बुवाको कविता

कविता

  राजेश ढुङ्गाना

 

लेख्छु भनेको कविता

बुवाको स्मृतिमा

तर

आँसुमा कविता नलेखिँदो रहेछ

त्यसैले लेख्न सकिन

बुवाको कथामा कविता

हो,

प्रत्येक पल्ट लेख्न खोज्दा

आँसुको बतासले

कापीको पन्ना उडाइ लान्छ

सक्दिन म लेख्न

फेरि पनि

बुवाको कथामा एउटा कविता

म जति बेला

जीवनको सबैभन्दा धेरै

आँसु रोएको थिएँ

मुटुमा

यति बेला पनि

लेख्न नसकेर

बुवाको कथामा एउटा कविता

केवल

बुवाले सधैँ खाने

एउटै थाल र गिलास हेरेर

मुटुमा

मुटुकै आँसु रोइरहेछु

सम्भवतः सक्दिन होला म

लेख्न, बुवाको कथामा

एउटा कविता ।

  

०००

  

कवि परिचयः कवि राजेश ढुङ्गानाको जन्म सिन्धुली तोश्राम खोलामा भएको हो । हाल उनी भद्रपुर झापामा बस्छन् । २०३६ ताक कविता प्रकाशनबाट साहित्य यात्रा थालेका उनको दुई कविता सङ्ग्रह प्रकाशित छ, “सुकिला मान्छेको सामयिक मृत्यु” (विसं २०७०) तथा “मैले खोजेको देश” (२०८१) प्रकाशित छन् ।

Leave a Reply