संविधानमै छैन (लघुकथा)

लघुकथा

मित्र ‘उराठी’ गौतम

 

“हाम्रो माग पुरा गर ! पुरा गर !! पुरा गर !!!”
शान्तिपूर्ण रूपमा नारा लगाइरहेका थिए उनीहरूले।
माइतीघर मण्डलामा नारा लगाइरहेका उनीहरुको संख्या पुग-नपुग डेढ सय थियो होला तर त्यो भन्दा ठूलो थियो रमितेहरूको सङ्ख्या।
हुन पनि किन नहोस् ? यस्तो जुलुस त रमितेहरूले पहिलो पटक देखेका थिए काठमाडौंमा।
सबै विदेशीहरू मात्रै। कोही युरोपियन, कोही अमेरिकन, कोही अष्ट्रेलियन, विभिन्न देशका। त्यसैले त अनौठो मानेर हेरिरहेका थिए बटुवाहरूले।
“तपाइँहरूको खास माग चाहिँ के हो ?” आन्दोलित भीडतर्फ माइक र क्यामेरा सोझ्याउँदै पुग्यो पत्रकार।
“हाम्रोतिर कुनै देशमा कहिले महिनौं रातै रात हुन्छ त कहिले महिनौं दिनैदिन। अन्य कतिपय देशमा पनि हरदम चिसो रहन्छ। कतै मरुभूमि नै मरुभूमि टन्टलापुर घाममा उसिनिएर बस्नु परेको छ। घर बनाउँदा पनि अनिवार्य रूपमै वातानुकूलित बनाउनु पर्छ। जसले गर्दा प्राकृतिक रूपमा स्वतन्त्र ढङ्गले बाँच्न पाइएको छैन। कहिलेकाहीँ पहारिलो घाम लाग्दा उत्सव आए जस्तो लाग्छ। सबै मान्छेहरू समुन्द्र तटमा घाम ताप्न पुग्छन्……….”
“त्यो त स्वाभाविककै हो नि फरक फरक भूगोलको फरक फरक विशेषता।” आन्दोलनरत टोलीको तर्फबाट बोल्दा बोल्दै प्वाक्क बोल्यो पत्रकार।
“तर यही धर्तीमा यो नेपाल यति सुन्दर छ। प्रकृतिले दिएको अनुपम उपहार हो यो। यहाँको मौसम, यी खोलानाला, यी पहाड, हिमाल देख्दा स्वर्गको अनुभूति हुन्छ। यो छोडेर जान चाहँदैनौ हामी।”
“तब बस्नुस् ,घुम्नुस् मजाले के समस्या भयो त ?” केही समस्यै नभएको जस्तो गरि जान्ने पल्टिएर बोल्यो ऊ।
“हामी स्थायी रुपमै नेपाल बस्न चाहान्छौँ। यो धर्ती हाम्रो पनि हो। हामीलाई नागरिकता देऊ भनिरहेका छौँ। तर सरकार भन्छ तत्कालै दिने संविधानमा व्यवस्था छैन।” भीडबाट एकै स्वरमा गुञ्जियो उनीहरूको बुलन्द आवाज।

०००

कथाकार परिचयः कथाकार मित्र ‘उराठी’ गौतम अमरपुर गुल्मीमा जन्मेका हुन् र हाल जानकीनगर रपन्देहीमा बसोवास गर्छन् । स्कूले जीवनदेखि नै लेख्न थालेका उनको लकडाउनको उपहार( कविता संग्रह)-२०७७ मा प्रकाशित छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *