विष्णु न्यौपाने
घमण्डले भरिएका हुन्छन्
अनुहार राम्रा हुनेहरू
काँडा फिँजाएर बस्छे गुलाफ
चिसो बोकेर बस्छ हिमाल
लेक चढेर फुल्छे गुराँस
गहिरिएर बग्छे नदी ।
टिप्न हुँदैन
ओइलिएर सड्छे सुनाखरी
हेर्न हुँदैन
ज्योति छिनेर लग्छ प्रभाकर
डुब्न हुँदैन
श्वास थुनेर मार्छ सागर ।
जति सुन्दर देखिन्छन् चिया बगानहरू
त्यति नै कठिन छ मजदुरको जीवन कहानी
जति सुन्दर छन् हिमालहरू
त्यति नै कठिन छ जनजीवन त्यहाँको ।
सुन्दरता देख्ने आँखा
र रमाउने मनभन्दा
धेरै अलग छ व्यवहार गर्ने शरीर
अलग–अलग नै छन्
दृश्य र भोग्य संसार पनि
अनुहार नराम्रो हुनेहरू
कति नम्र छन् स्वभाव
कति फोहोर छ हिलो
कति फोहोर छ भकारो
तर तीनै फोहोरले दिइ रहेछन्
सबैभन्दा सुन्दर जीवन ।
गन्धे माटोमै फुल्छन् सुन्दर फूलहरू
दुर्गन्धित भकारोमै फल्छन्
जीवन दिने अन्न बालीहरू
धुस्रे किसान र फुस्रे मजदुरहरू नै हुन्
संसार बनाउने परिश्रमीहरू ।
०००
कवि परिचयः कवि विष्णु न्यौपानेको जन्म चुङमाङ, धनकुटामा भएको हो । हाल उनी भृकुटी चोक दमकमा बसोबास गर्छन् । वि.सं. २०५३ सालमा “मेरो काठमाडौं” शीर्षक कविता “रुपरेखा” साप्ताहिकमा प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका उनका एक खण्ड काव्य “श्रद्धाञ्जली” (२०६४), एक महाकाव्य “शिशिरका घाम” (२०८१) तथा दुई कविता सङ्ग्रह “जन्मभूमि” (२०७०) र “शीतको ऐना” (२०७६) थता एक हाइकु सङ्ग्रह “सूक्ष्म आकाश” (२०७१) प्रकाशित छन् ।