१९ साउन २०८१, काठमाडौं
साहित्यकार अनिल श्रेष्ठको नवप्रकाशित निबन्ध कृति `यो मन कहाँ दुख्छ´(२०८१) माथि काठमाडौंमा पुस्तक विमर्श कार्यक्रम इच्छुक साँस्कृतिक प्रतिष्ठानको सिर्जना र संवाद कार्यक्रमको पाँचौं शृङ्खला अन्तर्गत सम्पन्न भएको छ ।
कार्यक्रममा प्राडा जगदीशचन्द्र भण्डारी, डा. अमर गिरी, प्राडा नन्दीश अधिकारी र तेजविलास अधिकारीले आ-आफ्ना टिप्पणीहरू प्रस्तुत गरेका थिए ।
डा. अमर गिरीले केही निबन्धहरूले वैचारिक बहसको माग गरेको र योग र अध्यात्मलाई बुझ्न र अध्ययन गर्न मार्क्सवादी लेखकले एउटा स्पष्ट धारणा बनाउनु पर्ने बिचार आफ्नो टिप्पणीको क्रममा राखेका थिए ।
प्रा.डा. जगदीशचन्द्र भण्डारीले भाषाशैलीका हिसाबले निबन्धहरू ललित खालको रहेको र नवीन शैलीको प्रयोग रहेको बताए ।
प्रा.डा. नन्दीश अधिकारीले निबन्धमा भूगोलको बर्णनले पाठकलाई लेखकले घुमेका ठाउँहरूको प्रसस्त जानकारी पाइने र लेखकले पाठकलाई पनि आफूसँगसँगै ती ठाउँहरूमा पुर्याउने बताए ।
तेजविलास अधिकारीले निबन्धहरूले पाठकलाई एक किसिमले सम्वेदित बनाउने बताए ।
कार्यक्रममा कवि तथा निबन्धकार मित्रलाल पंज्ञानी, भुँणीपुराण प्रकाशनका केशव अधिकारी, लेखक अनिल श्रेष्ठले किताबबारे आफ्ना धारणाहरू राखेका थिए ।
सिर्जना र संवाद कार्यक्रमका अध्यक्ष गौरी देवकोटाको अध्यक्षता सम्पन्न सो कार्यक्रममा कवि मोदनाथ मरहट्टाले स्वागत मन्तव्य राखेका थिए भने सुनिता बुढाथोकीले सञ्चालन गरेकी थिइन् ।