तारा पराजुली
“यी कार्यक्रमहरू पनि कति जुधाएका हुन् आयोजकहरूले। हाम्रा लागि त सबै कार्यक्रमले उत्तिकै महत्त्व राख्छन् नि। फेरि किन समयमा सुरु नभएका? नेपालमा हुँदा अमेरिकी टाइम भन्ने हामी किन अमेरिका पुगेर पनि समयलाई सामान्य सम्झिन्छौ?” रातो गाडा रङका कभरले बेरिएका खाली कुर्सी र ब्यानरतिर आँखा कुदाउँदै सम्झनाले अरविन्दतिर हेर्दै भनिन् ।
महिला साहित्यकारहरूको ठूलो भीड कार्यक्रम सुरु हुने समय कुर्दै एक छेउमा बसेर घरीघरी देशका कुरा, घरीघरी घर देशकै राजनीतिका कुरा र घरीघरी लेखनका कुरा गरिरहेका थिए । अर्को एक छेउमा केही पुरुषहरू देखिन्थे झुन्ड-झुन्ड बनाएर बसेका । उनीहरू पनि नेपालकै बारेमा के के केके टिप्पणी गर्दै थिए।” कोही लेखक आफूले लेखेको पुस्तक सही गर्दै लेखक साथीहरूलाई उपहार स्वरूप प्रदान गर्दै गरेका दृश्यहरू प्रस्ट देखिन्थे।
“तिमीसँग कलम छ भने एकछिन पाउँ न, अस्तिदेखि सोचिरहेको थिएँ। बाल्टिमोरको कार्यक्रममा भेट्दा पनि समय मिलेन मेरो अफिसको इमर्जेन्सी काम परेकोले म छिटो निस्कनुपर्यो। तिमीलाई एउटा “नौगेडी” दिनु छ।”अर्बिन्दले सम्झनातिर लक्षित गर्दै भन्यो।सम्झना एकाएक झस्किन पुगिन् मौन कौतुहहल र आक्रोश उनका आँखा र अनुहारमा हतार हतार दौडिरहेका सजिलै देख्न सकिन्थ्यो।
“दुनियाँ कहाँ सम्मको स्वार्थी छ हगि! तपाईंले मलाई कति निरीह महिला सम्झिनु भएछ। म कठोर मेहनतले उभिएकी एक नारी हुँ। तपाईंले हेर्दा एकल नारी देखे पनि म विचार र साहसले एक्ली छैन र निरीह पनि छैन। सरी!म तपाईंको नौगेडी लिन यहाँ आएकी होइन र लिनु पनि छैन। म आफ्नै कमाइले एउटा होइन सयौं नौगेडी किन्न सक्छु। आफ्नै श्रीमानले दिएको सिन्दुर पोते उसैलाई नासो स्वरूप फिर्ता गरेर आफ्नो लयमा फर्केकी नारी हुँ। मलाई यही लयमा जिउन दिनुस्।”
सम्झनाको कुरा सुनिसकेको अर्बिन्दले निलो कलरको साइड ब्यागबाट सेतो कभर भएको हल्का पेपरमा छापिएको पुस्तक सम्झनाको हातमा राखि दियो र भन्यो-लेखन मन परे पनि नपरे पनि जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद !
सम्झनाको हातमा अर्बिन्दले थमाएको पुस्तकमा गाडा मोटा अक्षरमा लेखिएको आकर्षक डिजाइनको शीर्षक परैबाट पनि पढ्न सकिन्थ्यो-“नौगेडी” ।
०००
कवयित्री परिचयः तारा पराजुली मूलतः कवयित्री हुन् । उनको “अर्को राजमार्ग” कविता सङ्ग्रह प्रकाशित छ जुन निकै चर्चामा रहेको थियो ।