क्याप्टेन नारायणप्रसाद “लाहुरे” विमोचित

समाचार

 

१४ पुस २०८०, काठमाडौं

क्याप्टेन नारायणप्रसादद्वारा लिखित,अधिववक्ता जीवनकुमार राईद्वारा सम्पादित तथा साहित्यिक पत्रकार सङ्घद्वारा हालै प्रकाशित संस्मरण ‘लाहुरे’पुस्तक नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सदनमा कार्यक्रमका प्रमुख अतिथि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, प्रा.डा.सुरेन्द्र के.सी., सभाध्यक्ष साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीसहित मञ्चासीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा’लाहुरे’को विमोचन भयो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै मन्त्री किराँतीले मानव जीवनको तीन आविष्कार आगो,खेती र अक्षर भएको बताए भने विश्वमा वर्षमा ४० लाख विभिन्न पुस्तकहरू छापिन्छन् भन्ने तथ्याङ्क पाइएको सन्दर्भमा लेखक राईको यो पुस्तकले पनि महत्त्व राख्छ भन्ने विचार राखे ।
कृतिका समीक्षक प्रा.डा.सुरेन्द्र के.सी.ले तत्कालीन ब्रिटिश सरकारबाट शुरू भएको लाहुरे संस्कृति हालसम्म कायम रहेको छ भन्दै हाल रसिया र युक्रेनमा सेनामा पुग्ने नेपालीहरुको दृष्टान्त दिंदै नेपाली-नेपाली बीच नै लडाइँ गराइरहेको बताए।
पुस्तकका सम्पादक जीवनकुमार राईले ब्रिटिश सरकारले गोर्खाली सेनालाई पहिलो र दोस्रो विश्वयुध्दमा भरपूर प्रयोग गरेको बताउँदै गोर्खाली सेनाकै कारण ब्रिटिश र नेपालको बीच मैत्रीपूर्ण सम्बन्ध रहेको र गोर्खाली सेनाले नै विश्वमा नेपालको पहिचान गरेको बताए।
लेखकीय मन्तव्य राख्दै क्याप्टेन नारायणप्रसाद राईले आफूले पढेर भन्दा पनि परेर जानेको यथार्थ बताउँदै जीवनमा भोगेका कुराहरूलाई स्पष्ट राखेको बताएका थिए।
सभापतिको आसनबाट साहित्यिक पत्रकार सङ्घका अध्यक्ष लेकालीले ब्रिटिश सरकारले गोर्खाली सेनालाई गर्ने व्यवहार फरक रहेको बताए ।
कार्यक्रममा साहित्यिक पत्रकार सङ्घकी सदस्य डा.शान्ति माया गिरीले लेखकको संक्षिप्त परिचय दिँदै स्वागत मन्तव्य राखेकी थिइन् भने लेखकका मित्र मेजर भुवनसिंह लिम्बुले शुभकामना मन्तव्य राखेका थिए।

(सुभाषचन्द्र पौडेल’भीमफेदीया’को सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *