छन्। जन्म पछिको अन्तिम सत्य मृत्यु अपत्यारिले भएर उनकी बेसुर बनेकी श्रीमतीलाई यस लोकबाट चुड्यो। श्रीमतीको मृत्यु पछि जीवन शून्यबोधको अनुभव गरेरर उनी बैरागीएका थिए । तर भाउजु बिते पछि बिरक्त बनेका कृष्णचन्द्र सिंह प्रधान एकान्तिकतामा दिन बिताउँथे । पछिल्लो समयमा जीवनबाट थाके झैं देखिने उनीमा एकाङ्किपन, निवन्ध लेखन र अध्ययनमा दिन बित्थ्यो ।
बाल्यकालमा उनलाई र उनका सहोदर भाइलाई विफर आयो । समय अनुसार आयुर्वेद उपचार भयो । तर भाइ बिफरबाट बित्यो । उनी भने जन्डिस, हृदय घात र अन्य रोगसंग लड्दै साहित्यमा योगदान दिंदै आए। जीवनको अन्तिम क्षणभंगुर पनि लेखनलाई नछाडि समयले झुक्याएर उनको काल भएर आयो । अन्तिम सत्य मृत्यु वरण गर्ने ,जीवनमा विश्राम लिने वाहानाले अस्पताल पुराएर पनि छातीको दुखाई फेरि कहिले नदुख्ने गरि विलायो । भौतिक रूपमा नभए पनि अनगिन्ती सम्झना छाडेर २०६७ असार १७ गतेका दिन उनको निधन भयो । कृष्ण चन्द्र सिंह प्रधान दाजुलाई यिनै शव्दद्वारा हार्दिक श्रद्धांजलि ।
०००
लेखिका परिचयः हाङपाङ ताप्लेजुङमा जन्मिएकी साहित्यकार लक्ष्मी उप्रेती मुलतः काठमाडौं बसोवास गर्छिन्, तर उनको समय भारतको चेन्नइमा समेत बाँडिने गरेको छ । लामो समय बनिता पत्रिकाकिो समपादन गरेकी उनका ६ कविता सङ्ग्रह, ४ कथा सङ्ग्रह, दर्जनौं बाल साहित्यका कृतिहरू, जीवनी तथा सम्पादनमा समेत उनको योगदान छ ।
