धरती र तिमी

कविता

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’

 

तिमी बस्ने गरेको घरजग्गा

यही धरतीको अंश हो

तिमीले खाने गरेको अन्नपात

यही धरतीको उपज हो

तिमीले लगाएको वस्त्र

यही धरतीको उत्पादन हो

तिमीले लगाएका गर-गहना

यही धरतीबाट निकालिएको धातुको हो

तिमीले प्रयोग गर्ने

सारा सर-सामान

यही धरतीको वरदान हो

यहाँसम्म कि

तिम्रो जीवनको अस्तित्व

यही धरतीको कृपा हो

के तिमीले अन्य कुनै ग्रहबाट

केही ल्याएका छौ ?

अरू ग्रहबाट केही पाएका छौ ?

पाएका छौ भने

सूर्यबाट प्रकाश पाएका छौ

चन्द्रमाबाट शीतलता पाएका छौ

अन्यथा तिमीले सबै कुरा

यही धरतीबाट पाएका छौ

यही धरतीमा फल्ने

अन्न,फलफूल,कन्दमूल खाएका छौ

यही धरतीमा बग्ने पानी पिएका छौ

तर किन बिर्सन्छौ

यो धरतीलाई

किन दुःख दिन्छौ

यो धरतीलाई

किन चिथर्छौ

यो धरतीलाई

किन टुक्रा टुक्रा पार्छौ

यो धरतीलाई

किन बमले धुजा धुजा पार्छौ

यो धरतीलाई

किन दूषित पार्छौ

यो धरतीलाई

धरतीमा भएका नदीहरूलाई

किन विनाश गर्छौ

वन र जङ्गलहरूलाई

एक दिन अवश्य तिमीले

यो धरतीको ऋृण तिर्नु पर्छ

यो धरतीको उपहारहरूको

एक-एक हिसाब

तिमीले बुझाउनु पर्छ

बाँचुन्जेल तिमीलाई

धरतीले जे जति दिएकी छिन्

तिम्रो अन्त्यसँगै

तिमीले यहीँ छाड्नु पर्छ

तिमी रहु वा नरहु

यो धरती सदा यहीँ रहन्छ

यो धरती यसैगरी रहिरहन्छ

यहाँ आउने जानेहरूलाई

अनन्त अनन्तसम्म यसैगरी दिइरहन्छ ।

 

कवि परिचयः कवि सुभाषचन्द्र पौडेल,भीमफेदीया मूलत कविता विधामा केन्द्रित साहित्यकार हुन् । उनको एक मात्र कविता सङ्ग्रह “तील गङ्गा गोविन्द”(विसं २०७९) प्रकाशित छ । यसअघि उनको पहिलो कृति गीत,सङ्गीत तथा गायन क्षेत्रका साधकहरूसँगको भेटवार्ता “त्रिवेणीका लहरहरू” (विसं २०४४) श्रीरामसिंह वस्नेतसँगको सहलेखनमा प्रकाशित भएको थियो । उनले तीसको दशकमा “कुरौटे” साहित्यिक त्रैमासिक पत्रिका प्रकाशनको माध्यमबाट साहित्यिक पत्रकारको छबि समेत निर्माण गरेका थिए । मकवानपुरको भीमफेदीमा जन्मेका उनी हाल काठमाडौं वस्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *