पाँच रुप्पे घोगो

कथा

– जे.एन.दाहाल

 

“यो मादी जस्ती लोभी छ । उस्तै र’छ बुढी पनि ..”

रातो कुर्ता कालो सुरुवाल,  नाकको देब्रेतिर सानो नत्थी लगाएकी दुब्ली तारा एकाएक उसकी साथीतिर हेर्दै कटाक्ष गर्छे । उसका आँखा छेवैमा उभिएकी माधवीलाई हेर्दै चुलबुल गर्दै छन् । तर त्यो कथनमा कतैबाट पनि हास्यरस छैन, केवल व्यङ्ग्य छ । अनपेक्षित समयमा आएको कटाक्षले सोझो अनुहार जुधाउन सक्दिन  माधवी । ऊ कालो अनुहार बनाइ नङ टोकी सडकको दायाँ बायाँ हेरी रहेकी छ ।

कल्पना सडकको अर्को छेउतिरबाट ताराकै शैलीमा थप्छे, “एल्लाई लोभी सोभी नभन तारा । बरु बिचरीलाई पाँच रुप्पे घोगो भन !”

गोलो अनुहारकी कल्पना पहेँलो कुर्ता र जिन्स पाइन्टमा चप्पल पड्काउँदै अघि हिँड्दै छे । उसकै पछि छन् तारा र माधवी पनि।

“हा ऽऽऽ हा ऽऽऽ। ठिक भनिस् ।” उक्त कुराको समर्थन जनाउँदै एक छिन तारा जोडले हाँस्छे । त्यसपछि कल्पना आफ्नै अघिको बोलीमा हाँसो मिसाउँछे । ती दुवैले खिल्लि उडाएको बिचमा माधवी निःशब्द छे । उसको बोली आज एकाएक कतै गायब भएको छ । ती कुरा सुन्नु अनि नसुनेझैँ गर्नुबाहेक उपाय छैन । माधवी त्यही बाटो रोज्छे।

तीनै जना केटीहरूको छिनेको कम्मर,  दुब्लो शरीर, भर्खरै उठ्दै गरेको छाती सोझ्याउँदै चारआलीको बजार देखि बुधबारेतिर लक्षित छन् । तिखा आँखा सडक वरपर घुमाउँदै भर्खर घटेको ताजा प्रसङ्ग आपसमा साट्दै छन् केटीहरू । त्यो घटना उनीहरूलाई बडो हास्यास्पद र पाठ सिक्न मिल्दो पनि लागेको छ ।

बिहान गोलधाप शिविरबाट निस्किएका ती छ पाइला चारआलीबाट बुधबारे अर्थात् बुद्ध शान्तितिर लाग्दै छन्  । बुधबारेतिरबाट झरेका केही बाइक द्रुत गतिमा ओरालोतिर गुड्दै छन् । एउटा पुरानो विक्रम ट्याम्पो इन्जिनको ठुलो आवाज निकाल्दै उँभो डाँगी चोकतिर जाँदै छ । त्यही कालो सडकको हल्लासँग छेउतिर पातलो फ्याट फ्याटे चप्पल पट्काइरहेका छन् तिन जना टिन एजर्स केटीहरू ।

“ठिक भनिस् कल्पे । एक घोगोको पाँच रूप्पे !”

आजको तिनको संवाद र त्यो शैली अनौठो छ  । सधैँ मुख नबिसाई एकनास बोली रहने माधवी निःशब्द बस्न बाध्य छे । चारआलीको त्यो  घट्नाले ऊ केही भिन्नै रूपमा छे । खिन्न मन लिएर ऊ चुपचाप अघि हिँडी रहेकी छ ।

केही बेर पालैपालो ती दुईले व्यङ्ग्य गरेपछि उसको धैर्य टुट्छ ।  अति लागेपछि नङ टोकी रहेको दायाँ हात मुनी झार्दै माधवी पनि प्रतिकार गर्न उत्रन्छे,  “नकराओ ! बाँदरनी बुढीले मेरो ब्याजोत नै गरी । तर केइ छैन आज मान्छे चिन्न पाइयो ! फेरी सातु, चिनी , चना माग्न आउँछे नि बुढी शिविरमा मैले मुखिन्जेल भन्न जानेको छ !”

यति भनेपछि माधवी केही बेर रोकिन्छे। तारा र कल्पना आँखा जुधाउँछन्, ऊ सहि भन्दैछे । थप एक शब्द उनीहरूको मुखबाट निस्कँदैन ।

००

बिहानको भात टिपेर गोलधापबाट हिँडेका हुन् उनीहरू ।  शिविरबाट जङ्गलको गोरेटो बाटो छिरेर, कतै खोल्सा र कतै झाडी, कतै गाइवस्तु चरन पार गर्दै चारआली निस्किएका थिए ।  कल्पनाको चुरा विहीन रित्ता हातमा एउटा सानो प्लास्टिकको  झोला छ । चुरा, औँठी या ब्रासलेट विहीन साँच्चै रित्ता छन् ती जोर हातहरू ।

उनीहरू बिस्तारै हिँड्दै जङ्गल पार गरी मध्यान्हमा चारआली बजार पुग्छन् । बजारबाट थोरै भित्र पस्न खोज्दै छन् ।

“बाटो यतै हो नि मादी ?” तारा बाटो निश्चित गर्न सोध्छे । माधवीले अँ भन्ने टाउको हल्लाएपछि उनीहरू हल्ला गर्दै मूल बाटोबाट थोरै भित्र पस्छन्  ।

“केटीहरू अब त पुगियो, ऊ तेइ त घर हो । तेइ!”

त्यस पल माधवीको भनाइले अब उसका आफन्तको घर नजिकिएको  सङ्केत  दिएको थियो  । त्यो निश्चित र दृढतापूर्वक बोलीले पनि कल्पना र ताराको आँखामा एकाएक शीतलता छाउँछ । उनीहरू मुस्काउँछन् ।

ठुलो दुई तले पक्की घर अघि उनीहरू पुग्छन् ।  रातो र सुन्तला रङ्गले पेन्ट गरेको छतमा केही  कपडा सुकाइएको छ । बरण्डामा गमलाभरी रङ्गिन फूल छन् । झट्ट हेर्दा खान लाउन अभाव नभएको एक परिवार बस्ने घर जस्तो देखिन्छ ।

“ओ ए, कसको घरमा आयौँ हामी ?”     तारा हातैले कोट्याउँदै सोध्छे । माधवी आँगन वरपर डुलाइ रहेका आँखा फर्काइ बिस्तारै भन्छे, “खरेलको । बुवाकी सानीमा घर हो क्या !”

“कोइ छैनन् जस्तो छ ! दैलो बन्द छ, घर सुनसान छ । कुकुर बिरालो केही देखिँदैन त ।” चन्चले आँखाले कल्पना घरको वातावरण नियाल्दै थप्छे । साँच्चै त्यहाँ घर छ । फूल र बिरुवा छन् । कपडा छन् ,तर मानवीय उपस्थिति देखिँदैन ।

तिनै केटीहरू वरिपरि हेर्छन् ,रित्तो घर संवाद गर्दैन । रित्तो घरले कति थाकेका छौ नानीहरू भन्दैन ।  प्यास लागेको होला  भनी त्यो सुन्दर घरले सोध्दैन । मेला तिर पो होलान् कि भन्ने आशाले केही बेर नजिकैको मकै बारीतिर आँखा घुमाउँछन् । बन्द दैलो र झ्यालहरू देखेपछि तिनै जना निराश भएर निस्किन लाग्दै हुन्छन् ।

पक्की घर देखी केही पर एउटा सानो टिनको छानो गरेको इट्टाको पुरानो भुइँ घर छ। त्यहाँ धुवाँ पुतुपुताएको हो कि जस्तो देखिन्छ। अघि बढेकी माधवी एकाएक कराउँछे,  “ याँ आवो याँ..ऽऽ”

त्यो बोलीले उसको छाती सोझिन्छ, आँखा चम्किला बन्छन् । हतारिँदै  बोलाएकी माधवीको अनुहारमा खुसी निक्कै सङ्घर्षपछिको प्राप्तिझैँ खुलेको छ । त्यो चमक साँच्चै हेर्न लायक छ ।

“नमस्कार हजुरआमा । हामी त घर वरिपरि एक फन्को घुमेर झन्डै फर्केका । यहाँ पो हुनुहुँदोरछ ।”

“ए मादी पो र’छ। मैले त झन्डै चिनिन!” चिम्सा आँखाले निक्कै बेर हेरेपछि उनले मुसुक्क हाँस्ने कोसिस गरिन् । नमस्कार के? दश औँला छातीको बिच भागमा जोडेको के अर्थ ? अभिवादन सम्बोधनको जवाफ पनि दिइनन् उनले । त्यो समय उनको चाउरीएको  मुखमा अर्धदाँत भएको काला खिजा मात्र देखिए ।

“के छ शिविरको खबर ?बाआमा सन्चै छन् मादी ?”

उनी यसरी सोध्छिन् मानौँ त्यो सोधाइमा अपनत्व बोध छ । आँखा अघिको दृश्य हेर्दै माधवीका साथीहरू छेउतिर आमोईको उभिएका छन् । उनी चाहिँ मकैमा एउटा हात, अर्को टाउकामा राख्दै औँला भाँच्छिन् । कुन्नि के कुराको हिसाब गर्दै एक सुरमा बरबराउँछिन्  ।

“बुवा पत्तु बाडीतिर जानु भको छ । आमा रासन थाप्न घरमै छिन् । म चैँ हजुरआमाहरूसँग भेटघाट गर्न  भनी निस्केको !”  माधवी हात हल्लाउँदै भन्छे। तिन वटा मकै खोसेला सहित सेकाएका चुलाको छेउको भुङ्ग्रोमा छन्  । बुढी आमोई चाहिँ  बाँसको  ढुङ्ग्रीले हावा लगाउँछिन् पुतपुताएको धुवाँ उड्छ । त्यहाँ रातो ज्वाला देखिन्छ।

आमोई पालैपालै तीनै वटी केटीको अनुहारमा हेर्छिन् । एउटीको हातमा चाहिँ प्लास्टिकको कालो झोला छ ।  दुई वटी चाहिँ रित्तै हात उभिएका छन् ।

“भोकाएर आएका होलाऊ । नानीहरू मकै खान्थ्यौ होला नि ।”

यसो भन्दै गर्दा कल्पना पुलुक्क तारालाई  हेर्छे , तारा  चाहिँ माधवीलाई हेर्छे । अपेक्षित कुरा सुनेकाले ती स्कुले ती केटीहरूमा सही ठाउँमा आइएछ भन्ने भाव जाग्छ । उनीहरूमा आखिर माधवीकी थपक्कै बुवाकी सानीमा त हुन्, भन्ने पनि लाग्छ ।

केही बेरमा बुढी आमोइ एकपट्टी पिसोल्टिएको मकै फलामको सानो चिम्टाले अर्कोपट्टि फर्काउँछिन् । सग्ला लामा लामा हरिया मकैका घोगा । आगोमा केही बेर अघि मात्र पिसिलट्ट्याए जस्तो छ । ’खोसेलो फाली, भित्र पट्टी पाकेपछि तऽऽ‘ टिन एजर्स केटीहरू आशा र अपेक्षाको नजरले आमोईको हातमा हेरि रहेका छन्  ।

चौपायालाई खुवाउने अघिको नुनको बोराको फेदमा खोसेला सहितका हरिया घोगा पनि छन् । जुँगा सहितका आधा पिसोल्टिएका केही खोसेला छेउतिर राखिएका छन् ।

“मादी सबै जाती छौ होला नि । म पनि अचेल आउन भ्याएको छैन।”

“सबै ठिक छौँ हजुर आमा। “

आमोई र माधवीको केही बेर अनौपचारिक कुरा चल्छ । तारा र कल्पना यतिकै – हो मा हो मिलाउँदै उभिएका छन् । आफ्ना अघिका तिन वटा मकै पिसिल्ट्याइ सकेपछि एक एक गरी आमोई खोसेलो फाल्छिन् । आ..तातोऽऽ हात हल्लाउँदै काम गर्छिन्।

“म सगाउँछु!”  जोशीएर माधवी हात लम्काउँछे। आमै तुरुन्त प्रतिकार गर्छिन्,“ पर्दैन मादी । यो काम मेरो हो ।” उनी मकै फेरी चुल्होमा ढुङ्ग्रीले फुक्दै वरपर नजर डुलाउँछिन्। उनको मस्तिष्कमा के कुरा खेल्दैछ कसैलाई थाहा छैन ।

त्यही समय, कृष्ण दाइ भित्र पस्छन् । माधवी उनलाई नमस्कार टक्र्याउँछे । उसकी दुलही र नानीहरू त्यहाँ वरपर अरू देख्दैनन् उनीहरू ।

“भोकाइ?”

“अँ”  भन्छ कृष्ण । तिनै जनालाई पालै पालो हेर्दै सोध्छ, “अनि मादी के छ खबर ? कति बेला आइस् ?”

आमोई आफूले आधा छोडाएर खाएको मकै छेउतिर छ । मजेत्रो केही तल तान्दै मिलाएर मकैलाई बुढा काला नङ भएको औँलाले कोट्याउँदै खान्छिन्। माधवी बिस्तारै भन्छे, “भर्खर आएका हामी । अनि खै भाउजू आज?”

“माइत“

कृष्णको उत्तर सङ्गै आमै खोक्छिन् । मुस्कान सहितको त्यो खोकी केही अनौठो छ तर त्यसको अर्थ ति तिनैले उक्त समय बुझि हाल्दैनन् ।

यता माधवीका आँखाको लयले यस्तो भन्दै छ, ‘ केही बेरमै आमोईले मकै पोलेर खुवाउनेछिन् । एक छिन धैर्य गर केटीहरू । गोलधाप देखि  चारआलीबाट जङ्गलको बाटो हिँड्दै आएको खेर जाँदैन ’ , छेउतिर उभिएका तारा र कल्पना आमोईको हात चलाइ हेर्दै उसरी नै आशाको नजर फाली रहेका छन् । जसरी माधवी इसारा फाल्दै छ ।

“ला किस्ने“

“तिमेरू पनि मकै खान्थ्यौ होला नि।” उनी चुलाबाट ताता भर्खर पाकेका बास्नादार मकै झिक्ने बेलामा फेरी त्यही कुरा दोहोर्‍याउँछिन् । दिए खाइ हाल्थ्यौँ तात्तातै तर आमोईको बोली बिचमा आइ किन अड्कियो उनीहरूलाई पत्तो हुँदैन ।

दुई घण्टा जत्तिको हिँडाइले अनि सामुन्नेबाट आएको बास्नाले तिनका आँखा भोकाएका छन् । मकैले मन खिचेको छ । त्यसैबिच गनगनाउँदै आमोई भन्छिन्, “महँगी बढेको छ नानीहरू । पाँच रुपियाँ घोगो हो, खान्छौ त ?”

कृष्ण पुलुक्क आमातिर हेर्छ तर कृष्ण आफ्नी आमाको सबै कुरा सुन्छ तर सुन्दैन केही । आमोइ बोली रहेकी छन् , कृष्ण बोल्दैन पुक्कै। उसको ध्यान मकै मुखले दार्ने काममै सीमित छ ।

त्यो अन्तिमको वाक्यले तिनै जनाका आँखा ठुला हुन्छन्, निहुरिएको टाउको सोझिन्छ। छाती तनक्क तन्की उठ्छ । तिनैका आँखा केही बेर अचम्मित र खुल्लै रहन्छन् । ‘ अहो !  बुढी आमोईले कस्तो अस्त्र प्रहार गरिन्’  उनीहरूको अनुहारको हेराई बिग्रिन्छ, अपेक्षाको भाव एकाएक शून्य हुन्छ ।

“तीन जनाले खाँदा पन्ध्र रुप्पे हुने रछ । तेत्रो पैसा स्कुले केटीहरूसँग काँ हुनु?”    घरमै दोकान थापेको अभिनय गर्ने  ती बुढी मान्छेलाई तारा प्याच्च भनिदिन्छे । तर उनी नसुने झैँ गरी एक सुरमा नयाँ मकै चुलामा चढाउँछिन्  ।

“हामीसँग पैसा छैन। जाऊँ हिँड केटीहरू!” कल्पना बिचमा बुढी आमोईको चाउरिएको गालातिर हेर्दै भन्छे । तत्काल स्कुले ती विद्यार्थीको मनोविज्ञानमा यस्तो असर पर्छ,  ‘ शिविरे भनेर हेपेकी हुन्। गरिब आफन्त भएकाले हेयको दृष्टिले हेरेका होलान् ।’

तर आमोईको विवसता के थियो तिनै जना जानकार थिएनन्। आमोईको के बाध्यता थियो उनीहरूलाई थाहा हुँदैन । माधवीको आफ्नै  बुवाकी सानीमा भएकाले अपेक्षा भाव जागेको थियो । उनीहरूको मनमा चिसो पस्छ र मस्तिष्कमा अनौठो छाप पर्छ ।

‘स्कुल छुट्टी भएको मौकामा मादीको आफन्तको घरमा जाऊँ । हातमा भको चना दाल दिऊँ र केही सब्जी या सिजनको बाली भए साटेर आउँ भनी निस्किएको,  चिसी बुढीले यस्तो व्यवहार गरी’ । त्यस घरबाट बाहिर निस्कँदै कल्पना अनुहार बिगार्दै गनगनाउँछे ।

“बाँदरनी बुढी, अस्ति जस्तै सातु, चिनी माग्न आउँछे नि गोलधाप । मैले तेस दिन भन्न जानेको छु !”

आक्रोशित बन्दै माधवी बरबराएकी यत्ति हो । त्यसपछि ऊ साथीहरूसँग खास बोल्न सकेकी छैन । तारा नयाँ विकल्प निकाल्छे ।

“एत्रो बाटो आई हालियो ! जाऊँ, केटीहरू मेरो मावली घर ।”

“अब कता जानु? “ कल्पना अन्कनाउँछे । कतै जानु अघि ऊ तिनपल्ट सोच्न बाध्य छ । खरेलनी आमोइको त्यो व्यवहारले उसलाई साह्रै अपमान बोध भएको छ ।

“यहीँ नजिकै हो -बुधबारे । मेरो आफ्नो मामाको घर हो । केही हुँदैन पुगेर आउँ !”

छेउतिरबाट तारा एउटा प्रस्ताव राख्छे । डराइ डराइ समर्थन हुन्छ, ती दुईको पनि । उनीहरूका पाइला चार आलिलाई पछि छाड्छन् , खरेलनी आमोइतिर उनीहरू पिठ्युँ फर्काइ अघि आएकै बाटो बजार तिर पस्छन् ।

उनीहरू बजार पार गरेको केही बेरपछि, बाटो नजिकैको घर अघि एउटा पानीको कल देख्छन् । त्यहाँ कल्पना मच्चिएर कल चलाउँछे । दुईले पालै पालो हातको अँजुलीले निहुरिएर धित मरुन्जेल पानी पिउँछन् ।

प्लास्टिकको झोलामा केही बोकेकी कल्पना गनगनाउँछे । ऊ पनि माधवी जसको कुरा मान्दैसाथ लागेर आइ, उसैलाई हेरि तिखो व्यङ्ग कस्छे, “मादी जस्ती लोभी छ। उस्तै रछ बुढी पनि । भोटाङे भनेर हेपेकी होली!”

यसरी पालैपालो उडाइ रहेका छन् उनीहरू खरेलनी आमोइको त्यो व्यवहार। अघिल्लो घटनालाई हावामा उडाइ रहेका  उनीहरू पैड्याल किराना पसल, सहरे डाँगी चौक हुँदै रिमाल बस्ती पार गर्छन् । आँखामा विभिन्न दृश्य देखिँदै जाँदा खरेलनी आमोईको त्यो व्यवहार, उनीहरूको रिस र आक्रोश पनि सेलाउँदै जान्छ  ।

चारआलीको त्यो घटनाले माधवीको बोली अझै रोकिएको छ । बाटो भरी बिना प्रसङ्ग ट्याऊँ ट्याऊँ बोली रहने माधवी आज संवादविहीन नङ टोक्दै हिँडी रहेकी केही अनौठो देखिएको छ।

केही बेरमा उनीहरू मूल सडकलाई छाडी बायाँतिरको भित्री कच्ची बाटो बस्छन्। ढुङ्गा र बालुवा बिछ्याएको सानो बाटो केही खुल्ला छ । व्यस्त सडकबाट टाढिँदै गर्दा इन्जन र मोटरका आवाजहरू पनि सुनिन छाड्छ ।  गाउँले वातावरण  कतै कुखुरा मकैको बारी नजिक चरी रहेका छन्, कतै परेवा आँगनमा अन्न टिपी रहेका छन्।

यता कल्पनालाई चाहिँ भोकले गाह्रो पारि रहेको छ।  हातमा प्लास्टिकको पोको बोकेर अनिश्चित हिँडाई छ, हिँडाई छ। उसलाई अझै कति बेर लाग्ने हो गन्तव्यमा पुग्न भन्ने हुन्छ । अधैर्य बन्दै कल्पना सोध्छे, “ओए तेरो मावल आउँदैन त । अब कति छ पुग्न ?”

“कृष्ण मन्दिर आइ सक्यो । अब दश पाइला होला, गन्न थाल त । एक, दुई, तिन ऽऽ”

भोको पेटले कल्पनालाई सोचमग्न बनाउँछ । ’ताराको मावल अर्थात् भण्डारीको घरमा कस्तो व्यवहार गर्ने हुन् ? आँगनमा पुग्दा तिनले के भन्ने हुन् ? मादी कि आफ्नै बुवाकी सानीमाले  त त्यस्तो व्यवहार गरिन् ,यता के हुने हो । कति ठाउँ शरणार्थी भएकै कारण, तर विना कारण अपमान सहनु  पर्छ हाम्ले ?’

“यै त हो मेरो मामा घर “

तिनै जना थाकेर हैरान हुँदै , बुधबारे पुग्छन् । सानो एकतले भुईँ घर, टिनको खिया लागेको पुरानो छानो  । घरकै दायाँतिर लाछी गाँसिएको गाइको ग्वाली छ । अघिल्तिर बस्तुभाउलाई खोले पकाउने ठाउँ र त्यसकै नजिकै जुठेल्नु छ ।

“नमस्कार मामा!” गुनगुन आवाज सुनेर भित्रबाट आँगनमा निस्किएका उनी तारातिर फर्की हात जोड्छन्। काला वणर्का उनी उज्यालो अनुहारले मुस्काइ सेता दाँत टल्काउँदै हेर्छन् । ताराकै लयमा कल्पना र माधवी पनि हात जोडी ठिङ्ग उभिएका छन् । मामा चाहिँ साथै आएका ती केटीहरू तिर पनि एक नजर पुर्‍याउँछन् ।

“भान्जी लु बसुम ! आज साथीहरूसँग आउनु भएछ,  राम्रो भयो !”

ताराका कान्छा मामा सिकुवामा भएको खाटतिर देखाउँछन् । काठको खाटमा एउटा परालको गुन्द्री ओछ्याइएको छ । जसमाथि सेतो र रातो बुट्टेदार रङ भएको च्यादरको कपडा मिलाएर लगाएको छ। त्यसै छेउमा दुइटा लाबरका  सेता कुर्सीहरू खाली छन् ।

“के छ खबर ? आज छुट्टी नि भान्जीहरूको स्कुल !”

“त्यही भएर त आयौँ मामा । नभए त स्कुलको होमवर्क, प्रोजेक्ट वर्कले कहाँ आउन पाइन्छ र ! अरू बेला त भ्याइ नभ्याई हुन्छ ।”

“यत्रो बाटो हिँडेर आउनु भएको छ । तिर्खा लागेको होला । अनुहार पनि रातोपिरो भएछ ।” निलो रङको  प्लास्टिकको जगमा भान्साबाट मोही सारेर ल्याउँछन् उनी। तिनै जनालाई स्टिलको ग्लासमा, आजै मात्र पारेको मोही भन्दै दिन्छन् । अनि फेरी सोध्छन्, “ सँगै पढ्ने साथीहरू होलान्  ! नानीहरूको नाम के-के पर्‍यो ?”

“एसको नाम कल्पना, उसको चाहिँ माधवी ! खासमा चारआली उसको बुवाको सानीमाकोमा आएका थियौँ। खरेलको घरमा केही रहेनछ । उताबाट फर्कनुभन्दा मामाघर एक छिन निस्केर जाने भनी, आयौँ। ”

केटीहरू टिनएजर्स भए पनि कति बाठा, शिविरका भए पनि शिक्षित र चलाख छन् । चारआलीमा माधवीकी आमोईले गरेको व्यवहार, पाँचरूपे घोगोको पोल खोल्दैनन् । उनीहरू मामाका अघि वास्तविकता छेउतिर राखी घटना मिलाएर प्रस्तुत गर्छन् ।

“ठिक छ । एक छिन बस्नु  है”  भन्दै मामा चाहिँ बाइक सोझ्याएर फुत्त निस्कन्छन् । मोही पिएर प्यास मेटेका  उनीहरू सिकुवाको खाटमा खुट्टा हल्लाउँदै आपसमा आँखा जुधाउँछन् । भण्डारीको घरमा केही सहज पाराले बस्दै मुसुक्क हाँस्छन् ।

तारा आज मावल पुगेकोमा दङ्ग छे । साथीहरूलाई पनि मामा घर पुर्‍याउन पाएकोमा गर्व महसुस गर्दै छे ।

छेउतिरकी कल्पना सोच्दै छ- ‘ बाटो भरी हामीले बुढी आमोईको आज मज्जैले कुरा उडायौँ। खासमा ती मादीकी बुवाकी सानीमा होइनन्, उनी त बेपारी हुन् । घरमै आएको मान्छेसँग पनि खानाको हिसाब राख्ने कतिसम्म नीच चरित्रकी रहिछन् ।

यसैबिच तारा गोठतिर निस्कन्छे । सिन्दुरे गाई कान ठाडा पारी फुँऽऽऽ फुँऽऽऽ गरि उसलाई हेर्छ । तर ऊ गाइको भाषा बुझ्दिन ।

भटट गरिऽऽ पाँच मिनेटपछि बाइकको आवाज नजिकै आएको सुनिन्छ । बाइकलाई बाङगो र केही कोल्टे पारी स्टयाण्ड लगाएर छफुट अग्ला मामा आँगनमा खुत्रुक्क उत्रिन्छन् । उनले प्लास्टिकको पोलोथीनमा केही सामान ल्याएका छन्। उक्त सामान तारातिर पास गर्दै उनी भन्छन्,

“बुझिहाल्नु भयो, केटाकेटी घरमा छैनन् भान्जी । नयाँ आको फिल्म हेर्न गका रे ।”

तिनैजना टिनएजर्स केटीहरू आफ्ना अघिको दृश्यमा आँखा पुर्‍याउँछन् । मामाले  यति चाँडै के लिएर आएका छन्  । उनी अघि थप्छन्, “यो बनाउनु त, आज भान्जीको हातको खाऊँ । धेरै भकोथ्यो , भान्जीले बनाएको नखाको !”

“यो सबै ? तिनै प्याकेट रमपम मामा !”

केही अनौठो मान्दै सोध्छे तारा । ऊ सम्झनामा गोलधाप पुग्छे जहाँ उनीहरू एक प्याकेट चाउचाउमा छ जनालाई पुग्ने गरी समुद्र फर्काउँछन्। पुरै झोलमा हराएको हुन्छ चाउचाउको नाम निसान केही हुँदैन ।

“तेती त केही होइन भान्जी । भोकका अघि!”

झटपट तारा चुलामा पस्छे । भोकाएको भेटले उसलाई छिटो छिटो पाइला धकेल्छ । तिनलाई टमाटर, प्याज, खुर्सानी हाली कराहीभरिको पानीमा उमाल्न लम्कन्छे ।

“आज भोली भान्जीको पढाइ कस्तो छ ? दिदीको खबर के छ ? म पनि घर व्यवहारले कति भो गोलधाप आउन पाएको छैन ।”

“सबैको राम्रो छ मामा । प्रत्येक साल पास भईरकीछु । म खुसी छु !”

मामाको बोली सुनेर बाँ .. गर्दै छेवैबाट सिन्दुरे गाई कराउँछ । ओहो अहिले पो सम्झिएँ ! मामा तिर्खाएको गाईलाई पानी खुवाउन भनी सोझिन्छन् ।

चुलाको आगोमा केही समय लाग्छ चाउचाउ पाक्न । यसै बीच कल्पना र माधवी आँखा जुधाउँछन् । सिकुवामा बसेका उनीहरू खासखुस गर्छन्, “यो चना दाल यहीँ दिनुपर्छ । घर मात्र सानो मन ठुलो रछ ।”

केही बेरमा मामा सहित चार जना भएर स्टिलको बटुका भरी तात्तातो बाफ उड्दै गरेको रमपमको  झोल खान्छन् । पेट भरीएपछि सबैको अनुहार उज्यालो हुन्छ । घामले खाएको गर्मी कतै टाढा जान्छ । भोकले ल्याएको थकान र असहजता आँखै अघि हराउँछ । उनीहरूको अनुहार मुस्कानले खुल्छ, आँखा तेजिला बन्छन्  ।

भोकले कस्तो गाह्रो पारेको थियो अब त हिँड्न होइन दौडन सक्छु भन्ने भावले कल्पना पुलुक्क तारातिर हेर्छे । देखिस् यो तेरी बुवाकी सानीमाको घर होइन, तारा झन् माधवी तिर आँखा नचाउँछे । उनीहरू आपसमा हेर्ने मुस्काउने, खास खुस र खिसीटिउरी गर्छन् । बाहिर मामाका अघि केही व्यक्त गर्दैनन् ।

“भान्जीहरू बस्दै गर्नु है । म एकैछिनमा आउँछु । कतै नजानु !”

चाउचाउको झोल खाइ सक्दै कान्छा मामा जुरुक्क उठ्छन् । उनी सिकुवा माथि टिनको छानो मुनि आँखा डुलाउँछन् । त्यहाँ च्यापेको खुर्पा लिएर बारीतिर पस्छन्  । त्यही समय कल्पनाले ल्याएको चना दालको प्लास्टिकको झोला खाटबाट  झिकेर माधवी भित्र भान्साको चुलामा लिएर जान्छे,  “    तारा यो कता राख्नु ? मिलाएर राखिदे आफैँ !”

“ त्यहीँ राख्दे मादी । भरे माइजूले हेर्नु हुन्छ होला ।”

उसको चाला देखेर तारा चुलाबाट मुसुक्क हाँस्छे । त्यो हाँसोमा यस्तो व्यङ्ग मिश्रित छ  । ‘खासमा त्यो दाल पनि त कल्पनाले ल्याएकी उसकै बुवाकी सानीमाको घरमा लान । उसको सामान उठाउँछे नि मादी बाठी भएर ।’

तरऽऽ तर ऽऽ ऊ मुखले केही भन्दिन । भण्डारीको घरमा कल्पना र माधवी पनि खाएको धन्धा गर्न तारालाई जुठेल्नुमा टुक्रुक्क बसी सगाउँदै छन् । ‘छरम छरम ! कर्याक ! छरम छरम !’ नेपथ्यमा खुर्पाले मकैको बोट काटिएको आवाज आउँछ । उनीहरूलाई लाग्छ मामाले तिर्खाएको गाइलाई पानी दिएपछि बेलुकीको घाँससँग दिन ढोड तयार पार्न लाग्नु भएको होला  ।

तिनै जना मिली चुलाको माथि भारमा ल्याएर ती बटुकाहरू मिलाएर राख्छन् । बिदा माग्न तारा वरपर हेर्दै भन्छे, “अब जान्छौँ मामा । साँझ परेपछि जङ्गलको बाटो हिँड्न डर हुन्छ । घाम नअस्ताई छिट्टै घर पुग्नु छ !”

यता मामा मकै एकातिर त्यसको ढोड अर्कातिर छुटाउँदै छन् । छिटो छिटो हात चलाउँदै उनी  भन्छन् , “भान्जीहरू यो झोलामा हालेर लानु । धेरै त छैन तर यसो बाँडी चुँडी खानुपर्छ !  भित्र चुलामा, कतै चेपमा प्लास्टिक हेर्नु त ।”

उनी तीन वटा प्लास्टिकमा पाँच पाँच वटा मकैका घोगा राखी दिन्छन्  । अब तिनै जनाको प्लास्टिकको हाते झोलामा सलक्क परेका मकै हरियो खोसेलामा मुस्काइ रहेका छन्  ।

टिनएजर्स केटीहरू  गोलधाप शिविरतिर सोझिन्छन् । आँखाबाट मामा घर पछि पर्छ, बुधबारे पछि पर्छ ।  फित्तावाल चप्पल पड्काउँदै  उनीहरू चार आलीको चौबाटो काट्छन् । आर्मी ब्यारेकको पुच्छर देखि दायाँ जङ्गलतिर पस्छन् । सालका ठूल ठुला रुख हेर्दै गोरेटो बाटो जङ्गल भित्र छिर्छन् ।

‘चारआलीमा बुवाकी सानीमाले त्यस्तो व्यवहार गरिन्। यता चिन्दै नचिनेका ती मामाले मनभरीको प्रेम दर्साए । मान्छे मान्छे बीच कति फरक व्यवहार हुन सक्दो रहेछ!’ माधवी फेरि नङ टोक्दै, अप्ठ्यारो र अपमान महसुस गर्दै हिँडी रहेकी छ । आज उसलाई कुरा गर्ने खास मुड नै छैन।

जङ्गलमा कतै गाईबस्तु चर्दै छन् । कतै गोठालाहरू डाले घाँस झार्दै छन्  । कतै बाँदर घ्याँक्क घुँक्क गर्दै वल्लो हाँगाबाट पल्लोमा उफ्रीरहेका छन् ।

“ओए हेर कत्रो ढेडु ! देख्दै डर लाग्दो रछ ।”    अचानक रोकिएकी कल्पनाको छाती सोझो हुन्छ । उनीहरूका आँखा अचानक देखिएको बाँदरमा सोझै ठोकिन्छन् ।  त्यही समय तारा जोसिँदै भन्छे,“ ओए मादी बाँदर देखि डराएकी कि भनौँ कि अहिले पनि किन बोल्दिनस् ! तँलाई अजै असजिलो लागेको ? तेरी बुवाकी सानीमाबारे अब जिस्काउँदैनौँ त।”

“ भो भो बाँदरनी बुढीको कुरा नगर । तेसलाई त शिविरमा सातु, चिनी र चना माग्न आएका दिन मैले भन्न जानेको छु । मलाई कति उडाउँछौ अब त छाड । त्यो बुढीको व्यवहार सम्झन पनि मन छैन  ! ”

तिनै जना चलाखी पूर्वक गोलधापतिर अघि बढेका उनीहरू त्यहाँ एकछिन रोकिएका छन् ।  जङ्गलको बाटो उनीहरू तिखा आँखाले वरपरको दृश्यमा नजर राख्दै तारा जोसिला वाक्यले भन्छे,“ हिँड कल्पे , मादी बल्ल बोल्न थाली । अब तँलाई केको डर रहने भयो र । याँ तिन जना पो छौँ, आयो भने लाठी टिपेर बजाइन्छ ।”

 

०००

 

कथाकार परिचयः जे एन दाहाल सर्वाङ भुटानमा जन्मेका हुन् र हाल  हेरिस्बर्ग, पेन्सिलभेनिया अमेरिकामा बसोवास गर्छन् । कथा, निबन्ध, संस्मरण बिधामा उनी कलम चलाउँछन् । “लेखककी छोरी”(२०७६) कथा संग्रह उनको पहिलो प्रकाशित कृति हो जुन कृतिले अनेसासको डायस्पोरा पुरस्कार प्राप्त गरेको थियो । उनको दोश्रो कृति “प्रहेलिका”(  ) ले ‘हिमटीका आख्यान पुरस्कार’ प्राप्त गरेको थि

Leave a Reply