गुलाबजस्तै भ्रम

कविता

जगन्नाथ डेलअमेरिका

 

तिमीलाई फुलाउन

मसँगै

फैलाएँ मैले मेरा हातका हाँगाहरू

छेड्दैछेड्दै गएँ जमीनलाई पाउहरूले

जरा/नङबाट बगे रगतका रगतहरू

औंला/डाँठबाट बगे पसिनाका पसिनाहरू

म फगत फैलाइरहें कर्मका हाँगाहरू

पठाइरहें सुवासका धुनहरू ।

 

तिमीलाई हँसाउन मसँगै

अर्को गुलाब बनाएँ तिमीलाई

बगाएर मायाको रगत

उभ्याएँ तिमीलाई अर्को बोटमा

फुटाएर पसिनाको मूल

भरें कोपिलाहरूको सपना तिमीभरि

ओढाएर विश्वासका पातहरू

छोपेर दुःखका काँडाहरू

उठाउँदै उठाउँदै

ठुलो झ्याङ बनाएँ तिमीलाई

सुन्दरीको बाक्लो केशजस्तो

मेरो धमनी तिम्रो जरामा गाडिदिएँ

मेरो रगत तिम्रो चमकमा चम्काइदिएँ

मेरो पसिना तिम्रा डाँठहरूमा भरिदिएँ

फूल तिमीतिरै फुलोस् भनें

फल तिमीतिरै फलोस् भनें

शीतल हावा तिमीतिरै पठाएँ

मधुर बास्ना तिमीभरि उठाएँ

पठाउँदा पठाउँदै हावा

उठाउँदा उठाउँदै बास्ना

बिर्सेर आफ्नो अनुहार

पँयाँलो भयो मेरो बोट/शरीर

झर्नथाले एकएक पातहरू

एक दिनको शिशिरमा

अर्कोदिनको सिरेटोमा

छेकेर मेरो श्वास

खोसेर मेरो आस

सबै उडाएर मिसाइदिएँ तिम्रो बोटमा

तिमी हाँसिरहेको देखेर मैले भनें,

आहा… कति सु्न्दर हुँदोरहेछ मृत्यु

हेरीहेरी अरूलाई उठाएर मर्नुमा,

म मरेको देखेर तिमीले भन्यौ,

आहा… कति मीठो हुँदोरहेछ जीवन

देखीदेखी अरूलाई ढलाएर बाँच्नुमा ।

Leave a Reply