१५ साउन, २०८१, काठमाडौं
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले बर्षेनी प्रदान गर्दै आइरहेको पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको दोश्रो सूची सार्वजनिक गरेको छ ।
उत्कृष्ट पाँच छनौटमा परेका पुस्तकहरुमा कृष्ण गौतमको “अद्वैत”, सानु शर्माको “अर्को देशमा”, रोशन शेरचनाको “गल्ली संसार”, कुमार नगरकोटीको “जोगियाना” र गोविन्दप्रसाद कुसुमको भृकुटी” परेका छन् ।
यी पाँच पुस्तकहरु पहिलो लामो सूचिमा परेका १५ कृतिहरुमध्ये १० कृतिहरुलाई पछि पार्दै अनतिम छनौटमा परेका हुन् । यी पाँच कृतिहरुमध्ये एक कृतिले पद्मश्री पुरस्कार प्राप्त गर्नेछ ।
विसं २०६३ सालदेखि प्रदान गरिंदै आएको यो पुरस्कार शुरुमा मोफसलका कृतिलाई पुरस्कृत गर्ने उद्देश्यले स्थापना गरिएको थियो र पहिलोपल्ट गणेश रसिकको “दसगजामा उभिएर” पुरस्कृत भएको थियो । पछि यसलाई राष्ट्रिय स्तरको पुरस्कारका रुपमा रुपान्तरित गरिएको थियो ।
प्रत्येक बर्ष उत्कृष्ट पुस्तकलाई दिइने नेपालको जेठो मदन पुरस्कार र पद्मश्री पुरस्कारको तुलनात्मक चर्चा पनि साहित्यिक बृत्तमा हुने गरेको छ । बिसं २०६७ सालमा झमक घिमिरेको “जीवन काँढा कि फूल” कृतिले दुबै पुरस्कार प्राप्त गरेको थियो ।
सम्भावित पुरस्कृत कृतिको सूचि प्रकाशन हुन थालेपछि केही कृति मदन पुरस्कार र पद्मश्री पुरस्कार दुबैको सूचिमा पर्ने गरेका थिए । तर यो बर्ष मदन पुरस्कार र पद्मश्री पुरस्कारको सूचिमा कुनै कृति पनि दुबैतिर परेका छैनन् ।
स्मरणीय छ मदन पुरस्कार “नेपाली भाषाको उत्कृष्ट ग्रन्थ” लाई दिइने पुरस्कार हो भने पद्मश्री साहित्य पुरस्कार साहित्यिक कृतिका लागि मात्र दिइने पुरस्कार हो ।