राजेन्द्रमान डङ्गोल
प्रकृतिको कलात्मक कृति हो– मानवजाति र भावनालाई अभिव्यक्त गर्ने अत्यन्तै सुन्दर माध्यम हो– मान्छेको कला ।
०००
एकैचोटि पो हुन्छ, म कोठाबाट बाहिर निस्कनु र पूर्वी क्षितिजबाट बालसूर्यले मुहार देखाउनु ।
क्षितिज सौन्दर्यको यो लालिमा देखिँदा बिहानको सवा छ बजेको छ । हिजो राप्तीको पुलबाट हेर्दा हेर्दै पश्चिम क्षितिजमा बिलाएको उही घाम आज नयाँ उत्साह र उमङ्गका साथ टुप्लुकिएको छ । आकाशमै अस्ताउने र उदाउने प्रकृतिको नित्य नियम अर्थात् गमन र प्रत्यागमनको सिलसिला न हो यो ! पृथ्वीले सूर्यलाई निरन्तर परिक्रमा गर्ने हरेक दिन र रातको यही उपक्रमसँगै चलिरहेको छ, प्राणीजगत्को जीवन यात्रा ।
०००
पातलो सर्टमाथि आङमा विन्डप्रुफ ज्याकेट उनेको छु । शिशिर नसकिएकोले होला, चिसै लागिरहेछ मलाई माडीको बिहान । फेरि कम्ता नमिठो हुँदैन तराईको चिसो । यही भएर त होला, गोरु बेचेर चैतमा राडी किन्थे रे उहिलेका बुढा । उखानमात्र त कहाँ होला र यो !
ज्यान तताउन यताउति गर्छु म ।
पातलो बस्ती देखिन्छ माडीको लक्ष्मीनिवासमा । तुलसीरामको जस्तै होमस्टे छन् वरिपरि । फराकिला आँगन । पिँढी र बार्दली निकालिएका दुईतले घरहरू । होमस्टेको लागि भने सबैले आधुनिक घर बनाएका रहेछन् । ‘माडी भ्यु सामुदायिक होमस्टे’का अन्तर्गत चलिरहेका छन्, यहाँका होमस्टे । अतिथि आगमन हुँदा पालैपालो स्वागत र सत्कार गर्ने अवसर पाउँछन् तिनले ।
पहिले पहिले चितवन आउँदा सौराहास्थित ‘इडेन गेस्ट हाउस’मा बसिन्थ्यो । खडाईले बारेको छप्पडमा सुतिन्थ्यो । माटोको लिउन र खरको छानोले गर्मीमा शीतल र जाडोमा न्यायो महसुस हुन्थ्यो । पङ्खाको चलन नै थिएन उति बेला ।
घरसँगै उभ्याइएका परालका सुरिला सुलीले गाउँको झल्को दिएका छन् । होमस्टेका लागि बनाइएका संरचना पुरानै शैलीमा बनाइएका भए ठाउँअनुसारको अनुपमता झल्कथ्यो कि भत्रे लागिरहेछ मलाई ।
चारपाटे रुमाल जस्तै चिटिक्क परेका खेतका गरा । सुत्ला च्यापेका मकैका बोट । तोरीको पहेँलो रङ । बसन्ते गहुँका बाला । हरिया सागसब्जीले भरिएका छन् करेसाबारी । हरित क्रान्तिको सूक्ष्म दृष्टान्त हो यो । श्रम गर्न सके के फल्दैन चितवनको माटोमा ? धान यहीँको । मकै यहीँको । तरकारी यहीँको । भुटुन यहीँको । सबैथोक तरोताजा खान पाउँछन् यहाँ आउने पाहुनाले ।
कुनै चित्रशिल्पीका रङहरूले सजिएको क्यानभासझैँ लाग्छन्, माडीका यी दृश्यहरू । नि:शब्द हुन पुग्छु । यो सौन्दर्य वर्णन कसरी गरूँ भन्ने भइरहेछ मलाई ! भन्न त ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ भन्छन् क्यारे । साँच्चै, म आशुकवि भइदिएको भए त सायद एउटा सुन्दर कविता कोरिदिन्थेँ होला । तर, म त एउटा यायावर न परेँ । केवल पौडिन विवश छु स्वैरकल्पनामा ।
कति व्यावहारिक रहेछन् तुलसीरामका छोराछोरी ! छोरी दैलोकसेर गर्दै । छोरो चुलो सल्काउँदै । उनी आफैं चाहिँ भैँसी दुहुँदै । सबै आ–आफ्नै काममा व्यस्त । आमा घरमा नभएको बेला छोराछोरीले नै घर धानिदिने भएपछि के चाहियो र तुलसीरामलाई । आदर्श परिवारको एउटा नमुना !
तुलसीराम दुध चिया बनाउँछन् ।
लाहुरी भैँसीको ताजा दुध । त्यसमाथि कुँडे डढेको वासना । आहा, क्या मिठो ! कराईको पिँधमा कुराउनीको खात लाग्दै गएपछि डढेको वासना आउँछ । खुब मनपर्छ मलाई यो वासना । एक कप पिउँदा धीत मर्दैन मलाई । भनिहाल्न त नमिल्ने तर कप चाहिँ साह्रै सानो ।
उनले बनाएको चिया पिउँदै गर्दा काकीआमालाई सम्झन्छु म । उति बेला उनको सानो पसल थियो नुवाकोटमा । यस्तै चिया बनाउँथिन् उनी । उनको हातले बनाएको चिया पिउन मान्छेहरू सखारै लाम लाग्थे । चिया बनाउँदा बनाउँदै जीवन बितिगयो मेरी काकीआमाको । उनको देहावसानपछि यस्तो चिया पिउन पाएको थिइनँ मैले ।
०००
आजै घुमी भ्याउनु छ– बैकुण्ठ ताल र राम मन्दिर । योभन्दा अघि सरसरती सोमेश्वर गढी घुम्ने योजना बनाएका छन् यदुनाथ भट्टराईले । निमन्त्रणा उनको । प्रस्ताव उनको । उनले जहाँजहाँ लान्छन्, हाम्रो काम चाहिँ लुरुलुरु जाने मात्र ।
चितवन आउने निश्चित भएपछि मलेखुका मित्र षडानन्द बाराकोटीजीलाई जानकारी गराएको थिएँ । कालिज र कडकनाथ लगायत थरीथरीका कुखुरा पालेका छन् उनले । चार महिनाअघिदेखि कडकनाथको झोल र ढिँडो खाने योजना बनाएका थिए । तर परिस्थिति प्रतिकूल भईदिँदा तीन पटकसम्मको योजना तुहिएथ्यो । यो पालि म ‘आउँदै छु’ भनेपछि बिछट्टै खुसी भएका थिए षडानन्दजी ।
फोनमा कुरा गर्दा उनले भनेका थिए– ‘यो पटक चाहिँ नढाँट्नुस् है !’
सकेसम्म ढिँडोको लन्च गर्न पाए हुन्थ्यो भन्नेमा छु म । तर आफूले मात्र चाहेर के गर्नू !
“लन्च गर्न मलेखु पुगिन्छ त ?” माधवजीलाई सोध्छु म ।
“लन्च होइन, डिनर गर्न चाहिँ पुगिन्छ ।” उनको जवाफ ।
“आज मलेखु बसेर भोलि बिहान सबेरै गए हुन्न ?”
“मलाई त हुन्छ । रमेश सर र धन सरलाई सोध्नुपर्छ ।”
धन सरलाई भोलि बिहानै खोटाङको बस समाउनुपर्ने जानकारी पाइयो । लौ बर्बाद !
आज मलेखु बस्दा भोलि बिहानै धन सरलाई सहज नहुने भएपछि षडानन्दजीकोमा खाजामात्र खाने निर्णयमा पुग्छौँ हामी । फेरि यता घुम्दा घुम्दै ढिलो भएर षडानन्दजीकोमा पस्न नभ्याइने पो हो कि ! चिन्ता चुलिन्छ मनमा ।
बिहानको सात बजिसक्छ माडी भ्यु होमस्टे छाड्दा । जीप हुइँकिँदै गर्दा नजरमा ठोक्किन आउँछन् हिजोका जस्तै खडाईले बारेका र खरले छाएका बस्तीहरू । मिलनचोकका महिलाहरू ट्युबवेल थिचिरहेका देखिन्छन् । भूमिगत जलभण्डारमा बस्नुको फाइदा यही हो । उनीहरूले ट्युबवेल थिचेर ह्वालह्वाल्ती पानी निकालिरहेको देख्दा ख्याल लोभ लाग्दैन मलाई । छ न त आफ्नो पनि काठमाडौँमा इनार छ नि । भएर के गर्नू ! पानी आए पो ! तीन हप्तामा एकचोटि पानी आउँछ धारामा । हिउँदभरि ट्याङ्करको पानी किन्दैको सास्ती । पानी नआए पनि महसुल असुल्न छोड्दैन सरकारले । कडा पो छ त नियम !
माडी नपा– ५ को भूगोलभित्रै गुडिरहेका छौँ हामी । बस्ती छाडेर अगाडि बढेपछि आइपुग्छ– छरछरे खोलाको किनारमा अवस्थित सशस्त्र प्रहरी बलको क्याम्प । यो सँगसँगै सुरु हुन्छ घनाजङ्गल । अगाडि बढ्दै जाँदा छरछरे खोलासित प्राण सम्बन्ध गाँस्दै गरेको देखिन्छ, एउटा मृग । मृगकै रूप धारण गरेर शिवजी वागमती किनारमा विहार गरेको किंवदन्ती छ । ‘कतै भगवान् शिव त होइनन् ? उता वागमती प्रदूषित भएर पानी खान छरछरे खोला आएछ हो कि क्या हो ?’ एक्लो मृग देख्दा मनले भन्छ ।
जीपको आवाजले दच्किन्छ र बुर्कुसी मार्छ मृग । बिचरा, नदच्किउन् पनि किन ! प्राण जोगाउन प्राणकै बाजी थाप्नुपर्छ यिनले । निरीह भएर बाँच्नुको पीडा छ यिनमा । बाघको भय त छँदै छ, पाएसम्म मान्छेले पनि पासो थाप्न कहाँ छोड्छन् र !
०००
छरछरे खोला तरेपछि उकालो लाग्छ जीप ।
जङ्गलभित्र जीपमा गुड्दै गर्दा सन् २००१ मा जीप सफारी गर्दाको झझल्को आउँछ मलाई । सौराहाबाट सुरु गरेर चितवन राष्ट्रिय निकुञ्ज हुँदै कसराको जङ्गलसम्म जीप सफारी गरेको थिएँ । फरक यतिमात्र हो– उति बेलाको ‘जीप सफारी’ बाघ हेर्ने प्रयोजनका लागि, अहिले गन्तव्य छिचोल्न ।
०००
के सारो केराका बोट हो, गाँठे ! सडकका दायाँबायाँ भर्खरै घरी निस्कन सुरु गरेका वनकेराका घारी देख्दा लोभिन्छु । बग्रेल्ती केरा पाक्ने याममा आएको भए त चाख्न पाइन्थ्यो होला । काठमाडौँमा कैयौँ दिनको बासी केरालाई दर्जनको एक सय असी तिर्नुपर्छ । यता यस्तो फालाफाल छ । अझ केराभन्दा पनि बुङ्गाको अचार पो मनपर्छ मलाई ।
०००
“लौ आइपुग्यो गढी प्रवेशद्वार”, चालक बोल्छन् ।
भर्खरै रमाइलो डाँडा पार गरे जस्तै लाग्थ्यो । कति छिट्टै सोमेश्वर पहाडको काँधमा पुर्याइसकेछ जीपले ।
स्वागतद्वारकै छेउमा सिमेन्टको मेच बनाइएको छ । मेचमा बनाइएका छन्, एक जोडी गैँडाका सुन्दर आकृति । अलि पर बनाइएको छ– आगन्तुकका लागि घाम र पानी छेक्ने ठाँटीसरि संरचना ।
जीपबाट ओर्लनेबित्तिकै सोमेश्वर गढी प्रवेशद्वारमा कुँदिएको एकजोडी मानव आकृतिले स्वागत गर्छ हामीलाई । द्वारको दायाँबायाँ निर्मित पूर्णकदका ती सुन्दर आकृतिले थारुजातिको पहिचान दिलाएका छन् । धोती–कछाडको पहिरनमा सजाइएको छ पुरुषलाई र छत्री ओढाइएको छ टाउकोमा । महिलालाई कालो ब्लाउज र घुँडासम्म आउने सेतो धोती लगाइदिइएको छ । दाहिने काँधमा सेतो पछ्यौरा राखिएको छ भने टाउकोको पृष्ठभागमा मयुरको प्वाँख सिउरिइएको छ । शिरमा शिरबन्दी, निधारमा टीका, गलामा चाँदीको माला र खुट्टामा कल्ली लगाइएको छ । नमस्ते गरिरहेका छन् दुवैले । यो भेगका भूमिपुत्र हुन् थारु जाति । नमस्ते गरिरहेका थारु महिला र पुरुषको आकृतिले न्यानो अभिवादनको अनुभूत गर्छु म ।
नमस्ते– हाम्रो संस्कार । नमस्ते– अभिवादनको काइदा अर्थात् स्वागत र सम्मानको प्रतीक । नमस्ते– नम्रताको मनोवृत्ति । संस्कृतमा ‘नम:’ को अर्थ ‘झुक्नु’ र ‘अस्ते’को अर्थ ‘अहङ्कार वा अभिमानले भरिएको’ । ‘नमस्ते’को गर्नुको अर्थ ‘मेरो अहङ्कारले भरिएको शीर कसैको सामुत्रे झुकाएको छु’ भन्ने हो । ‘नम:’ को अर्थ ‘मेरो होइन, सबै तपाईंकै’ भन्ने पनि हो । भनिन्छ– यसले अहङ्कारबाट माथि उठाउँछ स्वयम्लाई ।
नमस्ते गरिरहेका आकृतिलाई मोबाइलको मेमोरीमा सँगालिनरहन सक्दिनँ म ।
“पहिले त वसन्तपुरबाटै हिँडेर आउनुपथ्र्यो । अहिले यहाँसम्म सडक बनेको छ । गढीसम्मको दूरी डेढ कि. मि. हो यहाँबाट । आधा घण्टा लाग्छ । बाटो उकालो छ । सुस्तरी गएर आउनु होला !” चालक अर्जुन भन्छन् ।
प्रवेशद्वारबाट छिरेर खुट्किलामा पाइला राख्छौँ हामी ।
हिँड्न पाउँदा हर्षित भएको छु म । गुड्दा दृश्यहरू देखिन्छन् तर अनुभूति गर्नै पाइन्न । आफूलाई भने प्रत्येक दृश्य अवलोकन गर्नुमा कम मज्जा नआउने । त्यसैले त हिँड्नै रुचाउँछु म ।
खुट्किलाका दायाँबायाँका झाडीलाई सुम्सुम्याउँछु । बेसारजस्तो लाग्छ । अलैंचीजस्तो पनि लाग्छ । वनस्पति पनि के के हो के के । ठम्याउन सक्दिनँ ।
“के हो त यो ?” सहयात्रीहरूलाई सोध्छु म ।
रमेश सर अगाडि सरेर मैले जस्तै गरी पातलाई ओल्टाइपल्टाइ पार्दै भन्छन्, “यो त पानीसरो होइन र !”
पहिलोचोटि देख्दै थिएँ । थाहा थिएन मलाई के हो पानीसरो भनेको ।
फूलहरूमा फक्रिएको छ वसन्त । सौरभमा लट्ठिइरहेको छ, सोमेश्वर जङ्गलको सुकिलो पर्यावरण । एक बटालियन पुतली फुरफुर गरिरहेछन्, हाम्रै अघिल्तिर ।
पुतली– प्रकृतिको विचित्र छटा । पुतली– प्राकृतिक सौन्दर्य लालीमा ! पुतली– बेजोड सौन्दर्यको जीवन्त आकृति । फूलको सुमधुर वासना बोकेर रमाइरहेका पुतली देख्दा त्यसरी नै फुरफुरिन्छु म पनि ।
आकाशलाई छेकेका छन्, परीकथाका नायकझैँ लाग्ने लतिकाहरूले । र, त शीतल अनुभूत भइरहेको छ यति बेला । तिनै रुखका हाँगाबाट आइरहेको छ, चराचुरुङ्गीको कलरव । त्यसैको प्रतिध्वनि गुन्जिरहेछ पहराबाट । ध्वनि र प्रतिध्वनिको मझधारमा छौँ हामी ।
अघि छरछरे खोला तरेर उकालिँदै गर्दा चालक अर्जुनको मुखबाट ‘ढुङ्गा कुँदेर मूर्ति बनाइएको’ भन्नेसम्म चाहिँ सुनेथेँ । गाडीको आवाजले उनका कुरा विस्तारमा बुझेको थिइनँ । सोचेको थिएँ– कसैले एकदुईटा ढुङ्गा कपेका होलान् । तर होइन रहेछ ।
जाँदा जाँदै देब्रेपट्टिको ठुलो चट्टानमा शिव र पार्वतीको स्वरुप बनाएका रहेछन्– कलाकार लालकाजी लामाले । छेवैमा छ, इन्दिरा श्रेष्ठले आकार दिएको घुँगी । घुँगी पानीमा पाइने जीव र थारु संस्कृतिको अभिन्न अङ्ग । झट्ट हेर्दा चिप्लेकिराझैँ लाग्छ किन्तु थारू समुदायको मौलिक परिकार हो– घुँगी ।
यतिमात्र कहाँ हो र ! बाघ, साँढे, सिंह, शिवलिङ्ग, चक्र, देवीदेवता, दन्त्यकथाका परी र ऋषिमुनिका रूपमा पोखिएका छन् कलाकारका सुन्दर शिल्प । क्या बेजोडको प्रस्तरकला ! मूर्ति बगैँचा जस्तै लाग्छ । त्यही बगैँचामा फूल भएर फक्रिरहेका छन्– कलाकारका कला ।
किञ्चित माथि छ– ढुङ्गाले बारेको नागदेवताको सानो देवल । जलले परिपूर्ण छ– देवल सामुन्नेको खोबिल्टो र, त्यसैको अघिल्तिर छ– गजराजको टाउको । यसैमा टङ्कित छ– बुटवलका कलाकार जामबहादुर थापाको नाम । निर्जीव शिलामा कपिएको उनको यो नामले अमरता पाइरहने छ, आकाश–धर्ती रहेसम्म !
प्रस्तरमा झल्किएका छन्– पौराणिक, धार्मिक, ऐतिहासिक र सामाजिकपन । तिनले बोलेका छन्– प्रेम र सद्भाव । अचम्भित हुन्छु म हाम्रा कलाकारका अद्भुत कला देखेर ।
वाह ! हिंस्रक जनावरहरूको त्रासमा पनि शान्तिको आभास ? यस्तै सन्देश दिएझैँ लाग्छ, अनमरी तामाङद्वारा निर्मित लम्पसार फ्याउरोको मूर्तिले ।
दिनेश्वर महतोले कुँदेको चन्द्र सूर्य अङ्कित राष्ट्रिय झन्डासँगै मुठ्ठी कसेको हात भएको ठाउँमा पुगेपछि टुङ्गिन्छ, कलाउद्यान । नेपालको राष्ट्रियता बोलेको छ यसले । यी सबैसबै अवलोकन गरेपछि मेरो मन बोल्छ– “अमरताका लागि मान्छेमा कुनै न कुनै कला चाहिँ हुनैपर्नेरहेछ ।”
अलि माथि छ– शिवलिङ्ग । एकपछि अर्को दृश्य पढ्दै हिँड्दा सहयात्रीभन्दा म निकै पछि परिसकेको रहेछु । सोच्छु– अब त अलिक तन्कनुपर्छ । सोमेश्वर गढी पुग्नै लाग्दा मात्रै उनीहरूलाई भेट्छु म । अघि सिँढी चढ्दै गर्दा सुस्ताएका रमेश सर पनि जोसिएको देख्दैछु ।
थोरै तेर्पे उकालो चढेपछि पुगिन्छ गढी । ८३६ मिटरको उचाइ । दक्षिणी सिमानाको सबैभन्दा अग्लो पर्वत । बराहपुराण र शिवपुराणमा उल्लिखित क्षेत्र । सामरिक दृष्टिले महत्वपूर्ण भूबिन्दु । इतिहास भन्छ– पाल्पाका राजा मणिमुकुन्द सेनले बेलायती साम्राज्यबाट जोगाउन निर्माण गरेको गढी हो– यो गढी । घना जङ्गलको माझमा अवस्थित छ यो ठाउँ । गढीको एक छेउमा थुपारिएका ढुङ्गाहरू ऊ बेला लडाइँ गर्दाका हुन् भन्ने सुनेथेँ । विभिन्न आकृतिमा कुँदिएका सुन्दर शीलाहरुमा एक क्षण आँखा बिछ्याउँछु म ।
यत्रतत्र छरपस्ट छन्, पुराना इँटाका टुक्राटाक्री । एक छेउमा सोमेश्वरी कालिका मन्दिर छ । सामुन्ने एकेक थान त्रिशूल र घन्टा झुन्ड्याइएका छन् । अर्को छेउमा भग्न इनार छ । छक्क लाग्दो कुरा चाहिँ के भने गढीको भग्न अवस्थालाई नसुधारीकनै सय पर्यटकीय गन्तव्यको सूचीमा समाविष्ट गरिएको छ यसलाई । जीर्णोद्वार नै नभएको ठाउँमा आइपुग्ने पर्यटकले कस्तो सन्देश लग्लान् ? भग्न गढी जस्तै भग्न मेरो मनमा उब्जिन्छन् सवालहरू ।
गढीबाट फर्कनै लाग्दा मित्र षडानन्दजीको कल आउँछ मोबाइलमा ।
“कहाँ के गर्दै हुनुहुन्छ तपाईंहरू ?”
“सोमेश्वर गढीबाट ओरालिँदै ।”
“कति बेला प्रस्थान हो चितवनबाट ?”
“यहाँबाट सीधै वैकुण्ठ ताल र राम मन्दिर जाने योजना छ । भरतपुरबाट हिँड्दा दुई बज्ला कि ।”
“ल, त्यसो भए तपाईंहरू बिस्तारै आउनुस् ! म यता व्यवस्था गर्दै गर्छु । रमाइलो बनाउनुपर्छ आजको साँझ ।”
दशक नाघिसकेको छ उनको र मेरो मित्रता । अघिल्लो पटक जाँदा षडानन्दजीले कालो मासको दाल, मसिना चामलको भात, खसीको फ्राइमासु, काउलीको तरकारी र ट्वाक्क परेको नेपाली गोलभेडाको अचार तयार पारेका थिए । त्यसमाथि भातै ‘च्वार्रर’ हुने गरी खन्याइदिएथे तातो घ्यु । पेटमा दन्किरहेको भोकको आगो निभाएको थिएँ मैले ।
फर्कने बेला कोसेलीस्वरूप आलु र काउलीको झोला हातमा थमाउँदै भनेका थिए– “अर्को पटक त बस्ने गरी आउनू होला है !”
हामी मलेखुमै बस्दै छौँ भन्ठानेर होला मज्जाले हौसिएका छन् मित्र । यथार्थ कुरा उतै पुगेपछि बताउँला भनेर केही भनिनँ मैले । कतै रिसाउने पो हो कि भन्ने लागिरहेछ मनमा ।
०००
अघि उकालो लाग्दा बाटैमा लमतन्न परेर सुतेको ढुङ्गा त देखेको थिएँ तर त्यसमा बनाएको डुँड चाहिँ याद गरेको रहेनछु । ओरालो झर्दा पो देख्छु । सानोतिनो डुङ्गा जस्तै रहेछ, यसको लम्बाइ । पूरै झ्याउले ढाकेको छ यो । निर्माणकर्ताको नाम हेर्छु । कतै देख्दिनँ । ढुङ्गालाई कपेर पानी ट्याङकी बनाउनु पनि चानचुने कला होइन । सोमेश्वर पर्वतमा कलाको बीजारोपण त उहिलेदेखि नै भएको रहेछ नि ! अहिले पो सडकले सहज गरायो त । नत्र माडीको वसन्तपुरबाट आउँदा चालीस किलोमिटर हिँड्नुपथ्र्यो । उहिलेउहिले सोमेश्वर कालीका मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि यसरी पानी खुवाएर धर्म कमाउँथे हाम्रा पुर्खाहरू । अचेल त यात्रीका हातहातमै हुन्छन् पानीका बोत्तल । जे भए पनि पुर्खाको चिनो हो । यसलाई सफा गरेर पानी भरिदिए त कम्तीमा यहाँका पन्छीहरूलाई छरछरेखोला धाउनु त पर्थेन । शिल्पकारको आत्माले पनि शान्ति पाउँथ्यो होला । पुर्खाको सम्मान पनि त हुन्थ्यो नि ! ओरालिँदै गर्दा मनोलाप गर्छु म ।
०००
आफूसँग भएको पानीको बोतल गाडीमै छोडिएछ । बिर्सने बानीले आफैँलाई दिक्क बनाउँछ यदाकदा । त्यसो त कसैले बोकेका थिएनन् पानीको बोत्तल ! बिहान पिएको तीन कप चिया पसिना बनेर गइसकेको छ । तिर्खाले टपक्कै सुकिसकेको छ घाँटी । त्यही बेला हातमा ‘ड्यु’को जम्बो बोत्तलभरि पानी बोकेर उकालो लाग्दै गरेका एक अधबैँसेसँग जम्काभेट हुन्छ हाम्रो । त्यत्तिकै पानी माग्न पनि अप्ठ्यारो !
“नमस्ते हजुर ! कहाँबाट आउनुभएको होला ?” फगत् बोल्ने बहाना मेरो ।
“म यहीँ माडी– ५ कै हुँ ।”
“यहाँको शुभ नाम ?”
“शोभाकर चापागाईं ।”
अग्लो र छरितो ज्यान । शिरमा ढाका टोपी । झोला भिरेका । रातो सर्ट, कालो पाइन्ट र कालै ज्वारीकोटको पहिरनमा छन् उनी ।
“तपाईं यहाँको पुजारी ?”
“हजुर, हो ।”
“यहाँको पुख्र्यौली घर ?”
“पर्वत ।”
“सिमाना कहाँनिर छ ?” रमेश सरको सोधनी ।
“नाकनचुलीको ४५ नम्बर स्तम्भ नजिकै छ । उ: त्यो देउरालीबाट जानुपर्छ । पहिलेको सिमाना तीन किलोमिटर पर थियो । अहिले हामी उभिएको बिन्दु दशगजा । तर पानीढलो भनेर भारतले दाबी गरिरहेछ । उहिले राणाले सिकार खेल्ने प्रयोजनले बनाएको तबेलासमेतको व्यवस्थित मचानमा अहिले उनीहरूले क्याम्प राखेका छन् ।” बेलीविस्तार लगाउँछन् पुजारी ।
पुर्खाले बेलायती साम्राज्यबाट जोगाएको भूमि पो हो त । दाबी गर्दैमा पाउने कुरा हो र ? मनमा असह्य पीडा हुन्छ मलाई ।
भारतले मिचेको नेपालको भूमिको क्षेत्रफल जोड्ने हो भने एउटा सानोतिनो देश बराबरकै होलाझैँ लाग्छ । नि:सन्देह उनीहरूसित हाम्रो धर्म, संस्कार र संस्कृति मिल्छ । भाषा र रहनसहन पनि धेरथोर मिल्छ । मुखले चाहिँ ‘हामी बीचको जस्तो अद्वितीय सम्बन्ध कुनै देशसित छैन’ भन्छन्, त्यहाँका शासक । र, पनि विभिन्न बहानामा सिमाना मिचेकोमिच्यै छन् । कूटनीति कमजोर भएपछि गर्ने यस्तै त हो नि । अहिलेका नेताहरू ‘भारतीय विस्तारवाद– मुर्दावाद’ भनेर नारा लगाउँथे । कुनै बेला आफू पनि त्यस्तैको पछिपछि लागियो । अचेल त पश्चाताप पो लाग्छ मलाई । तिनै नेता सत्तामा पुगेपछि ‘चुँ’ बोल्न सक्दैनन् । छिमेकी अगतिलो भएपछि सास्ती पाइँदोरहेछ । सम्झेर ल्याउँदा पनि दिक्क लाग्छ मलाई ।
तिर्खाले मुख सुकिसकेको छ । पुजारीले ल्याएको चोखो पानी खान मिल्ने हो कि नाइँ । मागुँ कि नमागँु भइरहेछ ।
“यो पानी खान मिल्दैन होला है ?” दोमन भएरै सोध्छु म ।
“मिल्छ । खानुस् न !” बिनाहिच्किचाहट पानी दिँदै भन्छन् उनी ।
“मन्दिरमा अर्पिने जल के खानु ?” रोक्न खोज्छन् माधवजी ।
प्रत्युत्तरमा पुजारी भन्छन्, “हुन्छ, किनकि ह्वाँ भगवान् सम्झेर आउनुभएको छ नि त ! हृदयदेखि हामीलाई सम्झ ! गलत चिज नखाऊ भनेका छन् भगवान्ले ।”
लाग्छ– आवश्यकताको सिद्धान्त बुझेका रहेछन् पुजारीले ।
मैले मज्जाले पानीको घुट्की लगाएपछि सजिलो हुन्छ सबैलाई ।
“चैते दशैँमा ठुलो मेला लाग्छ यहाँ । माताको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने बलियो जनविश्वास छ । महाराष्ट्रदेखिकै भक्तजनहरू आउँछन् । तपाईंहरू पनि आउनुहोला !” अवगत गराउँछन् पुजारी ।
पौने दश बजिसकेको छ । निकै बेर पो अलमलिएछौँ । सोमेश्वरका पुजारीलाई बिदाइको हात हल्लाउनासाथ हतारिँदै फेदीतिर खुरमुरिन्छौँ ।
000
नियात्राकार परिचयः राजेन्द्रमान डङ्गोल विनपा नुवाकोट, कपास खोरियामा जन्मेका हुन् । विसं २०५५ सालमा “म नाटकको वियोगान्त पात्र” शिर्षक कविता त्रिशूली त्रिवेणीमा प्रकाशनसँगै साहित्य क्षेत्रमा उदाएका हुन् । उनको कलम कविता, नियात्रा, व्यक्ति शब्दचित्र लगायतका विधामा चल्ने गरेको छ । विशेष नियात्रा क।षेत्रमा बढी लगाव छ । उनका यात्राका पाइला (२०७६), पैतालामा हिउँ,आखामा हिमाल (२०७८) तथा बादलडाँडा (२०८०) तीन नियात्रा कृति प्रकाशित छन् । प्रस्तुत नियात्रा उनको नविनतम प्रकाशन ” बादलडाँडा” बाट लेखकबाट प्राप्त गरी प्रकाशन गरिएको हो । नियात्राकार राजेन्द्र हाल लोलाङ काठमाडौंमा बसोवास गर्छन् ।