अस्तित्व (कविता)

कविता

अमर त्यागी

चिसो सम्भावनाको
झिसमिसे बिहानीमा
खोस्रेर पानीका पहाडहरू
बनाउँदै छु दैनन्दिनीका गोरेटोहरू
बसेर आगोको आसनमाथि
जप्दै छु म कर्मका ऋचाहरू
झ्वाम्म हामफालेर
परिस्थितिको पोखरीमा
बाँकटे हानेर पौडिँदै छु
छिचोलेर विघ्नका भँगालोहरू
स्वप्नको स्वर्ण भूमिमा
टेकेर यथार्थताको धरातल
गर्दै छु म जीवनको यात्रा
मानवताको मरुभूमिमा
दागबत्ती दिएर आकाङ्क्षाहरूलाई
ट्वालट्वालती हेरिरहेछु म
उमेर डढेर निस्किएको घुरमैलो धुवाँ
बगाएर खुसीका अस्तुलाई
वितृष्णाको मिसिसिपीमा
बाँचिरहेछु म अस्थिपञ्जर अस्तित्व ।

000

कथाकार परिचयः अमर त्यागी अमर बहादुर श्रेष्ठको साहित्यिक नाम हो । उनी ओखलढुङ्गामा जन्मेका हुन् । गीत, कविता, ताङ्का, सूत्रकथा, वाछिटा आदि विधामा लेख्छन् । उनका “बाँसुरीमा आँसुको गीत”(गजल): २०५७, “अक्षरहरूको देश” (कविता) : २०५८, “अनुभूतिको जुलुस” (सूत्रकविता) २०५९, “अभियुक्त ईश्वर” (तांका) २०६२,”अन्धसत्ता”(सूत्रकथा)२०७१, “अदृश्य “(बाछिटा)२०७८, “अक्लान्त” (बाछिटा)२०७८, “अमानव”(मुक्तक)२०७८ कृतिहरु प्रकाशित छन् । हाल उनी अमेरिकामा बसोवास गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *