नकुल सिलवाल
(नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ मनु ब्राजाकी को परिचय।)
मनु ब्राजाकीलाई नजिकबाट पढ्ने र परिचित हुने अवसर स्व. कुमुद देवकोटाबाट प्राप्त भएको हुनुपर्छ मलाई । उहाँहरूको उठबस निकै नजिकको थियो ।
स्व. देवकोटाको घरमा बहालमा बस्दा ब्राजाकीसँग परिचय भएको हो जस्तो लाग्छ । उहाँहरू समकालीन । सुरापानमा निकै अगाडि ।
लेखनको त के कुरा गर्नु मनुको । कथामा त्यति टड्कारो कथाकार मलाई उहाँ नै लाग्छ । अरू त अरू विधामा पनि बाँडिएका छन् मनु त ।
त्यसो त उहाँ गजल पनि लेख्नुहुन्छ, प्रतिनिधि गजलकार पनि हुनुहुन्छ तर कथामा उहाँ नेपालका तर्फबाट विश्वमा प्रतिस्पर्धा गर्ने हैसियत राख्नुहुन्छ । मनु ब्राजाकीभन्दा अगाडि पनि, पछाडि पनि र सँगसँगै पनि महत्त्वपूर्ण कथाकारहरू अरू पनि छन् ।
नेपाली कथाले लामो यात्रा तय गरिसकेको छ । त्यसलाई अझ लम्ब्याउन र उजिल्याउन मनुको विशेष योगदान देखिन्छ । नेपाली साहित्यमा पूर्णकालीन लेखक एकदम कम छन्, कुनै न कुनै रोजीरोटीको काम गर्ने नै छन् प्रायः तर मनु ब्राजाकी भने कथाको पात्र भएर यताउता चौबीसै घण्टा हिँडिरहनुहुन्छ । रातको बाहू बजे, एक बजे पनि; बिहानको चार बजे, पाँच बजे पनि; कुनै पनि समय उहाँ आफ्ना अनन्य हितैषी मित्रहरूकहाँ पुग्नुहुन्छ । यस अर्थमा पनि ब्राजाकी असामान्य मानिस हुनुहुन्छ ।
कथामा, साहित्यमा चार दशकसम्म निरन्तर सृजनामा रम्ने एक्लोप्रायः स्रष्टा मनु ब्राजाकीको कथासङ्ग्रह भविष्ययात्रालाई बगरले सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कारले पुरस्कृत गरी छापेको थियो । उहाँको चर्चित कथासङ्ग्रह “तिम्री स्वास्नी र म” नै हो। राम्रोमा चाहिँ “अवमूल्यन” पनि पर्छ, त्यस्तै अरू सबै ।
खानदानी, जमिनदारी परिवारमा जन्मेर पनि उत्पीडित, उपेक्षित वर्गको धेरै नजिक रहेर कथा रच्ने कथाकार ब्राजाकी जीवनको समग्र पक्षसँग सरोकार राख्नुहुन्छ । विशिष्ट गुण र विशेषतायुक्त कथा ‘अन्नपूर्णाको भोज’ समकालीन साहित्यले प्रथम अङ्कमा छापेपछि निकै ख्यातिमा आयो । बगरले ‘२०४७ का सर्वश्रेष्ठ स्रष्टा र सृजना’ मा भित्र्यायो र त्यसैबाट सर्वश्रेष्ठ घोषणा गरी यो ग्रन्थमा सजाइएको छ ।