भोलि लेख्ने निबन्धको विषय (निबन्ध)

गद्य विविध

ज्ञानेन्द्र विवश

भोलि लेख्ने निबन्धका लागि आज सोच्ने समय हो । नयाँ निबन्धमा लेख्ने नौलो विषय के हो र के होइन ?
हतारको जिन्दगीका पाइलाहरू एकपछि अर्को फड्को मार्छन् । हतार नभए आरामले सुतेर खान कसैलाई पुग्दैन । हतार भएकोले केही न केही काम भएको छ ।
सडकमा हेर्छु– सबैलाई हतार छ । हतारमा दौडिरहेको देख्छु । सवारीचालक, ट्राफिक, पैदल यात्री कसको आँखा छलेर हुन्छ फुत्त आफू अगाडि उछिन्न पाए पुग्यो । अनुशासनलाई बाल मतलब नराखी ।
लाइन नलागी पालो मिचेर आफू सबैभन्दा अगाडि पुग्न पाए हुन्थ्यो भन्ने सबैको ध्याउन्न छ ।
हुन पनि हो जता गए पनि जहाँ जे कामका लागि भए पनि लाइनमा बस्न पर्छ । सबैलाई हतार भएकोले यस्तो भीड भएको हो । भीड भएकोले हतार पनि भएको छ ।
हतारको जिन्दगी सबैले व्यहोर्नु परेको छ ।
हतारको जिन्दगी अति व्यस्त छ । अस्तव्यस्त पनि उत्तिकै छ ।
सोच मग्न समयको क्यानभासमाथि म रङहरू घोल्छु, पोत्छु । रङहरूको स्वतन्त्र हिँडाइ गजबको लाग्छ ।
बेग्लै किसिमको निर्बन्ध गति । उन्मुक्त यात्रा ।
रङहरूको आफ्नै मौलिक सौन्दर्य र स्वरूप ।
एक्लो यात्रामा पनि रङहरूले कति थरी स्वरूप वरण गर्न सकेको हो ? कति मनोहारी आयामहरूमा रूपान्तरित हुन सकेको हो ?
रङहरूको आयाम असीमित हुने रहेछ । रङको महत्त्व जताततै भए जस्तै । रङहरूको गहिराइ मापन गर्न निकै कठिन पर्दो रहेछ । गाढा रङमा पनि अनेकौँ रङका प्रकारहरू । फिक्का रङहरूमा पनि झन् धेरै रङहरूको उपस्थिति ।
रङका बहु आयामिक पक्षलाई पहिल्याउन र पत्ता लगाउन तथा बताउन समेत गाह्रो हुने रहेछ ।
त्यसमा उत्पन्न मूर्त, अमूर्त, अर्ध अमूर्त आकृतिहरूमा आँखाहरू डुलाउँछु । मनहरू घुमाउँछु । एकछिन सोच्छु । सम्झाउँछु आफैँलाई आफैँ भित्र पसेर ।
श्वेत क्यानभासको आकाशमा रङहरूको प्रवाह गति मान हुन थाल्छ । रातो रङ बग्दै, फैलिँदै जाँदा त्यसमा अरू सहायक रङहरू निर्माण हुँदै धेरै रङहरूको सौन्दर्य देखा पर्छ । नीलो, पहेँलो, हरियो रङहरूको प्रवाहमा पनि बिस्तारै रङ–मिश्रणले अनौठो रङहरू प्रस्फुटन हुँदै जाने रहेछ ।
यसरी एउटा रङको मात्रामा अरू धेरै रङहरू बग्दा बग्दै, मिल्दै, मेटिँदै, भेटिँदै, छुटिँदै रङहरूको निर्माण यति धेरै बन्दोरहेछ । जसलाई व्याख्या गर्न कठिन र हेरेर बताउन पनि नसकिँदो रहेछ ।
रङहरूको भेल बाढी जस्तै वेगवान् डरलाग्दो तीव्र गति क्यानभासमा पोखिन थाल्छ । तुलिकाघातको उन्मुक्त उडानमा परिश्रमी हातहरू सिर्जनामा तल्लीन हुन थाल्छन् । अनि त्यहाँ अनेकौँ जीवन र प्रकृतिका प्रतिविम्बहरू दृष्टिगोचर हुन्छन् ।
क्रमशः हाँसो र रोदन, खुशी र दुःखका कैरनहरूमा क्रमशः उद्घाटित हुन थाल्छन् । तिनले मेरा कोमल मन छुन आउँछन् ।
म तीनै विम्वहरूमा रूपान्तरित हुँदै तिनको अर्थ र अभिप्राय खोतल्ने जमर्को गर्छु ।
आहा, त्यहाँ त कति जीवनका खुशीहरू छचल्कि रहेछन् । कति दुःखका पीडाहरू तड्पि रहेछन् ।
लाग्छ, आखिर जीवन भन्नु सुख र दुःखको, हर्ष र विष्मातको दोसाँधबाट गुज्रिदैं हिँड्ने पाहुना यात्री रहेछ ।
मायालु मुस्कानहरू त्यहीँ छन् । ईर्ष्यालु हेराइका आँखाहरू त्यहीँ छन् । माया र घृणाका ढक–तराजुहरू त्यहीँ छन् । अलिकति पनि कमी–बेसी छैन । सुन तौलिए जस्तै बराबर छ ।
अब उचाइको सगरमाथा भेट्न ज्यानको जोखिम मोलेर हिँड्नु पर्दैन । सागरको गहिराइ भेट्न समुद्रसम्म पुग्नु पर्दैन ।
सुगन्ध र दुर्गन्धका बाफिलो जङ्घार तरेर सफलताको शिखर चुम्न त्यति सजिलो कहाँ छ र ? गुलियो मह चाख्न पनि मौरीको टोकाइ खानु पर्छ ।
मुसलधारे वर्षामा निस्लोट भिजेर जिन्दगी किचिलीघान हुन पुगेको छ । यस्तोमा लाज घिन पचाउँदै बल्ल खुलेको आकाशमुनि तातो घाममा निथ्रुक्क भएको ज्यान बिस्कुन जस्तै सुकाइ रहेछ ।
बल्ल थामिएको झरीपछि जमेको आहालमा जीवनका अनेकौँ रङहरू–तरङ्गहरू तैरिरहेछन् ।
तरङ्गहरूले कहिले उत्पात मच्चाउँछन् । कहिले शान्त सरोवरको झलक दिन्छन् । केही ठेगाना नहुँदो रहेछ तरङ्गहरूको प्रवाहमा ।
जीवन जस्तै बेठेगानका बतासहरू । कहिले तीनले शीतल महसुस गराउँदै आनन्दित पार्छन् । कहिले हायलकायल पार्दै हैरान पार्छन् ।
हतारको जीवनमा सोचाइको क्रम सिलसिला बद्ध हुन पाउँदैन । अहिलेको कुरा सोचिरहेको बेला पहिलेको कुराले झस्काउन आउँछ । स्थिर हुन खोज्दा खोज्दै मन तुरुन्तै अस्थिर हुन बाध्य हुन्छ ।
जीवनले के सोच्छ ? जीवनले के खोज्छ ? जीवनले के रोज्छ ?
सोच्नुपर्ने, खोज्नुपर्ने र रोज्नुपर्ने विषय र विम्वमाथि मेरो लेखकीय मन घोत्लिन थाल्छ ।
घोत्ल्याइँका क्रममा मेरो मन अतीतको गर्ततिर गोता खान पनि पुग्छ । वर्तमानका अनेक घोचाघारामा अल्झिँदै, बल्झिँदै बयली खेल्न थाल्छ । फेरि छिनमै भविष्यको कल्पना–गङ्गामा तैरिँदै भावनाका तरङ्गहरूमा पौडिन अग्रसर हुन्छ ।
हामी कसैले पनि पुग्नु कहीँ छैन । जतिसुकै लोभ गरेर पाउनु केही छैन । गुमाउन पनि केही छैन । लिनु र दिनु पनि केही छैन । तैपनि हामी मरि हत्ते गरिरहेछौँ । कतै पुग्नका लागि, केही पाउनका लागि ।
सबै व्यस्त जीवन पथ । कसैलाई एकछिन फुर्सद छैन । कसैलाई आफूले आफैँलाई फर्केर हेर्ने समेत समय छैन ।
यत्तिका काम गरि सक्दा पनि सधैँ हात खाली, सधैँ पेट खाली । तैपनि सधैँको दौडधूप । सधैँ हतारको जिन्दगी !
बाँकी रहने भनेको त्यही माया र सम्झना हो । त्यसकै यादहरू मात्रै हो । नजिक हुने भनेको मान्छेको सम्झना मात्रै रहेछ । मान्छे त टाढा–टाढा कहाँ जान्छ, जान्छ केवल बाँकी रहने भनेको केवल सम्झना मात्र न हो ।
मैले भोलि लेख्ने निबन्धको विषय आज म यसरी सोचि रहेछु, खोजि रहेछु ।

०००

लेखक परिचयः ज्ञानेन्द्र विवस खोटाङ चिसापानीमा जन्मेका हुन् र हाल टीकाथली, ललितपुरमा बसोबास गर्छन् । उनले २०४२ सालमा गोरखापत्रमा “कलाकार अरनिकोको जीवनी” निबन्ध लेखेर लेखन क्षेत्रमा प्रवेश गरेका हुन् । उनका “पीडाका अनुभूतिहरू” (कविता २०४८), ‘क्यानभासका तरङ्गहरू’ (कला निबन्ध २०५५), ‘राराकी अप्सरा’ (यात्रा २०५८), ‘मृत्यु उत्सव’ (निबन्ध २०६०), ‘आकृतिको आवाज’ (कला निबन्ध २०६१), ‘प्रणय र पाइला’ (२०६१), ‘अन्नपूर्णाका विम्वहरू’ (यात्रा, २०७०), ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’ (जीवनी, २०७०), ‘प्रसिद्ध नेपाली पौवा कलाकार’ (जीवनी, २०७०), ‘सुन्दरी चोक’ (निबन्ध,२०७५), ‘साँखुका सम्पदा र वास्तुकला’ (अनुसन्धान २०७५), ‘प्रसिद्ध अग्रज कलाकार चन्द्रमान सिंह मास्के’ (जीवनी,२०७६), ‘प्रतिनिधि नेपाली कलाकार’ (जीवनी २०७८), ‘कलाकार सिद्धिमुनि शाक्य: जीवन र कला’ (जीवनी, २०७८),’अर्धकदको अवसान ‘(निबन्ध, २०८१) लगायत कृतिहरु प्रकाशित छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *