शीतल कादम्बिनी
मनैभित्र फुल्छन् चमेली र बेली
म आफन्त मेरो म मेरै सहेली
शरच्चन्द्रका झैं खुलेको छ आशा
छु मान्छे म यौटा हजारौं तमासा
पराया भयो आफ्नु आफै पराई
हरे मार्छ मेरै अभिप्सा मलाई
बिना प्यास खोज्दै छ पानी पँधेरी
भयो चित्त मेरो अचम्मै अटेरी
कसैले नबुझ्ने अनौठो पहेली
म आफन्त मेरो म मेरै सहेली
लिई बस्छ आकाश नौलाख तारा
तिमी छौ उज्यालो छ यो सृष्टि सारा
तिमी मुस्कुरायौ मिलाएर बाना
सुसेल्दैछ आँखा दिलैको तराना
सधैँ देहमा चुम्छ बैँसालु घाम
म आँखाहरूमा भएँ चारधाम
हिँडे कल्पनामा म खेल्दै बयेली
म आफन्त मेरो म मेरै सहेली
000
कवि परिचयः शितल कादम्बिनी चितवनमा जन्मेकी हुन् र हाल काठमाडौंमा बसोवास गर्छिन् । उनको प्रथम प्रकाशित गीत रचना थियो जुन आदर्श समाज पत्रिकामा विसं २०५८ मा प्रकाशित भएको थियो । उनका “सुगन्ध यात्रा”(विसं २०६२) गजल सङ्ग्रह तथा “सिन्का पाउँरु(विसं २०७९) उपन्यास प्रकाशित छन् । गीत ,गजल , कविता र उपन्यासमा कलम चलाउने उनका गीति एल्बमहरु पनि प्रकाशित छन् ।