माटोको माया

कविता

रञ्जुश्री पराजुली

 

जति सुकै रोक्न खोजे पनि

भित्र अटाई नअटाई थिच्न खोजे पनि

बेवास्ता गर्दै ओझेलमा राखे पनि

दविएर वाफिएको  पीडाको ज्वाला

किन हुन्छ अनायास  विस्फोट

किन आउँछन्  पलपलमा संझनाका छिटा

मोटो हुने चाहनाको पछि दगुरेर

त्यसैको होडबाजीको जोशमा हुत्तिएर

माया दयाको अपमान र तिरस्कार गर्दै

सुन्ने र हेर्ने ईन्द्रीयमा पर्दा ढाकेर

केवल बोल्ने ईन्द्रीयको पछि लागेर

जिन्दगी बेलगाम कहाँ पुग्यो

अन्धकारमा खीयालागेर  भुत्ते भैसकेको

 

सीप र कौशलको अल्झिएको गाँठो

सुर्केनी खोलेर परिश्रमको दहमा डुबाउँदै

पसिनाको थोपाले सिञ्चन गर्दै

पलपल र क्षणहरुलाई छिप्याउँदै

आफ्नो क्षमता छ्ताछुल्ल पार्नु परेको छ

सन्तानहरुको उज्यालो भविष्य खोज्दै

तिनलाई बेसहारा आमाको काख छोडेर

 

स्वतन्त्रताको पङ्ख फुका भएर

टाढा अनकन्टार ठाउँमा

पौरखको नमुना देखाउँने मौका खोज्दै

वेपत्ताको थलोमा पुग्न परेको छ

आफ्नै परिश्रमले नाना र पापा पाए पनि

जीवनले भिन्नै कुराको चाहना गर्छ

आमाको काखको न्यानो मायाले डोर्याएर

पङ्खफुका बनाउँदै यो मनलाई वारम्वार

आफ्नै माटोमा पुर्याउँछ ।

 

 

कवि परिचयः साहित्यका विविध विधामा कलम चलाउने रञ्जुश्री पराजुली नेपाली नियात्रा साहित्यको क्षेत्रमा प्रथम नियात्रा कृति, “विदेशमा बिताएका केही बर्ष” (बिसं २०४१) प्रकाशन गर्ने लेखिका हुन् । उनका कथा, समालोचना तथा वाल साहित्यका पुस्तकहरु प्रकाशित छन् । विभिन्न साहित्यिक संस्थामा समेत संलग्न उनलाई साहित्य सेवाका लागि पुरस्कार तथा सम्मान प्राप्त भएको छ । लामो समय त्रिविमा प्राध्यापन गरेर अवकाशप्राप्त उनी नेपाल अमेरिका दुबैतिर समय बाँड्छिन् र हाल अमेरिकाको टेक्सासमा बस्छिन् ।

Leave a Reply