अमर त्यागी
मेरो जन्मपूर्व नै मेरो देशले अशिक्षा नियुक्त गरेको रहेछ। त्यही अशिक्षाद्रोहको अभियोग लगाएर देशले मेरी निर्दोष र निहत्था आमाको निर्ममतासाथ हत्या गऱ्यो । त्यही अशिक्षाद्रोहको आरोप लगाएर देशले नै मलाई पनि घरबाट निकालिदियो।
घरबाट निकालिएको निरीह बालक म अनेक पीडा र प्रताडना सहँदै अशिक्षाविरूद्धमा कठोर युद्धको प्रारम्भ गरेँ । यौवनकालसम्म लडिरहेँ । अन्त्यमा अशिक्षा मसँग पराजित भयो।
अशिक्षा पराजित भएपछि देशले फेरि बेरोजगारी नियुक्त गऱ्यो। बेरोजगारीसँग पनि कडा सङ्घर्ष थालेपछि बेरोजगारीद्रोहको आरोप लगाएर मलाई मेरो देशले नै देशनिकाला गरिदियो।
त्यही बेरोजगारीद्रोहको अभियोगमा हरेक दिन हजारौं युवाहरू देश निकाला भइरहेका छन् र देश वृद्धालय बनिरहेको छ अनि वृद्धालय विदेशीले चलाइरहेका छन्।
०००
कथाकार परिचयः अमर त्यागी अमर बहादुर श्रेष्ठको साहित्यिक नाम हो । उनी ओखलढुङ्गामा जन्मेका हुन् । गीत, कविता, ताङ्का, सूत्रकथा, वाछिटा आदि विधामा लेख्छन् । उनका “बाँसुरीमा आँसुको गीत”(गजल): २०५७, “अक्षरहरूको देश” (कविता) : २०५८, “अनुभूतिको जुलुस” (सूत्रकविता) २०५९, “अभियुक्त ईश्वर” (तांका) २०६२,”अन्धसत्ता”(सूत्रकथा)२०७१, “अदृश्य “(बाछिटा)२०७८, “अक्लान्त” (बाछिटा)२०७८, “अमानव”(मुक्तक)२०७८ कृतिहरु प्रकाशित छन् । हाल उनी अमेरिकामा बसोवास गर्छन् ।

हार्दिक आभार दाजु !