अवसान

कथा

रामकुमार पण्डित

ऊ हेर त मोनिटरमा; त्यहाँ जमिनबाट पाँच हजार मिटरमाथि हामी चढेको हेलिकप्टर उडिरहेको देखाइरहेको छ । यति उँचाइबाट फनफनी फन्को मारिरहेछ गाउँघरतिर । हेलिकप्टरभित्र पाइलट, एउटी सहयोगी, तिमी र म छौँ । ऊ हेर त्यो सानो गाउँ कति सुन्दर छ ! त्यो नागवेली भई बहेकी नदी, अलि माथिको हरियो जङ्गल, फाट्टफुट्ट देखिने साना घरहरू । आहा ! यी दृश्यले मनै आनन्दित हुन्छ । यो गाउँभन्दा माथितिर धेरै ठूलो गाउँ छ; हाम्रोभन्दा नि ठूलो । यै सानो गाउँको दक्षिणतिर हाम्रै गाउँ त हो । त्यो मोनिटरमा प्रष्टसँग नक्साले पनि देखाइरहेछ । आठ गाउँमध्ये सबैभन्दा ठूलो गाउँचाहिँ हाम्रै हो । जनसङ्ख्या पनि धेरै छ । यही गाउँबाट गएकी गङ्गा हाम्रो गाउँलाई हिउँदमा वरदान हुन्छे भने वर्षामा श्राप । धेरै पहिला वर्षामा धेरै मान्छेले ज्यान गुमाउँथे यसको कारणले । उनीहरूको घरखेत सबै बगाउँथ्यो । बाँचेको मान्छेलाई यस धर्तीमा फेरि बाँच्न बडो मुस्किल पर्थ्यो । यस्तै बिचल्ली नहोस् भनेर मैले ठूलो बाँध बाँधेँ; हेर त्यहाँ साँधमा । त्यो बाँधमा धेरै ढोका छन् र ती ढोकाको ताल्चा साँचो छ हाम्रै गाउँलेको हातमा । पानी चाहिए सबै ढोका खोल्छन् ; नचाहिए बन्द । यतातिर पानी जम्दैन भनेको ? जम्छ नि । वर्षामा आधा जमिन डुवानमा पर्छ यस गाउँको । यता पनि नोक्सान त कति हुन्छ–हुन्छ । त्यसको जिम्मेवारी हामीलाई पर्दैन । हाम्रा गाउँको रक्षाको लागि यस गाउँबाट केही योगदान गराइएको छ । गरेको होइन, गराएको । के गर्ने एउटा बाँच्नलाई अर्को मर्नुपर्छ भन्ने उखानै छ । प्राकृतिक छनौटको नियमले पनि यसलाई स्वीकारेको छ । मानवीयताको कारण हामी त्यतिबेला केही धन सहयोग गरी यताको मुखियालाई खुसी पार्छौ ।
तिमीले सोचेजस्तै कराउँछन् नि केही मान्छेहरू । धेरै त डाँडाका कराउँछन् । डुबेका मान्छे कराउन त श्वास फेर्ने मुख खुला हुनु प-यो नि ! बोलबोल मछली, मुखभरि पानी भनेझैँ हुन्छ तिनीहरूको । तर केही लाग्दैन यिनीहरूको । यो गाउँलाई हरेक सरसहयोग गर्ने हामी नै हौँ । बाटो, अस्पताल, पुल सबै हामी बनाइदिन्छौँ । चामल, ग्यास पु-याउने हामी नै हौँ । माथिको मङ्गोलियन पाराको गाउँलेसँग व्यवहार मिल्दैन यिनको । रोटी खानु परे नि बेटी दिनु परे नि हामी नै चाहिन्छ यिनलाई । मुख्य कुरो गाउँको मुखियाले हाम्रो कुरो खान्छ । खाँदैन भने अर्को फेरिन्छ तुरुन्तै ।
कोही कोहीले हामीलाई राम्रो मान्दैनन् । दुःख दियो भन्छन् । तिनको कुरा हावामा उडाइदिन्छौँ हामी । कैलेकाहीँ हामीविरुध्द गर्ने गतिविधिले बडो चिन्ता लाग्छ । माथिको भोटे गाउँबाट सुरक्षित हुन पनि यो गाउँ बीचमा रहनु आवश्यक छ हामीलाई । यो गाउँको त्यो लाम्चो सुर्के बारीको वीचमा पर्खाल लाइदिन पाए मङ्गोलियनबाट त पूर्ण सुरक्षा मिल्छ नै यो गाउँका बकबक गर्नेको मुखमा पनि ताल्चा लाग्छ ।
केही वर्ष पहिले तिमी आएको भए छक्क पर्थ्यौ यहाँका मान्छे देखेर । त्यही सुर्के बारीको वीचमा पर्खाल लगा भनेर मैले धेरै भनेँ । फिटिक्कै मान्दैन यहाँको मुखिया । ऊ आफ्नो मनले चाहेकोजस्तो पर्खाल लाउँछु भन्छ । मेरै गाउँको अन्नपात खाएर मलाई टेर्दैन । कस्तो तनाव ! मैले भनेजस्तै पर्खाल लाउनी भए लगा नत्र अन्नपात आउने बाटो बन्द गराइदिन्छु भन्नलाई यही गाउँको मान्छे लगाएँ । त्यही मान्छेले साँधमा बसेर रोक्यो पनि । त्यसको काम ठीक छ भनेर यस गाउँका ठूलाठूला मान्छेलाई भन्न लगाएँ । तैपनि त्यस मुखियाले टेर्दै टेरेन । उल्टै भोटे गाउँसँग मिल्छु भनेर धम्की देखायो । भोटे गाउँले पनि सहयोग गरेजस्तो ग-यो । आखिर कति गरोस् ! त्यो डाँडामा आउनेजाने बाटो छैन । हिँडेर आऊजाऊ गर्ने हो भने महिनौं लाग्छ । यिनलाई पुग्ने सामान प्लेनबाट ओसार्न सक्दैन । हाम्रा गाउँका मान्छे पनि यताकालाई मालताल नबेचे खानै नसक्ने भइसकेछन् । उनीहरूले नै खान पाएनन् भनेर मात्रै मैले साँधमा रोक्ने काम छ महिनामै बन्द गराएँ । नत्र त जहिलेसम्म मेलै भनेजस्तो पर्खाल लाउँथेन; त्यहिलेसम्म साँध खुल्थेन ।
त्याँ’ सरसामान नजाँदा यो गाउँको मान्छेको जीवन सयौँ वर्ष अघि फर्केको थियो । इन्धन नभएपछि गाडी चढ्ने मान्छे साइकल चढ्थे । दाउराले खाना पकाउँथे । हाम्रो गाउँको मान्छेभन्दा यहाँको मान्छे कस्तो – कस्तो ! हामीले जति सस्तोमा ग्यास बाँडे पनि हाम्रा मान्छेलाई कोइलामै खाना बनाउनँ मन लाग्छ । यहाँ चाहिँ ग्यासको लागि मान्छे जति पनि पैसा तिर्न तयार छ । कोइलाभन्दा ग्यासले गाउँमा गन्ध आउँदैन । धेरै कुरामा फाइदै छ ।
हे पाइलट ! कति तल ल्याएको ? डाँडामा ठोकिएला । माथिमाथि लैजाउ न !
आ… ! झ्वाट्टै माथि ल्यायो । मुटु च्वास्सै ग-यो । तिम्रो नि ग-यो जस्तो छ । हा हा हा ! नआत्तिऊ केही नि हुँदैन । ए… ! फेरि तल गएजस्तो ग-यो । बाबू धेरै तलमाथि नगर ! राम्रोसँग उडाऊ ।
कानुनको कुरो ? यै गाउँको मान्छेले साँध थुनेको भनेपछि के को कानुन ? त्यो मान्छेलाई कारवाही गर्ने कानुन यिनीहरूसँग त होला तर ती मान्छे हाम्रो गाउँतिर सरेपछि फेरि के को कानुन ? हा हा हा ! कानुनको पालना कर्ता त हामी हौँ । हामीले जे चाहेको, त्यो हुन्छ । हामीले भनेको मान्ने हो भने यो गाउँलाई नराम्रो केही हुँदैन । हेर्नुस् न यस गाउँको पूर्वतिरको थेप्चो गाउँमा केही समस्या छ ? कति शान्ति, विकास र आनन्द छ ! सबै हामीले गराएको न हो । हाम्रो कुरा नखाएपछि दुःख त झेल्नुपर्छ । मेरा सात छिमेकी गाउँमध्ये त्यो थेप्चे गाउँको मुखियाले बुध्दी पु-याएको छ है ।
अरे के भनेको ? सबै छिमेकी गाउँमा अशान्ति मच्चाउने हामी हो ? छि छि के भनेको ? हाम्रो गुरु त तिमी नै हौ । तिमीहरूको पश्चिमी देशमा के गर्छौ ? आफूले भनेको नमान्ने परदेशी होस् या गाउँ–सहरका प्रमुखलाई घोक्रेठ्याक लाउँछौ । यही होइन ? हामी पनि त्यही गरिरहेछौँ । आतङ्कवाद नियन्त्रण, मानव अधिकार, प्रजातन्त्र, दिगो विकास, समावेशी जस्ता सिध्दान्तको छिमेकीलाई पालना गर्न लगाइरहेछौँ ।
आहा ! कति सुन्दर पहाड यो ? स्याउ नै स्याउ फल्ने रहेछ । हेर न, डाँडै स्याउले गर्दा राताम्मै । पाइलटजी, हेलिकोप्टर तेतै लैजाऊ न ! त्यो सबै स्याऊ त्यहाँबाट बजार गयो भने हाम्रो गाउँको स्याउ कसले किन्ने ? अनि रोक्नु परेन यो स्याउलाई ? बाटो त हामी त्यहाँ बनाउँछौँ; जहाँबाट हाम्रो सामान बजार ल्याउन सजिलो हुन्छ । बस् ! अन्त त न हामी बनाउँछौ; न बनाउन दिन्छौँ ।
के छ त तिमेरको गाउँको हाल खवर ? के हाल सोधी रा ? आधुनिक जुक्ति ला रे ! तिमेरले जस्तो राष्ट्रसङ्घ बना रे ? अनि सकारात्मक कुरा गरीगरी आफ्ना वरिपरिका सबै गाउँको ठालु बन् रे ! त्यो संस्था चलाउन दुई तिहाइ खर्च आफ्नै हाल् रे ! अनि आफ्नो नीतिबम चलाएर अरू गाउँलेको बुध्दि क्षतविक्षत पार्दे रे ! हरे भगवान् ! क्या कुरो गर्छौ साथी तिमी ! मलाई लाग्दैन कि यो भेगमा त्यस्तो संस्था चाहिन्छ भनेर । चाहियो भने तिमेरूकै संस्थाबाट काम लिउँला । यो कुरा बुझिराख कि; जबसम्म यस्ता गाउँमा हामीले भनेको मान्ने मुखियाहरू पाइन्छन् तबसम्म अरू दुःख गर्नुपर्दैन । हा ! हा ! हा !
हँ, फेरि के भन्यौ ? ढिलो भइसक्यो रे ? कन्टकाँडे नीतिअस्त्र चला रे ! सबै गाउँलाई युरोपियन युनियनजस्तै एक ढिक्का बनाएर विरोधीहरूलाई चुनौती दे रे ! सल्लाह त राम्रो दियौ साथी तर यसको पनि अहिलेसम्म आवश्यक देख्दिनँ । मान्छेले मान्छेसँगै सहयोग लिने हो । हाम्रा पितृले दिमाग परिचालन गरी अरू गाउँका मान्छेलाई हाम्रो लागि काम गर्न लगाउनुपर्छ भनी महान् सूत्र दिएका छन् । यो सूत्रलाई म रकेटमय विचार भन्न रुचाउँछु । जहिलेसम्म यो रकेटमय विचार उडिरहन्छ; तहिलेसम्म हाम्रो लक्षलाई यस्ता डाँडाकाँडाले छेक्न सक्दैन । यही सूत्रले वारिगाउँ पारिगाउँ सबैलाई हामीले ठीक पारिरहेछौं र पछि पनि पार्ने छौँ ।
ए …! ए …! ए …! के भो ? हेलिकप्टरभित्र किन गडवड भइराछ ? किन झड्कालिएको यसरी ? लौन के भो ?
पाइलट के भन्छ ? आज एउटा रकेटमय विचारले हावा खाने जस्तो छ रे ! जस्तै रकेट भए पनि पहाडसँग टक्कर लिन सक्दैन रे ! टक्कर लियो भने आफैँ टुक्राटुक्रा हुन्छ रे ! लौन त्यसो नभन् न ! भन्ने मात्रै होइन भइसक्यो; अब राम नाम सत्य हो भन्नुस् रे ! लौन बचाऊ ! हे पशुपति नाथ, तिम्रो मन्दिरमा हाम्रो गाउँको राम्रो भट्ट पठाइदिउँला, बचाइदेऊ न प्रभु ! बचाऊ …! बचाऊ …! ब…चा…ऊ …!
०००
उफ् ! हिजो सुत्ने वेलामा एउटा खराव छिमेकीको तर्कना गर्दै सुतेको थिएँ । सपनामै भए पनि त्यसको अवसान भएको देखेँ ।

000

कथाकार परिचयः रामकुमार पण्डित बौध्द सिमलटारमा जन्मेका हुन् र त्यहीं बसोवास गर्छन् । उनले पहिलो रचना हिमशिखरमा २०५२ फागुनमा “अवसर” शीर्षकको कथा अभिमन्यूको नामबाट प्रकाशित गरेर साहित्य क्षेत्रमा प्रवेश गरेका हुन् । उनी साहित्यको कविता, लघुकथा, कथा, समीक्षा लगायत कलम चलाउँछन् । उनका २ लघुकथा सङ्ग्रह देशको खोजी (२०७१) र देशको चित्र (२०७९, एक बाल कविता सङ्ग्रह बुध्द विचार (२०७३), एक कविता सङ्ग्रह मन्दिर र माओ (२०७४), एक कथा सङ्ग्रह आधुनिक माधवी (२०७७) तथा एक समीक्षा सङ्ग्रह वर्ष साहित्य पुस्तक २०७७ (२०७८) प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *