नवीन पौड्याल
१.आमुख-
साहित्य समाजको दर्पण हो। कुनै पनि समाजको जीवन्तता र सक्रियताको लक्षण त्यहाँ हुने साहित्यिक, सामाजिक, सांस्कृतिक, राजनैतिक गतिविधिलाई मान्न सकिन्छ। अझ साहित्यिक कार्यकलापले समाजको सर्वाङ्गीण सक्रियता झल्किन्छ। साहित्यमा समाजको उन्नति, अवनती, विकास, विकृति इत्यादि सबै पक्षहरूको प्रतिबिम्बन हुन्छ। यदि कुनै समाजलाई चिन्नु हो भने पहिले त्यस समाजको साहित्य कस्तो छ, कति सम्पन्न छ भनी नियाले थाहा पाउन सकिन्छ। साहित्यले समाजलाई प्रत्यक्ष-परोक्ष रूपमा दिशा निर्देशन पनि गरेको हुन्छ। समाजका जागरूक युवावर्ग मिलेर साहित्यिक गोष्ठी गरी समाजलाई अघि बढाउने कार्य गर्छन्। समाजलाई सटीक मार्गमा डोर्याउने एउटा तत्त्व साहित्य पनि हुनसक्छ। अतः साहित्य समाजको दर्पणका साथै औ दिशा-निर्देशक पनि हो। साहित्यले युग बोकेको हुन्छ, जनाकांक्षा बोकेको हुन्छ, जन आवाज बोकेको हुन्छ। साहित्यले समाज र मुलुकको व्यवस्थाप्रति सचेतता बोकेको हुन्छ, विकृति देखेको हुन्छ, क्रान्तिको झिल्को बोकेको हुन्छ। साहित्यमा सकारात्मक परिवर्तनको चेतना हन्छ र हुनुपर्छ। यस कारण साहित्य समाजको पछिपछि कुद्ने मात्र नभएर समाजको अघिअघि गएर बाटो देखाउने तत्त्व पनि हो।
२. मासिक भेला र साहित्यलाई टेवा –
कुनै पनि समाजमा साहित्यलाई प्रवर्द्धन र संवर्द्धन गर्न लेखन, अध्ययन मनन, पुस्तक प्रकाशन, साहित्यिक संस्था र सङ्गठन, कार्यक्रम अनि सरकारी संरक्षण आदि कुरा पर्छन् । यसबाहेक गाउँ र बजारतिर सम्पन्न हुने नियमित भेला र जमघट पनि साहित्यलाई टेवा दिने मुख्य आधार बनेको हुन्छ। यस्ता खाले मासक भेलाले समाजलाई साहित्यसित जोड्छ, समाजलाई साहित्यिक परिवेश बनाइदिन्, असाहित्यिकलाई साहित्यिक बनाइदिन सक्छ। यसरी हेर्दा दिने एउटा मासिक साहित्यिक भेला पनि साहित्यलाई अघि बढाउने मुख्य उत्प्रेरक तत्त्व बनेको हुन्छ। गाडीमा मोबिलले इन्धन सञ्चालनमा महत्त्वपूर्ण योगदान दिए झैँ समाजमा साहित्यिक गतिविधिलाई गति दिने काम गर्छ ।
३. साहित्य-परिक्रमा र डुवर्स –
डुवर्सको बाग्राकोटमा पनि साहित्य-परिक्रमा नामक साहित्यिक भेला कार्यक्रम सञ्चालन भइरहेको छ। मासिक तवरमा नियमित नभए तापनि अनुकूल समय पारेर यसले साहित्यानुरागी भेला गरी हालसम्म अठचालीसौं प्रकरणसम्मको यात्रा हिँडिसकेको छ। सन् २००० को जुलाई महिनामा बद्री नारायण प्रधानको आँगनमा बसेको पहिलो भेलाले साहित्य-परिक्रमा नामकरण गरी आफ्नो उद्देश्य र नियमावली तय गरेको हो। स्थायी रूपमा कोही एकै जना संयोजक नभएर पालै-पिलो गरी प्रकरणै पछि संयोजक बन्ने प्रथा छ । सुखमन मोक्तान, अजय खँड्का, अजय श्रेष्ठ, वेगवसन्त थापा, भूपेश शर्मा, निर्मल शर्मा,रूपेश शर्मा, नारायणविक्रम प्रधान, शङ्कर प्रधान, देवेन्द्र छेत्री, श्रीमती गङ्गादेवी शर्मा, बलराम पुरी आदिले संयोजकको भार वहन गरेका छन्। श्री देवेन्द्र छेत्री यसको संयोजक भएका बेला यसै कार्यक्रममा केटाकेटीका निम्ति खेलकुदको आयोजना पनि गरिएको थियो। एक पटक नारी-भेला आयोजना पनि गरिएको थियो र त्यसमा विन्द्या सुब्बा, डा कविता लामा, दुर्गा गुरुङ आदिलाई डाकी भव्य बनाइएको थियो। भेला वेगवसन्त थापा, रेमिका थापा इत्यादिले वार्ता पनि प्रस्तुत गरेका छन्। साहित्यिक प्रतिभाहरूलाई सम्वर्द्धन र प्रवर्द्धनका निम्ति गठित र सञ्चालित उक्त साहित्यिक कार्यक्रमले आफ्नो विशिष्ट योगदान दिँदै आएको छ। हालमा यस संस्थामा अजय खँड्का, अजय श्रेष्ठ, भूपेश शर्मा, गणेश बस्नेत आदि सक्रिय रहेका छन्। यसले उनन्चालीसौं प्रकरण सामसिङमा मनाई पचासौं प्रकरण चाही बाग्राकोटमा धूमधामको साथ मनायो। अब यसले सय प्रकरणको खुड्किलो पार गर्दैछ। सय प्रकरणसम्म आउन यसले धेरै समस्या झेल्नु पर्यो, आर्थिक कठिनाइको सामना गर्नुपर्यो। बीच बीचमा बिसाउँदै, बिलाउँदै र बौरिदैं भए पनि सय प्रकरण पुग्नु पनि एउटा महत्त्वपूर्ण उपलब्धि हो ।
साहित्य परिक्रमाले युवा पुस्ताका एउटा ठूलो जमातलाई साहित्य मुखी बनायो। विद्यार्थी पुस्तालाई पनि साहित्य लेख्ने परिवेश बनाइ दियो। नयाँ नयाँ हाँचका कवि गजलकार कथाकार बनायो। यसले डुवर्सव्यापी एउटा नयाँ पुस्तालाई साहित्यमा रूचि लिने बनायो, साहित्य लेख्नेहरूलाई मञ्च निर्माण गरि दियो । यसले स्वर्ण प्रकरण विशेषाङ्क पनि प्रकाशित भएको छ ।
४. डुवर्स नेपाली साहित्य विकास समिति र डुवर्स नेपाली साहित्य सभा
डुवर्सको मुख्य साहित्यिक संस्था डुवर्स नेपाली साहित्य विकास समितिले त्यहाँको नेपाली साहित्यको उत्थान गर्न कम्मर कसेको देखिन्छ। सन् १९७४ मा स्थापित यस समितिले घरी कुद्दै र घरी बिसाउँदै आफ्नो कार्य गरिरहेकै छ। यसले डुवर्समा अभिभावक संस्था बनी धेरै साहित्य सेवा गरिरहेको छ। किताबसिंह राई, सुखमन मोक्तान, इन्द्रबहादुर गुरूङ, गोपालसिंह विश्व, सितम मोक्तान, ललित न्यासुर, श्रीनारायण प्रधान, अबीर खालिङ आदिले यसलाई गति दिन काम गरिरहेछन् । बेला बेलामा साहित्यिक कार्यक्रम आयोजना गर्नु, पुस्तक प्रकाशन गर्नु आदि जस्ता कार्यक्रम गरिरहेको देखिन्छ। यसले आफ्नो साहित्यिक पत्रिका अवलोकन पनि प्रकाशित गरिरहेको छ। यस संस्थाले अझै धेरै साहित्यिक काम सम्पन्न गर्न सक्छ। अहिले आएर यो संस्थाले आफ्नो स्थापनाको स्वर्ण जयन्तीको अवसरमा भव्य कार्यक्रम सम्पन्न गर्न लागिरहेको छ। यसै वर्षको डिसेम्बरको अन्तिम तीन दिनहरूमा तीन दिन व्यापी राष्ट्रिय उत्सवको रूपमा वीरपाडामा सम्पन्न गर्न लागिरहेको छ।
डुवर्स नेपाली साहित्य सभा-
यसैगरी २६ अक्टोबर २०१६ मा डुवर्स नेपाली साहित्य सभा डुवर्सका केही उत्साही युवकहरू जस्तै दिलीप शर्मा घिमिरे, किरण उपाध्याय, उमेश प्रधान, आकाश प्रधान, शिवराज थापा, बुद्धि लामा, सुरज शर्मा, नारायण प्रधान आदि जस्ता मिलेर डुवर्स नेपाली साहित्य सभा भन्ने साहित्यिक संस्थाको रूपमा स्थापना गरेका छन्। यसले पनि डुवर्सेली नेपाली साहित्यलाई गति दिन केही साहित्यिक कार्यक्रम गरिरहेको छ। यसले आफ्नो मासिक भेला कार्यक्रम साहित्य चौतारी सञ्चालन गरेको छ। यसले २५औं प्रकरण पूरा गरेको छ। यसले वार्षिक रूपमा इन्द्रबहादुर गुरूङ युवा पुरस्कार र कृष्णभक्त खँड्का पुरस्कार वितरण गर्ने गर्दछ। यसका साथै यसले नेपाली भाषाको कार्यशाला, भानु जयन्ती तथा अन्य साहित्यिक कार्यक्रम गरि आएको छ।
५. नेपाली कविता र डुवर्स-
नेपाली कविता विधाको विकासमा डुवर्स भूमिको पनि योगदान रहेको छ। टिस्टा नदीदेखि सुनकोशी नदीसम्मको यस विस्तृत स्थानलाई नेपाली कविताको इतिहासमा छुट्टै रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ। सन् १९४० मा दिलबहादुर सरदारको लोक काव्य अन्तर्गतको धामीको सवाई देखि नै नेपाली कविताको लेखिँदै आएको देखिन्छ। अहिले आएर यहाँको कविता निकै झ्याँगिएको पाइन्छ। यहाँको आफ्नै इतिहास, सामाजिक, राजनैतिक, आर्थिक, सांस्कृतिक परिवेश छ अनि यहाँबाट लेखिने कविताको स्वर भिन्न पाइन्छ। चियाकमान, खेतीपाती र वन बस्तीमा रहेका यस क्षेत्रका कविहरूका कवितामा जनजीवनका सुस्केरा, मर्म पीडा, सामाजिक-राजनैतिक-आर्थिक सङ्कट आदिलाई प्रमुख रूपमा स्वर दिएका छन्। प्रगतिशीलता नै डुवर्सेली कविताहरूको मुख्य स्वर हो। कृष्ण योञ्जन, किताबसिंह राई (अक्षरानुभूति, २०१४) इन्द्रबहादुर गुरूङको बेदुइन , यात्रा २०१८, लोकनाथ प्रधान, मणिकुमार थापा, नरेन्द्र खँड्का, टीका पराजुली, कमल थुलुङ (भाव विम्व, २०१०), जीवन राना (जीवनका मुक्तक), सिताराम काफ्ले (समयको अवसान, २०१२), अशोक विश्व (जीवन नदी), किशोर मोक्तान, शङ्कर प्रधान, रविन खवास, पदम भुजेल, गोपाल सिंह विश्व (युग र मान्छे, २०१३) वेगबसन्त थापा {पाठशालाको पहिलो दिन (बाल कविता सङ्ग्रह, २००४), म टिस्टा बगिरहेछु (२००७), निर्मल आग्रह (आधा पहाड, २०१६), अनन्त श्रेष्ठ, गणेश गजमेर (गाउँलाई भनेर, २०१३, समय सम्बोधन, (२०१९), रूपेश विश्व (स्वप्न बीज २०१३), किरण उपाध्याय (डुवर्स तिमी २०१४, घर), राजीव विश्व (कृष्णचुँडा, २०१८), विलोक खरेल (समयाभास, २०१९) नारायण प्रधान (आर्तनाद) आदि रहेका छन्। डुवर्सेली नेपाली कविताको अलगै पहिचान, स्वर, शिल्प र विषयवस्तु हुनाले छुट्टै अध्ययन गर्नुपर्ने देखिन्छ।
६. डुवर्स र प्रगतिवाद –
प्रगतिवाद भन्नाले के बुझिन्छ भन्ने परिभाषातिर नगएर डुवर्समा मार्क्सवादी चिन्तनले कतिको प्रभाव पारेको छ भन्ने कुरा अध्ययन गर्नुपर्ने देखिन्छ। शाब्दिक अर्थमा त डुवर्स भन्नाले द्वार र छिर्ने गल्छौंडा बुझिन्छ। भुटान, आसाम बंगाल छिर्ने भूभाग भनेर डुवर्सको नामकरण भएको हो भने पनि सही होला। यस बारे यहाँ डुवर्सको नामकरण, इतिहास, भूगोल आदि जमर्को नगरी आफ्नो सोझो कुरा व्यक्त गर्ने प्रयास मात्र गरिन्छ। आम मानिसका निम्ति डुवर्स भन्नाले चियाबारी, जङ्गल र सानासाना बजारहरू भएको एउटा प्राकृतिक सुन्दरताले भरिएको तर अल्पविकसित स्थान बुझिन्छ। यहाँका अधिकतर मानिस चिया श्रमिकहरू भएको ठाउँ हो। अधिकतर चिया श्रमिकहरूका बीचबाट प्रगतिवादी साहित्य सिर्जना हुनु नै अपेक्षित हुन्छ। चारैतिर चियाबगानका धुरा र पाडाहरूबाट अभाव, अपुग, अन्याय र असन्तुष्टिबीचबाट सिर्जिएको साहित्य कस्तो हुन्छ त। रातदिन कठोर परिश्रम, मेहनत, अभाव र अपुग, शोषण दोहनका भुवँरीमा शास्त्रीय र रोमान्टिक साहित्य अवश्य लेखिने होइनन्। यस्तोमा त वर्गसङ्घर्ष, क्रान्तिकारी चेतना, परिवर्तानाकांक्षी स्वर, शोषण र अन्याय अत्याचारको विद्रोहात्मक चेतनाका झिल्काहरू देखा पर्छन्।
डुवर्सबाट प्रकाशित भएका विभिन्न साहित्यिक पत्रिकाहरूमा विभिन्न स्वर उरालिएका रचना प्रकाशित भएको हुनपर्छ। अग्रदूत, दीपमलिका, इन्द्रधनुष, शिरीष, प्रयास, नायक, टिस्टा सुनकोस, कोपिला, मुना, अवलोकन, कुञ्चिका जस्ता पत्रिकाहरूले डुवर्सलाई बोकेका छन्। डुवर्सको आवाजलाई बुलन्द गरेका छन्, डुवर्सको स्वरलाई उरालेका छन्। बद्रीनारायण प्रधान, मणिकुमार थापा, जनार्दन थापा, विष्णु शर्मा अधिकारी, इन्द्रबहादुर गुरूङ, किताबसिंह राई, श्रीनारायण प्रधान, रूपेश शर्मा, रबिन खवास, कृष्ण योञ्जन, अजय खँडका, वेगबसन्त थापा, गोपालसिंह विश्व आदि आ-आफ्ना कृति लिएर देखा परेका छन्। यिनका कृतिमा प्रत्यक्ष-परोक्ष प्रगतिवादी चिन्तन पाइन्छ । अझ बद्रीनारायण प्रधानले त सैद्धान्तिक र सचेत रूपमा नै मार्क्सवादलाई अपनाएका हुन्। उनले आमा उपन्यासलाई नेपाली अनुवाद गर्नु, महर्षि कार्ल मार्क्सको जीवनी लेख्नु उनको आफनै सैद्धान्तिक अडानलाई स्पष्ट पार्नु हो। मौली र भुवँरी जस्ता उपन्यास र संगत कथासङ्ग्रहमा उनी प्रगतिवादी देखिन्छन्। उनी बाँचुञ्जेल प्रगतिवादको एउटा मूल खम्बा भएर लेखिरहे। उनले नै कथा, उपन्यास, समालोचना र निबन्ध लेखनमा प्रगतिवादी चेतनालाई अघि बढाइरहे । उनको प्रगतिवादी लेखनलाई पालो दिन रूपेश शर्मा, अनन्त श्रेष्ठ, अजय खँड्का आदि देखा परेका छन्। यद्यपि अझै प्रखर रूपमा प्रगतिवादी सिद्धान्तका आधारमा सिर्जना र दृष्टि लिएर रूपेश शर्मा समालोचनाको फाँटमा देखा पर्छन्। यस कृतिलाई डुवर्सको मात्र नभएर भारतीय नेपाली समालोचनामा एउटा उत्कृष्ट समालोचनाको पुस्तक मान्न सकिन्छ ।
७. डुवर्सको परिप्रेक्ष्यमा साहित्यकारहरू –
डुवर्समा विभिन्न प्रतिकूल परिस्थितिबीच पनि नेपाली साहित्य फले-फुलेको छ। नेपाली साहित्यको श्रीवृद्धिमा यस क्षेत्रको पनि योगदान रहेको छ। उनले डुवर्समा आएर समालोचनाको जग बसालेका हुन्। डुवर्सेली साहित्यको लेखाजोखा र सर्वेक्षण कार्य शङ्कर प्रधानले गरेका छन्। यहाँ अन्य विधाका तुलनामा कविता विधाले ढाकेको छ। यहाँबाट अन्य विधाका तुलनामा कविता सङ्ग्रह बढी प्रकाशित छन् जो अन्य ठाउँमा पनि त्यही हुन्छ। यहाँबाट हालसम्म अट्ठाइसवटा कविता सङ्ग्रह, दुईवटा खण्डकाव्य, चारवटा गीत सङ्ग्रह, एउटा गजल सङ्ग्रह, तीनवटा मुक्तक सङ्ग्रह गरी जम्मा चालिसवटा कविताकृति, बीसवटा कथासङ्ग्रह प्रकाशित भएका छन्। यद्यपि अहिले त्यो सङ्ख्या बढेर गएको पाइन्छ।यता उपन्यास भने सातवटा मात्र जो अत्यन्त थोरै प्रकाशित छन्। चारवटा एकाङ्की सङ्ग्रह प्रकाशित देखिन्छन्। विष्णु शर्मा अधिकारी, बद्रीनारायाण प्रधान आदि मात्र उपन्यास लेखनमा देखिएका हुन्। बद्रीनारायण प्रधानले डुवर्सलाई सिङ्गै बोकेका थिए। उनका मौलिक र अनूदित गरी लगभग एघारवटा जति कृति प्रकाशित छन्। उनले बाग्राकोटदेखि लिएर समग्र डुवर्सलाई नै साहित्यिक सामाजिक र राजनैतिक अभिभावक बनेर समाजलाई ठुलो योगदान दिएका हुन्। बाग्राकोटको साहित्य परिक्रमा भन्ने मासिक साहित्यिक भेला को पनि उनी मूल अभिभावक र स्तम्भ बनेका थिए। अर्का किताबसिंह राईले पनि साङ्गठनिक रूपमा डुवर्सलाई बोकेर हिँडेका थिए। उनका दुईवटा कवितासङ्रग्रह- जीवनफूल (१९८०) अक्षरानुभूति (२०१४), कथासङ्ग्रह – कलिलो फूल गुलाबको (१९८५) तथा लेखसङ्ग्रह -आँखीझ्यालबाट (१९९७) र सिर्जना र समीक्षण (२०१०) उनका कृति प्रकाशित देखिन्छन्। गोपालसिंह विश्वको डुवर्सका केही साहित्यिक व्यक्तित्वहरू पुस्तकमा डुवर्सका सोह्रजना वरिष्ठ साहित्यकारहरूको जीवनी, व्यक्तित्व र कृतित्वबारे केलाएका छन्।
यीबाहेक अन्य अनुवाद र सम्पादित र दस्तावेजी कृतिहरू पनि प्रकाशित गरेका छन्। बद्रीनारायण प्रधान र किताबसिंह राईले लगाएको गुण र ऋणलाई डुवर्सले पनि केही हदसम्म भए पनि फर्काउने प्रयास गरेको छ। कालजयी कर्महरूमा बद्रीनारायण प्रधान (२०१४, सम्पादक रूपेश शर्मा) नामक स्मृति ग्रन्थ, बद्रीनारायण प्रधान समृति प्रतिष्ठान र बाग्राकोटा उहाँको सालिकको स्थापन आदि कार्यले उनलाई अमर बनाउने कार्य भएको छ। यस्तै गरी कितापिंह राई : कीर्ति र कृति (२०१८) नामक स्मृति ग्रन्थको प्रकाशनका साथै सालिक स्थापनाको जमर्को पनि गरिएको छ। प्रधानको स्मृति ग्रन्थ धेरै पक्षमा उत्कृष्ट बनेको छ भने किताबसिंह राई स्मृति ग्रन्थ पनि धेरै मेहनत, परिश्रमका साथ प्रकाशित गरिएको छ।
८. आख्यान साहित्य र डुवर्स-
हालसम्म डुवर्सबाट बद्रीनारायण प्रधान र विष्णु शर्मा अधिकारीका मिलाएर जम्मा सातवटा मात्र उपन्यास प्रकाशित छन्। कथा साहित्यमा भने डुवर्स अघि छ। मायादेवी योञ्जन, एस एन छेत्री, कृष्णभक्त खँड़का, मदन खँडका, कृष्ण योञ्जन गडबडे, अशोक रोका, किताबसिंह राई, इन्द्रबहादुर गुरूङ, बद्रीनारायण प्रधान, अबीर खालिङ आदि कथा साहित्यमा उल्लेखनीय देखा पर्छन्। अशोक रोका पनि अघि छन्। उनको विसर्जन, सुनयना जस्ता दुईवटा उम्दा उम्दा कथा सङ्ग्रह प्रकाशित छन्। समाजमा घटेका घटनाहरूलाई कथामा बुनेर कलात्मक रूप दिएका छन्। अबीर खालिङको दार्जिलिङ मेमोर्फोसिस, विस्थापन पनि एउटा चर्चित र प्रयोगशील नयाँ शिल्पको कथासङ्ग्रह हुन्।
९. नेपाली समालोचना र डुवर्स –
डुवर्समा समालोचना टाक्सिएको छ। डुवर्समा आफ्नो कर्मक्षेत्र बनाएर बसेका जीवन नामदुङले सन् १९७८ मा प्रकाशित पुस्तक नेपाली साहित्यका भौंप्वालहरूका माध्यमबाट डुवर्समा पुस्तकाकार रूपमा समालोचनाको घरेडी बसालिदिएका हुन्। यसपछि सन् १९९१ मा मननारायण प्रधानको केही साहित्यिक अध्ययन र मूल्याङ्कन पुस्तक डुवर्सको दोस्रो समालोचनात्मक कृति हो। यसपछि जनार्दन थापाले पनि प्रगतिवादी समालोचनालाई अघि बढाएका छन्। उनी पनि निष्ठावान्, निर्भीक र व्यवहारिक समालोचक हुन्। उनले मार्क्सवादीय सौन्दर्यशास्त्रीय समालोचना पद्धति अपनाएका छन्। यद्यपि उनको समालोचना क्षेत्रमा पुस्तकाकार रूपमा कृति प्रकाशित भए भएका छैन। किताबसिंह राईको सिर्जना र समीक्षण (२०१०) समालोचनात्मक पुस्तक प्रकाशित देखिन्छ। यसभित्र रहेका जम्मा तेह्रवटा लेखहरूमा दसवटा भने समालोचनापरक र बाँकी तीनवटा भने सामान्य सांस्कृतिक, शैक्षिक र नेपाली भाषिक पठन-पाठनको स्थिति लेखाजोखा गरिएको छ। समालोचनापरकमा पनि सर्वेक्षणपरक, कृतिपरक र कृतिकारपरक रहेका छन्। यस पुस्तकको खास मूल्य भने सर्वेक्षणात्मक समीक्षामा रहेको पाइछ। कोही विद्यार्थी-शोधार्थीले डुवर्सको साहित्येतिहास र सर्वेक्षण गर्नु परे किताबसिंह राईको यस पुस्तक विशेष महत्त्वको हुन्छ। शङ्कर प्रधानका पनि समीक्षै समीक्षा (२०१३), कालअनुरूप कविता (२०१५) र डुवर्सका कृतिहरू (२०१६) गरी तीनवटा समालोचनात्मक कृति प्रकाशित देखिन्छन्। यसमा डुवर्सका कृतिहरू भने डुवर्स क्षेत्रका साहित्य सर्वेक्षण र अनुसन्धान गर्ने र रुचि राख्ने विद्यार्थी र अन्वेषकका निम्ति भने निकै उपयोगी बनेको छ। यसभित्र डुवर्सबाट प्रकाशित ११९ वटा विभिन्न विधाका पुस्तकहरू र ९६ वटा पत्रिकाहरूबारे संक्षिप्त रूपमा भए पनि समीक्षा-टिपोट गरेका छन्। रूपेश शर्माको सिर्जना र दृष्टि (२०१७) पनि निकै महत्त्वपूर्ण समीक्षात्मक पुस्तक हो। गोपालसिंह विश्व, सिताराम काफ्ले, मननारायण प्रधान, बिर्ख खँडका डुवर्सेली, डा दिल कुमार प्रधान तथा अब नयाँ पुस्ताका राजीव विश्वकर्मा, विक्रम राई आदि जागरूक भएका छन्।
१०. उपसंहार
यसरी हेर्दा डुवर्सभूमि चियाखेती र अन्य अन्नादिका निम्ति मात्र नभएर साहित्य सिर्जना गर्नका निम्ति उर्वर भूमि हो । यद्यपि यहाँका गोर्खाली समुदाय विभिन्न आर्थिक, सामाजिक, राजनैतिक, भौगोलिक आदि समस्यासित जुझ्दै भए पनि नेपाली साहित्यको श्री वृद्धिमा लागिपरेको देखिन्छ। त्यहाँबाट पनि नेपाली कथा कविता, समीक्षा, निबन्ध आदिका ग्रन्थ भटाभट प्रकाशित भइरहेका छन्। नयाँ नयाँ लेखकहरूको आगमन भइरहेको छ। उपन्यास भने डुवर्समा टाक्सिएको छ। बद्रीनारायण प्रधानले नेतृत्व गरेको डुवर्स अब नेपाली साहित्यको अर्को केन्द्र बन्न पुगेको छ। आशालाग्दो स्थिति छ। पचास वर्षको यात्रा तय गरेको डुवर्स नेपाली साहित्य विकास समितिले नेतृत्व गरेर अबका दिनमा नेपाली भाषा र साहित्यको अझ व्यापक विस्तार र विकास गर्ने भन्ने कुरामा आशावादी छौं।
000
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सन्धान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३), चिन्तन समीक्षण (२०२४) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।
