सुभाषचन्द्र पौडेल भीमफेदीया
पाँचतारे होटलबाट
धूमधामसँग छोरी अन्माएछौ
सपरिवारलाई बधाई छ
दाइजोमा हिरामोती, सुनचाँदी
गरगहना टन्नै दिएछौ
कमाएका छौ र पो दिनसक्यौ
फेरि पनि बधाई छ
आफन्त, छर-छिमेकी र
चिनजानका सबैलाई बोलाएछौ
ज्यादै राम्रो काम ग-यौ
हार्दिक धन्यवाद छ
अनि एउटा कुरा
पाँचतारे होटलभित्र छिर्नका लागि
एक जोर गतिलो वस्त्र र
आकर्षक जुत्ता छैन भनेर होला
हामीलाई बोलाएनौ
बिलकुल ठीक ग-यौ
त्यसका लागि पुनः धन्यवाद छ
कमसेकम तिम्रो
अनि हाम्रो पनि त इज्जत रह्यो
भनेजस्तो गोडधुवा दिनसक्दैन भनेर होला
हामीलाई छुट्यायौ
त्यसका लागि पनि धन्यवाद छ
कमसेकम हामीले हीनताबोध त गर्नु परेन
हामी को हौँ र
हामीलाई बोलाउनु
हामी के काम लाग्छौँ र ?
न हामी नेता हौँ
न हामी ब्यापारी हौँ
न हामी पुलिसका मान्छे हौँ
न हामी प्रशासनका मान्छे हौँ
न त हामी पत्रकार नै हौँ
हामी त केवल
आफ्नो दश नङ्ग्रा खियाएर
दुई छाक पेट भर्ने
साधारण मान्छे हौँ
शुध्द कमाइ गरेर खाने
भुइँ मान्छे हौँ
न कुनै लपनछपन जानेका छौँ
न त कालोलाई सेतो भन्न जानेका छौँ
हामी त केवल
आफ्नो जस्तै
तिम्रो शून्य अवस्थाको
प्रत्यक्षदर्शी र साक्षी मात्र हौँ।
०००
कवि परिचयः कवि सुभाषचन्द्र पौडेल,भीमफेदीया मूलत कविता विधामा केन्द्रित साहित्यकार हुन् । उनको कविता सङ्ग्रह “तील गङ्गा गोविन्द”(विसं २०७९) तथा “सम्झना विर्सना” (२०८०) गद्यकृति प्रकाशित छन् । यसअघि उनको पहिलो कृति गीत,सङ्गीत तथा गायन क्षेत्रका साधकहरूसँगको भेटवार्ता “त्रिवेणीका लहरहरू” (विसं २०४४) श्रीरामसिंह वस्नेतसँगको सहलेखनमा प्रकाशित भएको थियो । उनले तीसको दशकमा “कुरौटे” साहित्यिक त्रैमासिक पत्रिका प्रकाशनको माध्यमबाट साहित्यिक पत्रकारको छवि समेत निर्माण गरेका थिए । मकवानपुरको भीमफेदीमा जन्मेका उनी हाल काठमाडौं वस्छन् ।