नारी मनोविज्ञानको चोटिलो उपन्यास अतृप्ति

गद्य विविध पुस्तक समीक्षा

भानुभक्त खनाल, गरामनी, झापा

प्रजातन्त्र स्थापनापछि पनि रहेका अनेकौं वेथिति र विकृतिहरूका विरुद्ध भएका विभिन्न आन्दोलनहरूबाट विद्यार्थीमा परेको प्रभाव र समाजमा त्यसले ल्याएको सामाजिक, आर्थिक, राजनीतिक परिवर्तनलाई यस कृतिले समेटेको छ । साथै मानव मनमा रहने मनोविज्ञानको फ्रायडीय पक्ष पनि मज्जाले उघारिएको छ । सामाजिक तथा मनोवैज्ञानिक धरातलमा लेखिएको यो उपन्यासले पूर्वको तेह्रथुमबाट सुरु भएर काठमाडौंमा हुर्कि चितवनको भरतपुरमा पुगेर विश्राम लिएको छ । पूर्वी पहाड र काठमाडौंमा बोलिने भाषाको मिठो मिलावट पढिन्छ हरेक सम्वादमा ।

मानिसले किशोर अवस्थामा भेट्ने मनोभावसँग उपन्यासले निकै लामो यात्रा गरेको छ । पात्रहरूमा देखिएका ती संवेगात्मक अवस्थाहरू सामान्य लागे पनि तिनै मनोभावले नै मानिसलाई जीवन भरी डोहोर्‍याइरहेको हुन्छ । उपन्यासमा ती भावहरूमा रहने सार्वकालिक र क्षेत्रीय स्वभावहरूलाई पुस्तक भरी जतनले सिंगारिएको छ । मनोविश्लेषण गर्न रमाउने पाठकहरूलाई यस उपन्यासमा भेटिने पात्र र तिनका कृयाकलापहरूले विशेष किसिमको अध्ययन सामग्री पाएको बोध गराउन सक्छन् ।

सतहमा देखिने सामाजिक कथानकभन्दा किशोर किशोरीमा पाइने मनोवैज्ञानिक अस्थिरता र जिज्ञासाले उपन्यासलाई कौतुहलनीय बनाएको छ । तिनीहरूमा क्षणक्षणमा उत्पन्न हुने द्वन्द, मानसिक तनाव, सामाजिक तथा पारिवारिक जिम्मेदारी, जीवनलाई मान्छेको मूल्यमा बाँच्नु पर्दा गर्नुपर्ने संघर्षहरू, प्रेम, विवाह र जीवनका बीच गर्नै पर्ने सम्झौताहरू यस उपन्यासका खास विशेषता हुन् ।

नारीले मात्र अनुभूत गर्ने प्रसवपीडा, गर्भभित्र दिनदिनै विकसित हुँर्दै गरेको भ्रुण र हुर्किदै गर्दाको बच्चाको गतिविधिबाट प्रथमपल्ट आमा हुँदै गरेकी युवतीलाई हुने अनुभूति, बच्चा जन्मेपछि उनमा आउने मानसिक तनाव आदिलाई बुझ्न महिलाले नै लेखेको लेखन बढी आधिकारिक हुनसक्छ । त्यसलाई त्यो आधिकारिकता दिन उपन्यासकार मन्जु विमलीले भरमग्दूर प्रयत्न गरेको भेटिन्छ ।

उपन्यासभित्रका सबै पात्र  प्रारम्भमा किशोर अवस्थाका छन् । कालक्रममा तिनीहरू नै हुर्किंदै गएर युवामा परिणत हुन्छन् र युवाकै भूमिकामा सकिन्छन् । प्रत्येक पात्र नायकीय छ, खलनायक कोही छैन । उनीहरू आफ्नो कमजोरीले भन्दा पनि परिस्थितिले ताडित छन् । हरेकले परिस्थितिसँग गर्नुपर्ने सम्झौतासँग आफ्नो प्रेमलाई साँटेका छन् । जीवन सोचेजस्तो भन्दा पनि भोगेजस्तो हुन्छ । अधिकाँश व्यक्तिले मान्छेको मूल्यमा अस्तित्व जोगाउने हो भने बाँचिरहेको परिस्थितिसँग सम्झौता गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

नायिका इन्दिरा एसएलसीको परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययन गर्न आफ्ना दाजु र दिदीको पछि लागेर तेह्रथुमबाट काठमाडौं आउँछिन् । गाउँको घर, आमाबाबु, साथी सङ्गी, दश वर्षसम्म पढेको विद्यालय र प्रेमी किरणको स्मृतिलाई ताजै बोकेर राजधानी उत्रिन्छिन् । यत्रो ठूलो सहरमा आइपुग्दा पनि उताको रातदिनको सम्झनाले मनमा एक्लोपनको अनुभूतिले दिनदिनै निरास बनाउँदै लान्छ । कलेजको पढाइ, नयाँ साथीहरूसँगको सम्बन्ध, शहरको अन्जान भूगोलमा हराउँदै भेटिंदै गर्दा एकदिन एउटा निलो सर्ट लगाएको मान्छे देखापर्छ । यही रङको सर्टमा सधैँ किरणलाई देखिरहेका आँखा अनौठो तरिकाले आकर्षित हुन्छन् । यो सर्टमा सजिएको निसान बिस्तारै उनको मनमन्दिरमा हुर्किंदै जान्छ । निसानको उपस्थिति किरणको स्मृतिलाई छोप्ने बिर्को बन्न थाल्छ । निसानलाई उनको अवचेतन मनले किरणकै रूपमा स्वीकार्न थाल्छ ।  विस्थापनको मनोविज्ञानलाई यहाँ अत्यन्त सहज तरिकाले प्रस्तुत गरिएको छ । केही समय उनीभित्रको अतृप्ति यहाँ तृप्त भएको देखिन्छ ।

अल्पभाषी इन्दिराको कलेजकी एउटी साथी शशीसँग मित्रता बढ्छ । ऊ एकदम नै बोलक्कड र फुक्का स्वभावकी छ । एकदिन उसले इन्दिरालाई उनको कोठामा आएर आफूसँगै आफ्नो घरमा लान्छे । कोठामा बसेर गफ गर्दागर्दै उसले इन्दिरासँग अनौठो व्यावहार गर्दै पुरुषले महिलासँग गर्ने खालको शारीरिक गतिविधि गर्न खोज्छे, महिलाले महिलासँग यस्तो पनि गर्न सक्छन् भन्ने उनले कल्पना पनि गरेकी थिइनन् । यसमा उनले कडा प्रतिवाद गरेपछि शशीले अत्यन्त दयनीय भएर माफी माग्छे । शशीको दमित इच्छा प्रकट भएर यहाँ इन्दिरामाथि प्रस्तुत भएको देखिन्छ । शशीको किशोरी मन र शरीरमा उत्पन्न हुने यौन जिज्ञासाले उसको अवचेतन मनमा दवाव दिइरहेको थियो, जसलाई उसको चेतन मनले दबाउन असफल भएको कुरा यहाँ व्यक्तिएको छ ।

एकदिन इन्दिरा निसानको अङ्गालोमा बाँधिन पुग्छिन् । यो पनि उनको अवचेतन मन अनियन्त्रित हुनु नै हो तर उनको चेतन मन तत्काल सक्रिय हुन पुगेकाले कुनै अशोभनीय शारीरिक सम्बन्ध हुन पाएन । चेतन मन र अवचेतन मनलाई सन्तुलित राख्नमा इन्दिरा सफल देखिन्छिन् । यहाँ उपन्यासकारको लेखकीय सजगता पुष्टि हुन्छ । यो सम्बन्ध राख्न असफल भएपछि निसान टाडिएको छ । सहरी रवाफमा हुर्किएको निसानसँगको प्रेममा केही दिन रमाएकी इन्दिरा त्यसपछि सुदिपको प्रेममा पर्छिन् । सुदिपसँगको आकर्षणमा पनि निलो रङको सर्टकै भूमिका छ । तर सुदिप भने सचेत र नैतिकताबाट निर्देशित देखिन्छ । उसले प्रेमको हार्दिक सीमालाई सधैँ मर्यादित राखेको छ ।

समयको चक्रले इन्दिराको विवाह एकजना विदुर पुरुषसँग हुन पुग्छ । इन्दिराको विवाह हुँदै गरेको थाहा पाएको सुदिप उनको विवाहमा शुभकामनासहित उपहार लिएर पुग्छ । यो सुदिपको अवचेतन मन सक्रिय हुँदाको अवस्था हो । जो नैतिकता र अनुशासनसँग जोडिएको हुन्छ । पछि अर्को ठाउँमा त्यही सुदिपले इन्दिराको काखमा रहेको सानो छोरालाई फेरि पाँच सय रुपैयाँ हातमा राखिदिएर आफ्नो नैतिक चरित्रलाई दोहोर्‍याउँछ । तर उसले त्यसबेलासम्म पनि विवाह गरेको हुँदैन ।

इन्दिरा विवाहपछि अरुणको घर चितवन पुग्छिन् । दुबै काठमाडौंको एक नीजि स्कूलमा सँगै काम गर्ने हुनाले उनलाई बेहुली भित्र्याउन मात्र त्यहाँ लगिन्छ । त्यसबेला बेहुली हेर्न आएका महिलाहरूले उनलाई हेर्दै एकअर्कामा कानेखुसी गर्दै ‘पहिलेकी त्यस्ती, अहिलेकी यस्ती’ भन्दै गरेको सुन्छिन् । बेहुलो विदुर थियो भन्ने उनलाई त्यस अगि थाहा नभएको रहेछ । त्यसले मनमा झस्को त पस्छ तर, उति महत्व दिन्नन् । तर पहिलो सुहागरातमै इन्दिराले अरुणमा अनौठो शुन्यता देख्छिन् । यो क्रम निकै दिनसम्मै चल्छ । अरुणलाई भने यो रातले विगत बनेर डसिरहेको हुन्छ । उसमा पहिलो विवाहको सुहागरातमा जुन उत्साह र उर्जा थियो आज उति नै उदास र शिथिलता थियो । शारीरिक सम्बन्ध पनि प्रफुल्ल मनोविज्ञानको संवेगात्मक प्रतिकृया न हो !

तर केही दिनपछि बिस्तारै उसमा सहजता आउँदै जान्छ र उनीहरूको यौन जीवन रोमाञ्चकारी र उर्जामय बन्न थाल्छ । इन्दिराले अरुणलाई पनि निलो रङको सर्ट नै किनिदिन्छिन् र भन्छिन् ‘तपाईलाई यो रङ खुब सुहाउँछ ।’ तर उपन्यासको अन्त्यतिर जब उनले आफ्नो पहिलो प्रेमी किरणलाई चितवनको क्यान्सर अस्पतालमा मृत्युसँग जुधिरहेको देख्छिन् त्यही बेलुका घरमा आएर उनले लोग्नेको निलो रङको सर्ट उधार्दै भन्छिन्–‘अब तपाईलाई यो रङ सुहाउन छोड्यो । सेतो लगाउनु पहिलेको जस्तै ।’ यहाँ जीवन रङिगन मात्र हुँदैन ।

जब उनको स्मृतिमा सदा ताजा भएर आजसम्म बसिरहेको पहिलो प्रेमी मर्न लागेको थियो उनको जीवनबाट पनि मनको रङ उडेको देखिन्छ । अन्तत: जीवन रङहीन छ अर्थात सेतो । सम्भवत: जीवन चलाउने सम्झौता यहीँ आएर पुरा हुन्छ ।

उपन्यास प्रेम र नैतिकताको दोसाँधमा छ । यथार्थ जीवनमा पनि त्यही नै हुने हो । नारी मनोविज्ञानको गहिराइसम्म पुगेको यो उपन्यास मन्जु विमलीको सफल कृति हो । उनीबाट यस्तै वा योभन्दा राम्रा अरू कृतिहरूको पनि अपेक्षा गरिन्छ ।

०००

लेखक परिचयः समालोचक भानुभक्त खनाल अवकासप्राप्त अङ्ग्रेजीका प्राध्यापक हुन् । तेह्रथुममा जन्मेका उनी हाल गरामनि झापा बस्छन् । उनले फुटकर रुपमा संस्रण तथा समालोचना लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *