नासो (लघुकथा)

लघुकथा

ध्रुव मधिकर्मी

हरक्युलसले हार्दिकतापूर्वक पृथ्वी बोकिरहेको थियो ।

पृथ्वी अत्यन्त सुन्दर, शान्त, भब्य र हरियालीले युक्त थियो । जङ्गलको पर्यावरण, समुद्रको विशालता, खोलाहरुको कलकल स्वर, पशुपन्छिहरुको मधुर ध्वनि, छाँगो र छहराहरुको सुन्दरता तथा हराभरा डाँडापाखा पहाडपर्वतको मोहकता आह्लादकारी देखिन्थ्यो । हेर्नेहरु प्रत्येक दृश्यमा झुम्मिन्थे ।

घुम्दाघुम्दै त्यहाँ आइपुगेका मान्छेहरुको एउटा समूहले देख्यो – विशालकाय पुरुषले पृथ्वीलाई बडो प्रेमपूर्वक सुमसुम्याउँदै काँधमा बोकिरहेको । मान्छेहरुलाई पृथ्वीको सुन्दरताले लोभ्यायो । त्यति राम्रो पृथ्वी तिनीहरुलाई छुन, सुमसुम्याउन र बोकेर हेर्ने रहर जाग्यो ।

उनीहरुले हरक्युलसलाई भने – महाशय ! तपाइँ थाकेजस्तो देखिनुहुन्छ, हामी पनि केही सहयोग गरौँ ।

हरक्युलसले हाँस्दै भन्यो – हैन, मलाई कुनै गाहारो छैन । म त पृथ्वीलाई उचालिरहन पाएकोमा गौरवबोध गरिरहेको छु ।

ठीक छ । त्यसोभए हामीलाई पनि केही बेर त्यस्तो गौरवबोध गर्ने अवसर दिनुहुन्छ कि !

हरक्युलसले नाइँ भन्न सकेन ।

लौ त, केही समय गौरवबोध गर्नुहोस् तर प्रेमपूर्वक है । यताउति होला । म केही समय ब्रम्हाण्ड घुमेर आउँछु । फर्केर आउँदा पृथ्वी त्यही रुपमा मलाई फिर्ता गर्नुहोला जुन रुपमा लिएको हो ।

००

मलाई थाहा छैन, हरक्युलस फर्केर आउँदा मान्छेहरुले उही रुपमा पृथ्वी फर्काउन सक्लान् !

००

कथाकार परिचयः बोलाछें टोल भक्तपुरमा जन्मेका ध्रुव मधिकर्मी भक्तपुरमै बसोवास गर्छन् । कथा, लघुकथा, गीत, गजल, मुक्तक र समालोचना विधामा कलम चलाउने उनका सन्दर्भ समय (कवितासङ्ग्रह, २०३९) जिन्दगी र समय (कथासङ्ग्रह, २०४५), बुद्ध कहीं छैन (लघुकथासङ्ग्रह, २०५१),             दृष्टि र घनघोर जङ्गल (कथासङ्ग्रह, २०५८), समकालीन नेपाली कविताका प्रवृत्ति र स्वर (समालोचनासङ्ग्रह, २०५७), अजिङ्गरको जात्रा (बालकथासंग्रह, २०६७), पीडाको जङ्गल (गजलसंग्रह, २०६८), ओरालोको सिलसिला (लघुकथासङ्ग्रह, २०७८)लगायतका कृतिहरु प्रकाशित छन् । उनले सम्पादन तथा अनुवाद गरेका कृतिहरु पनि प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *