एक भूगोल शुभकामना

कथा

 

राजन सिलवाल

 

उसलाई जन्मदिनदेखि डर लाग्थ्यो वास्तवमा । डर किनभने ऊ प्रत्येक जन्मदिनमा खस्दै गएका वर्षहरूको स्मरण गर्थ्यो र जिन्दगीमा साकार पार्न बाँकी सपनाहरूलाई आँखामा राखेर सुम्सुम्याउँथ्यो । असारमा किन जन्मिएँ म भनेर पनि ऊ सोचिरहन्थ्यो । त्यस महिनाको नाम पनि हुने भए ऊ सार राख्थ्यो । उसलाई फेसबुकले सम्झाइदिएको जन्मदिनमा भने रमाइलै लाग्थ्यो । साथीसँगी र सँगिनीका शब्द, चित्र र सङ्केतयुक्त शुभकामना पढ्नलायक हुन्थे ।

फेसबुकले एक दिनअगाडि जन्मदिन देखाउनु अनौठो थिएन । एकजना प्रशंसकले तीनथुँगे लालगुलाबको पत्रमा लेखेर सन्देश पठाई, “जन्मदिनको अशेष शुभकामना राज ।”

ऊ पुलकित भयो । लालगुलाब र राज देखेर । राज भन्न खोजेको होला कि राजा ? उसले मनमनै सोच्यो । सन्देशका आत्मा लालगुलाबमा छ कि राजमा भनेर उसले धेरैबेर चिन्तन गर्यो ।

उसले प्रत्युत्तरमा भन्यो, “म हर्षित भएँ ।”

अरू सन्देशहरू पनि थिए तर गुलाबका फूलहरू कुनैमा थिएनन् । बरु केकहरू थिए । मैनबत्तीहरू थिए । फूलको तुलना अरू केसँग हुन्छ र ? भगवानलाई पनि त फूल मन पर्छ र चढाइन्छ ।

उसको खास जन्मदिन अर्थात् भोलिपल्ट । सायद पूर्वी क्षितिजमा घाम उदाउन बाँकी नै थियो । सिरानीछेवैको मोबाइलमा घण्टी बज्यो ।

कोही प्रिय शुभेच्छुकले भन्यो, “जन्मदिनको एक भूगोल शुभकामना तिमीलाई । उठेका छैनौ होला । उठ र त्यही मन्दिरमा जाऊ जहाँ हाम्रो प्रथम भेट भयो ।”

फोन काटियो धन्यवाद पनि भन्न नपाई । शब्दमा त्यस्तो कुन शक्ति हुन्छ र त्यसले मानिसलाई हँसाउँछ, रुवाउँछ, दुखाउँछ र सम्झाउँछ भनेर ऊ आफूभित्र हरायो एकछिन ।

चार पाँच सय हाराहारीका लिखित र मौखिक शुभकामनाहरूमध्ये यी दुई शुभकामना विशेष थिए उसका लागि । चिया लिएर बुढी नजिकै आई ।

“नुहाउने कतिबेला हो ? पूजा गर्नुपर्छ । मन्दिर नि जानुपर्छ । मलाई अलिकति फूल टिपिदिनू । जन्मदिनको शुभकामना मेरो प्यारो मान्छे ।” उसले यति भनेर गज्जबको चुम्बन गरी ।

लोग्नेलाई चुम्बन र नमस्कार उस्तै लाग्थ्यो । फर्काउनुपर्ने ।

उसले सन्देशका ती दुई शुभकामनाबारेमा बुढीलाई सोध्यो, “गुलाब र राज” ठुलो शुभकामना हो कि “एक भूगोल शुभकामना” ठुलो हो ?”

बुढीले भनी, “भूगोलवाला ठुलो जहाँ करोडौँ गुलाबहरू फुल्नसक्छन् ।”

उसले सोध्यो, “कदाचित् त्यो आइसल्याण्ड रहेछ भने ?”

उसले भनी, “हजुर साह्रै शंकालु मान्छे ।”

कथाकार परिचयः राजन सिलवाल कविता, कथा, लघुकथा, निबन्ध र समालोचना विधामा कलम चलाउँछन् । उनको “मुक्तक सङ्ग्रह “दुई हजार सोह्र पाइला“ (२०७५), लघुकथा सङ्ग्रह “बाको कोट”(२०७९) प्रकाशित छन् । उनको सिर्जन भूमि ललितपुर रहेको छ ।

Leave a Reply