नवीन पौड्याल
नेपाली साहित्यमा नयाँ नयाँ साहित्यकारहरू दिनदिनै देखा पर्दैछन्। यो राम्रो लक्षण हो। कोही सेवानिवृत्त भएपछि साहित्य सिर्जनामा देखा पर्दछन् । सिक्किम भूमि पनि नेपाली साहित्यको फूल फुलाउन उर्वर स्थान हो। यहाँका मानिसहरूका विभिन्न अनुभूतिलाई साहित्यिक सिर्जनाको फूल फुलाइन्छ। सिक्किमको सरकार नै साहित्य र साहित्यकारप्रेमी छ। त्यहाँका विगत र वर्तमान सरकारले साहित्यकारले प्रोत्साहन दिन विभिन्न साहित्यिक कार्यक्रम, मान सम्मान, पुरस्करण आदि प्रदान गर्दै आएको छ। नयाँ नयाँ साहित्य सर्जकहरूको आगमन भइरहेको छ। त्यहाँका शैक्षिक संस्थानहरूबाट नयाँ पीँढीका सर्जकहरू देखा परिरहेका छन्।
हरि ढुङ्गेल अब नेपाली साहित्यमा छाएका छन्। उनी ९ फरवरी १९६१ मा जन्मेका हुन् स्व. मनमाया शर्मा र स्व. बिष्णुभक्त शर्मा ढुङ्गेलका छोराका रुपमा । उनी सानैदेखि कला क्षेत्रमा सक्रिय थिए। उनी नोभेम्बर १९८१ देखि जुन १९८३ सम्म स्नातक शिक्षक, जुन १९८३ देखि १९८७ सम्म पञ्चायत निरीक्षक, १९८७ देखि वित्त तथा लेखा अधिकारी भएर विभागमा कार्य गरी सेवानिवृत्त हुँदा शिक्षा विभागमा वित्त तथा लेखा विभागअन्तर्गत शिक्षा विभागका प्रिन्सिपल डाइरेक्टर रहेका थिए। उनी ३० सितम्बर २०१९ मा सेवानिवृत्त भएका हुन्। उनी सरकारी सेवाबाट सेवानिवृत्त भएपछि समाज सेवामा लागेका छन्। भारत प्रायः घुमेका छन्। बिदेशमा थाईल्याण्ड, मलेशिया, सिंगापुर, भुटान, नेपाल, अमेरिका आदि भ्रम गरिसकेका छन्।
उनी हालसम्म नाट्य सेवाश्री सम्मान (नेपाली साहित्य परिषद् सिक्किम), स्मृति चिन्ह(निर्वाणा प्रोडक्सन), अभिनन्दन पत्र, (राष्ट्रिय चलचित्र बिकास निगम मुम्बई) लगायत विभिन्न संघ संस्थाबाट अभिनन्दित भएका छन्।
उनका प्रकाशित कृतिहरमा हिमशिखा (यात्राको शुरुआत) कवितासङ्ग्रह, अमृत वर्षा (कथा सङ्ग्रह), यात्रा अमेरिकाको (यात्रा संस्मरण), मेरो जिन्दगी (कविता सङ्ग्रह), मनका इच्छाहरू (गीति एल्बम), हिमालदेखि सागरसम्म (यात्रा संस्मरण), तिर्खाएको मन (गीत सङ्ग्रह) रहेका छन्। प्रकाशित पुस्तकको सूचि अनुसार उनी कवि, कथाकार, गीतकार, नियात्राकारका रूपमा देखिन्छन्। उनी नेपाली साहित्य परिषद् सिक्किम (अध्यक्ष), अनेसास (आजीवन सदस्य), नियात्रा समाज नेपाल (आजीवन सदस्य), त्रिफला अन्तर्राष्ट्रिय पुस्तकालय धुलाबारी (आजीवन सदस्य), सिक्किम कलाकार संघ (अध्यक्ष) आदि जस्ता साहित्यिक संस्थानसँग संलग्न छन्।
उपर्युक्त उल्लेखित सातवटा पुस्तकका आधारमा हेर्दा उनी विभिन्न साहित्यिक व्यक्तित्वका धनी हुन्। उनी एक कथाकार, कवि, नियात्राकार हुन्। उनी अभिनेता पनि हुन्।
हरि ढुङ्गेल एक कथाकारका रूपमा सवल देखिन्छन्। उनको एउटा कथासङ्ग्रह अमृत वर्षा प्रकाशित छ। यसभित्र जम्मा बाह्रवटा कथाहरू समावेश भएका छन्। यसमा छोटा छोटा एक्काइसवटा कथाहरू सङगृहीत छन्। कथाहरू आफ्नै प्रकार र ढाँचामा छन्। कथा पात्र पात्राबाट होइन तर लेखक स्वयम् लेखकबाट सुनाइएको म छ। यो पनि एउटा प्रयोग नै हो। हाम्रा सांस्कृतिक परम्परा क्षय हुन थालेको, मानिसमा जातीय चेतना हराउँदै गएकामा लेखकले कथा बनाई प्रस्तुत गरेका छन्। यसमा रहेका एकाइसवटा कथाहरूमा सिक्कमको प्राकृतिक सौन्दर्य, सांस्कृतिक, धार्मिक दैवी समप्दाहरूको महत्त्व आदि कुराहरूली कथाका विषयवस्चु बनाइएका छन्। समाजमा व्याप्त कतिपय कुसंस्कार, अन्धविश्वास, रिस राग, एक अर्काप्रतिको द्वेष आदिलाई हटाउने र एउटा सभ्य र सम्पन्न समाजको निर्माण होस् भन्ने लेखकको सपना अमृत वर्षाको हरेक कथामा पाइन्छ। (सानु लामा, भूमिका, अमृत वर्षा)।
हरि ढुङ्गेलका हालसम्म दुईवटा कवितासङ्ग्रह हिमशिखा (यात्राको शुरूआत्) र मेरो जिन्दगी प्रकाशित छन्। यी कवितासङ्ग्रहहरूमा उनी कवितामा स्वच्छन्द विचरण गरेका छन्। आफ्नो भावहरूलाई कविताका माध्यममा उतारेका छन्। यसभित्र जम्मा एक सय एकचालिसवटा एकेक पृष्ठका गीतात्मक कविताहरू सङ्गृहीत छन्। यसमा रहेका कविताहरूलाई कविले गीत कतै भनेका छैनन्। यद्यपि यसमा गीतात्मक ढाँचा भने नपाइने होइन्। कतै प्रेमका भाव, कतै दार्शनिकता, कतै जीवनको अनुभव कतै नैतिक सन्देश, कतै जातीयबोध, कतै रूप सौन्दर्य वर्णन, कतै सामाजिक चिन्तन आदि भाव पाइन्छन्। यी कविताहरू प्रायः छोटा छोटा छन् तर गहिरा भावका छन्। प्रत्येक कविताको शीर्षकपछि बन्धनीभित्र कविताको दुई तीन शब्दमा मूलसार पनि राखिएको हुन्छ। जस्तै सोचाइ (घाम र जूनको कथा), हिँडाइ (केही खोजीमा) ए मेरी आमा (मन नदुखाउ है), सम्झौता (तिम्रो र मेरो) आदि जम्मै यस्तै खालका छन्। यो एक प्रकारको कविताको प्रयोग हो। कविताको आफ्नो स्वर, लय, विचार, आदर्शता आदिलाई अभिव्यक्ति दिएका छन्।
हरि ढुङ्गेलको साहित्य व्यक्तित्वमा सबैभन्दा प्रखर रूपमा देखा पर्ने भने नियात्राकार व्यक्तित्व हो। उनी हालसम्म उनका हिमालदेखि सागरसम्म र यात्रा अमेरिकाको गरी दुईवटा नियात्रा पुस्तक प्रकाशित छन्। उनले आफु दक्षिण भारत र अमेरिका भ्रमण गरेको यात्रा विवरणलाई साहित्यिक रस मिसाएर भ्रमण वृतान्तका दुईवटा पुस्तक लेखेर प्रकाशित गरेका छन्। यात्रा अमेरिकाको पुस्तकमा अमेरिकाका विभिन्न राज्य र शहरको भ्रमण वृतान्त पाइन्छ। यसमा अमेरिकी बसाईका क्रममा लेखकले देखेका भोगेका अनुभूतिलाई पाठक समक्ष उतारेका छन्। यसमा साङ्केतिक रूपमा भए पनि अमेरिकी इतिहास, त्यहाँको सामाजिक अध्ययन, अनुशासन , सांस्कृतिक अध्ययन गरिएको छ।
हरि ढुङ्गेल एक कुशल गीतकार हुन्। उनको तिर्खाएको मन गीतसङ्ग्रह प्रकाशित छ। यस सङ्ग्रहमा जम्मा एक सय पन्ध्रवटा गीत समावेश छन्। उनी आफै पनि एक सङ्गीतको पारखी हुनाले उनी गीत लेखनमा सचेत छन्। गीतका वर्ण, शब्द र वाक्य र अझ शब्द स्थान प्रयोगमा सचेत छन्। धेरै गेयात्मकता, संवेदनशीलता, सिर्जनात्मक कल्पना प्राचुर्य आदि जस्ता गुण पाइन्छन्। प्रत्येक गीतको शीर्षक राखिएको छ भने प्रत्येक शीर्षकले नै गीतको मूल मर्मको सङ्केत गरेको पाइन्छ। यसमा रहेका प्रत्येक गीतहरू गायन सहज छन्। प्रकृति चित्रण, मनमा उब्जेका रङ्गी-चङ्गी भावविम्ब, प्रेमका विभिन्न भाव, रोमान्टिक चेतना, स्थानीय रङ्ग चित्रण, सिक्किम प्रेम, मानवतावादी चेतना, रूप सौन्दर्य वर्णन, प्रकृतिको मनोरम चित्रण, प्रेमपीडा आदि कुरालाई गीतका विषयवस्तु पाइन्छन्। लोकचेतना, ग्राम्य बिम्बको कलात्मक प्रस्तुति पनि पाइन्छ। गीतमा फूल, हिँउ, माटो, ढुङ्गा, टिस्टा, रङ्गीत, पहाड़ पर्वत आदिका बिम्बको प्रयोग गरेका छन्। दृष्टान्तमाः
गीत मैले लेख्दै थिए सङ्गीत उनी भर्दै थिइन्
विचार बाँड्दै खुशीसँगै भावना सबै पोख्दै थिइन्।
हरि ढुङ्गेल एक कुशल अभिनेता समेत हुन्। उनले अभिनय गरेका केही चलचित्र, वृत्तचित्र भिडियो र नाटकहरूमा फाँसी र कलङ्क हुन् भने दोषी बञ्चरो भिडियो चलचित्र हो, माया गर्छु तिमीलाई, लेटर, आँधी, प्रियतमा,जङ्गबाज, मिसन लभ इन सिक्किम, प्रियसी, देशले रगत मागे ठुलो पर्दाका सिनेमा हुन् । आफ्नो हात जगन्नाथ, लक्ष्य सहकारी अभियान, सञ्जीवनी डकुमेन्ट्री मुख्य रहेका हछन्। उनले कुनै नाटक सिनेमामा नायकका रूपमा, कुनैमा खलनायकका रूपमा र कुनैमा मुख्य चरित्र अभिनेताका भूमिका निभाएका छन्। उनको जीवन्त अभिनयले दर्शक मुग्ध बन्ने गर्छन्।
नेपाली साहित्यमा हरि ढुङ्गेल अब परिचित भइसकेको नाम हो। यद्यपि उनी सिर्जना क्षेत्रमा ढिलै आएका हुन भन्न सकिन्छ। उनी एक कवि, कथाकार, नियात्राकारका रूपमा उदाइसकेका छन्। यसका साथै उनी एक कुशल अभिनेता पनि हुन्। उनी साहित्यिक सांगठनिक कार्यका साथै सिर्जनात्मक कार्यमा सक्रिय छन्। उनी अहिले दिनरात साहित्य चर्या, सङ्गत आदिमा संलग्न देखिन्छन्। उनका यात्रा साहित्य पनि आफ्न किसिमबाट विशिष्ट छ, त्यसैगरी कविताको पनि आफ्नै बान्की र स्वरूप पाइन्छ। उनी विभिन्न पक्षबाट साहित्य सेवामा उत्रेका छन्, कम्मर कसेका छन्। उनीबाट अझ धेरै आशा गर्न सकिन्छ।
०००
लेखक परिचयः नविन पौड्याल भारतको कालिम्पोङमा जन्मिएका हुन् । सन् १९८३ मा स्कूलको वार्षिक पत्रिका “सुमाइट” मा कविता प्रकाशन गरी साहित्यिक जगतमा प्रवेश गरेका हुन् । उनको लेखनको मूल विधा समालोचना हो । उनका आख्यान अनुशीलन(ईसं २०११), साहित्य अुशीलन (ईसं २०१४), साहित्य सनधान (ईसं २०१८), भारतीय नेपाली समालोचक कोष (ईसं २०२२), नेपाली गीतको सेरोफेरो( ईसं २०२३) लगायतका कृतिहरु प्रकाशित छन् । उनी भारतको कालिम्पोङमा बसोवास गर्छन् ।
विश्व परिक्रमालाई धेरै धन्यवाद..